मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
विचार

पार्टीमा रसियन तरिकाको बम ब्लास्ट गरिराख्नुपर्छ

आइतबार, २१ असोज २०८०, १८ : ०५
आइतबार, २१ असोज २०८०

समाजवाद मार्क्सको होइन, मार्क्सले कहीँ पनि पेस गरेका छैनन् । मार्क्सवाद लेनिनले गरेको व्याख्या हो । नेपाली कम्युनिस्ट आन्दोलनमा यसबारे बेला–बेला प्रश्न उठाइन्छन् — चाहे एमाले, चाहे हामी माओवादी हौँ । त्यहाँबाट लेनिन हटाइन्छ भने समाजवाद छैन । उनले एउटा सिस्टम वा शृङ्खलाको विकास गरे । लेनिनलाई ठोक्नुहुन्छ भने समाजवादको अर्को आधार दिनुपर्छ । समाजवादको विकल्प के छ ? सर्वहाराको अधिनायकत्व सशस्त्र क्रान्ति ‘भ्यान्गार्ड’ एउटा सूत्र ल्याएका छन् । ती सूत्रमध्ये एउटा मान्दिनँ भनेर हाम्रो पार्टी पनि कहिलेकाहीँ लरबराएको छ । 

कम्युनिस्टहरूले पानी समातेर हिंसा त्याग्दैनन्, बलको प्रयोग पानी समातेर छाड्ने कुरा होइन । हामीले क्रान्ति शान्तिपूर्ण ढंगले गर्ने भनिराखेका छौँ । अहिले हिन्दुवाहिनी सेना आयो भने हामी शान्तिपूर्ण रहन्छौँ ? प्रतिवाद गरिहाल्छ । त्यसैले हिंसा गर्ने वा अहिंसा गर्ने त्यो हाम्रो छनोटको विषय होइन । परिस्थितिमा निर्भर गर्छ । रोजा लक्जेम्बर्गले बडो राम्रोसँग भनेकी छिन्, यो दराजबाट चिज झिकेर खाएजस्तो होइन । चाहे शान्तिको बाटो हिँडौँ, चाहे हिंसाको बाटोमा हिँडौँ हामीले आफ्नो इन्टिग्रिटी छ । कम्युनिस्टको जो जुझारुपन छ, सादकीपन छ, विनम्रतापन छ, त्यसलाई जोगाइराख्नुपर्छ । परिमार्जन गरिराख्नुपर्छ । 

मेरो विचारमा चीन र भारतलाई ठुलो अर्थतन्त्र, सामरिक शक्ति भनेर मात्र हामीले हेर्छौँ । हामीले किन यसरी नहेर्ने, धेरै मान्छे छन्, धेरै दिमाग छ । चीनमा २ अर्ब टाउको छ, भारतमा २ अर्बभन्दा बढी टाउका छन् । 

म अध्यक्षलाई पनि भन्छु, पहिले त हामी आँट गर्थ्यौँ । चुनवाङ बैठकको पनि ‘स्पिरिट’ थियो, संसारभरिका कम्युनिस्टलाई बहसमा ल्याउँछौँ । यतिको सभा गर्ने र प्रजातन्त्रवरिपरि कहीँ पनि छैन । अहिले नेपाल मात्र एउटा टापु छ । अझ प्रधानमन्त्रीलाई छेउमा राखेर विद्रोहको कुरा गर्ने कल्पनै गर्न सकिँदैन । बंगलादेशमा प्रत्येक वर्ष १९७५ को शेख मुजिबुर रहमानलाई मारेको मुद्दा लगाएर १० जनालाई झुन्ड्याउने गरिन्छ । १० जना समात्यो अझै केही छुटेका छन् भन्छ । केहीलाई पक्रन बाँकी छ भन्छ । पाकिस्तानमा दुई वटा परिवार छ — सिन्ध र पन्जाबको, तिनीहरूको घमासान युद्ध छ । श्रीलंकामा त्यस्तै २/३ वटा परिवारले शासन गरिरहेका छन् । भारतमा यतिको बोल्ने मानिस कि त जेलमा छन् कि त विदेशमा । केही दिनअघि मात्रै ४६ जना स्थापित पत्रकारको बेहाल बनाइएको छ । नेपालमा किन यस्तो भइरहेको छ ? यो एउटा अनुसन्धानको विषय भएको छ । नेपालमा सर्भाइभ गरिरहेको छ तर खतरा पनि छ । हामी सजक भएनौँ भने यो स्थिति समाप्त हुन सक्छ । आज हामी जुन स्वतन्त्रता उपभोग गरिरहेका छौँ, त्यसलाई जोगाउनु छ । 

जसले पनि ‘इमान्सिपेसन’ र ‘लिबर्टी’ चाहन्छ । त्यो र स्टेटको सम्बन्ध के हो ? राज्य भनेको लिबर्टीको विरोधी हो । राज्य भन्ने संस्था नै दमनको हो । एउटा ‘इमान्सिपेसन’ चाहने मान्छे र स्टेट — यी दुईवटालाई परिभाषित गर्ने लामो प्रयत्न भएको छ, चाहे त्यो बाकुनिन, मार्क्स, एङ्गेल्स, लेनिन सबैले गरेका छन् । त्यसैले अराजकतावाद कम्युनिस्ट आन्दोलभित्र जहिले रहन्छ । स्टेटसँगको सम्बन्ध के हो ? भारतमा समाजवादी आन्दोलनका क्रममा नेहरुले स्टेटलाई कब्जा गर्ने, लोहिया स–साना उद्योग मात्र चलाउने, जयप्रकाश नारायण जननीतिमा नजाने, राजनीतिमा नबस्ने, राजनीतिक चुनावै नलड्ने । यसरी त्यहाँ समाजवादी आन्दोलन टुक्रियो । यसै गरी कम्युनिस्टको ‘ओभरकास्टिङ’ हुँदै छ । मेरो भनाइमा यसको उत्तर छैन । लेनिनले जति विकास गरे, त्यसभन्दा अगाडि जान सकेन । नेपालका कम्युनिस्टहरूको संगठनात्मक सिद्धान्त के हो ? त्यसको जवाफ खै त ? लेनिनको सिद्धान्त पुरानो भयो, त्यस्तो त चल्न सक्दैन तर विकल्प के ? सर्वहाराको अधिनायकत्व लागू नगरीकन सर्वहारा वर्गको राजनीतिक सर्वोच्चता कायम गर्ने विधि के हो ? त्यो राजनीतिक सर्वोच्चता कसरी कायम गर्ने ?

अब हामीलाई नयाँ लेनिन चाहिएको छ, नयाँ लेनिन खालि आलोचना गरेर आउँदैन । अध्यक्षले नै भन्नुभएको छ, विकल्पमा मलाई हटाउनुस् । चुनौती दिनोस् भनिरहनुभएको छ ।

यो विषय हामीले चीनमा पनि उठाएका छौँ, भारतमा पनि उठाएका छौँ । मार्क्सवादी प्रो–अभियान नेपालमा पनि सुरु गरेका थियौँ — घनश्याम, म र समीर सबै थियौँ । त्यसमा अध्यक्षको सम्पूर्ण रूपमा समर्थन थियो । त्यो कार्यक्रममा उहाँहरूकै विरुद्धमा पनि बोलिन्थ्यो । अब सत्तामा हुँदा झनै बोलिने भयो तर सबैभन्दा बढी समर्थन अध्यक्षले नै गर्नुभएको थियो । अब फेरि डरलाग्दो राष्ट्रिय र अन्तर्राष्ट्रिय पोलिटिक्स सुरु गर्नुपर्छ, त्यो नेपालले मात्र गर्न सक्छ । भारत, बंगलादेश, पाकिस्तानले सक्दैन । चीनले समर्थन गर्न सक्छ — आर्थिक रूपमा होइन, वैचारिक रूपमा । यस्तो अभियान देशभरि गर्न जरुरी छ । 

अहिले प्रतिक्रियावादीहरूले कहाँ भत्काउन सकिन्छ भनेर जाँच्दै छन् । धरान, मलंगा, नेपालगन्ज पुगेको छ, छाम्दै हिँडेको छ । यस्तो स्थितिमा नयाँ विचार, नयाँ उत्साह, नयाँ उभार र नयाँ जोस मार्क्सवादी कम्युनिस्टहरू र समाजवादीहरूले देखाउन सकेनन् भने नेपालमा जुनसुकै बेला प्रतिक्रान्ति हुने खतरा छ । 

त्यसैले बहस आज सुरुवात भयो । अध्यक्षले नै यसलाई सुरुवात गर्नुभयो । यस किताबलाई सबै कम्युनिस्ट पार्टीले पढ्नुपर्ने बनाइसक्नुभयो । माओवादीबाहेक बाहिरका साथीहरूसँग निरन्तर छलफल गर्दै जान्छौँ । हामीसँग धेरै कुराको उत्तर छैन । चीनलाई मैले प्रश्न सोधेको थिएँ — सर्वहाराको अधिनायकत्व स्थापित भएन भने के हुन्छ ? उनीहरू हामीलाई हेर भन्छन् । समाजवादी आन्दोलन पनि अध्ययन गर्नुप¥यो । अब हामीलाई नयाँ लेनिन चाहिएको छ, नयाँ लेनिन खालि आलोचना गरेर आउँदैन । अध्यक्षले नै भन्नुभएको छ, विकल्पमा मलाई हटाउनुस् । चुनौती दिनोस् भनिरहनुभएको छ । प्रतिस्थापन गर्नुपर्छ । 

लेनिन र मार्क्सको तस्बिर देखाएर ती को हुन् भन्दा हलिउडका हिरो होलान् भन्ने युवाले हामीलाई रिप्लेस गर्न सक्दैनन् । हाम्रो अध्यक्षलाई विस्थापित गर्ने त कुरै भएन । 

प्रचण्डको नेतृत्वमा विद्रोह गर्दा हामी ३० का उमेरका थियौँ । त्यतिबेलाका वरिष्ठ नेताहरूलाई तपाईँले सक्नुभएन बाटो छाड्नोस् भन्दै आएको हो । अर्ली थर्टीमा म थिएँ । मिड थर्टीमा अध्यक्ष (प्रचण्ड) हुनुहुन्थ्यो । त्यतिबेला कम्मर कसेर पुष्पलाल, मनमोहन, मोहनविक्रम, शम्भुराम, तुलसीलाललाई औँला उठाएको हो, हामीले अमर्यादित कुरा गरेनौँ । माओवादीबाट धेरैजना धेरै कुरा गरेर अलग भए तर आज त्यही घरको वरिपरि देख्छु । यसले हाम्रो अध्यक्षको पनि अलि आत्मविश्वास बढेको छ । ती साथी सबैलाई म के भन्छु भने त्यति टाढा किन जानुपर्थ्यो ? त्यसरी किन जथाभाबी गरिराख्नुपर्थ्यो ? म पार्टीमै छु । अध्यक्षको छेउमै छु । मैले मर्यादित रूपले आलोचना गरेको छु । मार्क्सवादले आत्मालोचना बन भन्छ । मार्क्स आफैँ भन्छन्, म मार्क्सवादी होइन । त्यस्तो परम्परा कायम गर्न मैले लगातार रूपले प्रश्न उठाएको छु । अध्यक्ष साक्षी हुनुहुन्छ । प्रत्येक पटक उठाएको छु तर पार्टीको मर्यादाभित्र । 

अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम हान्यो । बम त्योभन्दा शक्तिशाली रसियाले पड्कायो तर चरा पनि मरेन । रसियन तरिकाको बम ब्लास्ट गरिराख्नुपर्छ पार्टीमा, तब मात्रै पार्टी जीवन्त हुन्छ । त्यो क्षमता माओवादी साथीहरूमा छ । मर्यादित तरिकाले दस्ताबेज लेख्दा हुन्छ । अब हुने कार्यक्रममा अध्यक्षको समर्थन आवश्यक छ । देशभर अभियान चलाऊँ । अलिअलि हाम्रो आलोचना होस् । हामीले चाहेकै त्यही हो । वैचारिक रूपमै लेनिन, मार्क्सवाद, माओवादको बुझाइ गलत छ भनेर युवाहरूले भने हामी त्यसमा खुसी हुन्छौँ । अध्यक्षको सन्देश पनि त्यही हो । राजनीतिमा विस्थापित गर्न तपाईँले आफ्नो सक्षमता साबित गर्नुपर्छ । लेनिन र मार्क्सको तस्बिर देखाएर ती को हुन् भन्दा हलिउडका हिरो होलान् भन्ने युवाले हामीलाई रिप्लेस गर्न सक्दैनन् । हाम्रो अध्यक्षलाई विस्थापित गर्ने त कुरै भएन । 

(शनिबार आफ्नो पुस्तक ‘विकल्प’को विमोचन समारोहमा कार्कीले दिएको मन्तव्यको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम कार्की
राम कार्की

राम कार्की पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।

लेखकबाट थप