नागरिकहरू सरकारको कामसँग सन्तुष्ट छैनन्: मन्त्री जोशी
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आम नागरिकहरू सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले सरकार र सरकारका निकायबाट प्रवाह हुने सेवाबाट नागरिकहरू खुसी हुन नसकेको बताएका हुन् । उनले सरकार र सरकारी निकायबाट प्रवाह हुने सेवाका विषयमा कर्मचारीहरू पनि जिम्मेवार ढङ्गबाट अघि बढ्नु पर्ने बताए । कर्मचारीहरूले सरकारका निर्णयलाई सही र सरल ढङ्गबाट कार्यान्वयन गराउन नसक्दा समस्या भएको उनको भनाइ छ ।
पछिल्लो समय प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पतालका सेवा प्रति नागरिकहरूको गुनासो बढ्दो क्रममा रहेको उनले बताए । सरकार र कार्यरत कर्मचारीहरूको सहकार्यमा उक्त गुनासो सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
‘आम नागरिकहरू सरकार र कर्मचारीसँग खुसी छैनन् । प्रादेशिक अस्पतालका सेवामाथि गुनासो बढ्दो छ । त्यसका लागि सुधारका काम गर्नुपर्छ ।’ उनले भने, ‘सरकारले मात्र गरेर हुँदैन । सबैले मिलेर सुधार गर्ने हो । अस्पतालको सेवा सुधारका लागि काम गर्नुहोस् । कहाँ सहयोग गर्नुपर्छ म प्रतिबद्ध छु । सरकारको निर्णयलाई कार्यान्वयन गर्नुहोस् । पारदर्शी र जिम्मेवार भएर जनताले थाहा हुने गरी काम गर्नुहोस् ।’
अस्पताल भित्र डाक्टरहरू असुरक्षित हुँदा सेवामा नै प्रभाव परेको भन्दै सो समस्या समाधानका लागि सरकारले काम गरिरहेको उनले बताए । चिकित्सकहरूले उच्च मनोबल सहित काम गर्न आग्रह गर्दै मन्त्री जोशीले चिकित्सकको सुरक्षामा सरकार प्रतिबद्ध रहेको र त्यसका लागि जिल्लामा सुरक्षा तथा अनुगमन समिति गठन भएको उनले बताए ।
नागरिकहरूको गुनासो आउने वातावरण अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालहरूलाई व्यवस्थित बनाउन र प्रादेशिक अस्पतालको सेवालाई उत्कृष्टता प्रदान गनेतर्फ ध्यान दिन उनले आग्रह गरे ।
विगतमा म नेविसंघमा हुँदा पनि अस्पतालहरूको अवस्था यस्तै छ । आज पनि समस्या उस्तै छ । अस्पतालको सुधारका लागि त्यति बेला बैले मेसुदेखि अध्यक्ष र सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको हो । तर, अवस्था फेरिएन । आज म सुधार गर्ने ठाउँमा छु । यो अवस्थाले हुँदैन । स्वास्थ्य क्षेत्रमा कुनै कमीकमजोरी गर्नुहुन्न । म गर्दिन तपाईँहरूलाई पनि गर्न दिन्न । नागरिकको सेवा गर्न आएको हुँ । तपाईंको जिम्मेवारी पनि त्यही हो । नागरिकको सेवा सहज सरल र स्तरीय हुनुपर्छ । पहल गर्नुहोस्,’ उनले भने ।
हेटौँडा अस्पताललाई प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सरकारले काम गरिरहेको र त्यसका लागि आन्तरिक सुधारका थप प्रयासहरु जरुरी रहेको उनले औँल्याए । अस्पताललाई व्यवस्थित बनाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थायित्व जरुरी रहेको उनले बताए । प्रतिष्ठानलाई स्थायित्व दिन सरकारले पहल गरिरहेको र त्यसका लागि ऐन संशोधनको तयारी भइरहेको उनले बताए ।
मन्त्री जोशीका अनुसार मानिसहरूमा पारिवारिक आर्थिक सामाजिक कारणले मनोरोग देखा गर्ने गरेको बताए । नेपाल पनि मानसिक रोगको उच्च जोखिममा रहेको र विशेष गरी सहरी क्षेत्रका नागरिकमा मनोरोगको जोखिम बढी रहेको उनले बताए । सो रोगको जोखिम नियन्त्रणका लागि काउन्सिलिङ र परामर्श गर्न जरुरी रहेको उनको भनाई छ । रोगका विषयमा समाजमा खुलेर कुरा गर्न सके मात्र नियन्त्रण गर्न सकिने उनले बताए ।
पछिल्लो समय चुनौतीपूर्ण अवस्थामा रहेको उक्त रोग लाग्न नदिन सरकारले तल्लो तहमा काम गर्ने योजना बनाएको उनले बताए । प्रदेश सरकारले स्थानीय तह र टोलमा जोडिएर उक्त रोग नियन्त्रणमा काम गर्ने तयारी गरेको उनको भनाई छ ।
२५ शय्याको मनोचिकित्सा वार्डको उद्घाटन
मन्त्री जोशीले हेटौँडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्डको उद्घाटन गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई लक्षित गरी मनोचिकित्सा वार्डको सञ्चालनमा ल्याएको हो ।
समाजमा जटिल बन्दै गएको मानसिक समस्याका व्यक्तिहरूलाई काउन्सिलिङ र उपचार गर्ने उद्देश्य अनुसार अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए । उनका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टा छुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनका लागि उद्घाटन गरिएको हो ।
यसअघि अस्पतालमा सो वार्ड सञ्चालनमा रहेको थिएन । गत असारबाट हेटौँडा अस्पतालमा १ जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपिडी मार्फत् सेवा प्रवाह गर्दै आएको र हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवा दिने अस्पतालले तयारी गरेको हो । अस्पतालमा स्थापनाको तयारी गरिएको उक्त वार्डको केही प्राविधिक र व्यवस्थापकीय कामहरू पुरा गर्न बाँकी रहेका र छिट्टै नै सो वार्डलाई पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने उनले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राजेश प्रसाईँका अनुसार सो वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुल्ला गरिएको छ । सोही वार्डका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्यापन गरेका एक जना एमएसी नर्सिङ अध्ययन गरेकी नर्स अस्पतालमा प्राप्त भएकोले सहजता प्रदान गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा