कम्युनिस्ट पार्टीमा सङ्गठनसम्बन्धी बहस
नेपालका सबै कम्युनिस्ट पार्टीमा सङ्गठनसम्बन्धी बहस चलिरहेको छ । कम्युनिस्ट पार्टी सङ्गठनको जीवनमा ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ आजको आवश्यकता हो । जवस–मोर्चाविहीन पार्टी सङ्गठनको यसको मूल अवधारणा हो । लेनिनले रुसमा मूलतः मजदुरलाई आधार बनाए । चीनमा माओले किसानमा विशेष भर परे । भारतीय कम्युनिस्ट पार्टीहरूले अलि–अलि जवस–मोर्चा सञ्चालन गरेका छन् । युरोपका कम्युनिस्ट पार्टीहरूले जवस–मोर्चाको त्यति धेरै प्रयोग र परिचालन गरेको देखिँदैन तर नेपालमा जवस–मोर्चाको प्रचलन अलि बढी नै छ । राजनीति ‘कू’द्वारा लादिएको पञ्चायती व्यवस्था र त्यसले आफ्नो व्यवस्था टिकाउन खडा गरिएका अनेक जनवर्गीय मोर्चाको काउन्टरमा सङ्घर्षरत राजनीतिक पार्टीहरूले मोर्चा सङ्गठन खोल्दा आजको परिस्थिति सिर्जना भएको हो । आजको बदलिँदो परिस्थितिमा ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अवधारणा नै हो ।
समकालीनतामा कम्युनिस्ट पार्टीहरू सही तरिकाले सही दिशातिर उन्मुख भइरहेका छैनन् । प्रायः सबै कम्युनिस्ट पार्टीनिकट जवस–मोर्चाहरू मुद्दाविहीन, प्रभावविहीन र आकर्षणविहीन बन्न पुगेका छन् । आजको पार्टी सङ्गठनमा नीति, नेतृत्व, सङ्गठन, सङ्घर्ष, कूटनीति तथा सूचना–सञ्चार र प्रविधिको एकीकृत कमान्ड हुनैपर्छ । पञ्चायतलाई झुकाउने शिक्षक–विद्यार्थी मोर्चा आज कहाँ छन् ? बलिदानी भावका साथ रूपान्तरणकारी अभियानमा लामबद्ध कलाकार, लेखक–साहित्यकार आज कहाँ छन् ? एउटै वक्तव्यले देश हल्लाउने जवस–मोर्चाहरूको यस्तो हबिगत किन भयो ? प्रहरीको हतियार खोस्ने र जेल तोड्ने महिलाहरू आज कहाँ छन् ? देश र जनताका लागि भौतिक रूपमै बलिदान दिन तँछाड–मछाड गर्ने त्यो महान् मान्छेहरूको पङ्क्ति आज किन हाडछालाको जोगाडमा मैमत्त बन्दै छ ?
विश्व कम्युनिस्ट आन्दोलनल गायत नेपालकै सन्दर्भमा पनि नयाँ ढङ्गको पार्टी सङ्गठनको निर्माणमा नयाँ ढङ्गले सोच्नु अपरिहार्य भइसकेको छ । त्यसकारण पार्टी सङ्गठनको संरचनामा आमूल परिवर्तन आजको आवश्यकता हो । सबैका उस्ताउस्तै पार्टी सङ्गठनात्मक संरचनाले जनतामा व्यापक भ्रम सिर्जना गरिरहेछ । यही भ्रमका कारण कम्युनिस्ट पार्टी र जनताका बीच दूरी बढिरहेको छ । पार्टीका नाम र तिनका पुच्छर हटाइदिने हो भने सबै कम्युनिस्ट पार्टी सङ्गठन एउटै र उस्तैजस्तो देखिन्छ । सङ्गठनात्मक संरचनाकै कारण आफू–आफूमै शत्रुतापूर्ण अन्तर्विरोधको प्रयोग हुन थालेको छ । पार्टी सङ्गठनात्मक संरचनासँग स्रोत–साधनको सम्बन्ध हेर्न थालिएको छ, जसका कारण पार्टी सङ्गठनमा अनपेक्षित घटना घटिरहेका छन् । पार्टी सङ्गठन वर्ग दुश्मनसित लड्नपर्नेमा एउटै पार्टी र अझ एउटै सङ्गठनभित्रै आफूआफूमा लडेर सिद्धिनेजस्तो हुन थालेको छ । दुश्मनका विरुद्ध प्रयोग गर्नुपर्ने ‘डेफिनेसन, डिटरमाइन्ड, डिमोर्लाइज, डिभाइड र डिस्ट्रोय’ जस्ता सूत्र आफ्नै पार्टी सङ्गठनभित्र लागू हुँदै छ । यी र यस्तै–यस्तै समस्याको समाधानका लागि ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ अनिवार्य हुन गएको हो ।
सबैभन्दा पहिले जवस–मोर्चा विघटन गर्नुपर्दछ । यो कुरा जातीय–क्षेत्रीय मोर्चाहरूमा पनि लागू हुन्छ । क्रान्तिरत पार्टीहरूमा जवस–मोर्चाको औचित्य अझै पनि छ भन्ने तर्क सुनिन्छ तर वास्तविकता त्यस्तो होइन । समकालीनतामा जवस–मोर्चा दुश्मनको घुसपैठको झ्याल–ढोका र गुटबन्दीको अखडामा परिणत हुँदै छ । त्यसकारण जवस–मोर्चाविहीन समग्र पार्टी आजको आवश्यकता हो । एक सशक्त मुख्यालयको वरिपरि रहने गरी अनेकौँ पार्टी समितिहरू निर्माण गर्नुपर्दछ । आवश्यकताअनुसार यस्ता केन्द्रीयस्तरका पार्टी समिति जति पनि बनाउन सकिन्छ । तिनलाई प्रशिक्षित गर्न, नायकत्व तथा नेतृत्व प्रदान गर्न र आवश्यक भूमिकाका साथ, जनताको सेवा गर्ने अवस्था सिर्जना गर्न अनेक नवीन संरचना बनाउन सकिन्छ । पार्टी सदस्यताका लागि पार्टीकै विशेष समितिहरू बनाउन सकिन्छ । जसरी साम्राज्यवाद भूमण्डलीकृत बन्दै आइरहेको छ, त्यसैगरी वैज्ञानिक समाजवादीहरूको सङ्गठनात्मक संरचना पनि भूमण्डलीकृत हुन आवश्यक छ । युवा, विद्यार्थी, महिला, किसान, संस्कृतिकर्मीलगायत विधागत छुट्टै विशेषता भएका क्षेत्रहरूको छुट्टाछुट्टै पार्टीको केन्द्रीय समिति बनाउनुपर्दछ । पार्टीको त्यस्ता केन्द्रीय समितिलाई संयोजन गर्नका लागि पार्टी मुख्यालयमा एक छुट्टै स्ट्रेरिङ समितिको सङ्गठनात्मक संरचना बनाउन सकिन्छ । केन्द्रीय जवस–मोर्चाहरूका लागि केन्द्रीयस्तरका विभागीय संरचना पनि बनाउन सकिन्छ । पार्टी र जनता जोड्ने, नेता र कार्यकर्ता जोड्ने तथा विचार ‘सिद्धान्त’ र व्यवहार जोड्ने आवश्यकतामा ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ अजेय हतियार बन्न सक्दछ ।
कम्युनिस्ट पार्टीनिकट जवस मोर्चाहरू मुद्दाविहीन, प्रभावविहीन र आकर्षणविहीन बन्न पुगेका छन्, अबको पार्टी सङ्गठन जवस–मोर्चाविहीन हुनुपर्दछ ।
‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ द्वारा माओको भनाइअनुसारको तीन जादुगरी हतियार ‘पार्टी, सेना र मोर्चा’ को काम–कारबाहीमा गुणात्मक छलाङ हासिल गर्न सकिन्छ । यो अवधारणाअनुसार पार्टीका सङ्गठनात्मक तहगत संरचना बढीमा तीन तहसम्म हुन सक्छ — पहिलो, केन्द्रीयस्तर (प्रदेश वा ब्युरोसहित), दोस्रो जिल्ला–पालिकास्तर र तेस्रो आधारभूत सदस्यस्तर । यस किसिमका सङ्गठनात्मक संरचनाले ढुङ्गामा पानी खन्याएको जस्तो होइन, माटोमा पानी खन्याएको जस्तो पार्टी सङ्गठन निर्माण गर्न ठूलो सहयोग पुग्दछ । यसले मूलाजस्तो एक्लो सङ्गठनात्मक परिवेशका विरुद्ध बदामको झुप्पाजस्तो सामूहिक सङ्गठनात्मक परिवेशको निर्माण गर्दछ । बदलिँदो साम्राज्यवादी विश्व राजनीति र त्यसले जनराजनीतिमा गम्भीर आघात पु¥याइरहेको अवस्थामा नयाँ कम्युनिस्ट पार्टी सङ्गठनको सशक्त नयाँ शिविर खडा गर्नु अनिवार्य भइसकेको छ । माओले भनेजस्तै हामीले अन्य राजनीतिक दलले अपनाएका कतिपय सङ्गठनात्मक प्रणालीको पनि अध्ययन गर्नुपर्छ र तिनको सकारात्मकताको ग्रहण गर्ने गुणको विकास गर्नुपर्छ । ‘संसदीय राजनीतिमा भाग लिने’ र ‘संसदीय राजनीतिमा भाग नलिने’ कम्युनिस्ट पार्टीहरूले आ–आफ्ना सङ्गठनात्मक संरचना परिवर्तन गरेर राजनीतिक नैतिकता देखाउनु अनिवार्य छ । जनतालाई भ्रम सिर्जना गरिदिनुजस्तो अनैतिक र घटिया काम अरू हुनै सक्दैन । कमसेकम फरक–फरक काम गर्ने भएपछि ती कम्युनिस्ट पार्टीहरूका सङ्गठनात्मक सरचना पनि फरक–फरक हुनैपर्दछ । ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ लेनिनवादी जनवादी केन्द्रीयतामा नै आधारित हुनेछ ।
‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ को सङ्गठनात्मक प्रणाली कस्तो होला भन्नेबारे जिज्ञासा हुन सक्दछ । पार्टी सङ्गठनको जीवनमा कतिपय संरचना प्रयोग गर्दै जाँदा विकास हुँदै जाने पनि हुन्छ । अहिले पार्टी सङ्गठनमा इन्चार्ज र संयोजकको पद सिर्जना गरिएको पाइन्छ, जुन एकदमै अन्तर्विरोधी कुरा हो किनभने इन्चार्ज भनेको पनि प्रमुख हो, संयोजक भनेको पनि प्रमुख हो । पार्टी सङ्गठनमा यस्तो विपर्यासी पद्धतिको अन्त्य गरिनुपर्दछ । सदस्यता वितरणको एउटै छुट्टै संरचना बनाउन सकिन्छ, जसले पार्टी सङ्गठनलाई छालजस्तो उदाएको बनाउन सकोस् । सिद्धान्ततः एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ । सम्भवतः नेपाल यस्तो देश हो, जहाँ अत्यधिक कम्युनिस्ट पार्टी रहेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा मुख्यतः तीन प्रश्न छन्– पहिलो, वैचारिक प्रश्न दोस्रो, राजनीतिक प्रश्न र तेस्रो, सङ्गठनात्मक प्रश्न । नेपालको माओवादी आन्दोलनसित सम्बद्ध माओवादी पार्टीहरूको सङ्गठनात्मक अधोगतिमा हुनुमा अनेक कारण रहेका छन् । तीमध्ये ‘जनयुद्ध लडेको र नलडेको’ भन्ने डिमार्केसन पनि एक प्रमुख कारकतŒवको रूपमा रहेको छ । एनिमल फार्ममा ‘सबै जनावर बराबर छन् तर केही विशेष छन्’ भनेर जर्ज ओरवेलले साम्यवादी दर्शन, लेनिन तथा स्टालिनलक्षित व्यङ्ग्यात्मक कृतिको भाव कम्युनिस्ट पार्टी सङ्गठनमा पाउन सकिन्छ । ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’मा ‘विशेष’लाई कुनै स्थान हुँदैन । ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ ले पार्टीका नीतिहरू जनता तथा कार्यकर्ताको घरआँगन र चुल्होसम्म पु¥याउँछ ।
हरेक पार्टी सङ्गठन गतिशील यथार्थ र मरणशील यथार्थमा आधारित हुन्छन् । पुँजीवादी पार्टीहरू मरणशील यथार्थ हुन् भने सच्चा कम्युनिस्ट पार्टीहरू गतिशील यथार्थ हुन् । जेल–हिरासतमा पनि पार्टी सङ्गठनहरू बन्छन् । यस्तो स्थान र समयमा गरिएका सङ्गठनहरू अस्थायी हुन्छन् तर तिनको सन्देश दीर्घकालिक हुन्छ । सङ्गठनहरू क्रान्तिकारी मात्र हुँदैनन्, प्रतिक्रान्तिकारी पनि हुन्छन् । क्रान्ति र प्रतिक्रान्ति सँगसँगै हुन्छन् । आजको सन्दर्भमा प्रतिक्रान्ति रोक्ने पार्टी सङ्गठन भनेकै ‘समग्र पार्टी, समग्र सङ्गठन’ हो । कमसल पार्टी सङ्गठनले विचारलाई नै खाइदिन्छ भने बलियो पार्टी सङ्गठनले विचारलाई माथि उठाउँछ । पार्टी सङ्गठनमा विद्रोहको अधिकार सुरक्षित हुनुपर्दछ । माओले विद्रोह गर्नु जनताको अधिकार हो भनेका थिएनन् । आजका पार्टी सङ्गठन वर्षौंदेखि थुप्रिएको तवेलाको फोहोर सफा गर्न सक्ने हर्लुलसजस्तो चाहिएको छ । ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ त्यही हर्कुलसको खोजी पनि हो ।
प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने क्रममा सर्वोच्च अदालतले भनेको थियो– अदालतले न्याय दिएर मात्र पुग्दैन, त्यसको न्यायिक प्रक्रिया पनि न्यायिक हुनुपर्दछ । समग्र पार्टी, समग्र पार्टी सङ्गठन समग्र न्यायिक प्रक्रियाको मान्यतालाई आत्मसात् गर्दछ । नेपालको राष्ट्रवाद खतरापूर्ण रहेको छ । पहिचानको मुद्दाले पार्टी सङ्गठनाई नराम्ररी गिजोलेको छ । पार्टी सङ्गठनहरूमा ‘अभिजातीय वर्ग’ र ‘बहुसङ्ख्यकवाद’ हाबी भइरहेको छ । नयाँ राजनीतिक व्यवस्थाको परिकल्पनाबिना नयाँ ढङ्गको कम्युनिस्ट पार्टी बन्नै सक्दैन । पार्टी सङ्गठनमा लामो समयदेखि रहिरहेको ‘बर्चस्ववाद’ को अन्त्य गर्दै कम्युनिस्टहरूको कम्युनिस्ट पार्टीका विकास गर्न ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ अपरिहार्य बनेको छ, सङ्क्षेपमा यसरी भन्न सकिन्छ -
१. कम्युनिस्ट पार्टीनिकट जवस मोर्चाहरू मुद्दाविहीन, प्रभावविहीन र आकर्षणविहीन बन्न पुगेका छन्, अबको पार्टी सङ्गठन जवस–मोर्चाविहीन हुनुपर्दछ ।
२. प्रचलनमा रहेका अधिकांश सङ्गठनात्मक संरचना प्रयोजनविहीन भएकाले सङ्गठनात्मक संरचनामा आमूल परिवर्तन आजको आवश्यकता हो ।
३. एक सशक्त मुख्यालयको वरिपरि रहने गरी अनेकौँ पार्टीका सहायक केन्द्रीय समितिहरू निर्माण गर्नुपर्दछ, आवश्यकताअनुसार यस्ता केन्द्रीय समिति स्तरका पार्टी समिति जति पनि बनाउन सकिन्छ ।
४. ‘संसदीय राजनीतिमा भाग लिने’ र ‘संसदीय राजनीतिमा भाग नलिने’ कम्युनिस्ट पार्टीहरूले आ–आफ्ना सङ्गठनात्मक संरचना परिवर्तन गरेर
राजनीतिक नैतिकता देखाउनु अनिवार्य छ ।
५. ‘समग्र पार्टी, समग्र पार्टी सङ्गठन’ भौतिकवादी विश्व दृष्टिकोण, जनवादी केन्द्रीयता र गतिशील यथार्थमा आधारित हुनेछ तथा यो पार्टी र जनता जोड्ने, नेता र कार्यकर्ता जोड्ने तथा विचार ‘सिद्धान्त’ र व्यवहार जोड्ने आवश्यकताको सिद्धान्तमा आधारित हुनेछ ।
(खेम थपलियाको हालसालै प्रकाशित ‘कम्युनिस्ट पार्टी सङ्गठन’ पुस्तकबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले प्रदर्शन गर्ने
-
विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिने
-
क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणबारे एस जयशंकरले के भने ?
-
एलन मस्कले मतदातालाई दिनहुँ १० लाख डलर अभियान जारी राख्न सक्ने
-
आईजीपी कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी
-
तिहारपछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य