नेपाली कलामा टेकवीर मुखिया
नेपाली कला जगत्मा टेकवीर मुखिया एक सुपरिचित नाम हो । मदन पुरस्कार गुठीबाट चार लाख राशिको ‘जगदम्बा–श्री’ सम्मानबाट यसपालि उहाँ सम्मानित हुनुहुँदैछ । उहाँले आफ्नो लामो एवम् अनवरत कलायात्राका क्रममा असङ्ख्य चित्ररचना गरिसक्नु भएको छ । पाठ्यपुस्तक एवम् साहित्यिक पुस्तकहरूका लागि हजारौँ आवरण चित्र बनाइसक्नु भएको छ । अनेकौँ पोस्टर, इलुस्ट्रेसन, कार्टुनचित्र उहाँले बनाइसक्नु भएको छ ।
ललितपुर भैँसेपाटीमा बस्नुहुने वरिष्ठ कलाकार टेकवीर मुखियाको नेपाली कलामा लामो समयदेखि ठुलो लगानी रहेको छ । उहाँको यही योगदानलाई कदर गर्दै ‘जगदम्बा–श्री’ सम्मान दिन थालिएको हो ।
उहाँको जन्म आजभन्दा ९२ वर्षअघि दार्जिलिङमा भएको हो । उमेरका कारण पनि केही वर्षदेखि उहाँले कलाकर्ममा ‘मन’ भए पनि ‘तन’ लगाउन सकिरहनु भएको छैन । ‘जगदम्बा–श्री’ सम्मानले आफूलाई ऊर्जा दिएको बताउँदै आफूले कलामै जीवन बिताएको र पाउनेभन्दा धेरै गुमाएको तर धेरैको मायाले हौसला मिलिरहेको उहाँको भनाई छ । यो उमेरमा यति ठुलो पुरस्कार पाउनु आफ्नो अहोभाग्य भएको पनि उहाँ बताउनुहुन्छ ।
आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “मेरो बुबा कर्णवीर सुनुवार भारतीय सेनामा नोकरी गर्नुहुन्थ्यो । उहाँको पद ‘मुखिया’ थियो । पद मुखिया भएकाले सबैले उहाँलाई ‘मुखिया दाइ’ भन्थे । मैले पनि आफ्नो नामको पछाडि ‘मुखिया’ नै राखेँ । मावलीघर खर्साङमा मेरो बाल्यकाल बित्यो । हाम्रो पुर्ख्यौली थलो ओखलढुङ्गा हो भन्ने सुनेको छु तर म त्यता पुगेको छैन । मेरो प्रारम्भिक शिक्षा दार्जिलिङको ‘डेविस प्राइमरी स्कुल’बाट भयो । सानैदेखि मलाई चित्र कोर्न र बाँसुरी बजाउन पाएपछि अरू केही चाहिँदैन थियो ।” उहाँ ‘मेन्डोलिन’ बाजा पनि मजासँग बजाउनुहुन्छ ।
चित्रकलाप्रति आफ्नो अभिरुचि कसरी जाग्यो भन्ने सन्दर्भमा उहाँ सुनाउनुहुन्छ– “म पढ्ने स्कुलमा जङ्गे नामका सरले हिसाब पढाउनुहुन्थ्यो । उहाँ निकै कडा मिजासका गुरु हुनुहुन्थ्यो । हातमा लामो लौरो सधैँ रहन्थ्यो । हाम्रो कक्षाकोठाको भित्तामा ट्याक्सीडर्मी गरिएको जरायोको टाउको राखिएको थियो । जङ्गे सरको उर्दी हुन्थ्यो, ‘नपढ्ने विद्यार्थीलाई यही जरायोको सिङमा झुन्ड्याइ दिन्छु ।’ म हिसाबमा कमजोर थिएँ । एकदिन म चित्र बनाउँदै थिएँ । जङ्गे सरले देख्नुभयो ।”
सोही घटनालाई सम्झिँदै मुखिया तिनै स्कुले जीवनमा पुग्नुहुन्छ– “अब लौरो खाइने हो कि जरायोको सिङमा झुन्ड्याइने हो भन्ने डरले मेरो सातो गयो । सरले चित्र हेर्नुभयो । त्यसमा मैले हातमा लामो लौरो लिएका क्रुद्ध स्वरूपका जङ्गे सरकै चित्र बनाएको थिएँ । चित्र हेरेपछि सरले सजायको बदला स्याबासी पो दिनुभयो । त्यस घटनाबाट चित्र बनाउनमा म झन् उत्साहित हुन थालेँ ।”
मुखियाका अनुसार उहाँका बुबालाई भने छोराले बाँसुरी बजाएको र चित्र बनाएको पटक्कै मन पर्दैनथ्यो । उहाँ छोरालाई आफूजस्तै सेनामा भर्ती गराउन चाहनुहुन्थ्यो । मुखिया परिवारका नाता कुटुम्ब सबैजना प्रायः सेना वा प्रहरीमा जागिरे थिए । उहाँको परिवार दार्जिलिङबाट कोलकाता बसाइँ सर्यो ।
ती दिन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘कोलकातामा मैले सङ्गीत सिक्न थालेँ । साङ्गीतिक कार्यक्रमहरूमा भाग पनि लिन्थेँ । त्यसैताका मेरो सङ्गत त्यो बेला नाम चलेका कलाकार रामकुमारसँग हुन पुग्यो । उहाँमार्फत मैले चलचित्रका ‘पोस्टर’ बनाउने, पर्दामा चित्र बनाउने आदि काम पाउन थालेँ ।”
त्यसबखत आफू सिर्जनामा निकै सक्रिय रहेको सम्झना सुनाउँदै बेलाबखत ‘पोट्रेट’ बनाउने काम पनि आउँथ्यो भन्नुहुन्छ । उहाँका अनुसार तत्कालीन क्यान हाउस स्कुलका प्रिन्सिपल एफजी स्मिथले बराबर उहाँलाई ‘पोट्रेट’ बनाउने काम दिनुहुन्थ्यो । त्यही सीपको निरन्तरताले आफूले नेपाली साहित्य, कला, संस्कृतिका विशिष्ट व्यक्तित्वहरूलाई ‘पोट्रेट’ मा उतारिसकेको उहाँ बताउनुहुन्छ ।
विसं. २०१० सालमा नेपालका तेन्जिङ शेर्पाले सर्वप्रथम विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समाचार सर्वत्र फैलियो । मुखियालाई पनि अब आफ्नै पुर्ख्यौली थलो फर्किने चाहना भयो । फलतः केही वर्ष लगत्तै उहाँ नेपाल आउनुभयो ।
उहाँ भन्नुहुन्छ– “काठमाडौँमा म मामा धनबहादुर थापासँग बस्न थालेँ । यहाँ मैले ‘हिम मनोरञ्जन’ गुठीमा गितार बजाउने काम पाएँ । यो विसं. २०२०/०२१ सालतिरको कुरा थियो । त्यहाँ म रातभरि पनि गितार बजाउने गर्थे । पारिश्रमिकबापत चिया र चिउराबाहेक अरू केही पाउँदिनथेँ । एकदिन म पशुपतिनाथ मन्दिर परिसरमा दृश्यचित्र बनाउँदै थिएँ । मेरो काम देखेर कुनै व्यक्तिले मलाई ‘बालाजुको जोरगणेश प्रेसमा यस्तै चित्र बनाउने मान्छे चाहिएको छ, तुरुन्तै जानुहोस्,’ भने ।”
त्यस उप्रान्त उहाँले जोरगणेश प्रेसमा किताबको आवरण चित्र तथा रेखाचित्रहरू बनाउने काम पाउनुभयो । त्यो बेला उहाँको मासिक तलब तीन सय रुपियाँ थियो । त्यही तीन सय रुपियाँबाट बचाएर कोलकातामा रहेकी आमालाई पनि खर्चसमेत पठाउनु हुन्थ्यो । त्यसपछि रत्नपुस्तक भण्डार र साझा प्रकाशन आदिबाट प्रकाशित हुने पुस्तकहरूको डिजाइन गर्ने काम पनि पाउन थालेको उहाँ बताउनुहुन्छ ।
विसं. २०२२ सालदेखि उहाँले साझा प्रकाशनमा काम गर्न थाल्नुभयो । सो प्रकाशनबाट उहाँले अवकाश लिनुभएको पनि निकै वर्ष बितिसकेको छ । कलाकार मुखियाले आफ्ना क्यानभासमा प्रायः दृश्यचित्र र जनजीवनलाई उतार्दै आउनुभएको छ । समाजका विपन्न वर्गका आकृतिहरू पनि उहाँका चित्ररचनामा भेटिन्छन् ।
उहाँले नेपाली साहित्यका धेरै स्रष्टाहरूको पोट्रेट पनि रचना गर्नुभएको छ । उहाँ यथार्थपरक र आधुनिक दुवै शैलीमा काम गर्नुहुन्छ । उहाँ पेन–एन्ड–इन्क, जलरङ, तेलरङ आदि विविध माध्यममा दक्षतापूर्वक काम गर्नुहुन्छ । उहाँले विसं. २०४८ र २०६३ सालमा नेपालको संसद्को लोगो डिजाइन गर्नु भएको थियो ।
उहाँले बनाएका व्यङ्ग्यचित्र र पोस्टर जापान, मलेसिया आदि मुलुकमा प्रकाशित भएका छन् । त्यसबाट राम्रो पारिश्रमिक पाएको पनि उहाँ बताउनुहुन्छ । अचेल उहाँ मानव जातिको उत्पत्ति र भाग्यबारे अध्ययन गरी ‘राशि शृङ्खला’ मा कलासिर्जना गरिरहनुभएको छ । भूतप्रेत, जादू, ज्योतिषशास्त्र, मनोविज्ञान आदिको अध्ययन र चित्रणमा पनि उहाँ जुट्नु भएको छ । पशुपंक्षीलाई दानापानी दिने, बोटविरुवा लगाउने र खानपानमा उहाँलाई गहिरो शोख छ । यसकै आधारमा हाल आफूले कलामा नयाँपन दिने कोसिस गर्दै आएको पनि उहाँ जानकारी दिनुहुन्छ ।
उहाँले अनेकौँ सम्मान र पुरस्कारहरू पाइसक्नु भएको छ । जसमा ‘रङ्गलाल बाङ्देल पुरस्कार’ (२०५५), ‘भाजुमान राष्ट्रिय प्रतिभा पुरस्कार’ (२०५८), ‘बासुदेव लुइँटेल पुरस्कार’ (२०६४), नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा ‘अरनिको राष्ट्रिय ललितकला सम्मान’ (२०६९) लगायत रहेका छन् । यस अतिरिक्त नेपाल बाल साहित्य समाजबाट उहाँ धेरैपल्ट सम्मानित भइसक्नु भएको छ ।
(सबै तस्बिर लेखक स्वयम्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र