एमाले गण्डकी अधिवेशन : पदाधिकारीमा यस्तो छ पीएस भर्सेस खगराज प्यानल
कास्की । पोखरामा जारी नेकपा (एमाले) को प्रथम गण्डकी अधिवेशनमा अध्यक्ष पदका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । जारी अधिवेशनमा नयाँ नेतृत्वमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व छनोट गर्न लागिएको हो ।
निर्वाचन समितिले बुधबार साँझबाट मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । तर बुधबार दिनभर पानी परेकाले बिहीबार मात्रै मतदान गर्ने कि भन्नेबारे समेत छलफल भइरहेको निर्वाचन मण्डलका सदस्यहरूले बताएका छन् । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले उम्मेदवारको मनोनयन सकिएकाले बाँकी प्रक्रिया सुरु गर्ने बताए ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका नवराज एमाले गण्डकीका हालका अध्यक्ष समेत हुन् भने मायानाथ एमाले केन्द्रीय सदस्य हुन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा (पीएस) गुरुङको साथसमर्थन रहेको छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरूको साथ छ ।
शर्मा र अधिकारीले अघोषित रूपमा आआफ्नो प्यानल तयार गरेर ५ पदाधिकारीमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्तापछि अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले मतदानमार्फत हुने नेतृत्व चयनलाई लोकतान्त्रिक र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए । ‘यो लोकतान्त्रिक र स्वाभाविक प्रक्रिया हो’, अधिकारीले रातोपाटीसँग भने, ‘निर्वाचनमा जानुलाई अन्यथा लिन मिल्दैन ।’ अधिकारीले आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क रहेको सुनाए ।
अध्यक्षका अर्का प्रत्याशी नवराज शर्माले पनि अब मतदानमार्फत नै नेतृत्वको टुङ्गो लाग्ने बताए । यद्यपि उनले सहमतिका लागि प्रयासहरू भइरहेको भन्दै सहमति नजुटे प्रतिस्पर्धामा जानुको विकल्प नभएको बताए । ‘उम्मेदवारी दर्ता गरिएको छ । सँगसँगै सर्वसम्मतको प्रयास पनि भइरहेको छ । त्यसो हुन नसके मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । ’
पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधिले भाग लिएका छन् ।
एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने बताए । उनले गण्डकीमा सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन लागिरहेको भन्दै सहमति नभए मतदानमार्फत नेतृत्व चयन हुने बताए । नेताहरूले सहमतिको प्रयास भने पनि आकाङ्क्षीहरू समूहगत रूपमै निर्वाचन प्रतिस्पर्धामा होमिइसकेकाले अव सहमति जुट्ने सम्भावना अत्यन्तै कम रहेको प्रतिनिधिहरूले बताएका छन् । ‘मंगलबार बेलुका पनि एमाले महासचिव शङ्कर पोखरेल तथा नेताहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, पद्यमा अर्याल र किरण गुरुङबिच सर्वसम्मतीमा नेतृत्व चयन गर्नेबारे छलफल भएको हो । तर सहमति जुट्न सकेन’, एमाले गण्डकीका एक पदाधिकारीले भने, ‘खासगरी महासचिव पोखरेलले अधिकारीका नाममा सहमति खोजे पनि अर्का नेता पीएस गुरुङ पक्षधरले शर्माका नाममा सहमति जुटाउन खोज्दा कुरा नमिलेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
-
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान
-
तेल अभिभमा हुथी विद्रोहीद्वारा मिसाइल आक्रमण, एक दर्जनभन्दा बढी घाइते
-
रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै