एमाले प्रदेश अधिवेशन : अध्यक्ष ओलीको दोहोरो मापदण्ड
काठमाडौँ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्व कसले लिने भन्ने शक्ति संघर्ष प्रदेश अधिवेशनका क्रममा खुलेआम प्रकट भएको छ । प्रदेश अधिवेशनहरूमा महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबिच देखिएको टकराबले भावी दिनमा एमालेको राजनीति र नेतृत्व कसको हातमा पुग्ला भन्ने आम नेता कार्यकर्ता सोच्न बाध्य भएका छन् ।
प्रदेश अधिवेशनमा ‘प्यानल नबनाउनु’ भन्ने अध्यक्ष ओलीको आदेशात्मक निर्देशनले नेताहरूबिचको शक्ति संघर्षलाई थप मलजल गरेको विश्लेषण हुन थालेको छ । अध्यक्ष ओलीको निर्देशन विपरीत लुम्बिनी, बागमती, कोशी, कर्णाली र गण्डकीमा प्यानलकै हैसियतमा नेताहरूले चुनावी प्रतिस्पर्धा गरेका छन् ।
लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशन गण्डकीसम्म पुग्दा अध्यक्ष ओलीको ‘सहमति’को निर्देशन प्रभावहीन बनेको छ । ओलीको निर्देशनलाई चुनौती दिँदै प्यानल निर्माणमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताहरू प्रत्यक्ष संलग्न भए पनि ओलीले कारबाही गर्ने हिम्मत देखाएका छैनन् ।
एमालेभित्र नीति, कार्यदिशा र ओलीको नेतृत्वबारे विवाद नभए पनि पार्टी नेताहरू आ–आफ्नो वर्चस्व स्थापित गर्न प्रतिस्पर्धामै उत्रिएका थिए । आफ्नो प्यानल जिताउन खुलेरै नेताहरू लागेको देखिए पनि ओलीले यसबारे खासै टिप्पणी गरिसकेका छैनन् । प्रदेश अधिवेशनमा देखिएको गुटगत राजनीतिको असर एमालेको आन्तरिक जीवनमा र आसन्न महाधिवेशनमा समेत देखिने नेता कार्यकर्तादेखि राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
प्यानल बनाएर चुनाव लडे प्यानलकै उम्मेदवारी खारेज गर्ने अध्यक्ष ओलीको चेतावनीका बाबजुद नेताहरू प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेपछि एमालेभित्र ओलीको वर्चश्व कमजोर हुन थालेको एकातिर टिप्पणी हुन थालेको छन् भने अर्कोतिर प्रदेश अधिवेशनमा अध्यक्ष ओलीले नचाहेका नेताहरू पनि प्रदेश नेतृत्व सम्हाल्न पुगेका छन् । गण्डकी र लुम्बिनीमा अध्यक्ष ओलीको चाहनाविपरीत नवराज शर्मा र राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित भए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र शर्मा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । बागमती, कोशी र कर्णालीमा ओलीले रुचाएका कैलाश ढुंगेल,घनश्याम खतिवडा र गुलावजंग शाह निर्वाचित भए पनि लुम्बिनी र गण्डकीको नेतृत्व ओलीको पकड बाहिर हुन पुग्यो । जुन अध्यक्ष ओलीको चाहनाविपरीत हो । मधेस र सुदूरपश्चिममा अधिवेशन सम्पन्न हुन बाँकी नै रहेकाले त्यहाँको अवस्था के हुन्छ भन्न सक्ने अवस्था छैन । तर एमाले अधिवेशनमा देखिएको शक्ति संघर्षलाई कतिपय नेता कार्यकर्ताले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको ‘रिहर्सल’का रूपमा समेत चित्रित गर्न थालेका छन् । एमालेभित्र प्रकट भएको शक्ति संघर्षले अध्यक्ष ओली पछिको उत्तराधिकारी पार्टीमा शङ्कर पोखरेल की विष्णु पौडेल भनेर समेत नेता कार्यकर्तामा चर्चा हुन थालेको छ ।
त्यसो त एमालेभित्र ओली नै सर्वेसर्वा मानिन्छन् । किनभने उनका प्रतिस्पर्धीका रूपमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरू पाखा लागेपछि ‘एमाले नै ओली र केपी ओली नै एमाले’ भन्ने भाष्य स्थापित गर्न खोजिए पनि प्रदेश अधिवेशनहरूमा देखिएका दृश्य र घटनाहरुले यो भाष्यलाई खण्डित गरिदिएको छ । त्यतिमात्रै होइन एमाले अधिवेशनमा भएको चुनावी प्रतिस्पर्धा आन्तरिक लोकतान्त्रिक अभ्यासको पुन सुरुवातका रूपमा समेत कतिपयले विश्लेषण गरेका छन् ।
‘प्रतिस्पर्धा नै नगर्नु भनेर अध्यक्षले भनेको होइन । सहमति नभए चुनावमा प्रतिस्पर्धा गर्न छुट छ तर प्यानल नबनाउनु भनेको मात्र हो’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भनिन्छन्, ‘तर बाहिर आएजस्तो प्रदेश अधिवेशनमा प्यानल भएजस्तो मैले बुझेको छैन ।’ उनले चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा बुझ्नुपर्ने समेत बताइन् ।
‘एमालेमा केपी ओली आफैले सुरुवात गरेको लोकतान्त्रिक अभ्यास उनी आफैले विरोध गर्न थाले, किन हो थाहा छैन’, एमालेका एक केन्द्रीय सदस्य भन्छन्,‘एमालेको जनकपुरमा भएको सातौँ महाधिवेशनमा उनै ओलीले बहुपदीय प्रणालीको पनि कुरा गरे । तर उनले त्यसबेला उम्मेदवारी दिन पाएनन् । आठौँ महाधिवेशनमा चुनाव लडे तर हारे । नवौँमा ओलीले जितेका हुन् ।’
चितवनमा दुई वर्षअघि भएको दसौँ महाधिवेशनमा भने ओली आफैले आफ्नै नाम अध्यक्षमा घोषणा गरेर अनुमोदन गरेका थिए । अध्यक्ष ओलीको यो प्रवृत्तिविरुद्ध भीम रावल र घनश्याम भुसालहरूले दसौँ महाधिवेशनमा विद्रोह गरे पनि अरू धेरै नेताले ओलीलाई नै सघाएका थिए । तर त्यसवेला समेत ओलीलाई सघाउने नेताहरू नै पछिल्ला दिनमा अध्यक्ष ओलीको सोचप्रति सकारात्मक बन्न सकेनन् ।
राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल अध्यक्ष ओलीले अपनाएको दोहोरो मापदण्ड र अनावश्यक निर्देशन सिङ्गो पार्टीका लागि हानिकारक हुने ठान्छन् ।
‘पार्टी प्रदेश कमिटी नेतृत्व छनोटका सवालमा केपी ओलीले जे निर्देशन गर्नुभयो त्यो नै गलत थियो । किनभने एउटा परिवारभित्र त सबैको राय मिल्दैन भने सातआठ लाख सदस्य भएको पार्टीमा सहमतिबाट नेतृत्व चयन गर्छु भन्ने कुरा मिल्दै नमिल्ने विषय हो’,प्राध्यापक पोखरेलको भनाइ छ । पोखरेलको बुझाइमा ओलीले त्यसो भन्नु गलत भन्ने थाहा नभएर भने होइन ।
‘एमालेमा समकक्षीहरू माधव, झलनाथ वा वामदेव गौतमहरू जो ओलीसँग टक्कर लिन सक्थे ती सबै बाहिरिएका छन् । माधव, झलनाथहरु बाहिरिएपछि एमालेमा ओली नै सर्वेसर्वा भएपछि मैले जे गरे पनि हुन्छ भन्ने भएकाले ओलीले त्यस्तो निर्देशन दिएका हुनसक्छन्’, पोखरेलको भनाइ छ । तर ओलीको निर्देशनपछि पार्टीभित्र थप उकुसमुकुसको अवस्था सिर्जना हुन पुगेको पोखरेलको बुझाइ छ । जुन उकुसमुकुसले ओलीपछि एमालेको नेतृत्व कसले लिने भन्ने तानातान प्रदेश अधिवेशनमा प्रकट हुन पुगेको पोखरेलले बताए
‘यद्यपि अहिले नै त्यो पक्ष स्पष्ट खुलेर बाहिर आइसकेको अवस्था छैन तर विभिन्न ढंगले अभिव्यक्तिहरू आउन थालेका छन्’, पोखरेलले भने, ‘एमाले प्रदेश अधिवेशनकै सवालमा ओलीले प्यानल नबनाऊ भनेर सार्वजनिक रूपमा भने पनि आफैले बनाए ।’
पोखरेलले लुम्बिनी, कोशी र गण्डकीको अधिवेशनलाई उदाहरण दिँदै प्यानल बनाएर चुनाव लड्नेहरुलाई कारबाही गर्ने चेतावनी दिए पनि कारबाही गर्न सक्ने अवस्थामा ओली नरहेको दाबी गरे ।
‘प्रदेशमा अध्यक्षका निकट भन्नेहरूले नै प्यानल बनाए र चुनाव लडे । तिनीहरू कसैलाई पनि उनले अब कारबाही गर्न सक्दैनन् । यसबाट ओलीको दोहोरो मापदण्ड स्पष्ट देख्न सकिन्छ’, पोखरेलले भने, ‘प्यानल नबनाऊ भनेपछि कि त आफुपनि बनाउन हुँदैन थियो । त्यति भन्दाभन्दै पनि ओलीको निर्देशनको अवज्ञा भयो ।’ यसरी ओलीको निर्देशन अवज्ञा हुनुमा प्रमुख कारण ओलीपछि एमालेको नेतृत्वमा को आउने भन्ने प्रतिस्पर्धाले नै काम गरेको पोखरेलको भनाइ छ ।
‘ओलीको अभिव्यक्तिकै कारण प्रदेशमा तानातानको अवस्था आयो । किनभने कतिपय प्रदेशमा ओलीले कुनै हालतमा नचाहेका मानिसहरू पनि नेतृत्वमा आए । अव यो क्रम बिस्तारै बढ्ने देखिन्छ’, पोखरेलको विश्लेषणमा अहिलेसम्मको अवस्था हेर्दा विष्णु पौडेल र शङ्कर पोखरेल नै ओलीको उत्तराधिकारीका रूपमा आउन चाहेका देखिन्छन् । कोशी प्रदेशको अध्यक्षमा पराजित बनेका विनोद ढकाल लामो समय ओली निकट रहेर राजनीति गरेका नेता हुन् । तर उनले अधिवेशनमा ओलीको साथ पाएनन् । ‘ढकाल चुनाव लडे तर जित्न सकेनन् । ओलीको निकट भएर पनि चुनावमा अर्को नेतालाई ओलीले साथ दिँदा हार खाएपछि बाध्य भएर उनले तितो पोखेको भन्दै पोखरेलले भने, ‘पछिल्ला केही कारणले गर्दा एमालेभित्र परस्पर विरोधी सोच र गुट निर्माण हुने क्रम बढ्ने देखिन्छ ।’
तर पोखरेलले एमालेको विचार र ओली नेतृत्वको विरोध भन्दा पनि पार्टी सञ्चालनमा देखिएको ओलीको साेचविरुद्धको विरोध प्रकट भएको रूपमा बुझ्नुपर्ने बताए ।
विद्या फ्याक्टरको अर्थ
नेकपा एमालेमा अहिले एउटा समूह पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउनुपर्ने जबर्जस्त लबिङमा छ । ओली आफै पनि अर्को महाधिवेशनमार्फत अर्को नेतृत्व पनि गर्न चाहन्छन् । आफ्नो चाहाना र विद्याको आकाङ्क्षाबारे पार्टीमा भइरहेको प्रयासबारे पनि ओली जानकार नै छन् ।
‘अहिलेको राजनीतिक चुनौतीलाई पार गर्न वामपन्थी शक्तिहरू एक ठाउँ भएर अघि बढ्दा एउटा स्पष्ट रेखा कोर्न सकिन्थ्यो भन्ने केहीको मनोभाव देखिन्छ’, प्राध्यापक पोखरेलले भने, ‘एमालेमा विद्या भण्डारीको आगमनको कुरा उठ्नुमा अरू बाम पार्टी र एमालेलाई एक ठाउँमा ल्याउन सक्छिन् भन्ने बुझाई र धारणा छ ।’ तर यो धारणा ओलीको सोचविपरीतको धारणा हो । किनभने ओली ७० को उमेर हदको सीमालाई समेत संशोधन गरेर अझै आफू नेतृत्वमा रहने सोचमा छन् । उनका पछिल्ला केही अभिव्यक्ति सुन्दा पनि ओली सहजै नेतृत्व छोड्न चाहँदैनन् । ‘दुई दिन पहिला संसद्मा दुई घण्टा बोल्दा पनि ओलीले कुण्ठाबाहेक केही बोलेनन् । यस ढंगले पार्टीमा ‘ब्रेक थु्र’ सम्भव छैन’, पोखरेलले भने, ‘त्यसैले एमालेमा विद्या आए वामपार्टीबिच कहीँ न कहीँ सहकार्यको ढोका खुल्छ भन्ने धेरैको बुझाइ हो । त्यस्तो नभए एमाले क्षयीकरणको बाटोमा जान्छ भन्ने चिन्ता धेरैमा देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?