बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

वाद, बौद्धिक विचार र रूढिग्रस्त राजनीतिक चिन्तन

बिहीबार, १८ असोज २०८०, १० : ५४
बिहीबार, १८ असोज २०८०

विचार मानव चेतनाबाट व्यक्त हुने अभिव्यक्ति हो । परिष्कृत हुँदै गएपछि यो अवधारणामा रूपान्तरण हुन्छ । अवधारणा चिन्तन प्रक्रियाको र विभिन्न विषयहरूको मानसिक प्रतिनिधित्वको पहिलो चरण हो । जुन चरणमा विविध पक्षको फरक छुट्याइन्छ र तुलना गरिन्छ । 

दुई वा दुईभन्दा बढी विचारबीचका तथ्यका आधारमा गरिने सम्बन्धको विश्लेषण नै चिन्तन हो । चिन्तनको मानसिक प्रक्रिया परिकल्पना हो । परिकल्पनाको परिष्कृत रूप सिद्धान्त हो । सापेक्षित रूपमा स्वतन्त्र तथ्य वा प्रमाणले सत्य भनी प्रमाणित गरेको परिकल्पना सिद्धान्त हो । वाद आफैँमा पूर्ण शब्द हैन, वाद प्रत्यय भएको हुँदा शब्दका पछाडि जोडिएर आउँछ र शब्दार्थमा व्यापक र विशेष परिवर्तन ल्याउँछ । जस्तै मार्क्सवाद, उदारवाद, राष्ट्रवाद, नारीवाद इत्यादि । 

कतिपय अवस्थामा सिद्धान्तले वादलाई जन्म दिन्छ भने कहिले वादले सिद्धान्तलाई जन्म दिन्छ । तसर्थ सिद्धान्तलाई जब बृहत् जीवनशैलीले अपनाउँछ, त्यो वादमा परिणत हुन्छ । सिद्धान्तको समग्रता, कुल योग तथा समष्टिगत स्वरूप नै वाद हो अर्थात् बृहत् जीवनशैलीले अपनाएको सिद्धान्त नै वाद हो । 

यसरी विचारदेखि वादसम्मको वैचारिक शृङ्खलामा सिद्धान्त र वादको भूमिका र चर्चा सर्वाधिक हुने गर्छ । मार्क्स र उनका सहलेखक एङ्गेल्सले प्रतिपादन गरेको सिद्धान्त वा विचारलाई अनुसरण गर्ने बृहत् जीवनशैली मार्क्सवाद हो । 

रोनाल्ड रेगन, मार्गरेट थ्याचर र अगस्तो पिनाचेले प्रयोगमा ल्याएको अर्थराजनीति र प्रशासनिक ढाँचा उदारवाद हो । नागरिकमा जाति, भाषा, धर्म, संस्कृति, इतिहास, परम्परा जस्ता साझा आस्थाको आधारमा जागृत हुने राष्ट्रप्रेम राष्ट्रवाद हो । नारीहरूको समाजमा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जस्तो महत्त्वपूर्ण क्षेत्रमा पहुँच हुनु पर्छ भन्ने सामूहिक विचार नारीवाद हो । 

सिद्धान्तले पूर्णता हासिल गर्नका लागि वादलाई जन्माउँछ भने वादले स्थायित्व हासिल गर्नका लागि सिद्धान्तको जगेर्ना गर्छ । यसरी वाद र सिद्धान्तका बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यस दृष्टिकोणबाट वादलाई एउटा सिङ्गो संरचना मानिन्छ भने सिद्धान्तलाई वादको न्युक्लियस अंश । तर सिद्धान्त र वाद दुवैमा अधिक जडता रहेको हुन्छ । उनीहरू भाँचिन्छन् तर युग सापेक्ष नुहिँदैनन् । सिद्धान्त र वादले कोरेको लक्ष्मण रेखाभित्र चराचर जगत कैदी बन्नु पर्दछ । समाज विकासको कुनै कालखण्डमा सापेक्षित रूपमा सत्य जस्तो देखिएको सिद्धान्तलाई कट्टर सिद्धान्तवादीहरू निरपेक्ष रूपमा सत्य ठान्छन् । समयको परिवर्तन, नवप्रवर्धन र वैश्विक कारणले हुने परिवर्तनलाई वाद र सिद्धान्त दुवैले स्वीकार गर्दैनन् । बरु त्यस्ता शाश्वत परिवर्तनका पक्षधरलाई संशोधनवादी वा प्रतिक्रियावादीको बिल्ला भिराइदिन्छन् । 

एक्काइसौँ शताब्दीको नवप्रवर्तनको युगलाई अठारौँ शताब्दीको अविकसित युगले शासन गर्नुपर्छ भन्ने रूढिवादी मान्यता राख्छन् । इतिहासको गतिलाई रोक्ने दुष्प्रयास गर्छन् । उदाहरणका लागि द्वान्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र वर्ग सङ्घर्षको कुल योगलाई मार्क्सवाद भनिन्छ । जुन सिद्धान्त आजभन्दा करिब १७५ वर्षअघि मार्क्सले प्रतिपादन गरेका थिए । त्यतिखेर समाज वाष्प युगमा थियो । आजको युगमा लगभग यो सिद्धान्तले काम गर्न छोडिसकेको छ । तर कम्युनिस्टहरू कम्युनिस्ट पार्टीको एक दलीय शासन प्रणाली, सामूहिक स्वामित्व, वर्ग सङ्घर्ष, अन्तर्विरोध, विस्तारवादी र साम्राज्यवादी, सर्वहारा वर्गको अधिनायकत्व जस्ता मार्क्सवादरूपी विचारको कैदखानाको सिद्धान्तरूपी गोलघरमा कष्टकर विचार बोकेर अस्तित्व बचाउको लडाइँमा कमजोर योद्धाको भूमिका गरिरहेका छन् । कतिपय अवस्थामा विज्ञानका नियमहरू निरपेक्ष रूपमा शाश्वत सत्य छैनन् । जस्तै न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त पृथ्वीमा लागू हुन्छ तर अन्तरिक्षमा लागू हुँदैन । तर विज्ञानको तुलनामा समाजशास्त्र गतिशील हुन्छ । किनभने मानव समाज तरल छ । आजको युग वैश्विक, नियन्त्रित बौद्धिक कृत्रिमता, डिजिटल अर्थतन्त्रको युग हो । जसको कारणले अर्थराजनीतिको क्षेत्रमा थुप्रै विश्व दृष्टिकोणहरूको विकास निरन्तर भइरहेको छ । तर विचारको कैदीरूपी वाद र गोलघररूपी सिद्धान्तका रूपमा हैन वर्तमान समाजको वस्तुगत विश्लेषण गर्दै यसलाई नागरिकको चाहना र राष्ट्रको आवश्यकता पूरा हुने गरी कसरी विश्व परिवेशमा प्रतिस्पर्धात्मक ढङ्गले विकास गर्न सकिन्छ भन्ने एजेन्डाका रूपमा छ । परिणाम स्वरूप आजको जटिल विश्व व्यवस्था प्रणालीभित्रका जटिलता र अन्तर्विरोधहरूको सामना गर्दै धेरै मुलुकले आफूलाई आर्थिक रूपमा कोर मुलुकका रूपमा स्थापित गर्न सफल भएका छन् भने प्राविधिक रूपमा अन्तरिक्षमाथि विजय हासिल गरेका छन् । किनकि इतिहास, भूगोल, समाजशास्त्र, विज्ञान तथा दर्शनशास्त्रसमेतको निरन्तर समृद्धिको खाँचो युग सापेक्ष भइरहन्छ । 

जगत् विचारको खुला युद्ध मैदान हो । विचारको हारजित हुने र विकास हुने स्थल हो । पुराना र असफल सिद्ध विचारलाई फेरेर जीवन र जगत्लाई विकास गर्ने सफल बनाउने साइको साइबरनेटिक्सको युगमा अमेरिका, जापान, स्विजरल्यान्डलगायत विश्वमा नमुनाको रूप र गतिमा विकास गरेका स्केन्डिनेभियाली भनिने नर्वे, स्वेडेन, डेनमार्क, आइसल्यान्ड जस्ता मुलुकले कुनै वाद र सिद्धान्तका आधारमा विकास गरेको हैन । राजनीतिक चिन्तनको जागरण, गतिशीलता, उच्च नैतिकता, सदाचारिता, दूरदृष्टि, उचित शासकीय प्रणाली, सहभागिता, समावेशिता, समुन्नत लोकतन्त्र इत्यादि जस्ता एजेन्डामा आधारित कार्यक्रमले गरेको हो । तर नेपालमा आफूलाई कथित कम्युनिस्ट मार्क्सवादी, समाजवादी, प्रजातान्त्रिक समाजवादी, राजावादी, नवशक्तिवादी भन्नेहरूसँग शब्दजालभन्दा बाहेक केही नभएको उनीहरूको प्रत्यक्ष परोक्ष तेत्तिसवर्षे शासनकालले पुष्टि गरिसकेको छ । किनभने उनीहरू कथित वाद र सिद्धान्तको मन्त्रोच्चारण र भक्तिभावभन्दा बाहिर गएर आधुनिक विश्व व्यवस्था प्रणालीलाई हेर्न, बुझ्न र समाहित हुन चाहँदैन । बरु समाप्त हुन चाहन्छन् । उनीहरू घरमा आफ्नो उचाइ अनुसारको ढोका राख्दैनन् । पूर्वनिर्धारित ढोकाको उचाइअनुसार आफू निहुरिन्छन् । शरीर अनुसारका लुगा सिउँदैनन् रेडिमेड लुगा अनुसार आफ्नो जिउ ठुलो वा सानो बनाउने जस्ता दुष्प्रयास गर्छन् । यसरी आफ्नो स्वतन्त्र विचार दृष्टिकोण र ज्ञानलाई पुरातन वाद र सिद्धान्तको नाममा बलि चढाउँछन् । 

विश्वका विकसित मुलुकले लोकतन्त्रको लोकतान्त्रिकीकरण गर्दै चौथो पुस्तकको उन्नत लोकतन्त्रको अभ्यास गरिरहँदा नेपाल भने भ्रष्टदलतन्त्र र गुटतन्त्रको दलदलमा फस्दै गएको छ । बसाइसराइले हिमाल र पहाड खाली भयो भने अवसरको खोजीले विदेश पलायनको कारणले तराई र बजार पनि खाली हुँदै गएका छन् । युवाहरूको पलायन बडो विरक्त लाग्दो छ । 

बेरोजगारका कारणले सामाजिक अपराधका घटना दिनहुँ बढिरहेका छन् । जति दुःख गर्दा पनि जीवनयापन गर्न कठिन भएकाले सचेत नागरिकले आफ्नो प्राणभन्दा पनि प्यारा सन्तानलाई पनि छोडेर आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । तर अझ पनि वाद र सिद्धान्तको दुहाइ दिनेहरूमा खासै गाम्भिर्यता देखिँदैन । परिवर्तनको संवाहकका रूपमा रहेका सचेत युवा पनि तिनै असफलसिद्ध दलका लाचार कैदी बन्दै गएका छन् । 

युगको नेतृत्व गर्नुपर्ने युवा आफ्नो ज्ञानको आधारमा स्वतन्त्र विचार राख्ने हिम्मतसम्म गरेको समेत देखिँदैन । सायद यो पुराना दलको स्कुलिङ र शिक्षा प्रणालीको पनि दोष होला । भनिन्छ कुनै देशलाई समाप्त गर्नु छ भने, दास बनाउनु छ भने त्यो देशको शिक्षा प्रणालीलाई समाप्त गरिदिए पुग्छ । सायद विदेशी अनुदान र परामर्शदाताले तयार गरेको हाम्रो शैक्षिक पाठ्यक्रम त्यस्तै भएको भान हुन्छ । स्वाभाविक हो, हाम्रो असक्षमताको फाइदा अरूले उठाउँछ तर व्यवहार भने हाम्रो आफ्नो बिग्रन्छ ।             

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप