आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनआरएन फाउन्डेसन अध्यक्षमा थापा, सदस्यमा ढकाल र परियार मनोनीत

शुक्रबार, १९ असोज २०८०, ०९ : ५२
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । एनआरएन फाउन्डेसनको हालै बसेको बैठकले फाउन्डेसनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। सङ्घका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले  सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकाल तथा विष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्। 

गैर आवासीय नेपाली सङ्घले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउन्डेसन गत २०७८ आश्विन ४ मा  नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत्  दर्ता गरिएको थियो। फाउन्डेसनका अध्यक्ष जीवा लामिछानेले कार्य व्यस्तताको कारण देखाउँदै राजीनामा दिए पछि थापालाई अध्यक्षमा नियुक्त गरिएको हो।

'एनआरएनएसँग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरू सम्पन्न गर्ने उद्देश्यले यो फाउन्डेसनको स्थापना गरिएको हो। अब छिट्टै विधान समितिको बैठक बसालेर नीतिगत कुराहरू स्पष्ट पार्नेछौँ,' नवनियुक्त अध्यक्ष थापाले भने।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउन्डेसन एक व्यावसायिक, सीमित दायित्व भएको,  गैर नाफामूलक, गैर राजनीतिक, तथा गैरसरकारी संस्थाको रूपमा रहने विधानमा उल्लेख छ।

'गत २० वर्षमा गैर आवासीय नेपालीहरूले संस्थागत तथा व्यक्तिगत रूपमा अरबौँ रुपियाँ बराबरको सहयोग नेपालमा गरेका छन्।  आगामी दिनमा त्यस्तो सहयोगलाई अरू बढी योजनाबद्ध र प्रभावकारी बनाउन हामीले काम गर्नेछौँ,' नव नियुक्त सदस्य ढकालले भने।

फाउन्डेसनका संस्थापक सदस्यहरूमा गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरू  कुमार पन्त,  जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरू कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप