बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनको तयारी

मङ्गलबार, २३ असोज २०८०, १४ : ०९
मङ्गलबार, २३ असोज २०८०

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड सञ्चालनको तयारी गरेको छ ।

हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालन गर्ने सो अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको अवस्थामा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालनको तयारी गरिएको हो ।

केही प्राविधिक र व्यवस्थापकीय काम पूरा गर्न बाँकी रहे पनि मानसिक स्वास्थ्य सेवा दिवसको अवसरमा यो वार्ड उद्घाटन गरिएको छ । आगामी मंसिरदेखि पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने योजना रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।

उनका अनुसार सो वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए ।

हेटौंडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञ २ देखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रसाई बताउँछन् ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनर्स्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । मानसिक रोगका बिरामीलाई उपचार तथा पारिवारिक पुनःस्थापनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप