शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली युवा नेताले बिराएको बाटो

बुधबार, १७ असोज २०८०, १५ : १४
बुधबार, १७ असोज २०८०

नेपाली युवा पुस्तालाई राजनीतिमा अगाडि आउन र जनमानसले पत्याउन निकै कठिन अवस्था छ । राजनीतिमा प्रवेश गर्नु पहिले नेपालको भौगोलिक अवस्था, हावापानी र आर्थिक तथा सांस्कृतिक अवस्थाबारे बुझ्न आवश्यक हुन्छ । तर युवा पुस्ताले यी पक्षका बारेमा स्थानीय तहमै गएर बुझ्न चाहेको देखिँदैन । उनीहरू केवल विरासतको राजनीतिका लागि मात्र प्रतिस्पर्धामा आएका छन् । राजनीतिक विरासत जस्तोसुकै उच्च भए पनि नेपालको भूगोल, नेपाली जनजीवन, गरिबी र आर्थिक समस्याबारे पूर्ण ज्ञान नभई गहन राजनीतिक ज्ञान आर्जन गर्न सकिँदैन । यस्तो ज्ञान आर्जनका लागि भारतीय एक युवा नेताले गरेको प्रयास यहाँ उल्लेख गर्नु उचित देखिन्छ । 

ठूलो राजनीतिक विरासत भएको परिवारबाट आएका राहुल गान्धीले ३४ वर्षको उमेरमा इन्डियन नेसनल कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरे । ५३ वर्षका राहुल गान्धीका जिजु हजुरबुवा पण्डित जवाहरलाल नेहरू, हजुरआमा इन्दिरा गान्धी र बुवा राजीव गान्धी भारतका पूर्वप्रधानमन्त्री हुन् । विश्व प्रख्यात हार्वर्ड तथा क्याम्ब्रिज जस्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले कलामा एमफिल गरेका छन् । बहुप्रतिभाशाली उनमा बुवा राजीव गान्धी जस्तै जहाज उडाउने कला छ भने खेलकुदमा पनि उत्तिकै रुचि राख्ने उनी जापानी मार्सल आर्ट आइकिडो ब्ल्याक बेल्ट हुन् । उच्च शिक्षापछि लन्डनमा जागिर गर्दै भारत फर्किएर केही समय आफ्नै व्यवसाय सुरु गरेका थिए उनले । त्यसपछि सन् २००४ मा पूर्णरूपमा राजनीतिमा आई सन् २०१७ देखि २०१९ सम्म इन्डियन नेसनल कांग्रेसको अध्यक्ष भइसकेका उनीमा राजनीतिक परिपक्वता भने थिएन । उनका भाषणहरू विपक्षी दलका निम्ति कटाक्ष गर्ने राम्रो खुराक बन्थे ।

उच्च शिक्षा हासिल गरेको एउटा युवा नेताले बोलेको कुरा सुन्दा कस्तो लाग्थ्यो भने उनलाई कसैले जबर्जस्ती राजनीतिमा अल्झाइदिएको छन् । मानौँ एउटा व्यापारीले आफ्नो पुख्र्यौली व्यापार अगाडि बढाउन जसरी आफ्नो ज्येष्ठ पुत्रलाई जबर्जस्ती सीईओ नियुक्त गर्दछ । उनका अभिव्यक्तिमा न कुनै तर्क हुन्थ्यो न कुनै जनाताको सरोकारको विषय लुकेको हुन्थ्यो । सार्वजनिक कार्यक्रम होस्, सदनको बैठक वा पत्रकार सम्मेलन, उनी मनलाग्दी बोल्थे । अनि हाँस्यको पात्र बन्थे । उनका अभिव्यक्ति अहिले पनि सामाजिक सञ्जालमा प्रयोग गरिन्छन् । कुनै तुकबिनाका उनका अभिव्यक्तिले गर्दा विपक्षी दल (अहिलेको सत्तापक्षलगायत अरू) तथा भारतीय जनताले उनलाई पप्पु भनेर खिल्ली उडाउने गर्दथे ।

सन् २०२२ सेप्टेम्बर ७ मा उनै राहुल गान्धी भारतको कन्याकुमारीबाट काश्मीरसम्मको पैदल यात्रा गर्ने निधो गर्दछन् । त्यो यात्राको नाम दिन्छन ‘भारत जोडो यात्रा’ । यो यात्रा सुरु गर्नुभन्दा पहिला राहुल गान्धी भारतमा मेहज एक मजाकको पात्रका रूपमा हेरिन्थे । यात्राका क्रममा उनी दिनहुँ आफ्ना कार्यकर्तासँग २५ देखि ३० किमि हिँड्थे र राति परेपछि सडक नजिकैको कुनै एउटा स्थानमा आफ्ना लागि विशेष गरी तयार पारिएको गाडीमा रात बिताउँथे ।

यो यात्राको पनि विपक्षी दल (अहिलेको सत्तापक्ष लगायत अरू) अनि सत्तापक्षको चप्लुसी गरी नथाक्ने भारतीय मिडियाहरू खिल्ली उडाउँथे । राहुल भने भारत जोडो यात्रामा अग्रसर हुँदै गए । यात्राका क्रममा उनले राजनीति केका लागि अनि कसका लागि गरिन्छ भन्ने दिनानु दिन बुझ्दै गए र यथार्थमा देश अनि जनातालाई बुझ्ने मौका पाए ।

उच्च घरानाका उनले सायद यो यात्राभन्दा पहिले कहिल्यै पनि सडकमा हिँड्ने, गरिबसँग भलाकुसारी गर्ने मौका पाएका थिएनन् होला । यात्रामा सानाठूला, महिला–पुरुष, के वृद्ध–वृद्धा, युवायुवती, किसान, मजदुर सबैसँग विभिन्न ठाउँमा भेट्दै उनीहरूसँग कुरा गर्दै उनी यात्रामा अगाडि बढे । धुलो, धुवाँ, गर्मी, चिसो, झरी, हिउँ सबै खाले प्रतिकूल मौसम अनि परिस्थितिको सामना गर्दै उनी हिँडिरहे र आफूले तय गरेको ४०८० किमिको भारत जोडो यात्रा १३५ दिनमा काश्मीर पुगेर सम्पन्न गरे ।

यात्रापछि उनी संसद्मा आएर निमुखा जनाताका आवाज, भ्रष्टाचारका मुद्दा, मूल्य वृद्धिका मुद्दा, बेरोजगारीका मुद्दा, गरिब किसानका मुद्दा सशक्त रूपमा उठाउँन थाल्छन् । संसद्मा बाहेक कहिले उनी जेएनयूमा गएर छात्रछात्राहरूसँग कुराकानी गर्दै उनीहरूसँग खाना खान्छन् । कहिले ट्रक चालकसँग बसेर कुराकानी गर्दै ट्रकको यात्रा गर्छन् त कहिले मोटरसाइकल मेकानिकसँग काम गर्दै कुराकानी गर्छन् । कहिले गरिब किसानका खेतमा गएर रोपाइँ गरी उनीहरूले पकाएको खाना खान्छन्, त कहिले मोटरसाइकल चढेर लद्दाखको यात्रा गर्छन् । उनी गरिब, किसान, महिलहरूलाई दिल्ली घुमाई आफ्नो निजी निवासमा बोलाएर दिवा भोज दिन पनि भ्याउँछन् । उनी गरिब किसानले सञ्चालन गरेको सब्जीमन्डीमा गएर किसानका समस्या सुन्न थाल्छन् । यत्ति मात्रै होइन उनी रेलवे प्लेटफर्ममा गएर भरियाको पहिरन लगाई उनीहरू जस्तै भारी उठाउँछन् । स्वदेशमा मात्रै होइन उनी विदेशमा पनि भारतीय मुलका ट्रक चलाकहरूसँग उनीहरूकै ट्रकमा यात्रा गर्दै कुराकानी गर्न थाल्छन् । उच्च सुरक्षा खतराका बीच यो सब गर्नुको उनको अभीप्राय देश र जनातालाई बुझ्न खोज्नु नै हो । 

‘भारत जोडो यात्रा’ पछिका राहुल गन्धीलाई अहिले वक्ताका रूपमा आमन्त्रण गर्ने विदेशका प्रख्यात विश्वविद्यालय तथा विदेशी मिडियाहरूको लर्को छ ।

यो एक वर्षको अन्तरालमा राहुल गान्धीमा ठुलो परिवर्तन पक्कै आएको छ । यति छोटो समयमा एउटा व्यक्तिले अफूमा यस्तो ठूलो परिवर्तन ल्याउन सक्नु पनि सह्रानीय हो । ‘भारत जोडो यात्रा’ पछिका राहुल गान्धी धेरै नै बदलिएका छन् र उनको बोलीमा गहिराइ अनि पाकोपन आएको छ । 

राहुल गान्धीबाट नेपालका युवा नेताहरूले सिक्नु पर्ने कुराहरू धेरै छन् । प्रायः नेपालका सबै प्रमुख पार्टीहरूमा राहुल गान्धीकै उमेरका नेताहरू प्रशस्त छन् । उनीहरू धेरै जसो जहाँजमा उड्छन् अनि सुविधा सम्पन्न सहर बजारका कार्यक्रममा जान्छन् । जतिसक्यो छिटो काठमाडौँ फर्किन्छन् । कहिल्यै पनि कुनै पार्टीका युवा नेताहरू नेपालका कुना कान्दरा गएर गरिब निमुखाको माझमा बसेको सुनिँदैन । उनीहरू आफ्ना भ्रातृ सङ्गठनहरूले आयोजना गर्ने कार्यक्रममा जान्छन् अनि फूल, माला र खादा गलामा भिर्छन् र सेल्फी खिच्नमै व्यस्त हुन्छन् । कुनै पनि पार्टीका युवा नेताहरू जुम्ला, हुम्ला, डोल्पा, दार्चुला, ताप्लेजुङ, सप्तरी, सिरहा आदि जिल्लाहरूका गरिबसँग २, ४ घण्टा बसेर उनीहरूका समस्या सुनेको खबर न त सञ्चार माध्यममा आउँछ, न त सामाजिक सञ्जालमा नै आउँछ । आफूलाई भविष्यको देशको कार्यकारी देख्ने युवा भनउँदा नेताहरूले साँच्चिकैको नेपाल बुझ्न उच्च जीवन शैली भएका जनातासँग होइन, गरिब निमुखा नेपाली जनातासँग समय बिताउनु पर्दैन र ? सर्वहारा वर्गको आवाज उठाउँछौँ भन्ने पार्टी, जसले गरिब जनाताको दुई छाकमध्येको एक छाक भात खाएर जनयुद्ध लड्यो त्यो पार्टीका नेताहरूले त चुनावबाहेक जनतामा जाने बाटो नै बिर्सी सकेका छन् । 

युरोप अनि अमेरिकी देशहरूमा जान लालायित हुने युवा नेताहरू आफ्नो देशका विकट जिल्लामा जाने प्रयास गरेको कहिल्यै सुनिँदैन । कर्णालीका गरिबहरूले हिँड्ने गोरेटो बाटो हिँडेको खबर कहिल्यै सुनिँदैन । कुनै पनि नेताले किसानको खेतमा गएर रोपाईं गर्दै उसको कुरा सुनेको खबर सुनिँदैन । कुनै पनि युवा नेत्रीले गाउँमा घाँस काट्ने किसान महिलाका साथमा बसेर भलाकुसारी गरेको, खेतबारीमा बसेर उनीहरूसँग खाजा खाएको सुनिँदैन, देखिँदैन । तर भाउजू र मेडमहरूका पछि दौडिएका खबर प्रशस्तै सुनिन्छ । युवा नेताहरू तरकारी किसानको खेतमा गएर उसका पीडा व्यथा सुन्दैनन् बरु उनीहरूको तस्करहरूसँग रात्रि भोज गरिरहेको तस्बिर देखिन्छ । कुनै पनि युवा नेता त्रिभुवन विमानस्थलमा गएर विदेशिँदै गरेका युवा युवतीसँग कुराकानी गर्दैनन् । चुनावको बेला उकाली ओराली गर्दै भोट माग्न गाउँघर पुग्नेहरू चुनाव जितेपछि गरिब जनातासँग उकाली ओराली कहिल्यै हिँड्दैनन् । तराईका उखु किसानका व्यथा सुन्न उनीहरूको घरमा गएको खबर जनताले सुन्न पएका छैनन् । तुइन चढेर स्कुल जाने नानीबाबुहरूसँग २–४ घण्टा बिताउन कुनै पनि युवा नेताले भ्याएका छैनन् । यो सबभन्दा फरक बरु उनीहरू सहर बजारका कार्यक्रममा युरोप अनि अमेरिकी विकास मोडेलको सपना बर्बाराउछन् । 

नेपालको विकास अनि समृद्धिको सपना देखाउनेहरूले अब पहिले जनतालाई आधारभूत विकासको महसुस गराउन सक्नु पर्छ । त्यो विकास जनतामाझ नपुगीकन काठमाडौँ अनि देशका ठूला सहरका उच्च घरानाहरूसँग उठबस गरेर मात्रै हुनेवाला छैन भन्ने कुरो कहिले बुझ्ने ? नेपालका लागि आफ्नै विकास मोडेल हुनुपर्छ र त्यो विकास मोडेल बनाउन यथार्थमा जनाता अनि देशको भूगोलसँग घुलमिल भएर मात्रै सम्भव छ भन्ने कुरोको ज्ञान उनीहरूमा कहिले आउने ? साँच्चिकै देश विकास गर्ने मनशाय यदि नेपालका राजनीतिक दलका युवा नेतामा छ भने उनीहरूले अफूलाई परिवर्तन गर्नु जरुरी छ । चाहने र आँट गर्ने हो भने आफूमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टान्त हेर्न छिमेकी मुलुकका राहुल गान्धीलाई हेरे पनि पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र अवस्थी
सुरेन्द्र अवस्थी
लेखकबाट थप