सामाजिक सञ्जालका अन्धभक्तबाट बिथोलिँदो सद्भाव
नेपालमा पछिल्लो समय सामाजिक सद्भावमाथि प्रश्न उठ्न थालेको छ । विगत लामो समयदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायहरू अन्तर्घुलित भएर बसेका छन् । तर पछिल्लो समय हाम्रो सामाजिक सद्भाव बिग्रिन थालेको आभाष हुन्छ । यसै क्रममा नेपालगञ्जमा हिन्दु र मुस्लिमहरूबीच मुठभेडको अवस्था सिर्जना भएको छ । त्यहाँ निषेधाज्ञासमेत जारी गरियो ।
केही समयअघि धरानमा गोरु काटेर खाँदै गरेको भिडियो सार्वजनिक भएपछि स्थिति निकै तरङ्गित भएको थियो । यसविरुद्ध विभिन्न हिन्दु सनातन धर्मावलम्बीहरूले गम्भीर आपत्ति जनाइसकेको छ । गत भाद्र ९ गते पहिचान पक्षधरहरूले धरानमा कोशी प्रदेश नाम खारेजीका लागि बृहत् विरोध प्रदर्शन र अन्तक्र्रिया गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर यता गोरु काण्ड सतहमा आइसकेपछि भने हिन्दुवादीहरूले त्यही दिन धरानमा विशाल ¥याली र विरोध प्रदर्शनको कार्यक्रम गर्ने निर्णय गरे । तब धरानको स्थिति जटिल मोडमा पुग्यो । यही गाम्भीर्यतालाई मध्यनजर राख्दै सबै राजनीतिक दल र नागरिक समाजहरूले शान्ति र सद्भाव ¥यालीहरू आयोजना गरे । देश–विदेश, सरकार र साधरण नागरिक सबैको ध्यान धरानतिर खिचियो । कतिसम्म भने भाद्र ९ गते धरानभरी निषेधाज्ञा नै जारी गर्नुपर्ने दुःखद र बाध्यात्मक अवस्था सिर्जना भयो ।
वस्तुतः पछिल्लो समय हाम्रो समाज अलि बढी अराजक, अलि बढी इमोसनल, अलि बढी साम्प्रादायिक, अलि बढी धार्मिक अनि अलि बढी क्षेत्रीयतावादी हुँदै गएको छ । यस्तो मनोविज्ञानको विकास अंशमा, भावनामा वा कसैलाई सही र स्वादिलो भए पनि समग्र नेपाली समाजको स्वार्थबाट हेर्दा गलत हुन्छ । यसरी शीघ्र तरङ्गित र इमोसनल प्रतिक्रियासँगै सामाजिक सद्भाव नै खलबलिने अवस्थासम्म आइपुग्नुमा कुन कुन पक्ष जिम्मेवार छ भन्ने सन्दर्भमा तल चर्चा गरिएको छ ।
सञ्जालमा आधारित धारणा
पछिल्लो समय कुनै पनि वस्तु, सत्ता र व्यक्तिप्रति धारणा बनाउन दस्ताबेज अध्ययन गर्नु पर्दैन । भेटेर प्रत्यक्ष दोहोरो कुराकानी गरेर सत्यतथ्य पत्तो लगाउनु पर्दैन । वस्तुगत आधार र प्रमाण पनि जरुरी हुँदैन । विवादित सवालमा दुवै पक्षलाई राखेर छलफलसँगै छानबिन पनि गर्नु पर्दैन । यसका लागि आम सामाजिक सञ्जालमा जे बगिरहेको छ त्यही नै सत्य, यथार्थ र निर्णायक हुन थालेको छ । वस्तुतः सामाजिक सञ्जालमा बग्ने सबै कुरा सत्य नै हुन्छ भन्ने हुँदैन । यसमा आआफ्नो स्वार्थ, चाहना र इच्छाहरू अभिव्यक्त भइरहेको हुन्छ । रिस, राग, ईष्र्या र अन्तर्विरोधहरू पोखिएको हुन्छ । धेरै जसो कुरा कसैद्वारा निर्देशित, परिचालित र प्रायोजित हुने गर्दछ । तर अधिकांश सञ्जाल प्रयोगकर्तालाई यो सच्चाइको न्यूनतम ज्ञान छैन । सामाजिक सञ्जालमा अभिव्यक्त हुने चोटिलो, घोचिलो, स्वादिलो र पेचिलो उत्तेजना र भावनामा ठूलो हिस्सा तरङ्गित भइरहेको छ । यस्तो रवैयाले कसैलाई क्षणिक रूपमा फाइदै फाइदा र हर्षोल्लास होला तर यसले अन्ततः सही गन्तव्यमा पु¥याउँदैन ।
वस्तुतः हाम्रो समाजलाई राजनीतिक–वैचारिक आयामले नेतृत्व गरिरहेको छैन । विचार सिद्धान्तद्वारा निर्देशित समाज भनेको सचेत, स्पष्ट र अटल हुन्छ । भड्काव, वहकाव र मिडिया स्टन्टबाजी सजिलै बुझ्ने हैसियत राख्छ । उनीहरूलाई निश्चित राजनीतिक, वैचारिक स्कुलिङ हुन्छ । विधि र प्रक्रिया थाहा हुन्छ । यसमा कुनै पनि वस्तु वा व्यक्तिलाई द्वन्द्वात्मक नजरबाट हेरिन्छ । आधारभूत आलोचनात्मक चेत राख्ने गरिन्छ । निरपेक्ष निषेध वा विरोध गरिँदैन । शिघ्र भावनामा होइन सोचेर सुझबुझसहित समर्थन, विरोध, क्रिया र प्रतिक्रिया अभिव्यक्त गरिन्छ । तर राजनीतिक–वैचारिकीले नेतृत्व नगरेको समाज तथ्य घटनामा भन्दा पनि सामाजिक सञ्जालजन्य हल्ला र प्रचारबाजीको पछि पछि दौडिरहेको हुन्छ । रूपवादी माहोल, आडम्बर र ढोंग हाबी हुन्छ । यस्तो वस्तुगत धरातलमा समाजको ठूलो हिस्सा बहकिने, बरालिने, भड्किने अनि भावनामा तरङ्गित र उत्तेजित हुने गर्छ । उनीहरूको मनोविज्ञान सुहाउँदो भाष्यहरू सिर्जना गरिन्छ । साथै उत्तेजित विषयवस्तु पस्किने गरिन्छ । तब स्थिति झनै विकराल र अराजक हुँदै जान्छ ।
वैदेशिक स्वार्थ
नेपाल पछौटे अर्थराजनीतिक उत्पादन सम्बन्ध भएको मुलुक हो । तर भूमण्डलीकरणसँगै विकास भएको विज्ञान र प्रविधिका कारण आम उपभोगवादी सोच भने विकसित मुलुकहरूको नागरिकको भन्दा अझ बढी देखिन्छ । यस्तो मुलुकमा दलाल पुँजी उत्पादन हाबी हुन्छ । दलाल पुँजीवाद हाबी भएको समाजमा वैदेशिक हस्तक्षेप र षड्यन्त्र अनौठो हुँदैन । त्यसैले नेपालको हरेक मुद्दामा धेरथोर प्रत्यक्ष र परोक्ष हस्तक्षेप गरिरहेकै हुन्छ । हस्तक्षेपको नवऔपनिवेशिक शृङ्खलामा उनीहरू असाध्यै छद्म भेषमा आउने गर्दछ । त्यस कारण आजका कतिपय हस्तक्षेप धेरैले अनुभूति नै गर्न सक्दैन । हाम्रै आन्तरिक झगडा र द्वन्द्व भनेर उनीहरूलाई झन् अनुकूल बनाइदिने गर्दछ । यसमा रूपमा आन्तरिक द्वन्द्व जस्तो देखिए पनि सारमा वैदेशिक रणनीतिक हस्तक्षेप निर्णायक हुने गर्दछ ।
तर वास्तविकता धेरै भिन्न छ । हाल भारतमा भाजपाको सरकार छ । यो हिन्दुवादी सरकार हो । भारतीय हैकम र दादागिरी भोग्ने तपाईं हामी धेरै छौँ । अहिले नै ऊ ज्ञानी भइसक्यो भन्ने बुझाइ गलत हो । यस्तो हेपाह प्रवृत्ति बोकेको ठूलो छिमेकी मुलुकले नेपाल जस्तो सानो र कमजोर स्रोतसाधन भएको मुलुकमा यस्तो बेला कुन कुन कोणबाट पकड जमाउन सकिन्छ भनेर सोच्दैन भन्न सकिन्न । उसले नेपाललाई हिन्दु राज्य बनाउन सबैखाले चलखेल गरिरहेको बुझ्न कठिन छैन । आज धेरैले यसको प्रभाव वा दुष्प्रभावको अनुभूति नै गर्न थालेका छन् । यो क्रम अझ बढ्दै जाने सम्भावना देखिन्छ । उता पश्चिमा शक्ति र भाजपा बीच त्यति राम्रो सम्बन्ध त छैन । तर बढ्दो चिनियाँ प्रभावका कारण पश्चिमाहरूलाई पनि नेपालमा अस्थिर धरातल चाहिएको सत्य हो । यस्तो वस्तुगत धरातलमा उनीहरूलाई पनि जातीय, धार्मिक, साम्प्रादायिक तथा सांस्कृतिक भड्कावजन्य गतिविधि अनुकूल हुने देखिन्छ । किनभने अस्थिरताकै बहानामा साम्राज्यवाद घुस्दै आएको तितो इतिहास जगजाहेर छ ।
रक्षात्मक राजनीतिक मुद्दा
वस्तुतः विदेशी शक्तिकेन्द्रहरूलाई हस्तक्षेपका लागि अनुकूल धरातल भनेको आन्तरिक द्वन्द्व नै हो । यसका लागि उनीहरूले राजनीतिक अन्तर्विरोधलाई पहिलो अस्त्र बनाउँदै आएको देखिन्छ । उदाहरणका लागि राजावादी र गणतन्त्रवादी अनि समाजवादी र पुँजीवादी बिचको द्वन्द्वमा आफ्नो स्वार्थ सिद्ध गर्ने । तर पछिल्लो समय सबै राजनीतिक पार्टीहरूले संसदीय चुनावी कार्यदिशा अङ्गीकार गरेपछि भने राजनीतिक झगडाको चखिलो मसला कमजोर भएको छ । कम्युनिस्ट र गैरकम्युनिस्ट भनेर भिडाउने अवस्था छैन । अर्थात् सामान्य अन्तरद्वन्द्व भए पनि राजनीतिक–वैचारिक आधारले वारपारको लडाइँ लडाउने अवस्था छैन । यस्तो बेला द्वन्द्वका अरू विकल्प खोज्ने गरिन्छ । यही मेसोमा उनीहरूले अरू जातीय, धार्मिक तथा साम्प्रादायिक बाहना खोज्न थालेको अनुमान गर्न सकिन्छ ।
दलीय आग्रह–पूर्वाग्रह
यसरी समाज बहकिएका बेला दलगत आधारले पनि एउटा दलले पहल लिने र अर्को दललाई खुइल्याउने वा कमजोर पार्ने रणनीति संसदीय राजनीतिको जन्मजात विशेषता नै हो । संसदीय राजनीतिमा समग्र रणनीति नै चुनाव केन्द्रित हुन्छ । यसो भएपछि कसरी अर्को दललाई कमजोर बनाउन सकिन्छ र आफ्नो दलको विजय सुनिश्चित गर्न सकिन्छ भन्ने बाहेक अरू सवाल गौण हुन्छ । यसमा मुद्दाका आधारमा, सही र गलतको आधारमा, अग्रगामी र पश्चगामीको आधारमा अनि बहुसङ्ख्या र अल्पसङ्ख्याको हित र स्वार्थका आधारमा समर्थन र विरोधको राजनीतिक लक्ष्मणरेखा तय गरिएको हुँदैन ।
तब त्यहाँ सही र गलत राजनीतिक विचारबारे बहस छलफल हुँदैन । अर्को दललाई खुइल्याएर आफ्नो पकड बलियो बनाउने भन्ने मात्र हुन्छ । परिणामतः त्यहाँ राजनीतिक पद्धति र संस्कृति गौण हुन्छ । इमान जमान र नैतिकता हुँदैन । सिर्जनशील, रचनात्मक र सकरात्मक सहयोग, सुझाव र परामर्श हुँदैन । सकरात्मक दृष्टिकोण राख्ने संस्कृति नै नामेटको अवस्थामा पुग्छ । जुनसुकै अवस्थामा पनि निरपेक्ष नकरात्मकताले घर गरिरहेको हुन्छ । कतिसम्म भने आफ्नो स्वार्थ सिद्ध हुन्छ भने गलतलाई सही भन्ने, गलत कार्य गर्न उक्साउनेसम्मका निकृष्ट हर्कत सामान्य भइरहेको छ । यो दुःखद विडम्बनाको कुरा हो । त्यसैले पछिल्ला घटनालाई मलजल पुग्नुमा निकृष्ट दलीय स्वार्थ पनि जिम्मेवार रहेको छ ।
निष्कर्ष
समाज यसरी तरङ्गित र संवदेनशील हुनुमा मूलतः राजनीतिक वैचारिक नेतृत्व रक्षात्मक हुनु हो । सामाजिक सञ्जालमा अभिव्यक्त चोटिलो, घोचिलो, स्वादिलो र पेचिलो स्ट्याटस र भिडियो क्लिप हेरेकै भरमा बनिबनाउ धारणा बनाउँदै उत्तेजित हुनुको दुष्परिणाम हो । यस अतिरिक्त वैदेशिक शक्तिकेन्द्रहरूले विभिन्न नयाँ उर्वर बाहना खोज्नुको उपज हो । योसँगै राजनीतिक कार्यदिशा लगभग उस्तै भएपछि अस्थिरताको लागि अपनाइएको वैकल्पिक रणनीति हो । यता दलीय आग्रह–पूर्वाग्रह, कुण्ठा, प्रतिशोधलाई पनि नजरअन्दाज गर्न सकिन्न । यस अतिरिक्त प्रचण्ड सरकारले सुशासन स्थापित गर्नका लागि चालेको ऐतिहासिक अभियानलाई बिचैमा तुहाउन यस्ता अनपेक्षित हर्कत बढिरहेको सन्दर्भलाई पनि नजरअन्दाज गर्न सकिन्न ।
त्यसैले राजनीतिक–वैचारिक रूपमा सचेत बनौँ । अराजक, अविवेकी र कसैद्वारा परिचालित नबनौँ । सकरात्मक कामका लागि सरकार र प्रतिपक्ष भनेर तिक्तता नसाँधौँ । सामाजिक सञ्जालमा देखेकै भरमा अन्तिम धारणा नबनाऔँ । व्यक्ति वा वस्तुप्रति द्वन्द्ववादी भएर आलोचनात्मक चेतसहित चिरफार गर्ने गरौँ । हाम्रो आन्तरिक मामलामा विदेशीहरूलाई धेरै स्थान नदिऔँ । राम्रो कामको हकमा सरकार र प्रतिपक्ष भेनर दलीय कित्ताकाटसहितको आग्रह–पूर्वाग्रह नराखौँ । यो संसारमा अजम्बरी केही र कोही पनि छैन । बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचानद्वारा निर्देशित सहिष्णुता र सद्भाव बिथोल्ने काम कोहीकतैबाट पनि नगरौँ । सबैखाले अराजकताको अन्त्य गरौँ । यसैमा नेपाल र नेपालीको कल्याण अन्तर्निहित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता