दसैँ, कम्युनिस्ट र वर्चस्वको राजनीति
दसैँ कुनै जाति विशेष र धर्म विशेषको मात्र पेवा र विशेष पर्व होइन । दसैँका अनेक आयाम र पक्ष छन् । दसैँ धार्मिक र सांस्कृतिक कर्ममा मात्र सीमित छैन । दसैँ बिदाले यसका नयाँ नयाँ आयाम थपेको छ । दसैँ राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय चाडका रूपमा मनाउन र विश्लेषण गर्न मिल्ने पर्वका रूपमा विकास भएको छ ।
अझ रोचक पक्ष दसैँको बिदालाई पढ्ने, लेख्ने र अनुसन्धानको कार्य गर्ने उपर्युक्त समयका रूपमा पनि परिभाषित गर्न थालिएको छ । आलोचनात्मक चेत राखेर समाज विश्लेषण गर्नेहरू, मानव शास्त्र र समाजशास्त्रका अध्येताहरू पूजाकर्म, अनुष्ठान र यज्ञयज्ञादिमा राजनीतिक अर्थ र प्रयोजनको अभीष्ट पाइन्छ भनेर सोही मुताबिक अध्यन अनुसन्धान, मूल्याङ्कन, विश्लेषण र विवेचना गर्दछन् ।
दसैँ हाइरार्की, वर्चस्व र हेजेमोनीको राजनीतिक पर्व पनि हो । दसैँमा आफूभन्दा ठूलाको आशीर्वाद र टीका थाप्ने चलन मान्यजन भन्दै उच्च पदस्थ नेता, कर्मचारी राजनीतिज्ञ, सांसद, मन्त्री, प्रधानमन्त्री राष्ट्रपतिसम्म अभिभावकीय संरक्षण भनेर पुग्नु पनि एक प्रकारको अधीनस्थता स्वीकार गर्नु हो । त्यसैले दसैँ एक प्रकारको हेजेमोनीको राजनीति हो ।
दसैँ हिन्दु धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिकी देवी दुर्गाको पूजा–आरधना गरी दशमीको दिन टीका, प्रसाद ग्रहण गर्छन् । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रम्ह्चारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, माहागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी, महासरस्वतीको विशेष पूजा आरधना गरी शक्ति आर्जन गर्छन् ।
दसैँलाई सत्ता राजनीति भनियो भने यसमा विमति राख्नेहरू निस्कन्छन्, निस्केका छन् । दसैँ विशुद्ध धार्मिक र सांस्कृतिक पर्व भन्ने तर्क गर्न थाल्छन् । किनभने राजनीतिलाई पार्टीहरू र व्यक्तिको चलखेल, क्रियाकलाप र शक्तिमा पुग्न गरिने निर्वाचन प्रयोजनमा सहभागिता आदिलाई भनेर बुझ्ने बुझाउने गरिन्छ ।
राजनीतिको परम्परागत र सङ्कुचित अर्थभन्दा यसको व्यापक फैलावट भनेको सामाजिक शक्ति, सत्ता र स्वरूपलाई हेर्ने बुझ्ने र महसुस गर्ने तरिका हो । विश्व दृष्टि हो । शक्ति सम्बन्धको अर्थ बोध गर्ने तरिका पनि हो राजनीति । सत्ता र शक्तिलाई हेर्ने दृष्टिबोध गर्ने तरिका समाज र समुदायका आआफ्ना विशिष्टतापूर्ण हुन्छन् । हिन्दु बाहुल्य देश भएकाले नेपालको शक्ति सम्बन्ध यही धर्म संस्कारमा प्रायजसो आधारित देखिन्छ । वर्चस्व आफैँमा एउटा शक्ति सम्बन्ध अर्थात् राजनीति हो । मान्छेहरू धर्मलाई राजनीतिसँग अलग राख्नुपर्छ भन्छन् तर धर्म स्वयंमा राजनीति हो । शक्ति र सामथ्र्यको अनुष्ठान पूजा र भक्ति हो । त्यसैले राजनीति नभएको स्थान हुँदैन । मान्छेको शरीरलाई समेत मिसेल फुकोले राजनीतिक क्षेत्र भनेर अर्थ्याएका छन् । राजनीति त्यस्तो शब्द अर्थ र भूमि हो, यो जताततै फैलिएको पाइन्छ ।
दसैँ धार्मिक रूपमा हेजेमोनीको राजनीति हो । राजनीतिक रूपमा दसैँ भनेको विगतको गोरखाको हिन्दु सत्ताको औचित्यको पुष्टि र त्यससम्बन्धी शक्ति र देवी देउताको पूजा अर्चना हो भन्दै मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘दसैँका लागि गोरखाबाट काठमाडौँमा फूलपाती भित्र्याउनु सत्तासीनहरू अझ सेनाका खास तहका अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगा बलि चढाउनु आदिले गोरखा राज्य विस्तारको औचित्य र हैकमलाई धार्मिक सांस्कृतिक रूपमा वैधता दिने मात्र नभएर गोर्खाली अधीनस्थता र हैकम अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक अर्थ पनि हो ।’
धार्मिक र सांस्कृतिक पर्वका रूपमा दसैँ हिन्दुहरूको विशेष र महत्त्वपूर्ण चाड भए पनि सामाजिक, सांस्कृतिक र पर्यटकीय भ्रमण, अध्ययन, लेखन र अनुसन्धानको अवसरका रूपमा अरू समुदाय, धर्म र सम्प्रदायका लागि पनि दसैँको बिदालाई सदुपयोग गर्ने अवसर प्राप्त छ । दसैँ मान्ने, मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक र राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भन्ने बुझाउँछ ।
दसैँको रातो टीका र सेतो टीका
हिन्दु धर्मावलम्बीहरू रातो टीका लगाउँछन् । हिन्दु धर्मबाहेकका अन्य धर्मालम्बी र समुदायको दसैँ मान्ने र मनाउने प्रचलन फरक छ । दसैँमा हिन्दुहरू रातो अबिर टीका लगाएर यसको सांस्कृतिक अर्थ र विजयोत्सवका रूपमा ग्रहण गर्छन् । राई, लिम्बू, तामाङलगायत गैरहिन्दु समुदायले दसैँको टीका लाउने, लगाइदिने परम्परा गर्दा गर्दै पनि टीकालाई सेतो अक्षता मात्र बनाएर प्रयोग गर्छन् ।
हिन्दुहरू सेतोलाई जुठो जातको मानेको छ । मृत्युको आशौच बार्दा प्रयोग गरिने स्वेत वस्त्र जस्तो सेतो रङको टीका थापेर दसैँ मान्नुको प्रतीकात्मक अर्थ र हिन्दु सम्प्रादायले विजय उत्सव र विजया दशमी भनेर मनाउने पर्वको दिन लगाउने रातो टीकाको अर्थको अध्ययन गर्नुपर्ने देखिन्छ । सेतो टीका कल्चरल हेजेमोनिविरुद्ध प्रतीकात्मक प्रतिरोधका रूपमा पनि विश्लेषण गर्ने आधारहरू छन् ।
दसैँमा लामो बिदा हुन्छ । यही बेला घरआँगन सफासुग्घर गर्ने, रङरोगन गर्ने, कमेरो माटो गर्ने जस्ता सरसफाइसम्बन्धी काम पनि गरिन्छ । त्यसैले यो बेला घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गर्न, आरामसँग बसेर मीठोमसिनो खान माछामासुका परिकार खान, राम्रो लाउन, पिङ खेल्न, अन्य मनोरञ्जन गर्न, शुभकामना आदानप्रदान गर्न, विवाहित छोरीज्वाइँ ससुराली जान, भान्जाभान्जी मामाघर जान यो समय उचित छ । त्यसैले दसैँको धार्मिक र सांस्कृतिक महत्त्व मात्रै छैन, यसको सामाजिक मूल्य र सामाजिकीकरणको अभ्यास पनि छ ।
आन्तरिक पर्यटन र बाह्य पर्यटनका लागि पनि दसैँको बिदालाई सदुपयोग गर्ने प्रचलन बढेको छ । दसैँ मनाउन नमिल्ने र मनाउन नचाहने जुनसुकैले दसैँको धार्मिक र सांस्कृतिक पक्षलाई बहिष्कार गरे पनि यसको सामाजिक पक्ष, मनोरञ्जनको पक्ष र देशदेशावर घुम्ने समय व्यवस्थापन गर्ने अवसरको रूपमा यसको भरपुर उपयोग गर्न सक्छन् । हिजोआज देशभित्रकै नयाँ नयाँ ठाउँमा सपरिवार घुम्न जाने, साथीभाइको समूहमा घुम्न जाने र सक्नेले वैदेशिक यात्राका लागि पनि दसैँको समयलाई अनुकूल मान्ने गरेका छन् ।
दसैँको सांस्कृतिक र धार्मिक पक्ष
दसैँमा धार्मिक विधिपूर्वक गरिने पूजाआजा र देवी दुर्गा भवानीको नौ दिनसम्मको उपासना यसको धार्मिक र सांस्कृतिक रूपमा मनाइने विशेषता हो । आफ्नो धार्मिक र सांस्कृतिक आस्थाका देवी देउताको पूजा गर्नु, शक्तिपीठहरूको भ्रमण बलि र पूजा र शक्ति आर्जनका लागि दूर्गा भवानीको साधना गर्नु हिन्दुहरूको परम्परा हो । धार्मिक आस्था र विश्वास हो । शक्ति साधनको भय र तागत देखाएर आफूलाई बलवान् ऊर्जावान् ठान्दै वर्चस्वको राजनीति देखाउनु दसैँभित्रको धार्मिक राजनीति हो ।
दसैँको मुडलाई फेस्टिभल मुड भनिन्छ
दसैँ आस्तिक र नास्तिक दुवैले मान्छन् । धर्मलाई अफिम भन्ने कम्युनिस्ट भौतिकवादीहरूले पनि मान्छन् । दसैँ मान्नेले धार्मिक र सांस्कृतिक रूपमा जय र विजयको पर्व भनेर मान्छन् भने धर्म नमान्नेले खानपिन र राम रमाइलोको पर्वको रूपमा मान्छन् । जित्नेहरूको इतिहास लेखिने हुनाले विजयको इतिहासको एकातिर व्याख्या विश्लेषण हुन्छ भने आलोचनात्मक दृष्टि राखेर विमर्श गर्नेहरू दसैँको पुनर्व्याख्याको माग गर्छन् र विजित सबै सत् र देवता, हार्ने सबै राक्षस र दानव हुँदैनन्, थिएनन् भनेर आजको युग चेतनाको चस्माबाट हिजोलाई हेर्नु पर्ने विचार व्यक्त गर्छन् । दसैँ हाम्रो होइन, हामी मान्दैनौँ भन्नेहरू पनि दसैँको विरोध र बहिष्करण भन्दै दसैँकै सेरोफेरोमा आफ्नो ध्यान खिच्न पुग्छन् । दसैँ मान्दा नमान्दा यो एउटा फेस्टिभल मुड हुन पुगेको छ । लिम्बुवान र किरात सभ्यतातिर जोर जबर्जस्तीले तत्कालीन सरकारले दसैँ मान्न बाध्य पारेको आरोप पनि जनजाति अधिकारकर्मी दुर्गाहाँङ याख्खा राईको छ ।
राई भन्छन्, “जङ्गबहादुर राणा प्रधानमन्त्री भएपछि गैरहिन्दु किरात समाजका अगुवा राम्लिहाङ र रिदामको हत्या गरी त्यही वर्षदेखि दसैँ मान्न लगाइयो ।” समाजशास्त्री सुरेश ढकालका अनुसार राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गरेपछि लिम्बूलाई पनि दसैँ मान्न र बलि दिन विवश पारियो । दसैँ मानेको प्रमाण स्वरूप पशुको रगतको पञ्जाछाप भित्तामा लगाएर प्रमाण राख्ने र सरकारी हाकिम आएको बेला देखाउने चलन बसालियो ।’ यो हदको दमनलाई गैरहिन्दुलाई हिन्दुकरण गरेको ज्यादतिको रूपमा उल्लेख गरेर विरोध गर्ने गरेको पाइन्छ ।
दसैँ कुनै धर्म विशेषको मात्र पर्व नभएर सबै नेपालीको धार्मिक, सांस्कृतिक र सामाजिक पर्व हो । आजको सन्दर्भमा दसैँलाई आआफ्नो तरिकाले मनाउने छुट सबैलाई छ । कसैलाई पनि बाध्यकारी अवस्था छैन । दसैँ सुरक्षित यात्रा, सुपथ किनमेल, स्वस्थ खानपिन, स्वस्थ शरीर, सुमधुर पारिवारिक र सामाजिक वातावरण, भाइचारा र बन्धुत्वको पर्व दसैँ परदेशीलाई देश सम्झाउने पर्व, घरदेशकालाई घर परिवार समाज र माटो सम्झाउने पर्वका रूपमा विकास गरौँ । दसैँ गजब हुन्छ । दसैँको समाजशास्त्रलाई यसै गरी मूल्याङ्कन गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघमा एसपीए कैलाली प्रिमियर लिग आयोजना हुने
-
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
-
सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’
-
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने