काठमाडौँ । दीपेन्द्र. के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरस्थित लबिम मलमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरले फिल्मको मुख्य पात्र ‘भष्मे डन’को जीवनमा आइपर्ने विभिन्न घटनाक्रम समेटेको छ । फिल्मका सबै प्रमुख कलाकारले स्थान पाउको ट्रेलरमा भष्मे डनले आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा समेत देखाएको छ ।
ट्रेलर हेर्दा पशुपति क्षेत्रमा कब्जा जमाएर बसेको भष्मे डनलाई सौगात मल्लको पात्रको चरित्रसँग चुनौतीको रुपमा आएको अनुमान गर्न सकिन्छ । ट्रेलरले फिल्म प्रति दर्शकमा रहेको कौतुहल्तामा झन् बढवा दिएको छ ।
अगामी कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि फिलममा विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत फिल्ममा छ ।
व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चर्चित चरित्र ‘भष्मे डन’मा रहेर यो फिल्म निर्माण भएको हो ।
कार्यक्रममा फिल्मका लेखक लामिछानेले फिल्मको नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताए । उनले फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरेको धारणा राखे ।
अभिनेता विपिन कार्कीले ‘पशुपति प्रसाद २– भष्मे डन’ फिल्म मात्र नभएर आफ्नो परिचय समेत भएको बताए । उनले यो फिल्म अभिनय अनुभव सबैभन्दा बेग्लै रहेको सुनाए ।
अभिनेत्री स्वस्तिमा खड्काले फिल्ममा आफ्नो दुर्गामाताको अवतारको भूमिका रहेको बताइन् । ‘अभिनेता विपिन कार्कीसँग काम गर्ने आफ्नो सपना फिल्मले पुरा गर्यो’, उनले भनिन् ‘फिल्मबाट धेरै सिक्ने र नयाँ काम गर्ने अवसर मिल्यो ।’
निर्देशक दीपेन्द्र के. खनालले ‘पशुपति प्रसाद २– भष्मे डन’मा पनि ‘पशुपति प्रसाद’को संवेदन जस्ताको तस्तै राखिएको बताए । ७ वर्षपछि फिल्मको सिक्वेल ल्याएपनि भष्मेडन र फिल्मको संवेदन पहिले झै दर्शकले पाउने उनको धारणा रहेको थियो ।
फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेन सिजले वितरण गर्दैछन् ।
प्रतिक्रिया