शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

हमासद्वारा इजराइलमा रकेट हमला, कम्तीमा एकको मृत्यु

शनिबार, २० असोज २०८०, १२ : ३९
शनिबार, २० असोज २०८०

गाजासिटी । अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजराइलमा कम्तीमा एक जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।  स्थानीय समयअनुसार बिहान साढे ६ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । 
सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजराइली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए । 

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले  हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ । 

“हामीले इजराइली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जवाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ”, उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा  गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौ ।”

गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा  हमासको हात रहेको इजराइली सेनाले बताएको छ ।  मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजराइलमा प्रत्यक्ष  प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ । चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएको र दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । 

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले उक्त हमलापछि प्रधानमन्त्री नेतान्याहुले चाँडै सुरक्षा प्रमुखहरूलाई बोलाउने जनाएको छ । सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजराइलबीच विनाशकारी युद्ध भएका छन् । 
पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप