शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

निबन्ध : समाधानको किसिम

बुधबार, १७ असोज २०८०, १० : २८
बुधबार, १७ असोज २०८०

समाधान तीन किसिमको हुन्छ । आत्म केन्द्रित, परकेन्द्रित र तटस्थ । आफूसित सम्बन्धित समाधान आत्म केन्द्रित हुन्छ । अरू कसैसित सम्बन्धित समाधानलाई परकेन्द्रित समाधान भनिन्छ । यी दुवैभन्दा भिन्न समाधान तटस्थ समाधान हुन् । आत्म केन्द्रित समाधानले आफैँलाई सुखी र दुःखी बनाउँछ । परकेन्द्रित समाधानबाट अरू नै कोही सुखी वा दुःखी हुन पुग्छन् । तटस्थ समाधानबाट न कोही सुखी हुन्छ न दुःखी । 

अर्र्को शब्दमा भन्नुपर्दा यसलाई सुखद समाधान, दुःखद समाधान, तटस्थ समाधान पनि भन्न सकिन्छ । जुन समाधानले तपाईँलाई सुखी र आनन्दानुभूति गराउँछ त्यो सुखद समाधान हो । जुन समाधानबाट तपाईँलाई दुःखी वा बेचैनी गराउँछ त्यो दुःखद समाधान भयो । त्यस्तै जुन समाधानबाट तपाईँ न सुखी हुनुहुन्छ, न दुःखी । यस्तो समाधान तटस्थ समाधान भनिन्छ । आउनुस् केही उदाहरण हेरौँ ।  

सुखद समाधान 

मानिलिनुस् तपाईँ रोगी हुनुहुन्छ । कडा रोग लागेर हैरान हुनुहुन्छ । रोग गम्भीर प्रकृतिको छ, असाध्य किसिमको छ, मर्नु न बाँच्नु अवस्थामा पुग्नुभएको छ । त्यतिबेला के गर्नुहुन्छ ? उपचार खोज्नुहुन्छ यही होइन ? हो, उपचार खोज्नुहुन्छ, उपचार गराउनुहुन्छ । उपचार खोज्दै डाक्टर, वैद्य, कविराजहरू कहाँ पुग्नुभयो । धामी झाँक्रीलाई देखाउनुभयो, स्वस्तीशान्ति गराउनुभयो । लामो प्रयासपछि बल्ल रोग पत्ता लाग्यो । उपचार भेटियो, समस्या समाधान भयो । यस्तो समाधानले तपाईँलाई आनन्दित गरायो । डाहा, औडाहा, छटपटी शान्त भयो । तपाईँलाई स्वर्गीय आनन्दको अनुभूति गरायो  । 

त्यस्तै तपाईँ कुनै कुलतमा फस्नुभएको छ । कुनै तरिकाले त्यसबाट उम्कन सफल हुनुभयो त्यो समाधान भयो । यतिबेलाको आनन्द पनि सुखद नै हुन्छ तर अघिल्लो जस्तै स्वर्गीय सुखकारक चाहिँ नहुन सक्छ । तथापि यो समाधान आफैँमा भने सुखद नै हो ।  

दुःखद समाधान 

मानिलिनुस् तपाईँको आफन्तले आत्महत्या ग¥यो । ऊ परिवारको सदस्य पनि हुन सक्छ, नजिकको आफन्त पनि हुन सक्छ । उसले पाशो लगायो, विष खायो, सिल्पिङ ट्वालेट खायो, आत्महत्या ग¥यो, त्यो पनि तपाईँकै घरमा । तपाईँमाथि नै गम्भीर आरोप आयो । यद्यपि तपाईँ निर्दोष हुनुहुन्थ्यो तर अरूहरूले, छिमेकीले, समाजले तपाईँमाथि नै चोरी औँला देखायो । तपाईँ पक्राउ पर्नुभयो । छानबिनमा तानिनुभयो । तपाईँमाथि गम्भीर समस्या खडा भयो तर छानबिनमा त्यो पुष्टि भएन अदालतले तपाईँलाई सफाइदियो । तपाईँ निर्दोष साबित हुनुभयो । 

यो पनि समाधान नै हो तर तपाईँ सुखी हुन भने सक्नुभएन । समस्या समाधान भए पनि परिवार वा आफन्त गुमाउनुपर्दाको पीडा बाँकी नै रह्यो । 

त्यस्तै मानिलिनुस् तपाईँ कर्मचारी हुनुहुन्छ । कार्यालयको हाकिम वा मातहत कुनै कर्मचारी । तपाईँलाई कसैले आएर रिसवत दियो । घरमा गरिबी थियो । परिवारको कुनै पनि आवश्यकता पूरा गर्न सकिरहनुभएको थिएन । यस्तोमा कसैले सित्तैमा पैसा दिएको देख्दा तपाईँले मन थाम्न सक्नुभएन । घुस खानुभयो, श्रीमतीको आवश्यकता पूरा गर्नुभयो, बालबालिकाको माग पूरा गर्नु भयो, घरजग्गा किन्नुभयो । तपाईँको गरिबिको समस्या समाधान त भयो तर प्रशासनले तपाईँले भ्रष्टाचार गरेको ठह¥यायो । 

तपाईँमाथि कारबाही भयो । जेल पर्नुभयो । जरिवाना तिर्नुप¥यो । घुस खाएको सम्पत्ति पनि गयो बिगो बमोजिमको जरिवाना पनि तिर्नुप¥यो । जमिनको टिप्न खोज्दा पोल्टाको पोखियो । बिना श्रम अर्काको सम्पत्ति खान खोज्दा घर बास गयो । यसले तपाईँको गरिबिको समस्या समाधान गरेको त थियो तर त्यही समाधान नै अन्ततः तपाईँको थप गरिबिको कारण बन्न पुग्यो, दुःखको कारण बन्यो । 

त्यसैगरी मानिलिनुस् तपाईँ कुनै शिक्षक हुनुहुन्छ । विद्यार्थी पढाउने तपाईँको काम हो तर विद्यार्थीले राम्रोसित पढेन । पढ भन्दा उल्टै मुखमुखै लागेर तपाईँलाई हैरान पार्न थाल्यो । तपाईँलाई रिस उठ्यो, दुईचार थप्पड लगाउनुभयो । कान निमोठ्नुभयो । कुरा प्रधानाध्यापकसम्म पुग्यो, विद्यालय व्यवस्थापनसम्म पुग्यो । विद्यार्थीको अभिभावकसम्म पुग्यो । तपाईँमाथि कारबाही भयो । यो पनि आखिर समाधान नै थियो । तपाईँले खडा गर्नुभएको समस्याको समाधान । 

यहाँ तपाईँ विद्यार्थीलाई पढाउन जानुभएको थियो, कुटपिट गर्न जानुभएको थिएन तर कुटपिट गरेर समस्या खडा गर्नुभयो । तोकिएको काम गर्न सक्नुभएन, नतोकिएको काम गर्न पुग्नुभयो । यहाँ विद्यार्थीले पढेको थिएन । यो उसैको समस्या थियो । यसको नतिजा उसैले भोग्ने थियो तर रिसको झोकमा आफूलाई थाम्न सक्नुभएन । उसको समस्यासमेत आफ्नै काँधमा लिन खोज्नुभयो । फलतः तपाईँमाथि गम्भीर समस्या खडा भयो, जुन समस्या तपाईँमाथि कारबाही भएर समाधान त भयो तर त्यसको नतिजा तपाईँ निम्ति सुखद रहेन, हुन सकेन । 

त्यस्तै मानिलिनुस् तपाईँ विद्यार्थी हुनुहुन्छ । पढ्न भनेर विद्यालय जानुभएको थियो । घरपरिवारले पनि पढ्नकै लागि पठाएका थिए तर तपाईँ कुसङ्गतमा फस्नुभयो । पढ्न गएका विद्यार्थी सिनेमा हलतिर पुग्न थाल्नुभयो । जुवा तासमा रमाउन थाल्नुभयो । चौतारामा खोपी वा बाघचाल खेलेर दिन बिताउन थाल्नुभयो । फलतः साथीहरू कक्षा चढ्दै गएर एक दिन ठुलो मानिस बन्न सफल भए तर तपाईँ भने घरको न घाटको हुन पुग्नुभयो । यो पनि एक किसिमले समाधान नै हो, समाधान नै थियो । तपाईँले नपढेको समस्याको समाधान तर त्यसको नतिजा तपाईँका लागि सुखद हुन सकेन ।  

त्यस्तै हुन सक्छ तपाईँ कृषक हुनुहुन्थ्यो । खेती किसानी गर्नुहुन्थ्यो । पशुपालन गर्नुभएको थियो तर काममा राम्रो ध्यान दिन सक्नुभएन । दिन भर बरालिएर हिँड्न थाल्नुभयो । कुसङ्गतमा फसेर दिन व्यतीत भए । न गाई, भैँसीले समयमा खान पाए न खेती किसानीमा मलजल नै पुग्न सक्यो । कुपोषणका कारण गाई, भैँसीले दूध दिन छाडे, दुब्लाउँदै गए, ख्याउटे भए । बिस्तारै मरेर सकिए । जग्गाजमिन बाँझो रहन थाले, उब्जनी घट्दै गयो । यो पनि समाधान नै हो तपाईँले गर्नुभएको खराब कामबाट उत्पन्न समस्याको समाधान तर तपाईँका लागि भने नतिजा सुखद हुन सकेन ।  

एवंरीतले हरेक अवस्थामा यही नियम लागू भएको हुन्छ, यस्तै नियमले काम गरेको हुन्छ । समाधान हरेक समस्याको हुन्छ नतिजामा भने आकाश जमिनको फरक आउँछ । राम्रो काम गर्नुभएको छ भने समाधान पनि राम्रै हुन्छ । नराम्रो काम गर्नुभएको छ भने नतिजा पनि त्यस्तै हुन्छ । 

तटस्थ समाधान

यसमा भने तपाईं तटस्थ रहनुहुन्छ । न दुःखी नै हुनुहुन्छ न सुखी नै ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप