‘सहकारी बैङ्क पर्फर्मेन्समा कमजोर छैन, ७५ करोडभन्दा बढी नाफा प्रोभिजनिङ गर्नुपर्दा समस्या देखिन गएको हो’
काठमाडौँ । सहकारी क्षेत्रको एक मात्र बैङ्क ‘राष्ट्रिय सहकारी बैङ्क’ को गत आर्थिक वर्ष २०७९–८० को वित्तीय रिपोर्ट त्यति राम्रो आएको छैन । आर्थिक वर्षभित्र बैङ्कले गरेको वित्तीय कारोबार निक्षेप सङ्कल र कर्जा परिचालनसँगै प्राप्त ब्याज आम्दानी, बैङ्क सञ्चालन नाफा र खर्च कटाउँदा बैङ्कले राम्रै आम्दानी गरेको देखिन्छ । तर पनि बैङ्कको समग्र ब्यालेन्स सिट (वित्तीय रिपोर्ट) भने ऋणात्मक देखिएको छ ।
यस आर्थिक वर्षमा बैङ्कले ५८ अर्ब २४ करोड ५९ लाख रूपैयाँ निक्षेप सङ्कलन गर्दै ३१ अर्ब २० करोड ५४ लाख रूपैयाँ कर्जा लगानी गरेको छ । प्राप्त ब्याज आम्दानी, सञ्चालन नाफाबाट खर्च कटाउँदा आर्थिक वर्षमा बैङ्कको ब्यालेन्स सिट खुद १४ करोड ६४ लाख २० हजार रूपैयाँले घाटामा देखिएको छ । तर उक्त घाटा बैङ्कको पर्फर्मेन्समा नै कमजोर भएको नभएर टेक्निकल्ली वित्तीय सुरक्षणमा नाफाको अधिक प्रतिशत (प्रोभिजनिङ गर्नुपर्दा घाटा जस्तो देखिन गएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईं बताउँछन् ।
कम ब्याज आम्दानी गरेर बैङ्कको खर्च नै धान्न नसकेर घाटामा गएको नभई बैङ्कले गरेको केहीँ कर्जा लगानी समयमा नै उठ्न नसक्दा सम्भावित जोखिमलाई हेरेर बैङ्कले वित्तीय सुरक्षमा नाफाको ७५ करोड रूपैयाँभन्दा बढी प्रोभिजनिङ गरेकाले ब्यालेन्स सिट घाटामा देखिन गएको सीईओ गुरागाईंको भनाइ छ । यद्यपि वातावरण सहज भएसँगै लगानी फिर्ता आउने र बैङ्कको नाफा उच्च गतिमा बढ्ने सीईओ गुरागाईंको दाबी छ ।
यसै सन्दर्भमा आज हामीले रातोपाटी अर्थ संवादमा सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंसँग बैङ्कको पछिल्लो वित्तीय स्थिति, कार्य क्षमता र प्रगतिमा भए गरेका सुधारका प्रयासका साथसाथै पछिल्लो समय बैङ्कले आफ्ना सदस्य सहकारी सङ्घसंस्थाको क्षमता विकासमा गरेको कार्यहरूका बारेमा सीईओ गुरागाईंसँग संवाद गरेका छौँ । प्रस्तुत छ रातोपाटीका लागि प्रयास श्रेष्ठले सीईओ गुरागाईंसँग लिएको सङ्क्षिप्त वार्ता :
–सहकारी क्षेत्रको विकराल स्थिति उस्तै छ । सङ्घ संस्थाको कर्जा लगानी उठ्न सकिरहेको छैन भने सोही लगानी उठ्न नसक्दा लाखौँ बचतकर्ताले बचत फिर्ता पाउन सकिरहेका छैनन् । यस्तो स्थितिमा सहकारी क्षेत्रको एक मात्र राष्ट्रिय सहकारी बैङ्कको वित्तीय स्थिति चाहिँ कस्तो छ ?
राष्ट्रिय सहकारी बैङ्क एउटा यस्तो निकाय हो, जो सहकारी क्षेत्रमा नियमित रूपमा आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गर्ने गर्छ । गत वर्षको अझ पछिल्लो दुई महिनाको वित्तीय रिपोर्ट हेर्ने हो भने बैङ्कको फाइनान्सियल प्रोगेस बढेर गएको छ । अघिल्लो वर्ष ५८ अर्ब रूपैयाँ बराबरको ब्यालेन्स सिट रहेकोमा यो वर्ष झन्डै ६–७ अर्ब रूपैयाँले बढेर ६४ अर्बभन्दा माथि पुगिसकेको छ ।
अर्को भनेको बैङ्कको पर्फर्मेन्सको पक्ष हो । बैङ्कको नाफा नोक्सान हिसाबलाई हेर्ने हो भने यो वर्ष बैङ्क १५ करोड आसपास घाटामा गएको छ । तर यो वित्तीय रिपोर्टलाई मात्र हेर्ने हो भने घाटा हो । प्राविधिक पक्षलाई हेर्ने हो भने बैङ्क घाटामा छैन ।
घाटा दुई प्रकारले हुन्छ, एक बैङ्क सञ्जाल (अप्रेसन) मा नै कमजोर हुँदा ब्याज नै कम उठ्यो वा खर्च धेरै भएर धान्न सकिएन भने त्यो अप्रेसन लस्ट (घाटा) हो । तर सहकारी बैङ्कले अहिले यो किसिमको घाटा व्यहोरेको होइन ।
केन्द्रीय बैङ्कको नियामकीय व्यवस्था अप्रेसनसँगै बैङ्कको सुरक्षणका लागि पनि पनि केही खर्च व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसका लागि कर्जा लगानी सुरक्षण व्यवस्था गर्नुपर्ने हुन्छ । हो, अहिले सहकारी बैङ्कले आफ्नो नाफाको अधिक रकम वित्तीय व्यवस्थापन (प्रोभिजनिङ) गर्दा वित्तीय रिपोर्ट घाटामा देखिन गएको हो । बैङ्कले यो वर्ष केही रोकिएका लगानीका सम्भावित जोखिमलाई हेरेर ७५ करोड रूपैयाँ बराबरको क्यास प्रोभिजनिङ गरेको छ । तर यो घाटा होइन, ती लगानी साँवा, ब्याज उठेसँगै यो रकम फिर्ता हुने हो ।
बैङ्कको खुद ब्याज आम्दानी नाफामा नै छ । भलै हाम्रो उठ्न बाँकी ब्याज ५० करोडभन्दा माथि छ । यो नउठ्दा नउठ्दै पनि हामी नाफामा नै छौँ । अरू बैङ्क सञ्चालन खर्च, कर्मचारी खर्च, अप्रेसन, डिप्रिसिएसन सबै खर्च कटाउँदा पनि हामी फाइदामा नै छौँ । लगभग ६१ करोड रूपैयाँ फाइदामा छौँ । तर यो वर्ष हामीले तोकिएको भन्दा पनि बढी रकम प्रोभिजनिङ गरेका छौँ । हाम्रा ऋणी सदस्य सहकारीहरूले अहिले समस्यामा छौँ, किस्ता ब्याज चलाउन सक्दैनौँ भनेका कारण सम्भावित जोखिमलाई न्यूनीकरण गर्न नाफाको ६१ करोड मात्र नभएर थप ९ करोड ५० लाख रूपैयाँ बराबरको रकम प्रोभिजनिङ गरेका हौँ । यो अप्रेटिङ लस्ट होइन नियामकीय व्यवस्था अनुसार आफ्नो सुरक्षणका लागि छुट्याइएको प्रोभिजनिङ हो ।
–ठ्याक्कै अहिलेको बैङ्कको खराब कर्जा (एनपीएल) कति हो ?
बैङ्कको कुल प्रोभिजनिङ १ अर्ब ६२ करोड हो । यसमध्ये खराब कर्जा नै त नभनौँ तर कर्जा लगानीका हिसाबले २५ प्रतिशत, ५० प्रतिशत गरी त्यस्तै १ अर्ब २२ करोड रूपैयाँ जति छ । यसपालि मात्र करिब ७५ करोड ५० लाख रूपैयाँ बराबरको लगानी जोखिममा गएको देखिन्छ । बैङ्कको सरदर नन् पर्फर्मिङ लोन (एनपीएल) दर ७.२३ प्रतिशत हो ।
यसको अलवा राष्ट्रिय सहकारी बैङ्क अन्य बैङ्क तथा वित्तीय संस्थाहरू जस्तो नभई मालिकहरू (सेयर सदस्य सहकारी) सँगै रहेर उनीहरूसँगै वित्तीय कारोबार गर्ने हुँदा अन्य गतिविधिहरू पनि गर्नुपर्ने हुन्छ । सहकारी सङ्घ संस्थाको वृद्धि विकासमा, आर्थिकसँगै प्राविधिक, तालिम क्षमता अभिवृद्धिका गतिविधिसमेत गर्नुपर्ने हुन्छ । डिजिटल बैङ्किङको सिकाइ, मोबाइल बैङ्किङ, क्यूआर, कनेक्ट आईपीएस सर्भिस जस्ता थुप्रै काम गरिरहेका छौँ । केन्द्रीय बैङ्कको नीतिमा रहेर बैङ्किङ सेवासँगै सदस्य सहकारीहरूलाई आवश्यक सम्पूर्ण साथ, सहयोग राष्ट्रिय सहकारी बैङ्कले गरिरहेको छ । यो जिम्मेवारी राम्रैसँग पूरा गरिरहेका छौँ भन्ने हामीलाई लाग्छ ।
–बैङ्कको तरलता स्थिति के छ ?
सहकारी बैङ्कसँग अहिले करिब ४० प्रतिशत हारहारी तरलता छ । यो तोकिएभन्दा दोब्बरले बढी हो । राष्ट्र बैङ्कको नियमअनुसार कम्तीमा २० प्रतिशत तरलता कायम गर्नुपर्ने हुन्छ । तर पछिल्लो तथ्याङ्कअनुसार हामीसँग २२ करोड ९२ लाख रूपैयाँ बराबरको तरलता रहेको छ ।
–तरलताकै कुरा गर्दा यतिबेला अधिकांश सहकारी सङ्घ संस्थाहरूले तरलता अभावकै समस्या फेस गरिरहेका छन् । सहकारी बैङ्कले त्यस्ता समस्यामा फसेका कति सदस्य सहकारीहरूको उदार गर्यो त ?
बैङ्कले त आफ्ना सदस्य सहकारी सङ्घसंस्थाहरूलाई मागेको र सकेको सहयोग गरिरहेकै छौँ । तर त्यो सहयोग कतिको यथेष्ट छ भन्ने महत्त्वपूर्ण कुरा हो । हाम्रा १६ हजारभन्दा बढी सदस्यलाई कति सहयोग गर्न सकियो र सकिएन, बैङ्कको सहयोग यथेष्ट नहुन पनि सक्छ । सदस्य सहकारीले ऋण माग्ने तर बैङ्कले नदिने भन्ने कुरा एउटा पक्षबाट मात्र हेर्न हुँदैन । एउटा सीईओले, अध्यक्षले, ब्रान्च म्यानेजरले कसैले ऋण माग्ने वित्तिकै दिन सकिने अवस्था पनि रहँदैन । यसका लागि प्रणाली नै फेर्नुपर्ने हुन्छ ।
एउटा पक्ष के पनि हो भने कर्जा लगानी भनेको विशुद्ध बैङ्कको मात्र लगानी होइन, यो त निक्षेप (बचतकर्ता) को लगानी पनि हो । कर्जाको माग आयो अब लगानी गर्नु पर्छ भनेर अन्धाधुन्द लगानी गर्ने कुरा पनि हुँदैन । यसमा निक्षेपकर्ताहरूको बचतको सुरक्षणको पक्ष पनि हेर्नुपर्यो । दोस्रो पक्ष भनेको राष्ट्रिय सहकारी बैङ्कको तरलता व्यवस्थापनका अतिरिक्त स्रोत छैनन् । यसको एक मात्र स्रोत निक्षेप नै हो । बचतबाट मात्र हुने आर्थिक कारोबारलाई बैङ्कले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तेस्रो पक्ष भनेको सहकारी बैङ्कमा आउने भनेको सर्ट टम (छोटो) अवधिका २, ३ महिनाका निक्षेप हुन् । संस्थाहरू आफँैलाई तुरुन्त पैसा चाहिन्छ । त्यसैले हाम्रो एफडी (मुद्दती निक्षेप) भनेको पनि त्यसै ३ महिना, ६ महिनाको हुने हो । यस्तो पैसालाई जोखिम मोलेर जहाँ पायो त्यहीँ लगानी गर्न सकिने कुरा पनि भएन । बैङ्कले कुनै एउटा पक्षलाई मात्र नभएर ५–६ वटा पक्षलाई नै हेरेर कर्जा लगानी गर्नुपर्ने हुन्छ । कि त हाम्रो कार्यप्रणाली नै परिवर्तन गर्नुपर्यो । यसले गर्दा चाहेको र धेरै धेरैभन्दा धेरै सदस्यहरूलाई ऋण प्रवाह गर्न सकेका छैनौँ ।
बैङ्कको लगानी खास कुन क्षेत्रमा बढी प्रवाह भइरहेको छ ?
खासगरी सहकारी बैङ्कको कर्जा बिजनेस (व्यावसायिक) क्षेत्रमा नै बढी प्रवाह भइरहेको छ । केन्द्रीय कार्यालयदेखि प्रादेशिक कार्यालयमार्फत भइरहेको कर्जा लगानी विशेषगरी बिजनेस सेक्टर, एग्रिकल्चर (कृषि) सेक्टर र विपन्न वर्गमा गएको देखिन्छ । तथापि बैङ्कले सीधै व्यक्तिसँग कारोबार नगर्ने हुँदा सहकारी संस्थाले एक शीर्षकका लागि माग गरेको कर्जा केही अर्को शीर्षकमा खर्च भएको पनि हुन सक्छ । तर पनि सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूमा व्यावसायिक खेती, कृषि परियोजनाहरूमा नै दिएको हामीलाई जानकारी छ ।
प्राप्त तथ्याङ्कअनुसार कुल कर्जा लगानीको ५० प्रतिशत कृषि, उत्पादन र गरिबी क्षेत्रमा लगानी भएको छ । बाँकी ४० देखि ५० प्रतिशत अन्य व्यवसायिक क्षेत्रमा प्रवाह भएका छन् ।
–तरलता अभाव भन्दाभन्दै पछिल्लो समय बैङ्कहरूमा पैसा थुप्रिन पुगेको छ । ४ खर्बमाथि तरलता बोकेर बसेका वाणिज्य बैङ्कहरूले नै यतिखेर लगानीको ठाउँ खोजिरहेका छन् । फेरि यता निक्षेपको ब्याज बढाइरहेका छन् । तर सहकारी बैङ्कलाई यस्तो सकस छ कि छैन ?
यसमा मिश्रित खालको समस्या छ । एकातर्फ केही सहकारी संस्था तरलता समस्यामा फसेर कर्जा माग गरिरहनु भएको छ भने अर्कोतर्फ केही राम्रा सहकारी पनि के हो के हो भनेर लगानी गर्न डराइराखेको अवस्था छ । राष्ट्र बैङ्कको नीतिगत व्यवस्थाले पनि कति ठाउँमा लगानी गर्न सकिरहेको अवस्था छैन ।
जहाँसम्म कर्जा लगानीको मुद्दा छ, राष्ट्रिय सहकारी बैङ्कसँग अहिले पनि ४० प्रतिशत तरलता छ । लगानीका लागि हामीले आवश्यक प्रोसेसहरू गरि नै राखेका छौँ । साना साना स्केलका टार्गेट क्षेत्रमा लगानी गरौँ भनिरहेका छौँ । तर अहिले मान्छेहरूमा साइकोलोजिकल इफेक्टले समस्या पारिरहेको छ । यसले लगानी गर्न र काम गर्न निरुत्साहित गराइरहेको छ । त्यसले गर्दा पछिल्लो समय सहकारीहरूमा पनि कर्जाको माग घटेको बुझिएको छ । सहकारी बैङ्कमा पनि कर्जाको माग कम भएको छ । जसले कर्जा माग्न खोजिराख्नु भएको छ उहाँहरूलाई कर्जा प्रवाहको प्रोसेस, मापदण्डले पनि रोकेको अवस्था छ ।
यता बैङ्कहरूले अहिले निक्षेप र कर्जामा जुन खालको प्रतिस्पर्धा गरिराखेको छ, मलाई लाग्छ, यो बैङ्क टू बैङ्कका आआफ्नै बाध्यताका कारण हुन सक्छ । कसैको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) टाइट भएको हुन सक्छ भने कसैको कर्जा लगानीको विस्तार र अवसरका कारणले पनि हुन सक्छ । पहिले नै प्रतिबद्धता जनाइएका ठूला आयोजना, परियोजना हाइड्रो, होटलहरूमा लगानी गर्नुपर्ने भएकाले पनि निक्षेप चाहिएको हुन सक्छ । अर्को पक्ष, आफ्ना केही राम्रा क्लाइन्टहरू भड्केर अर्कोतिर जान सक्छन् भनेर पनि हुन सक्छ । यस कारण बैङ्कहरूसँग पैसा नै नभएर भन्दा पनि कन्फिडेन्ट नभएर चाहिँ लगानी गर्न नसकिएको हो कि भन्ने मलाई लाग्छ । केही पैसा हुँदाहुँदै पनि सङ्कटमा नै जोहो गरौँ भनेर पनि बैङ्कहरू निक्षेपमा बढी केन्द्रित भएको हो कि भन्ने पनि देखिन्छ । यद्यपि सबै बैङ्कहरूले ब्याजदर बढाएका छैनन् ४–५ वटा बैङ्कले मात्र ब्याजदर बढाएका हुन् । बाँकी बैङ्क त पर्ख र हेरकै अवस्थामा छन् नि । बरु राष्ट्रिय सहकारी बैङ्कले ब्याजदर घटाएको अवस्था छ ।
–लगानीको समस्या चाहिँ कत्तिको छ ?
लगानीका लागि पनि हामी रोकिने अवस्थामा छैनौँ । यसका लागि त बैङ्कले ‘ट्रिपल वान’ क्याम्पेनिङ नै सुरु गरेको छ । वान ब्रान्च वान लोन अवधारणा नै अघि सारेका छौँ ।
केही दिनअघि मात्र हामीले ५ जना विभागीय प्रमुखलाई फिल्डमा नै खटाएका छौँ, बिजनेस गर्नुस्, हेर्नुस् भनेर । सदस्य सहकारीहरूमा कन्फिडेन्ड छन्, लगानीको सम्भावना छ, आवश्यक मापदण्ड पुग्छ भने त्यस्ता संस्थालाई कर्जा दिऊँ भनेर लागेका छौँ । हामीसँग १८–१९ वटा प्रोडक्ट छन् । उहाँहरूलाई थाहा नभएर पो हो कि बुझाउनुस् भनेका छौँ । हामी आफूले आफैँलाई पनि सच्याउनुपर्यो नि । हाम्रा राम्रा राम्रा प्रोडक्ट छन् तर किन बिक्दैनन् त । थाहा गर्नुपर्यो नि ।
बरु सहकारी संस्थाहरू नै यो लगानी गर्ने, कर्जा लिने समय हो कि होइन भनेर ‘वेट एन्ड सी’ को अवस्थामा छन् । अर्को भनेको अहिले पहिलो र दोस्रो त्रैमास साधारणसभा भई नसकेका कारणले पनि थप योजना नहुँदा संस्थालाई समस्या परिरहेको छ ।
–अब कुरा गरौँ, लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठी २०८० को । यो सङ्कटको घडीमा, त्यो पनि दसैँतिहारकै मुखमा बैङ्कले किन बृहत् गोष्ठीको आयोजना गर्यो ? यसको आवश्यकता के हो ?
राष्ट्रिय सहकारी बैङ्कसँग १६ हजारभन्दा बढी सहकारी सङ्घसंस्था सदस्य छन् । बचत तथा ऋण सहकारी संस्था छन्, कृषि सहकारी छन्, बहुउद्देश्यीय सहकारी संस्था छन्, दुग्ध सहकारी छन्, यस्ता धेरै प्रकृतिका सहकारी छन् । यिनका आआफ्नै समस्या छन् । केन्द्रीय बैङ्कको हैसियतले हामीलाई के अनुभव भयो भने हाम्रा सेवा, सुविधा र प्रविधिहरू तलका प्रारम्भिक संस्थाहरूमा ट्रान्सफर गरेका छैनौँ, गर्न सकेका छैनौँ । अघि नै भने सहकारी बैङ्क पनि घाटामा छ तर हामीसँग पुग्दो तरलता छ । हामी सम्पत्ति तथा दायित्वको पुनरवलोकन गर्ने कुरा गरिरहेका छौँ । तर हामी सदस्य सहकारीहरूमा यो कुरा किन प्रदान गर्न किन सकिरहेका छैनौँ ? तलका सहकारी संस्थाहरूको अवस्था के छ ? उहाँहरूले अवसर नै पाउनु भएन कि । हामीले भने पनि भनेनौँ कि ।
सहकारी सञ्चालनको क्षेत्रमा मुख्य गरी तीनवटा कम्पोनेन्टको आवश्यकता पर्छन् । गन्ने हो भने यस्ता थुप्रै कम्पोनेन्ट छन् तर मेजर रूपमा तीनवटा पर्छन् । त्यो भनेको सहकारीको सञ्चालक समिति, कर्मचारी र लेखा समिति हो । कहिलेकाहीँ सहकारीको सञ्चालक समिति र कर्मचारी ट्रयाक भन्दा बाहिर जान सक्छ । यस्तो अवस्थामा हेर्ने भनेको लेखा समितिले हो । संस्थाको लेखा समिति नै कमजोर र पछिपर्यो भने त्यो संस्थाको समग्र कार्यप्रगति वित्तीय प्रणाली ध्वस्त बन्न सक्छ । अहिले अधिकांश सहकारी सङ्घ संस्थाहरूमा समस्या आनुको कारण पनि यहीँ हो । बेलैमा संस्थाको लेखा समितिको क्षमता बढाउन सकेको भए, बुझाउन र सिकाउन सकेको भए धेरै संस्था दुर्घटनाबाट जोगिने थिए ।
अर्को पक्ष भनेको सहकारीहरूको पनि साइज बढ्दै गएको छ । अहिले ५० अर्बदेखि खर्बसम्मको वित्तीय कारोबार गर्ने सहकारी संस्थाको सङ्ख्या नै ३०० भन्दा माथि पुगिसके । यदि ठूलो वित्तीय कारोबार गर्ने संस्थाहरूको लेखा समिति, लेखा परीक्षण राम्रो र व्यवस्थित हुन सकेन भने अहिलेको भन्दा पनि ठूलो समस्या आउन सक्छ भन्ने लाग्यो र हामीले लेखा प्रणाली व्यवस्थित गर्ने र सिकाइ गर्ने उद्देश्यले राष्ट्रिय गोष्ठीको आयोजना गरेका हौँ ।
–गोष्ठीमा कोको सहभागी हुँदै छन् ? सदस्य मात्र कि अरू पनि सहभागी हुन पाउँछन् ?
मुख्य त बचत तथा ऋणको कारोबार गर्ने र बढीभन्दा बढी वित्तीय कारोबार गर्ने सङ्घ संस्थालाई नै टार्गेट गरेर यो गोष्ठीको आयोजना गरिएको हो । यसमा देशैभरीबाट ४०० देखि ५०० लेखा समितिका सदस्य सहभागी हुन्छन् । राष्ट्रिय सहकारी बैङ्कका सदस्य सहकारीका साथसाथै नेपाल राष्ट्र बैङ्क, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ (नेफ्स्कुन) का प्रतिनिधिलगायत अन्तर्राष्ट्रिय मञ्चका केही प्रतिनिधिको समेत गोष्ठीमा सहभागिता रहनेछ ।
राष्ट्रिय सहकारी बैङ्कले यही असोज २५ र २६ गते सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी राजधानीमा बृहत् लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठी २०८० को आयोजना गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन