इन्जुरी समयमा दुई गोल गर्दै युनाइटेडको नाटकीय जीत
शनिबार, २० असोज २०८०, २२ : १०

ओल्डट्राफोड । इन्जुरी समयमा दुई गोल गर्दै म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा अर्को लज्जास्पद हारबाट जोगिएको छ । स्कट म्याकटोमिनीले इन्जुरी समयमा ४ मिनेटको अन्तरमा दुई गोल गर्दै युनाइटेडलाई ब्रेन्टफोर्डविरुद्ध २–१ को जीत दिलाएका हुन् ।
ब्रेन्टफोर्डका म्याथिएस जेनसनले पहिलो हाफमा गोल गर्दै युनाइटेडलाई सन् १९७७ पछि पहिलोपटक घरेलु मैदानमा लगातार तेस्रो हारको संघारमा पुर्याएका थिए । तर, खेल सकिन ३ मिनेट बाँकी छँदा मैदानमा प्रवेश गरेका म्याकटोमिनीले ९२ औ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
त्यसपछि एन्टोनी मार्सियालको प्रहार गोलकिपर थोमास स्ट्राकोसाले रोके पनि ह्यारी म्याग्वायरको पासमा म्याकटोमिनीले अर्को गोल थप्दै टोलीको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड १२ अङ्कसहित नवौँ स्थानमा उक्लिएको छ ।