अम्पायरहरुको विवादित निर्णयका कारण चर्चित बनेको एघारौँ विश्वकप
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको एघारौँ संस्करण अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेका थिए । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको यो दोस्रो एकदिवसीय विश्वकप थियो ।
यसअघि यी दुई राष्ट्रले सन् १९९२ को विश्वकप आयोजना गरेका थिए । एघारौँ विश्वकप सन् २०१५ को फेब्रुअरी १४ देखि मार्च २९ तारिखसम्म सञ्चालन भएको थियो । यो विश्वकपका खेलहरू अस्ट्रेलिया न्युजिल्याण्डका १४ वटा रंगशालामा खेलाइएको थियो ।
विश्वकपको यो संस्करणमा १४ वटा राष्ट्रले सहभागिता जनाएका थिए । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा न्युजिल्याण्ड, अस्ट्रेलिया, श्रीलङ्का, बंगलादेश, इंग्ल्याण्ड, अफगानिस्तान र स्कटल्यान्ड रहेका थिए ।
यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज, आयरल्यान्ड, जिम्बाबे र संयुक्त अरब इमिरेट्स (यूएई) परेका थिए । प्रतियोगिताको पहिलो चरणमा आफ्नो समूहमा रहेका हरेक राष्ट्रले एकअर्कासँग एक—एक खेल खेलेका थिए ।
त्यसपछि दुवै समूहको माथिल्ला स्थानमा रहने चार—चार टोली प्रतियोगिताको क्वार्टरफाइनल चरणमा प्रवेश गरेका थिए । समूह ‘ए’ बाट न्युजिल्याण्ड पहिलो, अस्ट्रेलिया दोस्रो, श्रीलङ्का तेस्रो र बंगलादेश चौथो हुँदै क्वार्टरफाइनलमा पुगेका थिए ।
समूह ‘बी’ बाट भने भारत पहिलो, दक्षिण अफ्रिका दोस्रो, पाकिस्तान तेस्रो र वेस्ट इन्डिज चौथो हुँदै क्वार्टरफाइन चरणमा प्रवेश गरेका थिए । क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई, भारतले बंगलादेशलाई, अस्ट्रेलियाले पाकिस्तानलाई र न्युजिल्याण्डले वेस्ट इन्डिजलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए ।
यसैगरी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा भने अस्ट्रेलियाले भारतलाई ९५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगिताको फाइनलमा भने अस्ट्रेलियाले न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै उपाधि चुमेको थियो । अस्ट्रेलियाले जितेको यो पाँचौँ एकदिवसीय विश्वकप उपाधि थियो । टस जिती पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले ४५ ओभरमा अलआउट हुनुअघि एक सय ८३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ३३.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ८६ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । अस्ट्रेलियाका लागि कप्तान माइकल क्लार्कले ७४ रन बनाएका थिए । स्टिभन स्मिथले अविजित ५६ र डेभिड वार्नरले ४५ रन जोडेका थिए ।
त्यसअघि न्युजिल्याण्डका लागि ग्रान्ट एलियटले ८३ र रोस टेलरले ४० रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । अस्ट्रेलियन बलर जेम्स फल्कनर र मिचेल जोन्सनले तीन—तीन विकेट लिएका थिए । फाइनल खेलमा अस्ट्रेलियाका जेम्स फल्कनर म्यान अफ दी म्याच घोषित भए । अस्ट्रेलियाकै मिचेल स्टार्कले म्यान अफ दी सिरिजको पुरस्कार पाएका थिए ।
एघारौँ संस्करणमा न्युजिल्याण्डका मार्टिन गप्टिल सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले नौ खेल खेल्दै कुल पाँच सय ४७ रन बनाएका थिए । उनले क्वार्टरफाइनलको वेस्ट इन्डिजविरुद्धको खेलमा अविजित दुई सय ३७ रन बनाएका थिए ।
श्रीलंकाका कुमार सांगाकाराले सात खेल खेल्दै पाँच सय ४१ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय २४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले कुल चार सय ८२ रन बनाएका थिए । उनले एउटै खेलमा अविजित एक सय ६२ रन बनाएका थिए ।
जिम्बाबेका ब्रेन्डन टेलरले कुल चार सय ३३ रन जोडेका थिए । उनले एउटै खेलमा एक सय ३८ रन बनाएका थिए । भारतका शिखर धवनले आठ खेल खेल्दै कुल चार सय १२ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय ३७ रन जोडेका थिए ।
यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा अस्ट्रेलियाका मिचेल स्टार्क पहिलो स्थानमा थिए । उनले कुल २२ विकेट लिएका थिए । न्युजिल्याण्डका ट्रेन्ट बल्टले पनि २२ विकेट लिएका थिए । भारतका उमेश यादवले १८ विकेट हात पारेका थिए । भारतका मोहम्मद सामी र दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले १७—१७ विकेट कुम्ल्याएका थिए ।
रेफ्रीको विवादास्पद निर्णय कारण पनि विश्वकपको एघारौँ संस्करण चर्चित बनेको थियो । समूहगत चरणको अस्ट्रेलियाविरुद्घको खेलमा इंग्ल्याण्डका जेम्स टेलरलाई अम्पायरले एलबीडब्लू आउट भएका थिए । सोही क्रममा रन लिन दौडिएका जेम्स एन्डरसनलाई पनि रनआउट दिइएको थियो ।
तर, ‘रिभ्यू’ मा भने जेम्स टेलर आउट भएको देखिएन । त्यसपछि उनी पुनः ब्याटिङमा फर्किएका थिए । तर, एन्डरसन भने रन आउट नै दिइयो । खेल सकिएपछि आईसीसीले जेम्स एन्डरसनलाई रन आउट दिने निर्णय गलत भएको स्वीकारेको थियो । टेलरलाई आउट दिने निर्णयपछि नै ‘बल डेथ’ भइसकेकाले जेम्स एन्डरसनलाई आउट दिने निर्णय गलत भएको आईसीसीले स्वीकारेको थियो । उक्त खेलमा अस्ट्रेलिया एक सय ११ रनले विजयी भएको थियो ।
यसैगरी समूहगत चरणको जिम्बाबे र आयरल्यान्डबीचको खेलमा पनि अम्पायरको निर्णय विवादित बनेको थियो । आयरल्यान्डले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे जवाफी ब्याटिङ गर्दै थियो । जिम्बाबेका सिन विलियम्स ९६ रन बनाएर क्रिजमा थिए ।
त्यसपछि आयरल्यान्डका बलर केभिन ओब्राइनको बलमा सिन विलियम्सलाई जोन मुनीले ‘बाउन्ड्री लाइन’ नजिकै क्याच आउट गरेका थिए । अम्पायरले पनि उनलाई क्याच आउट दिए । शतक पुरा गर्नबाट केवल चार रनले चुकेका सिन विलियम्स पेभेलियन फर्किए ।
तर, खेल सकिएपछि ‘टेलिभिजन रिप्ले’ मा हेर्दा सिन विलियम्सको क्याच सामाउँदा आयरल्यान्डका फिल्डर जोन मुनीको खुट्टा ‘बाउन्ड्रि रोप’ माथि थियो । उक्त घटनामा पनि आईसीसीले गल्ति स्वीकार गरेको थियो । अम्पायरको सोही गल्तीका उक्त खेलमा जिम्बाबे केवल पाँच रनले पराजित हुन पुगेको थियो भने सिन विलियम्स चार रनका कारण शतक पुरा गर्नबाट चुकेका थिए ।
यसैगरी भारत र बंगलादेशबीचको क्वार्टरफाइनल खेल पनि अम्पायरको निर्णयका कारण विवादित बनेको थियो । उक्त खेलमा बंगलादेशी बलर रुबेल होसैनले फालेको ‘फूल टस’ बलमा भारतका रोहित शर्मा स्क्वायर लेगमा क्याच आउट भएका थिए ।
तर, अम्पायरले उक्त बललाई ‘नो बल’ घोषित गरिदिए । ‘नो बल’ घोषणा गर्ने अम्पायरको उक्त निर्णयको निकै विरोध भएको थियो । अम्पायरले ‘नो बल’ घोषित गरेपछि रोहित शर्मा क्याच आउट हुनबाट जोगिएका थिए । उक्त खेलमा भारत एक सय नौ रनले विजयी भएको थियो ।
खेल सकिएपछि आईसीसीका तत्कालीन अध्यक्ष मुस्तफा कमालले पनि अम्पायरसँग त्यो निर्णयको विषयमा प्रश्न गरेका थिए । बंगलादेशी समर्थकहरू पनि अम्पायरको उक्त निर्णयबाट निकै रुष्ट बनेका थिए । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पनि अम्पायरको सोही गलत निर्णयका कारण भारतले त्यो खेल जितेको आरोप लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
-
कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)
-
इमरान खानका हजारौँ समर्थक इस्लामाबादमा, सरकारले बोलायो सेना