गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूतबिच भेटवार्ता
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताए ।
गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’
जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताए । गण्डकी प्रदेशका केही जिल्लाहरू निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उनले बताए । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न सम्भव नभएको र भौगोलिक विकटताले पनि पूर्वाधार निर्माण खर्चिलो भएको उनले बताए । ‘विभिन्न देश र दातृ निकायहरूको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहन्छौँ ।’
विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुनर्निर्माण सिक्न आवश्यक रहेको बताउँदै उनले भूकम्प, बाढी, पहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको बताए ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताए । जापान सरकार र अन्त्रगतका दातृ निकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उनले गण्डकी प्रदेश सरकारसँगपनि सहकार्य हुने विश्वास व्यक्त गरे । जापान सरकारले पनि नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उनले बताए ।
भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामीण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै