घरेलु मैदानमा सचिनले उपहार पाएको दसौँ विश्वकप
काठमाडौँ । एकदिवसीय विश्वकपको दसौँ संस्करण तीनवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । भारत, पाकिस्तान र श्रीलङ्काले संयुक्त रूपमा यो विश्वकप आयोजना गरेका थिए । भारतमा विश्वकप आयोजना भएको यो तेस्रो पटक थियो ।
बंगलादेशमा भने विश्वकपका खेलहरू खेलाइएको यो पहिलो पटक थियो । दसौँ विश्वकप सन् २०११ को फेब्रुअरी १९ देखि अप्रिल २ तारिखसम्म सञ्चालन भएको थियो । यही संस्करणपछि भारत घरेलु मैदानमा विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र बनेको थियो ।
दसौँ विश्वकपमा अर्को रमाइलो संयोग पनि जोडिएको थियो । विश्वकपको इतिहासमै पहिलो पटक दुईवटा एसियाली टोली फाइनलमा पुगेका थिए । यसका अतिरिक्त सन् १९९२ को विश्वकपपछि पहिलो पटक अस्ट्रेलिया फाइनलमा पुग्न असफल भएको थियो ।
प्रतियोगिताको उद्घाटन बंगलादेशमा गरिएको थियो । फाइनल खेल भने भारतमा खेलाइएको थियो । विश्वकपका खेलहरू भारतका आठवटा रंगशालामा खेलाइएको थियो । यसका अतिरिक्त श्रीलङ्काको तीन र बंगलादेशको दुई रंगशालामा पनि विश्वकपका खेलहरू खेलाइएको थियो ।
सुरुमा पाकिस्तानलाई पनि यो विश्वकपको सह—आयोजक बनाइएको थियो । तर, सुरक्षाको कारण देखाउँदै आईसीसीले पाकिस्तानलाई सह—आयोजकबाट हटाएको थियो । सन् २००९ मा पाकिस्तानमा श्रीलंकाली क्रिकेट टोलीमाथि आतङ्ककारी आक्रमण भएपछि पाकिस्तानलाई सह—आयोजकबाट हटाउने निर्णय गरिएको थियो ।
यसैगरी भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करका लागि पनि यो विश्वकप स्मरणीय रह्यो । विश्व क्रिकेटकै महान् खेलाडी तेन्दुल्करको नाममा थुप्रै कीर्तिमान छन् । उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको लामो समय बितिसक्दा पनि उनको नाममा रहेका थुप्रै कीर्तिमान अन्य खेलाडी तोड्न सकेका छैनन् ।
तर, उनले सन् २०११ अघि एकदिवसीय विश्वकपको उपाधि भने जित्न सकेका थिएनन् । सन् २०११ को विश्वकप आयोजना हुँदा उनी खेलजीवनको उत्तरार्धतिर थिए । त्यसैले विश्वकपको दसौँ संस्करणले सचिनको खेल जीवनमा निकै ठुलो खुसी लिएर आएको थियो । उनले पहिलो पटक विश्वकप जित्दाको खुसी अनुभव गर्न पाए, त्यो पनि घरेलु मैदानमा ।
विश्वकपको दसौँ संस्करणमा १४ वटा राष्ट्रले सहभागिता जनाएका थिए । पाकिस्तान, अस्ट्रेलिया, श्रीलङ्का, न्युजिल्यान्ड, जिम्बाबे, दक्षिण अफ्रिका, भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश टेस्ट राष्ट्रका रूपमा प्रतियोगितामा सहभागी थिए ।
आयरल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा र केन्या भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट सदस्यका रूपमा विश्वकपमा सहभागी भएका थिए । प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, न्युजिल्यान्ड, जिम्बाबे, क्यानडा र केन्या रहेका थिए । समूह ‘बी’ मा भने दक्षिण अफ्रिका, भारत, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र नेदरल्यान्ड्स परेका थिए ।
पहिलो चरणको खेलको समाप्तिपछि दुवै समूहको अङ्क तालिकामा माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए । समूह ‘ए’ बा पाकिस्तान पहिलो, श्रीलङ्का दोस्रो, अस्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।
यसैगरी समूह ‘बी’ बाट दक्षिण अफ्रिका पहिलो, भारत दोस्रो, इङ्ल्यान्ड तेस्रो र वेस्ट इन्डिज चौथो हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । प्रतियोगिताको क्वार्टरफाइनलमा पाकिस्तानले वेस्ट इन्डिजलाई, भारतले अस्ट्रेलियालाई, न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई र श्रीलङ्काले इङ्ल्यान्डलाई हराएका थिए ।
त्यसपछि प्रतियोगिताको सेमिफाइनलमा श्रीलङ्काले न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्को सेमिफाइनल खेलमा पाकिस्तानलाई २९ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनलमा श्रीलङ्कालाई ६ विकेटले हराउँदै भारतले उपाधि चुमेको थियो । भारतले एकदिवसीय विश्वकपको उपाधि चुमेको यो दोस्रो पटक थियो । फाइनल खेल भारतको मुम्बईस्थित वानखेड स्टेडियममा खेलाइएको थियो ।
टस जिती ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४८.२ ओभरमा चार विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
फाइनलमा भारतका लागि गौतम गम्भीरले ९७ रनको योगदान गरेका थिए । कप्तान महेन्द्रसिंह धोनीले अविजित ९१ रन बनाएका थिए । विराट कोहलीले पनि ३५ रन बनाएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि माहेला जयाबर्द्धनेले अविजित एक सय तीन रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
श्रीलङ्काका लागि कप्तान कुमार सांगाकाराले पनि ४८ रन बनाएका थिए । फाइनल खेलमा भारतका कप्तान महेन्द्रसिंह धोनी म्यान अफ दी म्याच घोषित भएका थिए । म्यान अफ दी सिरिजको पुरस्कार पनि भारतकै युवराज सिंहले पाएका थिए ।
विश्वकपको दसौँ संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा श्रीलङ्काका तिलकरत्ने दिल्सान पहिलो स्थानमा थिए । उनले कुल पाँच सय रन बनाएका थिए । भारतका सचिन तेन्दुल्करले चार सय ८२ रन बनाएका थिए । श्रीलङ्काका कुमार सांगाकाराले चार सय ६५ रन बनाएका थिए ।
यसैगरी सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा पाकिस्तानका साहिद अफ्रिदी पहिलो स्थानमा रहेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल २१ विकेट लिएका थिए । भारतका जहिर खानले पनि २१ विकेट लिएका थिए । न्युजिल्यान्डका टिम साउथीले १८ विकेट हात पारेका थिए ।
दसौँ विश्वकपका क्रममा केही विवादास्पद घटना पनि भएका थिए । बंगलादेशका समर्थकहरुले वेस्ट इन्डिजका खेलाडी चेढेको बसमा ढुंगा प्रहार गरेका थिए । तर, पछि बंगलादेशी समर्थकले आफ्ना खेलाडी चढेको बस सम्झिएर भुलवश वेस्ट इन्डिजका खेलाडी सवार बसमा ढुंगा प्रहार गरेको स्पष्टिकरण दिँदै माफी पनि मागेका थिए ।
यसैगरी शिव सेनाका कार्यकर्ताहरुले पाकिस्तानी टोली विश्वकपको फाइनलमा पुगेमा उक्त खेल बिथोल्ने चेतावनी दिएका थिए । शिव सेनाको उक्त चेतावनीपछि विश्वकपको सुरक्षाको विषयलाई लिएर ब्यापक आलोचना भएको थियो । संयोगले पाकिस्तान यो विश्वकपको फाइनलमा पुग्न सकेन ।
विश्वकपको दसौँ संस्करण सकिएको लामो समयपछि श्रीलङ्काका पूर्वखेलकुदमन्त्री महिन्दानन्दा अलुथगामागेले उक्त विश्वकपको फाइनल खेललाई लिएर गम्भीर आरोप लगाएका थिए । उनले त्यो विश्वकपको भारत र श्रीलंकाबीचको फाइनल खेलमा ‘मिलेमतो’ भएको आरोप लगाएका थिए । श्रीलङ्काका पूर्वकप्तान अर्जुन रणतुंगाले पनि यस्तै आरोप लगाएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले छानबिन पनि अगाडि बढाएको थियो । तर, पछि कुनै प्रमाण फेला नपरेको निश्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)