रातोपाटी ब्रिफिङ : आजका टप १० समाचार
आज २०८० असोज २४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
भेपमा सुन
भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् ।
विमानस्थलको जग्गा व्यक्तिका नाममा
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना बाहिर आएपछि विभिन्न निकायले छानबिन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस विषयमा मालपोत कार्यालय प्रमुख कुमार आचार्यलाई १० बुँदे स्पष्टीकरण सोधेको थियो । मालपोत कार्यालय प्रमुख आचार्यले हालै त्यसको जवाफ दिएका छन् ।
पारिवारिक इजलास
गत भदौ ४ गते संसदीय सुनुवाइ समितिमा आफ्नो भावी कार्ययोजना सुनाउने क्रममा हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भनेका थिए, ‘पारिवारिक विवाद छिटो निरुपण गर्न फेमिली कोर्ट स्थापना गर्नेछु ।’ तत्कालीन समयमा प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो कार्ययोजनामा समावेश गरेका पारिवारिक इजलासको गठन सोमबार काठमाडौँ जिल्ला अदालतबाट सुरु गरे । काठमाडौँमा यसले राम्रो प्रभाव पार्न सकेमा चाँडै ललितपुर र भक्तपुरमा पनि पारिवारिक इजलास सुरुवात गर्ने घोषणासमेत उनले गरे ।
बागमती प्रदेशमा भागबण्डा
बागमती प्रदेशसभाको संसदीय समिति बढाउने चर्चा सुरु भएको छ । दलहरूबिच भागबण्डा मिलाउन संसदीय समिति बढाएर सभापति चयन गर्ने चर्चा सुरु भएको हो । प्रदेशसभामा रहेका दलहरूलाई भागबण्डा पुग्ने गरी प्रदेशसभाका ५ वटा संसदीय समितिलाई बढाउने चर्चा सुरु भएको हो । हाल प्रदेशसभामा रहेका प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति, उद्योग पर्यटन तथा वातावरण समिति र अर्थ तथा विकास समिति छन् ।
सिक्किम बाढी
सिक्किममा ज्याला मजदुरी गर्न गएका इलामका ५ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको अवस्था अज्ञात रहेको इलामस्थित प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
इजरायलमा नेपाली
युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।
कार्यकर्ताहरु धावनमार्गसम्मै पुगे
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । सुरक्षालाई चुनौती दिँदै उनीहरु बुधबार अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।
बालयौन दुर्व्यवहारको आरोप
नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अख्तियार प्रमुख संसदीय समितिमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा अख्तियार प्रमुख राईले भने– ‘भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो ।’
वैद्य नेतृत्वको पार्टीको कार्यनीति
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माणलाई तात्कालिक राजनीतिक कार्यनीति बनाउने भएको छ । असोज १६ देखि २१ गतेसम्म बसेको पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को दोस्रो बैठकले तात्कालिक राजनीतिक कार्यनीतिबारे निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’