परोपकारी काममा एनआरएनएले खर्चियो झन्डै १ अर्ब
काठमाडौँ । विदेशमा बस्ने नेपाली र नेपाली मूलका विदेशी नागरिकको छाता सङ्गठन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्थापनाको २० वर्षे अवधिमा परोपकारी काममा उल्लेखनीय भूमिका निर्वाह गरेको तथ्यांकले देखाएको छ । संस्थागत ढंगबाट भएका च्यारिटीलगायतमार्फत मात्रै एनआरएनएले परोपकारी काममा झन्डै एक अर्ब रुपैयाँ खर्चिएको देखिन्छ ।
एनआरएनएहरुले व्यक्तिगत तवरबाट यो भन्दा कयौँ गुणा बढी रकम परोपकारी काममा खर्च गरेको संघको दाबी छ । यस्तै एनआरएनएकै मेगा प्रोजेक्टमार्फत पनि नेपालमा अर्बौँ रकम खर्च संघको भनाइ छ ।
भूकम्प र लाप्राक बस्ती परियोजना, शंखमुल पार्क निर्माण परियोजना, मोबाइल ब्लड बस, सार्वजनिक शौचालय निर्माण परियोजना, एनआरएनए कोभिड–१९ रिस्पोन्स, वृद्धाश्रम र मानवसेवा आश्रम, मानवीय संकट व्यवस्थापन क्याम्पेन, अक्सिजन प्लान्ट प्रोजेक्ट, ई–लाइब्रेरीजस्ता ठुला परियोजनामार्फत मातृभूमिको सेवामा अर्बौँ लगानी भएको संघको भनाइ छ । यस्तै बाढी, पहिरो भूकम्प, कोरोना महामारी जस्ता राष्ट्रिय संकटका साथै अन्य अवस्थामा समेत एनआरएनएले उल्लेख्य भूमिका निर्वाह गरेको कार्यकारी अध्यक्ष डा बद्री केसी बताउँछन् । नेपालमा मात्रै नभएर प्रवासमै पनि एनआरएनएले नेपालीहरुको सुःखदुखमा साथ दिने गरेको बताउँदै उनले हरेक सुखदुःखमा साथ दिएकै कारणले प्रवासी नेपालीहरुमाझ एनआरएनएको गरिमा बढ्दो क्रममा रहेको दाबी गरे ।
‘समग्रमा एनआरएनएको २० वर्षे अभियानमा परोपकारी कार्यहरू संघमार्फत धेरै भएका छन् र यसमार्फत नै एनआरएनएले आफूलाई चिनाउने र स्थापित गर्ने मौका पाउनुका साथै आगामी दिनमा पनि यसलाई थप सशक्त बनाउँदै लैजाने कुरामा हामी सम्पूर्ण एनआरएनएहरु प्रतिबद्ध पनि छौँ’, उनले भने । एनआरएनए स्थापनाकालदेखि नै विदेशमा बस्ने नेपालीहरूमा आफू जन्मेहुर्केको ठाउँको लागि केही गर्नुपर्छ भन्ने प्रमुख एजेन्डा नै रहेको उनको भनाइ छ। क्षेत्रीय रूपमा, स्थानीय रूपमा र राष्ट्रियरुपमै फरक फरक ठाउँका परोपकारी कामहरू भएको उल्लेख गर्दै केसीले एनआरएनए र परोपकारी काम आपसमा पर्यायवाची शब्दजस्तै भएको तर्क गरे ।
पेसा, व्यवसाय, रोजगार र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा रहँदा सिकेको सीप, ज्ञान, पुँजी र अनुभवलाई भित्र्याएर समृद्ध नेपाल निर्माण गर्ने अठोटका साथ सन् २००३ मा एनआरएनएको स्थापना भएको थियो । अर्थात् आजभन्दा २० वर्ष पहिला (११–१४ अक्टोबर, २००३) मा पहिलो विश्व सम्मेलन गरेर डा उपेन्द्र महतोको नेतृत्वमा एनआरएनए गठन भएको थियो । विश्व सम्मेलन सुरु भएको दिन अक्टोबर ११ लाई संघले ‘एनआरएनए डे’ को रूपमा मनाउँदै आएको छ।
गैरआवासीय नेपाली संघको विधानले नै परापकारी कार्य सञ्चालनका लागि उपाध्यक्षको नेतृत्वमा कार्य सञ्चालन गर्नेगरी व्यवस्था गरेको छ । यसबाहेक एनआरएनए फाउन्डेसनको छुट्टै निकायको परिकल्पना पनि गरिएको छ । सोही दुई संस्थामार्फत एनआरएनएले परोपकारी कामहरू गर्दै आएको छ ।
संघको सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २००७ मा ‘भेरी ब्रिज भिक्टिम फन्ड’ अन्तरगत एनआरएनएले च्यारिटीमार्फत ७२ हजार ७३६ रुपैयाँ २२ पैसा सहयोग गरेको थियो । यस्तै सन् २००८ मा ‘सेभ डोल्मा फन्ड’ मार्फत ६ लाख रुपैयाँ, सोही वर्ष सुनसरीका बाढीपीडितलाई पनि ६१ लाख ४ हजार ८०७ रुपैयाँ सहयोग गरेको थियो । यसैगरी २०१२ मा सिरहा आगलागी पीडितलाई च्यारिटीमार्फत ३२ लाख ४८ हजार ३२० रुपैयाँ बराबरको सहयोग गरेको थियो ।
यसैगरी २०१२ मै ‘सेती फ्लड भिक्टिम फ्लड रिलिफ फन्ड’ अन्तर्गत पनि एनआरएनएले ५० लाख रुपैयाँ सहयोग गरेको थियो । सन् २०१३ मै एनआरएनएले बाढी पीडितका लागि थप ४३ लाख ६३ हजार ८१८ रुपैयाँ ७५ पैसा बराबरको सहयोग गर्दा ‘सुनकोशी फ्ड रिलिफ फन्ड’ अन्तरगत सन् २०१४ मा पनि ५ लाख ६८ हजार ३५९ रुपैयाँ ९२ पैसा बराबरको सहयोग गरेको थियो ।
यसअघि सन् २०१३ मा ताप्लेजुङका आगलागी पीडितलाई पनि एनआरएनएले १ लाख ८२ हजार ३६७ रुपैयाँ सहयोग गरेको थियो । ‘एभरेस्ट ट्र्याजिडी रिलिफ फन्ड’ २०१४ मा २३ लाख ६८ हजार ७०५, ‘सप्तरी फ्लड इमरजेन्सी रिस्पोन्स’ अन्तरगत २०१७ मा २ करोड ४० लाख सहयोग गरेको थियो । सन् २०१८ मा सपोर्ट टु थानेश्वर भुसाल’ अभियान अन्तरगत पनि १२ लाख ५० हजार, ‘सपोर्ट टु टोपबहादुर बिक’ अन्तरगत ३ लाख रुपैयाँ पनि एनआरएनएले सहयोग गरेको छ ।
अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा मारिएका नेपालीको सहयोगमा पनि एनआरएनएले च्यारिटीमार्फत सहयोग गरेको थियो । जसका लागि संघले १३ लाख रुपैयाँ सहयोग गरेको थियो ।
तराई मधेसमा सन् २०१९ मा आएको आँधी (टोर्नाडो) प्रभावितको सहयोगमा पनि १८ लाख ८ हजार ५०५ रुपैयाँ खर्चिएको थियो । यसबाहेक हलेसी आगलागी पीडितका लागि ९४ हजार ५७५, लिधि बाढीपीडितका लागि ७ लाख १८ हजार ५२६ सहयोग गर्दा टर्कीको विनाशकारी भूकम्पमा समेत संस्थागत ढंगले ४ लाख ८३ हजार ८० रुपैयाँ सहयोग गरेको थियो ।
यसैगरी च्यारिटी अन्तर्गत एनआरएनएले कोभिड फन्डमा ४ करोड ३८ लाख २१ हजार ३८५, अक्सिजन प्लान्टमा ४ करोड ८३ लाख ४२ हजार १६६, मेक इन नेपालमा १ करोड २८ लाख ७ हजार ५८०, मोबाइल शौचालयमा २ करोड ८० लाख, महिला तालिममा १ लाख, उमन इम्पावरमेन्टमा ४ लाख १५ हजार ७००, स्ट्रिट चिल्ड्रेन प्रोजेक्टमा ७ लाख ५० हजार, एनआरएनए रोड सेफ्टीमा १६ लाख ६३ हजार ७६९ रुपैयाँ ३२ पैसा, च्यारिटी टर्कीमा ६ लाख ५६ हजार ८००, च्यारिटी अर्थक्वेक डोटीमा ५ लाख, एनसीसी च्यारिटी फिनल्याण्डमा ७ लाख २५ हजार ७२८ रुपैयाँ ३६ पैसा सहयोग भएको छ ।
यसैगरी एनसीसी च्यारिटी जापानमा ६ लाख ह्विलचियरमा १५ लाख, बत्रेश्वरी च्यारिटीमा ५६ लाख ९५ हजार २९९ रुपैयाँ ७२ पैसा सहयोग भएको छ । यसबाहेक सिन्धुपाल्चोक बाढी तथा पहिरोका साथै पीडित दुःख पीडामा समेत विभिन्न परोपकारका काममा गरी संघले संस्थागत ढंगले २० वर्षमा च्यारिटीमार्फत कुल ९६ करोड ७४ लाख ११ हजार ३४५ रुपैयाँ ६४ पैसा सहयोग गरेको देखिन्छ ।
च्यारिटीमार्फत भएका केही संस्थागत प्रमुख कार्य
संघको त्यो पहिलो परोपकारी काम
संघले परोपकारी कामका सन्दर्भमा यो २० वर्षको अवधिमा साना ठुला गरी उल्लेखनीय काम गरिसकेको छ । यसमा ठुलो लगानी पनि भइसकेका छन् । यी सबै उदाहरणीय कामको थालनी एनआरएनएले पशुपतिमा क्रियापुत्री भवन निर्माण गरेर सुरु गरेको थियो । तत्कालीन अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो कार्यकालमा संघको तर्फबाट उनको स्वर्गीय आमा फूलकुमारी महतोको सम्झनामा २०६२ सालमा पशुपतिस्थित राजेश्वरी घाटमा क्रियापुत्री भवन निर्माण गरेका थिए । त्यतिबेला १ करोड २५ लाख रुपैयाँमा शौचालयसहितका १४ कोठे भवन निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको थियो ।
ठुला परियोजनामा ध्यान
विगतमा एनआरएनएले खुद्रा मसिना कार्यहरू च्यारिटीमार्फत गर्दै आएकोमा पछिल्लो समय परोपकारी कार्यहरुको शैली पनि बदल्न थालेको छ । अवसर र सम्भावना बोकेका क्षेत्रको चयन गरी ठुला परियोजनामा आफ्नो लगानीमार्फत एनआरएनएले लक्षित समुदायलाई समेट्न थालेको देखिन्छ ।
जसअनुसार २०७२ लाखमा गएको विकाशकारी भूकम्पपछि एनआरएनएले विश्वभरबाट तत्काल १२ करोड ३७ लाख ४४ हजार २ सय ३७ र ६७ पैसा संकलन गरेर आफ्नो भूकम्प पीडित राहत तथा उद्दार कोषमा जम्मा गरेको थियो । भूकम्पका बेला एनआरएनएले राहत सामग्रीमा औषधि र खाद्यपदार्थसहित आवश्यक निर्माण सामग्री करिब १७ हजार परिवारलाई वितरणसमेत गरेको थियो । यस्तै करिब ३ करोड ७० लाख रुपैयाँ छु्ट्टै फण्ड पनि परिचालन गरिएको थियो । यसैगरी लाप्राक एकीकृत वस्ती निर्माणमा एनआरएनएले ५७ करोड रुपैयाँ खर्च गरेको छ ।
यसैगरी शंखमुल पार्क निर्माण परियोजनामा एनआरएनएले २ करोड २० लाख रुपैयाँ खर्च गरेको छ भने ८ वर्षअघि नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा तराई केन्द्रित दलहरुले मधेसमा आन्दोलन चर्काउँदा भएको संकटमा पनि संघले मानवीय सहायताका लागि १ करोड ६० लाख रुपैयाँ खर्च गरेको थियो ।
देवघाट वृद्धाश्रम निर्माणमा एनआरएनएले १ करोड ४९ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी ‘एक गैरआवासीय नेपाली एक असहाय बालबालिका सहायता’ कार्यक्रमअन्तर्गत एनआरएनएले वार्षिक १०० बालबालिकाका लागि २ करोड रुपैयाँ तीन वर्षमा जुटाउने लक्ष्य लिएको छ ।
एनआरएनए कोभिड–१९ रिस्पोन्स
कोरोना महामारी र लकडाउनका बेला संघले खाडी मुलुकका कामदारहरूको उद्धार तथा राहतका लागि भनी आईएलओबाट १० करोड परियोजना सञ्चालनमा आएको थियो । सो परियोजनामार्फत शेल्टर सपोर्ट ३ हजार ६३४ जना, लेगल सपोर्ट ५३१ जना, काउन्सिलिङ १२ हजार ५१७ जनाले पाएका थिए । यस्तै क्याम्पमा ३ हजार ९७२ जनाले सुविधा पाएका थिए भने हेल्थ डेस्क सर्भिस ४ हजार २६८ जनाले पाएका थिए ।
यसैगरी आरटी–पीसीआर टेस्ट ७४९ जनामा गर्न सकिँदा ९८७ जनाले हजाइ टिकट सुविधा पाएका थिए । यस्तै २३४ जनाको डिटेन्सन फाइन तिरिएकामा आत्महत्या रोकथामसम्बन्धी तालिम पनि ४४ जनालाई दिइएको थियो । यस्तै १ हजार ८८७ जनालाई हेल्थक्याम्पमार्फत सेवा दिइँदा स्थानीय यातायातमार्फत १ हजार २७७ जनाले सेवा पनि पाएका थिए । यस्तै स्पेशल निड केश १०७ जना र स्किल म्यापिङबाट १३ हजार ४८७ जनाले सेवा पनि पाएका थिए ।
कोरोना कहरका बिच पनि एनआरएनएले उपलब्धिपूर्ण कार्य गर्न सफल रहेको डा केसी बताउँछन् । महामारीकाबिच एनआरएनएमार्फत २३ करोड रुपैयाँ परिचालन भएको उनी स्मरण गर्छन् । १ लाख ७० हजार कोरोना पीडित गैरआवासीय नेपालीलाई राहत प्रदान गरिँदा गैरआवासीय नेपालीबाट थप १३ करोडको आर्थिक सहयोग पनि भएको थियो । नेपाल सरकारलाई ४ करोड १४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग, सात प्रदेशका १४ स्वास्थ्य संस्थामा मेडिकल सामग्री प्रदान, १२ राष्ट्रिय समन्वय समितिमा ६५ लाख रुपैयाँ बराबरको सहयोग, ५० देशका ३०० भन्दा बढी सहरहरूमा स्वयम् सेवक परिचालन पनि गरिएको थियो । यस्तै विश्वभरका दुई सय गैरआवासीय नेपाली चिकित्सकबाट स्वास्थ्य परामर्श पनि सो क्रममा गरिएको थियो ।
यसैगरी एनआरएनएको परोपकारी काम अन्तरगत ई–लाइब्रेरीमा महत्त्वपूर्ण परोपकारी काम भएको बताइन्छ । एनआरएनएले संस्थागतका साथै अभियन्ताहरूको पहलमा २०० देशका २०० भन्दा बढी क्षेत्रमा इलाइब्रेरी स्थापना भएको प्रवक्ता सोम सापकोटा बताउँछन् । नेपालमा इलाइब्रेरी निर्माणमा एनआरएनएको संस्थागत र व्यक्तिगत तवरबाट करोडौँ खर्च भएका छन् । जहाँ जहाँ ई–पुस्तकालय सेवा सञ्चालन गरिएको छ, त्यहाँका सरोकारवालाले यसको दिगो सञ्चालन र प्रभावकारी प्रयोगबारे ध्यान दिनुपर्ने ईलाइब्रेरी अभियानका अभियन्तासमेत रहेका प्रवक्ता सापकोटाको जोड छ ।
यसबाहेक एनआरएनएले नेपाल डेभलपमेन्ट फन्डमार्फत पनि १० अर्ब रुपैयाँको कोष बनाएको छ । एनआरएनए स्मार्ट रेस्टरुममा ८० लाख रुपैयाँ खर्चिएको छ । यस आधारमा एनआरएनएले च्यारिटीकै एक अंगको रुपमा मेगा प्राजेक्टमार्फत अर्बौँ लगानी गरिसकेको छ ।
ठुला प्रोजेक्टमा भएका खर्च
परोपकारी आगामी ‘प्रोजेक्ट’
एनआरएनएले आगामी दिनमा पनि आफ्ना परोपकारी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । त्यसका लागि यसअघि नै घोषणा भएका प्रोजेक्टहरूलाई पूर्णता दिने योजना पनि अख्तियार गरिएको अध्यक्ष केसीको भनाइ छ ।
जसअनुसार आगामी दिनमा अक्सिजन प्लान्ट प्रोजेक्टलाई निरन्तरता दिन सकिनेछ । कोरोनाकालमा संघले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । तर, कोरोना महामारी कम भएसँगै यो योजना कार्यान्वयनमा जान नकसेपनि आवश्यकताअनुसार काम गर्न सकिने एनआरएनएको भनाइ छ । कोरोना महामारीमा एनआरएनएले अक्सिजनको उपलब्धतालगायतका कार्यमा २३ करोड रुपैयाँ परिचालन गरेको थियो ।
यसैगरी संघले देशका सातै प्रदेशलाई मोबाइल ब्लड बस दिने योजना बनाएको छ । यो निर्णय २०७७ पुसमै एनआरएनएले गरेर कार्यान्वयन प्रक्रियामा लगेको हो ।
जसअनुसार एनआरएनएले चितवनको भरतपुरमा आधुनिक सुविधा सम्पन्न मोबाइल ब्लड बस हस्तान्तरण गरिसकेको छ। यस्तै एनआरएनएको दोस्रो मोबाइल ब्लड बस सुदूरपश्चिम प्रदेशमा हस्तान्तरण गरिएको छ । यो परियोजनाको अनुमानित ३ करोड करोड २५ लाख रहेको छ । निकट भविष्यमै एनआरएनएले सबै प्रदेशमा ब्लड बैंक हस्तान्तरण गर्ने योजना बनाएको छ । यस कार्यको लागि नववर्ष २०२१ को प्रथम दिनदेखि आर्थिक संकलन अभियान प्रारम्भ गरिएको छ । यसमा लाखौँ रुपैयाँ रकम संकलन भइसकेको छ ।
यसैगरी एनआरएनएले विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि पनि योजना बनाएको छ। जसअनुसार ४ वटा स्मार्ट शौचालय बनाउन काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेपनि महानगरले ठाउँ उपलब्ध नगराएकाले कार्यान्वयनमा गइसकेको छैन ।
एनआरएनएले २० वर्षको अवधिमा परोपकारी गतिविधिमार्फत मातृभूमिको सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेपनि यस्तो सहयोगलाई लक्षित समुदायसम्म लैजान थप पहलकदमी जरुरी देखिने सरोकारवालाको भनाइ छ । सहयोग विकेन्द्रित हुनुपर्ने, सहयोगका क्षेत्रलाई पनि व्यवस्थित बनाउँदै सहज ढंगले पीडितलाई राहत प्राप्त हुने गरी योजना बनाउनुपर्ने, खर्चको हिसाव चुस्त दुरुस्त राख्नुपर्नेलगायतका सुझाव पनि सरोकारवालाहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...