काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सोमबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ ।
भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीको माग गर्दै विभाग घेराउ कार्यक्रमलाई निरन्तरता दिइएको साहले जानकारी दिए । आजपाले नियमावलीको विरोधमा निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।
यसअघि आजपाले भाद्र ३१ गते ललितपुरको कुपण्डोल पुलबाट विरोध र्याली निकालेर विभाग घेराउ गर्दै महानिर्देशक मार्फतज्ञापन पत्र बुझाएको थियो । यस्तै असोज १८ गते गलत प्रावधानको नियमावली जलाएको थियो । यस्तै असोज १९ गते तराई–मधेसका जिल्लाहरूको भन्सार कार्यालय घेराउ गरिएकोमा आइतबारदेखि भन्सार विभाग नै घेराउ गर्न थालिएकोमा सो कार्यले आज पनि निरन्तरता पाएको हो । घेराउ तथा धर्ना कार्यक्रमका क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।
देशको राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने भए पनि राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको साहको भनाइ छ । सरकारी राजस्वलाई लुट्न गलत कानुनी प्रावधान निर्माण गरिएको साहले दाबी गरे । ‘भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल सामानबाट प्राप्त रकमको झन्डै आधा ( ४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ ।
यसरी देशको संसदलाई छलेर कथित नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गइरहेको छ । यसर्थ, देशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र गुणात्मक राजस्व वृद्धि गर्न सर्वप्रथम भन्सार नियमावलीबाट कथित पुरस्कारको व्यवस्था हटाउन जरुरी छ,’ आजपाको भनाइ छ । यो माग गर्दै यसअघि नै ज्ञापनपत्र बुझाइएपनि सुनुवाइ हुन नसकेपछि विभाग धर्ना कार्यक्रमलाई निरन्तरता दिइएको साहको भनाइ छ ।
तस्बिरहरु : कृष्ण खड्का
प्रतिक्रिया