८० प्रतिशत मानसिक रोगी उपचार पहुँच बाहिर
दैनिक जीवनमा आइपर्ने तनावलाई उचित व्यवस्थापन गर्न नसक्नु मानसिक समस्या हो । मानसिक समस्याले व्यक्तिको घरायसी तथा सामाजिक कार्यमा बाधा उत्पन्न गराउँछ । मानसिक समस्याले गर्दा कतिपय व्यक्तिलाई समाजमा सहज रूपमा घुलमिल हुन र सामाजिक व्यवहार गर्न कठिनाइ भइरहेको हुन्छ । तर त्यस्ता व्यक्तिले रोगको पहिचान गरी उचित परामर्शका लागि मनोचिकित्सकसँग गई परामर्श गरेमा उपचार सहज हुन्छ ।
मानसिक रोगको प्रचार प्रसार र सचेतनाका लागि अक्टोबर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यस वर्ष ‘मानसिक स्वास्थ्य, सबैको अधिकार’ नारा तय गरेको छ । यही नाराका साथ आज नेपालमा पनि यो दिवस मनाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हेल्थ फेसिलिटी सर्भेले नेपालमा २५ प्रतिशत मानसिक रोगी स्वास्थ्य संस्थामा परामर्श र उपचारका लागि पुग्ने गरेको उल्लेख गरेको छ । तर ८० प्रतिशत मानसिक रोगीले उपचार सेवा प्राप्त गर्न नसकेको सो रिपोर्टमा उल्लेख छ । यसै सन्दर्भमा मानसिक स्वास्थ्य, यसको समस्या, पहिचान, कडा तथा सामान्य मानसिक स्वास्थ्य समस्या थाहा पाउने विधि, सरकारका प्राथमिकताबारे त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझासँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी–
–तपाईं त्रिवि शिक्षण अस्पतालमा मानसिक रोग विभागका प्रमुख पनि हुनुहुन्छ, मानसिक स्वास्थ्य भनेको के हो ? सर्वसाधारणले बुझ्ने भाषामा भनिदिनुस् न ।
हामीले सोच्ने, विचार गर्ने भावनात्मक कुरालाई व्यवहारमा सही तरिकाले प्रस्तुत गर्न सक्नुलाई मानसिक स्वास्थ्य भनिन्छ । मानसिक स्वास्थ्यका दुईवटा पाटा छन्– मानसिक स्वस्थता अनि मानसिक समस्या । कुनै पनि परिस्थितिमा आइपर्ने तनावलाई आफ्नो क्षमता पहिचान गरी सकारात्मक तरिकाले व्यवस्थापन गरी दैनिक कार्य सुचारु गर्नु मानसिक स्वास्थ्य हो ।
–मानसिक स्वास्थ्य समस्यामा कस्ता कस्ता रोग पर्छन् ?
मानिसक स्वास्थ्य समस्याभित्र धेरै प्रकारका रोग पर्छन्, एउटा मात्रै भन्ने हुँदैन । तीमध्ये कुनै सामान्य खालका हुन्छन् भने कुनै जटिल हुन्छन् । तिनले व्यक्तिगत र सामाजिक व्यवहारमा सामान्य असर गर्छ । यस्तै कुनैले भावनात्मक रूपमा असर गर्छ, सोचमा नै परिवर्तन ल्याउँछ । विचार, व्यवहार र भावना असर गर्यो भने व्यक्ति मानसिक रूपमा विक्षिप्त हुन्छ । त्यस्ता व्यक्ति मानसिक रूपमा डराउने, आत्तिने गर्छन् भने कतिपय उदास हुने, दिक्क मान्ने हुन्छन् । त्यस्ता व्यक्ति विस्तारै डिप्रेसनमा जान्छन् ।
–कडा खालको मानसिक समस्या भएका रोगीमा हुँदा कस्ता लक्षण देखिन्छन् ?
एन्जाइटी डिसअडर तुलनात्मक रूपमा कम कडा खालका मानसिक रोग हो । कम कडा खालको समस्यामा बिनाकारण मन आत्तिने, डराउने, उदास भएर बसिराख्ने, आफ्नो काममा ध्यान नजाने, निद्रा नलाग्ने, भोक नलाग्ने जस्ता लक्षण देखिन्छन् । यस्ता समस्या दुई हप्ताभन्दा धेरै देखियो भने मानसिक स्वास्थ्यमा समस्या हो कि भनेर शङ्का गर्नुपर्छ ।
भ्रम सिर्जना हुनु, अनौठो अनौठो बोल्नु, व्यवाहर पनि सामान्य मानिसको भन्दा फरक देखिनु कडा खालको मानसिक समस्या हो । साइकोसिस, मेनिया र सिजोफेनिया कडा खालका मानसिक समस्या हुन् ।
यस्ता लक्षणहरू लगातार देखिएर दैनिक काममा असर गर्न थाल्यो भने मानसिक स्वास्थ्यको समस्या हो कि भनेर शङ्का गर्नुपर्छ । अनि ती समस्या पहिचान गरी निराकणका लागि विज्ञहरूसँग परार्मश गर्नुपर्छ । उचित परामर्श पाएमा यस्ता समस्य कम गर्न सकिन्छ ।
– सामान्य मानसिक समस्या हुँदा व्यक्ति आफैँले पहिचान गर्न सक्छन् कि सक्दैनन् ?
सामान्य खालको मानसिक स्वास्थ्य समस्या भएमा व्यक्ति आफैँले थाहा पाउन सक्छन् । किनभने चाहिनेभन्दा बढी डर लाग्नु, निद्रा नलाग्नु, उदास भएको व्यक्ति आफँैले अनुभव गर्न सक्छ । तर कडा खालको मानसिक स्वास्थ्य समस्या भयो भने, भ्रमको रोग लाग्यो भने त्यो व्यक्तिले बिरामी छु भन्ने अनुभूति गर्न सक्दैन । यस्तो कडा खालको मानसिक स्वास्थ्य समस्या देखियो भने परिवार, आफन्त, साथीभाइहरूले थाहा पाउन सक्छन् । कडा वा सामान्य खालको मानसिक समस्या देखियो भने मनोविश्लेषक, मनोविद् तथा मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीसँगका परार्मश लिनुपर्छ र औषधी उपचार सुरु गर्नुपर्छ ।
– अझै पनि समाजमा मानसिक रोगीलाई शरीरिक रोगीलाई जस्तै सकारात्मक दृष्टिले हेर्ने धारणा बनिसकेको छैन नि, के कारणले हो ?
मानसिक रोगीप्रति लगाइने लाञ्छना, भेदभाव समाजमा अझै कायम छ । यही कारण मानसिक समस्या भएका बिरामी समुदायमा खुलेर देखिन चाहँदैनन् । यसले गर्दा उनीहरु उपचारका लागि सम्बन्धित ठाउँमा पुग्दैनन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित छन् । समाजमा मानसिक समस्या भएका रोगीलाई हेर्ने नजर गलत छ । यही कारण बिरामीहरू समुदायमा खुलेर अगाडि आउँदैनन् । यही भएर उपचारको पहुँचमा ठूलो खाडल छ । मानसिक समस्या जोसुकैलाई हुन सक्छ, समयमै त्यसको पहिचान गरी उपचार गरिएमा निको हुन्छ भन्ने चेतना समाजमा स्थापित हुन सकेको छैन ।
–सामान्य खालको समस्या भएका व्यक्ति आफैँले पहिचान गरी उपचार गर्न सम्भव छ कि छैन ?
मानसिक स्वास्थ्य समस्या हुन नदिन स्वास्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । स्वस्थ खानपान, शारीरिक व्यायाम, समयमा निदाउने, समयमा उठ्ने, गर्नु पर्छ । समयमा निदाउन सकिएन भने त्यसले मनोविज्ञानमा असर गर्छ । धेरै तनाव भयो भने नजिकको मानिसलाई सुनाउनुपर्छ, मनमा गुम्स्याएर राख्नु हुँदैन । मानिसहरूसँग घुलमिल हुन प्रयास गर्नुपर्छ । धेरै तनाव भयो, अरूलाई सुनाउँदा पनि कम भएन भने विज्ञहरूसँग परामर्श लिनुपर्छ । मनोविद्हरूसँग परामर्श लिनुपर्छ । योग, मेडिटेसन, प्राणायाम गर्ने, कुनै रमाइलो कार्यक्रममा सहभागी हुने, सामाजिक काम र रचनात्मक काममा सक्रिय भई तनाव कम गर्न सकिन्छ ।
–शारीरिक स्वास्थ्यलाई जस्तै मानसिक स्वास्थ्यलाई पनि सरकारले किन प्राथमिकतामा राख्न नसकेको हो ?
मानसिक स्वास्थ्यबारे जनमानसको धारणा फरक छ । सरकारी पक्षबाट पनि प्राथमिकतामा परेको छैन । डब्ल्यूएचओले पनि हरेक ५ व्यक्तिमध्ये ४ जनालाई मानसिक स्वास्थ्य समस्या आउन सक्ने औँल्याएको छ । विश्वमा करिब एक अर्ब मानिसलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ । तर राज्य र नीति निर्माण गर्नेहरूले जसरी प्राथमिकता दिनुपर्थ्यो त्यो दिन सकेको छैन । त्यसैले शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा मानसिक स्वास्थ्य परेको छैन । राज्यले नै ओझेलमा पारेको छ । यो क्षेत्रमा दक्ष जनशक्तिको कमी, मानसिक स्वास्थ्यसम्बन्धी औषधी उपलब्ध गराउने कुरामा कमी छ ।
स्वास्थ्य भनेको जनताको मौलिक हक हो । त्यसलाई पूरा गर्नु राज्यको दायित्व हो । स्वास्थ्य भनेको शारीरिक तथा मानसिक दुवै हो । दुवै क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व हो । सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति वृद्धि गर्न र उपचारको पहुँचमा विस्तार गर्न जरुरी छ । स्वस्थ हुनलाई शारीरिक र मानसिक दुवै महत्त्वपूर्ण हुन्छन् । स्वस्थ जीवन बाँच्नका सचेत भई अगाडि बढ्नु पर्छ ।