शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रवेश परिवारको पीडा

इजरायलमै अस्ताए चक्रबहादुर र चन्द्रिकाका एक मात्र सहारा

मङ्गलबार, २३ असोज २०८०, ०६ : ३९
मङ्गलबार, २३ असोज २०८०

सुर्खेत । इजरायल जान घरबाट निस्कँदै गर्दा सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले बाआमालाई भनेका थिए,‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु कि हाकिम बन्छु ।’

छोराको कुराले बुबा चक्रबहादुर र आमा चन्द्रिका निकै खुसी भए । छोरालाई आशिर्वाद दिँदै २० भदौमा घरबाट विदाई गरे, परिवारले । तर, दैवको लेखा घरबाट गएको महिना दिनमै चक्रबहादुर र चन्द्रिकाको खुसी खोसिएको छ । 

सुन्दर भविष्यको लागि संघर्ष गरिरहेका प्रवेशलगायत १० नेपालीको शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा मृत्यु भयो । प्रवेशको मृत्युसँगै यतिबेला साहुटोल शोकमा डुबेको छ ।

प्रवेश घरका एक मात्र छोरा थिए, उनकी दिदीको विवाह भइसक्यो । त्यसैले, चक्रबहादुर र चन्द्रिकाका सहारा भनेकै प्रवेश मात्र थिए । २० भदौमा सल्यान घरबाट निस्किएका उनी २६ भदौमा इजरायल पुगे । उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए । 

प्रवेशको मृत्युको खबर उनको परिवारले आइतबार साँझ ७ बजेतिर थाहा पाए । अहिले उनकी आमा चन्द्रिका र दिदी प्रतिक्षा अचेत अवस्थामा छन् । प्रवेशका सानिमा (मामा घरतिरको) शोभा लामिछाने भन्छिन्, ‘बाबुको मृत्यूको खबर सुनेपछि दिदी अहिले बेहोस अवस्थामा छिन् भने प्रवेशको दिदीको अवस्था पनि उस्तै छ । अहिले सलाइन पानी चढाईएको छ ।’

उनका अनुसार प्रवेशको लक्ष्य र उद्देश्य भनेको जागिर गरेर बुबाआमालाई सुःख दिने थियो । ‘मम्मीबाबा गरिब, दुःखी हुनुहुन्छ । गाउँमा अलिअलि कृषि गर्नुहुन्छ । त्यसबाहेक अरु केही छैन । जागिर छैन, केही छैन । ज्याला मजदुरी गरेर खानुहुन्छ,’ शोभा भन्छिन्, ‘बाबुले तपाईहरु बसी बसी खाने दिन आउँछ, म आएर एउटा कृषि फार्म खोल्छु । नभए लोकसेवामा नाम निकाल्छु र हाकिम बन्छु भन्थ्यो । सबै सपना भयो ।’

प्रवेश घरका बाबुआमाका लागि मात्रै नभई सानीआमा, मामा मावलीलगायत गाउँका सबैका आदर्श र प्रेरणाका स्रोत थिए । ‘हामी सबैको सहारा थियो हजुर..,’ शोभा रुँदै भन्छिन्, ‘हाम्रो सहारा खोसियो ।’

photo 1

उनी सुदूरपश्चिम विश्वविद्यालयबाट चार वर्षे कोर्ष सकाएर ११ महिनाका लागि इजरायल गएका थिए । कैलालीमा कोठाभाडा लिएर निकै संघर्षका साथ पढिरहेका थिए उनले । 
लगनशील भएर नै होला, प्रवेशले बीएस्सी एजी पढ्दासम्म पनि शुल्क तिर्न परेको थिएन । स्कलरसिपमै अध्ययन गरिरहेका थिए । शोभाका अनुसार प्रवेशको एउटा सपना थियो, घर बनाउने । आमाबुबाले एक्लो छोरा भएकाले विवाह गर्न भन्थे । तर, प्रवेशले कमाई गरेर घर बनाएपछि मात्रै विवाह गर्ने बताउँथे ।

प्रवेशको विदेश भन्दा नेपालमै केही गर्ने चाहना थियो । इजरायल पुगेपछि पनि फोनमा बुबाआमासँग आफूले नेपालमै केही गर्ने विदेशमा नबस्ने बताउँथे । 

जब मृत्युको खबर आयो 
बुधबारको कुरा हो, प्रवेशले भिडियो कलमा घरपरिवारसँग लामै कुरा गरे । म्यासेन्जरमा एउटा पारिवारिक ग्रूप बनाइएको छ । जसमा बुबाआमा, दिदी र सानिमा शोभा छन्। प्रवेशको घरमा वाईफाई छैन । सानिमा शोभाकोमा छ। शोभा र प्रवेशको घर नजिकै छ । शोभाकै घरमा छोरासँग भिडियो कल गर्न पुग्थे, चक्रबहादुर र चन्द्रिका । 

सानिमा शोभा भन्छिन्, ‘त्यो दिन अब अनलाइनमा कहिले आउँछस् बाबु भनेर सोध्दा उसले शुक्रबार भनेको थियो । दिदी चन्द्रिका शुक्रबार ६ बजे नै घरमा आइन् । तर, प्रवेश ८ बजेसम्म पनि अनलाइनमा आएन ।’

त्यसपछि चन्द्रिका ‘म गैजान्छु तँ कुरा गरेस्’ भनेर शोभालाई भनेर फर्किएकी थिइन् । उनले भनिन्,‘उ अनलाइनमा नआएपछि म पनि वाइफाई खुलै छाडेर सुतिहालेँ । तर, ग्रुपमा उसले बोलाएको रहेछ, दिदी  प्रतिक्षासँग कुरा गरेछ । अनि शनिबार कुरा गर्ने भनेर फोन राखेको थियो ।’ 

शनिबार अनलाइनमा आउने र भिडियो कल गर्ने भनेर दिनभर काम नगरेर बसेको शोभा बताउँछिन् । त्यो दिन प्रवेश अनलाइनमै आएनन् ।  अचानक आइतबार बिहान सुदूरपश्चिम विश्वविद्यालयबाट गएको टोली पनि युद्धमा परेको समाचार आयो । त्यसपछि परिवार चिन्तामा डुब्यो ।

उता, शनिबारै प्रवेशसहित १० जनाको मृत्यु भइसकेको रहेछ ।’ हामीले आइतबार साँझ ७ बजेमात्रै थाह पायौँ,’ शोभाले भनिन् ।

सास नभए पनि लास देख्न पाइयोस्
भण्डारी परिवारको अपेक्षा अहिले लास भएपनि देख्न पाइयोस् भन्ने छ । ‘मेरो बाबुलाई गोली लागेर निकै रगत बसेको छ, उपचार नपाएर मरेको भन्ने सुनिन्छ,’ शोभा भन्छिन्, ‘राज्यले सायद समयमै पहलकदमी गरेको भए हाम्रो बाबु बाँच्थ्यो कि ? जे नहुनु थियो, त्यो भैहाल्यो । हामी रोई कराई गरेपनि बाबु फर्केर आउने हैन । सास ल्याउन सकिएन, त्यसको लास छिटो भन्दा छिटो नेपालमा ल्याउने वातावरण राज्यले मिलाइदिओस् ।’

परिवारले सान्त्वना दिन आउनेहरुसँग शव जतिसक्दो घरसम्म ल्याउनका लागि पहल गरिदिन आग्रह गरिरहेका छन्।

photo 3
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप