आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखिएको साम्यवाद

शनिबार, २० असोज २०८०, ११ : ३७
शनिबार, २० असोज २०८०

बल्ल मेरो घरमा साम्यवाद आएको छ
म उनले भनेको सुन्दिन
उनी मैले भनेको मान्दिनन्
छोराछोरीहरू
काममा छैनन् तर व्यस्त छन्
हामी एकले अर्कालाई आदेश दिँदैनौ
आफ्नो काम आफैँ गर्छौँ
उनी मिलाई मिलाई
फेसबुक र टिकटक चलाउँछिन्
म लुकिछिपी मात्र म्यासेन्जर हेर्छु
छोरी गेममा हुन्छिन्
छोरो कहाँ जान्छ, उसैलाई थाहा हुँदैन
छोराले बालेको चुल्हो
ग्याँस सकिएर मात्र निभ्छ
छोरीले बाथरुममा फालेको धोती
फालेको थुप्रोमै सुक्छ
दाल डढेर टिकटकमै सकिन्छ
खै, घर कतिबेला पो सकिन्छ...।

मलाई पनि 
आम्दानी हुने जति सबै काम 
आफ्नै हो जस्तो लाग्छ
त्यस्तो काममा अरूलाई
दुःख दिन नपरे हुन्थ्यो जस्तो लाग्छ
दिनरात नभनी 
म त्यस्तो काम गर्न खुब रमाउँछु
पैसा गन्न गाह्रो छ आजकल
मोबाइल बैंकिङ्ग नै सजिलो लाग्छ
यताबाट उता, उताबाट यता
आँटेसम्म लकरमा दराजमा राख्छु
विश्वासिला साथीभाइलाई सापट दिन्छु

यताउता गर्ने काममा मलाई
परिवारले पनि सघाउँछन्
छोरीले स्कुटर, मोबाइल 
र, घुमघाम गरेर सघाइन्
छोराले विजनेसमा हाल्यो र डुब्यो
उनले सुनचाँदी र डायमण्ड किनेर सघाइन्
मैले पनि जाँडरक्सी र भट्टीमा डोनेशन गरें
यसरी मलाई सघाउन पाउँदा 
उनीहरु खुशी हुन्छन्
उनीहरुको खुशी नै मेरो खुशी हो
म पनि किन दुखी हुनु ?
तलबको कमाई त होइन नि ।

मैले सबैलाई अधिकार पनि बाँडेको छु
अग्लो–होचो छैन, साम्यवाद छ 
अरुहरुका घरमा जस्तो
हाम्रो घरमा बालबच्चा रुँदैनन्
हामी आफैँ रुन्छौ
हामी पालो गरेर रुन्छौ
बिहान म रुन्छु
बेलुका उनी रुन्छिन्
कलेजो फाट्ता उनी रुन्छिन्
मुटु दुख्ता म रुन्छु
हामी छोराछोरीलाई रुवाउँदैनौ
बरु छोराछोरीले रुवाउँछन्
छोराछोरी भुक्क लात्तीले हान्छन्
उनी रुन्छिन्
म डरले बिरामी हुन्छु
मेरा आँखामा 
कालीगण्डकी बग्छन्
तैपनि डाँको छाड्दिन म
गाउँ समाजमा 
छोराछोरीको बेइज्जती हुने 
डर छ नि मलाई
छातीमा कस्सिएर गाँठो परेको 
एक मुठ्ठी सासलाई
काँपेका हत्केलाहरूले तलतिर सार्छु 
र, अलिक सजिलो भएपछि 
मेरी उनका आँखाका गंगामा 
बिस्तारै नुहाउन पस्छु 
नरोऊ प्रिय,
मेरा शव्दहरु उनको हृदयमा 
चट्याङझैं ठोकिन्छन्
मनमा बिजुली चम्किन्छ
केही बेरको भारी वर्षासँगै
साम्यवादको झरी झरिरहन्छ

एक अर्कालाई स्नेहमा भर्छौँ
भारी मनलाई बुझाउँछौँ
हाम्रो साम्यवाद पोखिन्छ
उनी भन्छिन्,
के गल्ती थियो हाम्रो ?
म भन्छु– नियति हो प्रिय,
मेरा आदर्शका घमण्डहरु चकनाचुर हुन्छन्
म मनमनै सोच्छु
किन हामी साम्यवादको लप्कामा पस्यौँ ?
आफ्नै इच्छाले, 
या परिस्थितिको उपज थियो यो ?
–विराटनगर
                       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आत्रेय विकासराज
आत्रेय विकासराज
लेखकबाट थप