भन्सार प्रमुखको बयान : कृष्णबहादुर महरा र राहुल महराले लिलामीमा ‘अस्वाभाविक’ दबाब दिए
काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर ल्याएको अवैध सुन छुटाउन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले अनावश्यक दबाब दिएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको बयानमा कृष्णबहादुर महरा र राहुल महराले अस्वाभाविक दबाब दिएको बयान दिएका हुन् ।
अरुण पोखरेलले आफ्नो बयानमा राहुलले ६–७ पटक कार्यालयमै आएर लिलामीका लागि पटकपटक दबाब दिएको, आफ्नो समूहलाई नै पर्ने गरी लिलामी गराउन भनेको र छिटो लिलामी गराउन दबाब दिनुका साथै जफत भएको भेप हेर्न चाहेको बयान दिएका छन् ।
राहुलसँगै आएका चिनिया नागरिकहरूले समेत जफत भएको सामान नै लिलामी गर्न लागिएको हो कि अर्को सामान लिलामी गर्न लागिएको हो भनेर हेर्न चाहेको र त्यही सामान नै बढी मूल्य तिरेर समेत लिलामी सकार्न लागेपछि शङ्का लागेर आफूले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको बयान दिएका छन् ।
यस्तो छ तत्कालीन प्रमुख भन्सार अधिकृत अरुण पोखरेलले सीआईबीमा दिएको बयान :
‘म मिति २०७९।०५।२० गते देखि त्रि.वि. भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको पदमा कार्यरत रही आएको छु । मिति २०७९।०९।१० गते फ्लाई दुबईको उडान नम्बर एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले दुई वटा सुटकेस भित्र ७३ बट्टामा ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) जफत भई मिति २०७९।१०।२९ गते मुद्दा तथा लिलाम शाखामा दाखिला भएको थियो ।
उक्त इलेक्ट्रिक सिगरेट (भेप) सो शाखामा दाखिला भएपछि नियमानुसार लिलाम वा नष्ट गर्ने प्रक्रिया अगाडी बढिरहेको अवस्थामा विभिन्न व्यक्तिहरू मालबस्तु लिलाम प्रक्रिया अगाडी बढाई दिई हामीलाई नै सकार गराइदिने वातावरण बनाई दिनु भनी म लगायत कार्यालयका निमित्त प्रमुख विष्णु प्रसाद पौडेललाई समेत भनेका थिए । सोही क्रममा कृष्ण बहादुर महराले निजको मोबाइल नम्बर ९८५१२xxx५५ बाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ के रहेछ हेरिदिनु, सहयोग गरिदिनु भनी भनेका थिए ।
निज राहुल महराले मेरो मोबाइल नम्बर ९८४१२९xxx३ मा एसएमएस गरी म राहुल महरा हो भेटेर कुरा गर्नु छ भनी म्यासेज पठाएको थियो । म सँग पहिले चिनजान नभएको आफूलाई राहुल महरा भनी चिनाउने व्यक्ति मेरो कार्यालयको कार्यकक्षमा आई भेटी सो इलेक्ट्रिक सिगरेट (भेप) को चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए ।
निज पटक पटक गरी ६/७ पटक सोही विषयलाई लिएर कार्यालयमा दबाब दिन आउने क्रममा एक दिन निज राहुल महरा तीनजना सहित सोही विषयमा कुरा गर्न आउँदा कुरा गुर्ने क्रममा नाम थर समेत थाहा नभएका अन्दाजी ५५ वर्षको मोटो शरीर भएको उचाइ ५.७ फिट भएको मंगोलियन जस्तो देखिने व्यक्तिले जफत भएको मालबस्तु रहेको सुटकेस हेर्नको लागि अनुरोध गरेका थिए ।
सो पश्चात् निजलाई गोदाममा रहेको मालबस्तु किन हेर्नु पर्यो, तपाईँहरू पटक पटक किन यो कामको लागि आउनु भएको छ, सो सुटकेसमा कुनै शङ्कास्पद मालबस्तु रहेको छ कि यसमा प्रहरीले समेत अनुसन्धान गर्ने कुरा रहेको छ भनी निजहरूको नियत बुझ्न भनी दिएको थिए । साथै यदि आयोजनाको लागि इलेक्ट्रिक सिगरेट (भेप) चाहिने भए बजारमा अरू पनि इलेक्ट्रिक सिगरेट (भेप) पाउन सकिने भन्दा निजले होइन यो जफत भएको इलेक्ट्रिक सिगरेट (भेप) नै चाहिन्छ भनी जवाफ समेत दिएको थिए ।
सो पश्चात् कुनै खास इलेक्ट्रिक सिगरेट (भेप) को लागि उनीहरूको अत्यधिक चासो अस्वाभाविक लागेकोले सो मालबस्तुको सम्बन्धमा थप छानबिन गर्ने क्रममा गोदाममा रहेको इलेक्ट्रिक सिगरेट (भेप) साटिएको अवस्थामा फेला पारी विस्तृत अनुसन्धान गर्नु पर्ने देखिएकोले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार समेत गरेको हुँ ।’
भेपमा लुकाएर ल्याएको अन्दाजी १० किलोग्राम सुन भन्सार कार्यालयकै सुब्बा रेवन्त खड्कासमेतको सहयोग र मिलेमतोमा गोदामबाट चोरी गरी विक्री वितरण गरिएको थियो । सो प्रकरणमा प्रहरीले यसअघि नै अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।
भन्सार कार्यालयबाट सुन चोरी गरी विक्री वितरण गर्ने समूहविरुद्ध मुद्दा चलाए पनि सुन तस्करी गरी ल्याउने समूहको पहिचान नभएको भन्दै प्रहरीले अनुसन्धान नै गरेका थिएन । पछि सोही प्रकरणमा कृष्ण बहादुर महरा, राहुल महरा लगायतले तस्कर समूहले ल्याएको सुन छुटाउन पहल गरेकाबारे रातोपाटीमा समाचार प्रकाशन भएपछि प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरी राहुल महरालाई पक्राउ गरेको थियो । सोही प्रकरणमा अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरी सीआईबीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक दरबन्दी पुनरवलोकन समितिले गर्यो शिक्षामन्त्रीलाई ब्रिफिङ
-
अध्यादेशपछि थापाथली र सिनामंगलका सुकुम्बासीले जग्गा पाउलान् ?
-
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
-
चेकिङमा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको घटना छानबिन गर्न समिति
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
-
शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी