शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

मङ्गलबार, २३ असोज २०८०, १४ : ४५
मङ्गलबार, २३ असोज २०८०

म्याग्दी । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि  तयारी गरिएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । 

कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उनले भने, “गृह मन्त्रालयले पठाएको नमूनाअनुसार चीन प्रवेशपास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ । 

बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताए । 

कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुुईपटक सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन् । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुुस्ताङका सुुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले पहल गरेका छन् । प्रवेशपास भएका नागरिकहरु जुुनसुुकै समयमा पनि चीन जाने आउने सुविधा पाउनेछन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । 

यसैगरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप