बाबुरामले किन लुकाए माओवादीले पठाएको पत्र ?
काठमाडौँ । नेपाल समाजवादी पार्टीसँग एकीकरणको विषयमा माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टीमा विवाद जारी छ ।
समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पत्र नै नपाएको भन्दै एकीकरणका लागि इच्छुक देखिएका छैनन् । माओवादीले समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको विषयलाई लिएर भट्टराईले चित्त दुखाएका छन् ।
तर पार्टीका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरसहितको पत्र महिन्द्रराय यादवलाई मात्र नभएर अध्यक्ष भट्टराईलाई पनि पठाएको माओवादीले जनाएको छ । तर पार्टीको बैठकमा भट्टराई आफूले पत्र नपाएको बताउँदै आएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूले समाजवादी पार्टीका दुवै जना अध्यक्षलाई पत्र पठाएको बताए । उनले भने, ‘हामीले नेसपाका दुवै जना अध्यक्षलाई मेलमार्फत पत्र पठाएको हो, त्यसमध्ये महिन्द्रराय यादवले रेसपोन्स पनि गर्नुभएको छ तर बाबुरामजीको हालसम्म कुनै रेसपोन्स आएको छैन ।’
उनले दुवै जनालाई पत्र पठाउँदा एक जनाले पाउने अर्कोले नपाउने भन्ने कुरा नहुने पनि प्रस्ट पारे । यदि अध्यक्ष भट्टराईलाई ‘हार्ड कपी’ चाहियो भने माओवादी दिन तयार रहेको महासचिव गुरुङको भनाइ छ ।
माओवादीले भदौ ३० गते यादवलाई पत्र पठाएको तथा भट्टराई असोज ६ गते भारत भ्रमणबाट फर्किएपछि उनलाई पत्र पठाइएको गुरुङले जानकारी दिए ।
समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानी मन्त्री महिन्द्रराय यादव पनि माओवादीले दुवै जना अध्यक्षलाई पत्र पठाएको बताउँछन् । माओवादी केन्द्रले पठाएको पत्रलाई आफूले सकारात्मक रूपमा लिएको र यसले एकीकरणका लागि वार्ताको वातावरण बनाएको उनको भनाइ छ ।
यो पत्रका कारण वार्ताको प्रक्रिया चाँडै अगाडि बढ्ने उनले बताए । उनले भने, ‘वार्ताका माध्यमले एकता हुने सम्भावना एकदमै बढेको छ र यो प्रक्रिया चाँडै अगाडि बढ्छ ।’
माओवादी केन्द्रले आफ्नो नाम परिवर्तन गर्न तयार हुनु नै सबैभन्दा ठुलो कुरा रहेको भन्दै उनले माओवादीले पार्टी एकताका लागि पार्टीको नाम परिवर्तन गर्नसमेत तयार भइसकेको जनाए ।
समाजवादी पार्टी र माओवादीको बिचमा दुई पटक औपचारिक वार्ता भएको छ र सोही वार्तामा नाम परिवर्तनको विषयमा कुरा हुँदा माओवादी त्यसका लागि तयार भएको हो । माओवादी केन्द्र पार्टीको नाम परिवर्तनका लागि सकारात्मक बनेको बारेमा पार्टीका अध्यक्षद्वय भट्टराई र यादवलाई जानकारी गराएको छ ।
अध्यक्षद्वयलाई दिएको पत्रमा भनिएको छ, ‘भदौ २५ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरू)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नाम सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठभित्र रहेको माओवादी केन्द्रबारे अगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ ।’
वार्तामा पार्टीको नाम परिवर्तन बारेमा छलफल भएपछि नाम परिवर्तन गर्न तयार हुनुलाई सकारात्मक रूपमा लिँदै एकताका लागि अगाडि बढ्नुपर्ने अध्यक्ष यादवले बताए ।
यिनै विषय जान्नका लागि समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई फोनमा सम्पर्क गर्ने प्रयास गर्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । तर अध्यक्ष भट्टराईले असोज १८ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीतिक मात्रै गर्न खोजिरहेको झल्को दिन्छ । यो स्थितिमा हामीले प्रस्तुत गरेको नौ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रस्ट पार्न चाहन्छ ।’
उनले एक जना अध्यक्षलाई पत्र पठाएको कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुले पनि माओवादीले अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको कुरामा चित्त दुखाएको देखिन्छन् । उनले आफूले पत्र पाएको कुरा स्वीकार गरेका छैनन् ।
नेपाल समाजवादी पार्टीले मङ्सिर ६ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रसँग एकता प्रक्रियाको बारेमा ठोस निर्णय गर्ने भनिएको छ । त्यसअघि वार्ताहरू पनि गर्ने बताइएको छ । नेपाल समाजवादी पार्टीले वैशाखमा महाधिवेशन गर्ने पनि तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै