मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

इजरायलमा विद्यार्थीको मृत्युपछि ‘राष्ट्रिय शोक’ घोषणा, सिक्किममा पनि १० जना बेपत्ता

सोमबार, २२ असोज २०८०, २० : ५८
सोमबार, २२ असोज २०८०

आज २०८० असोज २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा दश नेपालीको मृत्युमा ‘राष्ट्रिय शोक’, इजरायल घटनाबारे राष्ट्रपतिदेखि पूर्वराजासम्मको चासो, राहुल महराले भेप छुटाउन एयरपोर्ट भन्सार गएको स्वीकार गरे, एमाले निकट युवा संघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो, सिक्किममा १० नेपाली बेपत्ता, कोशीमा गठबन्धन घटकका सांसदलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव, प्रहरी र आन्दोलित स्थानीय तहका कर्मचारीबिच झडप लगायत छन् ।

१. दश नेपालीको मृत्युमा ‘राष्ट्रिय शोक’
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो । 

२. इजरायल घटनाबारे राष्ट्रपतिदेखि पूर्वराजासम्मको चासो
इजरायलमा १० नेपालीको मृत्यु भएको घटनामा राष्ट्रपतिदेखि पूर्वराजा लगायत विभिन्न दलका नेताले चिन्ता र चासो प्रकट गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरुले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

३. राहुल महराले भेप छुटाउन एयरपोर्ट भन्सार गएको स्वीकार गरे 
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक चुरोट ‘भेप’ छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा गएको स्वीकार गरेका छन् । भेपमा लुकाएर भएको सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा बयान दिँदै राहुलले उक्त कुरा स्वीकारेका हुन् ।

४. एमाले निकट युवा संघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले उनलाई कालोमोसो दलेको हो ।

५. सिक्किममा १० नेपाली बेपत्ता
इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् ।

६. कोशीमा गठबन्धन घटकका सांसदलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव 
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि २६ गते बेलुका ५ बजेसम्मका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले समय दिएका छन् । यसबिचमा नेकपा एमालेले गठबन्धन घटकका करिब आधा दर्जन सांसदलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको छ । 

७. प्रहरी र आन्दोलित स्थानीय तहका कर्मचारीबिच झडप
स्थानीय तहका आन्दोलित कर्मचारी र प्रहरीबिच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबिच झडप भएको हो ।

८. माओवादीले पठाएको पत्रबारे बाबुरामको गुनासो
नेपाल समाजवादी पार्टीसँग एकीकरणको विषयमा माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टीमा विवाद जारी छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पत्र नै नपाएको भन्दै एकीकरणका लागि इच्छुक देखिएका छैनन् । माओवादीले समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको विषयलाई लिएर भट्टराईले चित्त दुखाएका छन् ।

९. त्रिभुवन विमानस्थलबाट सुन बरामद
त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।

१०. उद्योगमन्त्रीको दाबी– उपभोक्ता ठगिने काम भए राजीनामा दिन्छु
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुनै नसक्ने बताएका छन् । सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप