शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

काभ्रेका २ सहकारी संस्था मर्जर

बुधबार, १७ असोज २०८०, २१ : २२
बुधबार, १७ असोज २०८०

काभ्रे । काभ्रेका २ सहकारी संस्था मर्जरमा गएका छन् । काभ्रेको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड मर्जरमा गएका हुन् । 

बुधवार दुवै सहकारी बिच एकीकरण गर्ने सम्झौता भएको हो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुवै संस्थाका एकीकरण कार्यदलले दुवै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरू समेतको उपस्थितिका बिच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो । 

२०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रे, काठमाण्डौं, भक्तपुर र ललितपुरमा कार्यक्षेत्र रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ५१ हजार शेयर सदस्य  रहेका छन् । सो संस्थाको ४ अर्ब ५० करोड रुपैयाँको कुल पुँजी रहेको  छ । 

२०५५ सालमा स्थापना भई ६ हजार ९०० शेयर सदस्य रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४० करोड रुपैयाँ कुल पुँजी रहेको छ । एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि.काभ्रेका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठुलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएको बताए । 

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले राज्यको कानुन, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरशः पालना गर्दै शेयर सदस्यहरूलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले एकीकरणको सम्झौता गरेको बताए ।

‘एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर एकीकरणको छलफलमा बस्नुपर्छ, अनि मात्र एकीकरणले सार्थकता लिन सक्छ’ उनले भने ।

संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात् दुवै संस्थाको एकीकृत कारोबार सुरु गर्नेछन् । एकीकृत संस्थाको शेयर सदस्य सङ्ख्या ५९ हजार र कुल पुँजी ५ अर्ब ९० करोड रुपैयाँ हुनेछ भने शेयर पुँजी ४६ करोड रुपैयाँ पुग्नेछ । 

संस्थाको ऋण लगानी ४ अर्ब ६० करोड रुपैयाँ हुनेछ भने बचत निक्षेप ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोष ४३ करोड र अन्य कोषहरू २० करोड रुपैयाँ गरी जम्मा कोष ६३ करोड रुपैयाँको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप