मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २१ असोज २०८०, २० : ००
आइतबार, २१ असोज २०८०

आज २०८० असोज २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रपति भन्छन्– रिगलबारे सरकारले प्रस्ट पार्नुपर्छ, इजरायल घटनाबारे बुझ्न संयन्त्र परिचालन : परराष्ट्रमन्त्री, दसैँ–तिहार सुपथ मूल्य पसल : बजार मूल्यभन्दा कति सस्तो ?, ‘भेप’मार्फत सुन तस्करी प्रकरणबारे सीआईबीले बुझायो प्रतिवेदन, अर्को चुनावपछि एमालेले बहुमतको सरकार बनाउने ओलीको दाबी, चाडपर्व लक्षित सुरक्षा योजना लागु, झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारले दर्ता गरायो मुद्दा लगायत छन् ।

१. राष्ट्रपति भन्छन्– रिगलबारे सरकारले प्रस्ट पार्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल ‘रिगल’ को कैद मिनाहा प्रकरणमा सरकारले नै प्रस्ट पार्नुपर्ने बताएका छन् । आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले गणतन्त्रमा आफू राजा नबने कुरामा सतर्क गरेको बताए ।

२. इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि 

इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको रातोपाटीलाई बताइन् ।

यसैबीच सरकारले इजरायलमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामार्फत प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको हो । 

३. दसैँ–तिहार सुपथ मूल्य पसल : बजार मूल्यभन्दा कति सस्तो ?

आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँ उपत्यकासहित ४३ जिल्लाको आफ्ना ४९ बिक्री केन्द्रमार्फत सुपथ मूल्य पसल सञ्चालन गरेको हो । यी पसलमा बजार मूल्यको तुलनामा सस्तो सामान पाइने दाबी गरिएको छ ।

४. ‘भेप’मार्फत सुन तस्करी प्रकरणबारे सीआईबीले बुझायो प्रतिवेदन

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

५. अर्को चुनावपछि एमालेले बहुमतको सरकार बनाउने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा हुने आम चुनावपछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लागेको टिप्पणीसमेत गरे ।

६. चाडपर्व लक्षित सुरक्षा योजना लागु

प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागु गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

७. स्थानीय तहका कर्मचारी किन आन्दोलित ?

सरकार र निजामती कर्मचारीको लामो रस्साकस्सीपछि ‘संघीय निजामती विधेयक’ संसदमा पठाउने निर्णय भएको एक महिना बित्दा पनि उक्त विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छ । यही बिचमा स्थानीय तहका कर्मचारीहरुले विधेयक संशोधन गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरु लिखित रुपमै आफ्ना प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउने र विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

८. धेरै ठाउँमा हत्या गरेको बयान दिएपछि सञ्जयको ‘ब्रेन म्यापिङ’

काठमाडौँको गैरीगाउँस्थित दिव्या सः मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु हैरानीमा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् । आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ ।

९. झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारले दर्ता गरायो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता भएको दाबीसहित मधेस प्रदेशका तत्कालीन मन्त्री, सचिव लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) लाई १७ करोड बढी रकम निकासा गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

१०. ‘प्रसाद–२’का निर्देशक र सम्पादकविरुद्ध पक्राउ पुर्जी

फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोडौँ ठगी गरेको भन्दै उजुरी दिएका हुन् । निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप