मेरो खुसी
छ फिटे शरीर, गर्दछ काम ।
हट्दैन कहिले, कमाउन माम ।।
चाहिंदैन मोटर, चाहिदैन कार ।
एघार नम्वर, सधैँ छ शयर ।।
छ फिटे जमिन, पर्याप्त मलाई ।
रोपनी विघा, चाहिंदैन मलाई ।।
छ फिटे विस्तरा, सजाइराख्छु ।
करोडको खाट चाहिन्न मलाई ।।
महलवाले, कान खोली सुन ।
मिहिनेत विना, पाइँदैन सुख ।।
श्रृङ्गार मलाई, चाहिदैन कहिले ।
सफा र सुग्घर, वस्दछु जहिले ।।
उब्जेको यही, माटोमा मेरो ।
पकाइ खान्छु, जो जे छ मेरो ।।
गल्तीले पनि, नहेप्नु मलाई ।
स्वधर्मी बनी, हिँड्दछु सधैँ ।।
भगवान् मेरा, यी डाँडा पाखा ।
चिन्दछन् मलाई, झ्याउरे भाखा ।।
परदेश कहाँ, जानिन कहिले ।
संसार यहीँ, स्वर्ग छ जहिले ।।
जस्तो छ जीवन, त्यस्तैमा रम्छु ।
सबै दुःखलाई, सुख नै मान्छु ।।
असफलतामा, न कहिले रून्छु ।
हारलाई नै, जीत वनाइ हिँड्छु ।।
जे पाएँ मैले, ईश्वर सम्झे ।
जे जति गुमे, भुल्दै नै गएँ ।।
दुःख र सुख, फरक छैन ।
बिनासित्ति रुने पिलन्धरे हैन ।।
चन्द्रागिरी नपा–१४, नैकाप, काठमाडौं