शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

छोरीप्रति असल बाबाका शुभेच्छा

मङ्गलबार, २३ असोज २०८०, १३ : १६
मङ्गलबार, २३ असोज २०८०

बाबा शब्द सबैलाई प्यारो हुन्छ । बाबा मेरा लागि त्यतिकै प्यारो जति जोकोहीलाई आफ्नो बाबा प्यारो लाग्छ । 

मेरो बाबा बाल्यकालदेखि नै भारतको नागाल्यान्डमा रहनुभयो । उहाँले आफ्नो अध्ययन पूरा गरी र जागिरमा पाइला टेक्दै गर्दा जन्मभूमि नेपाल फर्कनुभएको हजुरआमा सुनाउनु हुन्छ । बाल्यकालबाट परिवारको साथ र आफ्नोपनको साथका रूपमा बाबाका मामाहरू हुनुहुन्थ्यो । आफ्नो परिश्रम र सङ्घर्षबाट बाबाले सानो संसार सजाउनु भयो । त्यो सानो संसारमा कहिल्यै पनि कुनै कुराको कमी भएन । भौतिक वस्तु जे हामीलाई आवश्यक छ सबै बाबाले पूरा गर्नुभयो । बाबाको भारतीय सरकारी जागिर भएकाले नागाल्यान्डतिर नै धेरै बस्नु हुन्थ्यो । हुन त हामी दिदीभाइ र मेरो जन्म पनि नागाल्यान्डमा नै भयो । जन्मभूमिको छुट्टै किसिमको आत्मीयता हुने रहेछ तर कर्म भूमिको अझ बढी हुने रहेछ ।

सानो हुँदाका बखत परिवारको महत्त्व खासै बुझिँदैनथ्यो । बाबाले पढ्नु पर्छ भन्दा रिस उठ्थ्यो । छिमेकीले खेल्न जाऊ भन्दा छिमेकी ठीक लाग्थ्यो । तर समय बित्दै जाँदा बाबाममीको आवश्यकता पर्दा परिवारको महत्त्व थाहा हुँदो रहेछ । किनभने बाबाआमा हामीबाट टाढा हुनुहुन्थ्यो । उहाँहरूको सङ्घर्षले आज हामी आफ्नो जीवन निर्वाह गर्न सक्ने भएका छौँ । तर पनि मलाई सधैँ बाबाआमासँगै बस्नु मन थियो । अरूको बाबाआमासँगै हुँदा मलाई शून्य लाग्थ्यो । धेरै मुस्किलले चाडपर्वमा हामी साथमा हुन्थ्यौँ । मलाई जीवन बुझेदेखि बाबाको सामीप्यताको आवश्यकताले सताउँदै गयो । कहिले आफ्नो कार्यव्यस्तता त कहिले अध्ययनका कारण परिवारसँग आफैँ टाढा हुनुपरेको अवस्था थियो । त्यो समय मेरा लागि अत्यन्त कष्टकर भएर बितेको छ ।े मम्मी र मलाई सङ्घर्ष बुझ्नु, दुःखी कहिले नहुनू भनेर बाबाले भनेको सधैँ याद आउँछ ।

हाम्रो  ५५ जनाको बृहत् परिवार थियो । परिवारमा जेठो छोरा मेरो बाबा हुनुहुन्थ्यो । उहाँलाई सबैले त्यतिकै माया र सम्मान गर्नुहुन्थ्यो । बच्चा बेलादेखि आफ्नो परिवार र देशबाट टाढा बस्नुभएको भएर मेरो बाबाले आफ्नो कर्म भूमिलाई पूजा गर्नुहुन्थ्यो । कर्म भूमिले जीवन के हो बुझाउँछ भन्नुहुन्थ्यो । 

समय बित्दै गयो, अब बाबाआमाका दुःखका दिन हराउँदै थिए । अब आरामा गर्ने समय आयो भन्ने गर्थ्यौं ।  

तीन महिनाअगाडिको कुरा हो, बाबा हामी सबै परिवारसँगै थियौँ । यो समय हाम्रो वर्षाैंपछि हुने खुसीयाली थियो । अब चाँडै खुसीका दिन आउँदै थियो । म भविष्यको मीठो कल्पनामा हराउँथेँ, जब परिवार सबै नजिक हुने सोच्दथेँ । 

बाबाले तीन महिनाअगाडि आफ्नो केही काम बाँकी छ, म छिट्टै आउँछु भनेर फेरि कर्म भूमि फर्कनुभयो । बाबाले दिनुभएको समय कहिले पनि यताउता नहुने, समयको एकदम पक्का हुनुहुन्थ्यो । दुई महिना बित्यो, बाबा आउने समय भयो भनेर हामी खुसी थियौँ । तर त्यसो भएन बाबाले हामीसँग छल गर्नुभयो । जीवनमा पहिलो पटक बाबाले दिनुभएको समयले फेल खायो । बाबाले सदाका लागी हामीलाई छाड्नुभयो । बाबा रहनुभएन भन्ने खबर आयो । मैले संसारमा सबैभन्दा धेरै माया गरेको मेरो बाबा । बाबाको बाल्यकालबाट सुरु भएको भारतको बसाइ बाबाको अन्त्यसमेत त्यहीँ नै भयो । मेरो बाबाको अत्यन्त प्रिय स्थानमा बाबाले आफ्नो अन्तिम स्वास छोड्नु भयो ।

त्यो समय, त्यो पल मेरा लागि जीवनको अन्त्य भएको महसुस भयो । म कसरी व्यक्त गरूँ । कति समय यस्ता थिए मसँगै बाबा रुनुहुन्थ्यो । सायद मलाई राम्रोसँग बुझ्ने नै मेरो बाबा । ‘लोग्ने मान्छे रुनु हुन्न’ भन्ने गीत सुन्दै हुर्किएका थियौँ हामी । तर मेरो बाबा कैयौँ पटक रोएको मैले देखेको छु । मेरो बाबाले अरूको चित्त बुझाउनलाई आफ्नो स्वाभिमान कहिल्यै बेच्नु भएन । 

बाबाका बारेमा जति कुरा गरे पनि जीवन सकिँदासम्म पनि पूरा हुँदैन । मलाई मेरो बाबालाई मेरो जीवनको हिरो बनाउनु थिएन । किनभने मेरो बाबाको अरूको साथै आफ्नो पनि ख्याल राखोस् भनेर मलाई चिनाउनु थियो । तर बाबाले जीवनको अन्त्यसम्म पनि अरूका लागि नै योगदान गर्नुभयो । बाबाले जति नै बलियो बन भनेर हिम्मत दिए पनि उहाँ जस्तो हिम्मतवाला र निडर बन्न सकिनँ । कहिले सुख त कहिले दुःखको हावा चलिरहन्छ । मुस्किल आउँछ तर बाबा हुँदा आउने दुःख र नहुँदा आउने दुःखमा धेरै ठूलो फरक हुने रहेछ । बाबा धेरै माया र सधैँ सम्झनामा रहनुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना सानु भट्टराई
कल्पना सानु भट्टराई
लेखकबाट थप