मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाल प्रहरीको साहसिक पर्वतारोहण

नेपाली पर्वतारोही विदेशीका भरिया मात्र हुन् भन्ने सोच कसरी तोडियो ?

मङ्गलबार, १६ असोज २०८०, १० : १४

४७ वर्षअघि आजकै दिन (१६ असोज २०३३ मा) नेपाल प्रहरीले पहिलो सफल हिमाल (टुकुचे) आरोहण गरेको थियो । 

नेपालका उत्तरी सिमानामा पर्ने विश्वकै रमणीय हिमशृंखलाका विभिन्न चुली–चुचुराको आरोहण गर्न विदेशी पहिलेदेखि नेपाल आउँथे ।

२०३३ साल अघिसम्म नेपाली हिमाल आरोहण गर्ने टोलीमा पर्वतारोहीका रूपमा प्रायः विदेशी मात्र संलग्न हुन्थे । उनीहरू नेपालका हिमाल चढ्थे र शिखरमा आ–आफ्ना देशका झन्डा गाड्थे । बाध्यतावश केही अपवादबाहेक अधिकांश नेपाली केबल विदेशीका ‘भरिया’ वा बढीमा ‘पथ–प्रदर्शक’का भूमिकामा सीमित थिए । केही आरोहण–दलमा नेपाली सहभागी भए पनि ती दलका नेतृत्व विदेशीबाट मात्र भएको थियो । ‘पूर्ण–नेपाली’ आरोहण–दलबाट कहिल्यै पनि सफल हिमाल आरोहण भएको थिएन । नेपाल प्रहरीका भूमिका भने विदेशी आरोहण–दलमा सम्पर्क अधिकृतका रूपमा सीमित थियो ।pic 2

नेपाल विशाल एवम् महाशक्तिशाली मित्रराष्ट्र भारत तथा चीनका मध्यबिन्दुमा अवस्थित छ । सबै उल्लिखित अवस्थालाई मध्यनजर राख्दै नेपालीको मात्र सदस्यता रहेको आरोहण–दलबाट सर्वप्रथम हिमाल आरोहण गराई पर्वतारोहण–क्षेत्रमा नयाँ आयाम जोड्ने उद्देश्यका साथै नेपालका सीमित दक्षिणमुखी ‘भिजन’ लाई उत्तरमुखीतर्फ पनि विकसित गर्ने र दुर्गम तथा संवेदनशील हिमाली–क्षेत्रमा बसोबास गर्ने नेपाली जनतालाई सुरक्षाका व्यावहारिक प्रत्याभूति दिनका साथै पर्यटन क्षेत्रका संरक्षण र संवर्धन गर्ने उद्देश्यले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालबाट २०३० सालमा सर्वप्रथम ‘नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन’ को परिकल्पना भयो । उहाँको सो परिकल्पनालाई यथार्थतामा परिणत गर्ने सोच थियो ।

उनकै कार्यकालमा २०३३ आषाढ २४ गतेको निर्णयबाट नेपाल प्रहरी प्रधान कार्यालय (पुलिस हेडक्वार्टर) मा ‘हिमाली शाखा’ भनेर चिनिने ‘नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन’ स्थापना भयो । नेपाल प्रहरीबाट पहिलोपटक हिमाल आरोहण कार्यको शुभारम्भ सोही संस्थाको आरोहण–दलबाट मुस्ताङस्थित ६,९२० मिटर उचाइका टुकुचे हिमालबाट गर्ने निर्णय भयो । 

२०३३ सालमा पुलिस हेडक्वार्टरमा टुकुचे हिमाल आरोहण गर्ने योजना बन्दै थियो । बराल नेपाल प्रहरीको पहिलो हिमाल आरोहण चेष्टा योजनाबद्ध रूपमा सफल होओस् भन्ने चाहन्थे । आरोहण त्रुटिमुक्त ढङ्गले सम्पन्न होओस् भन्ने उद्देश्यले उनको निर्देशनमा आङ छोतार शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा र सोनाम ओलुङ आदि शेर्पा समुदायका अनुभवी पर्वतारोहीलाई नेपाल प्रहरीमा नियुक्त गरियो । डा. प्रेमलाल श्रेष्ठ (पंक्तिकार) र कमल भण्डारी (पंक्तिकार) आरोहण–दलमा क्रमशः डाक्टर र क्लाइम्बरका रूपमा मनोनीत भए ।

२०३३ सालमा टुकुचे आरोहण–दल काठमाडौंबाट बिदाइ हुनु केही समयअघिको कुरा हो । प्रहरी पर्वतारोहीले भर्खरै काठमाडौंस्थित टोखा र प्रहरी प्रधान कार्यालय नक्सालमा पर्वतारोहणसम्बन्धी प्रशिक्षण गरेका थिए ।

यी प्रशिक्षणपश्चात् पर्वतारोहीको मनोबल जाँच्नका लागि आईजीपी बरालले योगेन्द्रबहादुर थापा र गुप्तबहादुर राना लगायत प्रहरी पर्वतारोहीलाई पुलिस हेडक्वार्टरमा डाके ।

कार्यकक्ष पस्दै सबैजनाले तनक्क तन्किएर ‘सर, जय नेपाल’ भन्दै अभिवादन गरे । 

‘तालिम कस्तो भयो ?’ बरालले सोधे ।

‘राम्रै भयो, सर,’ सबैले एकैसाथ भने, ‘हामी अब टुकुचे आरोहण गर्न तयार भयौँ ।’

‘आरोहण गर्न ?’ बरालले हाँस्दै भने, ‘अलरेडी सो कन्फिडेन्ट ?’ (अहिले नै त्यस्तो आत्मविश्वास ?)

pic 3

‘हजुरले जापानी आयडासानसँग परिचय गराइदिनुभएकोमा हामी आभारी छौँ,’ गुप्तबहादुर रानाले भने, ‘आयडासान आफैँले हाम्रो टोलीलाई टोखामा रक–क्लाइम्बिङ तालिम दिए । खाकी डाङ«े लगाएर त्यो तालिम गरेको सायद कहिल्यै भुलिन्न होला । सो क्रममा सरका जापानी साथी ‘फुमिको ओत्सु’बाट पनि धेरै सहयोग प्राप्त भयो ।’

रानाले थपे, ‘टोखामा हामीले रुट (पथ) कसरी बनाउने, थ्री म्यान क्लाइम्ब, फोर म्यान क्लाइम्ब र विभिन्न तरिकाले डोरी गाँठो (नट) पार्ने आदिजस्ता विषयमा तालिम प्राप्त गर्यौं ।’

बरालले अन्य प्रहरी पर्वतारोहीतर्फ सङ्केत गर्दै सोधे, ‘डु यु ह्याभ एनिथिङ टु से ?’ (केही भन्नु छ ?)

‘सर, प्रारम्भिक क्लाइम्बिङ सिम्युलेसन तालिममा ट्र्याम्पोलिन प्रयोग गरेर करिब एक महिनाका लागि तालिम गर्‍यौँ । हामीलाई पोसाक र बुट लगाएरै महावीर भवनका अग्ला–अग्ला राणाकालीन भित्ता चढ्ने अभ्यास गराइयो । यी तालिमबाट हाम्रो मनोबल धेरै बढेको छ,’ थापाले भने ।

पुलिस हेडक्वार्टरको एकमहिने ‘सिम्युलेसन–तालिम’ र टोखाका केही दिनको रक–क्लाइम्बिङ तालिमले मात्र नेपाल प्रहरीको पर्वतारोही टोली टुकुचे आरोहण गर्न तयार भएकामा बराललाई पूर्ण विश्वास भएन । पुनः अर्को तालिम दिने सोच उनीमा आयो । 

‘दार्जिलिङ कहिले गएका छौ ?’ बरालले सोधे ।

सबैजना मौन रहे ।

तत्काल निर्णय लिँदै बरालले भने, ‘तिमीहरू अब रक क्लाइम्बिङ तालिमका लागि दार्जिलिङ जानेछौ ।’

यो सुनेपछि सबैका मुहारमा थप उत्साहपूर्ण ऊर्जा देखियो ।

‘ल जानू । आराम गर्नू,’ भन्दै सबैलाई कार्यकक्षबाट बिदा गरियो । 

‘हवस् सर । आभारी छौँ,’ भन्दै अभिवादन गरी सबै बाहिरिए ।

दार्जिलिङमा रक क्लाइम्बिङ तालिम

२०११ सालमा पहिलो भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा दार्जिलिङमा स्थापित हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट (एचएमआई) भारतको सबैभन्दा पुरानो एवम् प्रतिष्ठित पर्वतारोहण संस्थान हो । त्यसबखत सो संस्थानका सल्लाहकार तथा फिल्ड ट्रेनिङका निवर्तमान निर्देशक थिए, तेन्जिङ नोर्गे शेर्पा । २०१० सालमा उनी र एडमन्ड हिलारीबाट विश्वका सर्वोच्च शिखर सगरमाथा पहिलोपटक आरोहण भएको थियो । युवावस्थादेखिनै आईजीपी बरालको तेन्जिङ नोर्गेसँग राम्रो सम्बन्ध थियो । तेन्जिङको सहयोग पाइन्छ भन्ने कुरामा बराल ढुक्क थिए ।

प्रहरी पर्वतारोहीसँग कुरा भएको अर्को दिन बरालले उनलाई फोन गरे, ‘दाइ, सन्चै हुनुहुन्छ ? एउटा सानो अनुरोध थियो ।’

‘ठीकै छ, आईजी साब,’ स्वर चिन्दै तेन्जिङले भने, ‘के सहयोग गर्न सक्छु ?’

‘केही समयअघि तपाईंलाई नेपाल प्रहरीको टुकुचे हिमाल आरोहण गर्ने योजनाबारे भनेको थिएँ,’ बरालले कुरा अघि बढाए, ‘नेपाल प्रहरीको पर्वतारोही टोलीले स्वदेशमा केही दिनको प्रारम्भिक तालिम गर्‍यो । अब यिनीहरूलाई अझै दक्ष बनाउने उद्देश्यले एचएमआई पठाउने निर्णय लिएको छु । यहाँको सहयोगको अपेक्षा गरेको छु ।’

‘हुन्छ, आईजी साब,’ सहर्ष अनुरोध स्विकार्दै तेन्जिङले भने, ‘अहिले हाम्रो संस्थानका प्रधानाध्यापक ग्रुप क्याप्टेन अमरजित सिंह (एजेएस) ग्रेवाल भन्ने शिख (सरदारजी) हुनुहुन्छ । म उहाँलाई भनिदिन्छु ।’

‘ल, दाइ । हार्दिक धन्यवाद,’ भन्दै बरालले फोन राखे ।

तदनुरूप २०३३ को असार–साउनतिर दार्जिलिङमा रक–क्लाइम्बिङ र माउन्टेन–रेस्क्यु (हिमाल–उद्धार) सम्बन्धी प्रशिक्षण लिनका लागि योगेन्द्रबहादुर थापा, गुप्तबहादुर राना, कमल भण्डारी (पंक्तिकार) र आङ छोतार शेर्पा आदि गरी नेपाल प्रहरीबाट आठजना छानिए ।

दार्जिलिङ पुगेपछि प्रहरी पर्वतारोही टोलीले नेपाल प्रहरीका तर्फबाट भ्रातृत्व र सहृदयतास्वरूप आईजीपी बरालले दिएका श्री पशुपतिनाथको काष्ठ–प्रतिमा र नेपाल प्रहरीको झन्डा प्रधानाध्यापक ग्रेवाललाई हस्तान्तरण गर्‍यो । हाल यी दुवै उपहार दार्जिलिङस्थित सो संस्थाका संग्रहालयमा सुरक्षित छन् ।

pic 4

नेपाल प्रहरीको पर्वतारोही टोलीले एचएमआईबाट सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारका प्रशिक्षण प्राप्त गर्‍यो । प्रशिक्षक प्रायजसो शेर्पा समुदायकै थिए । सैद्धान्तिक तालिममा श्रव्य–दृश्य (अडियो–भिजुअल) सामग्री प्रदर्शन गराइन्थ्यो । व्यावहारिक तालिममा रक क्लाइम्बिङका अभ्यास गराइन्थ्यो । वर्षा याममा रकक्लाइम्बिङको तालिम गरिएकाले प्रहरी प्रशिक्षार्थीको आत्मबल झनै बढ्ने भयो ।

प्रशिक्षण समाप्तिपछि ग्रेवालले प्रहरी–टोलीलाई मायाका चिनोस्वरूप विभिन्न उपहार प्रदान गरे । त्यसबाट नेपाल प्रहरी र एचएमआईबीचको सम्बन्ध अझै सुमधुर भयो ।

पर्वतारोहणका लागि आवश्यक सामग्री

पर्वतारोहणका लागि प्रशिक्षित भए पनि आवश्यक सामग्री जुटाउन सकिएको थिएन । त्यसबखत माउन्टेन–ट्राभलका कर्नल रोबर्ट, बबि क्षेत्री र इन्टर्नेसनल ट्रेकिङका कर्नल वाङ्दीले हामीलाई हिमाल तथा पर्वतारोहणबारे जानकारी र सुझावका साथै पाल र डोरी प्रदान गरे ।

पुलिस क्लबबाट बिदाइ

काठमाडौंबाट बिदाइ हुनुअघि आईजीपी बरालको निर्देशानुसार सदर प्रहरी तालिम केन्द्र (महाराजगन्ज), प्रहरी पहरा गण (त्रिपुरेश्वर)र एयरपोर्ट प्रहरी परिवार लगायत काठमाडौंका विभिन्न प्रहरी एकाइबाट टुकुचे आरोहण–दलको हौलसा बढाउन भोजको व्यवस्था भयो । सबै कुराको पूर्ण व्यवस्था भएपछि २०३३ भाद्र १३ गते बिहान नेपाल प्रहरीको आरोहण दललाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबबाट भव्य बिदाइ गरियो । हामीलाई बिदाइ गर्न राखेप (राष्ट्रिय खेलकुद परिषद्) का सदस्यसचिव कुमार खड्गविक्रम शाह र आईजीपी बराल लगायत उच्चपदस्थ प्रहरी अधिकृत तथा महानुभावको समुपस्थिति थियो ।

pic 5

बरालले हामीलाई ब्रिफ गरे । त्यसपछि उनी र शाहले हामीलाई क्रमशः नेपाल प्रहरी र नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेपछि पुलिस ब्यान्डले अगुवाइ गर्दै विभिन्न मङल धुन बजाउँदै हामीलाई मूलढोकासम्म पुर्‍यायो । त्यसपछि हामी ट्रक र बस चढी पोखरातर्फ प्रस्थान गर्‍यौँ ।

pic 6

भाद्र १३ को बेलुका ७ बजे पोखराको डीआईजी कार्यालय पुगेपछि त्यहाँ पश्चिम क्षेत्र डीआईजी लोकबहादुर राना तथा पोखरा प्रहरी परिवारबाट हाम्रो स्वागत गरियो । अर्को दिन हामी मुस्ताङ प्रस्थान गर्‍यौँ । हामी पोखराबाट मुस्ताङस्थित थकाली गाउँ ‘मार्फा’सम्म पैदलै गयौँ । भाद्र १९ गते बेलुका ६ बजे मार्फा पुगेका थियौं ।

टुकुचे बेस–क्याम्प

भाद्र २९ मा टुकुचे हिमालको ‘हिडन–भ्याली’ अवस्थित ४,९०० मिटरको उचाइमा पुगी विधिवत् तरिकाले पूजापाठ गरी हामीले आधारशिविर (बेस–क्याम्प) स्थापना गर्‍यौँ ।

बेस–क्याम्पसम्मको यात्रामा केही समस्या भएन । हाम्रो मनोबल उच्च गराउने हेतुले धौलागिरि–अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र अञ्चल–एसपी रामविनोद सिंह घोडा चढी टुकुचेको बेस–क्याम्पमा आएका थिए । टोखामा तालिम दिने ‘आयडासान’ पनि प्रहरी पर्वतारोहीलाई थप तालिम दिनका लागि टुकुचे बेस–क्याम्पसम्म पुगेका थिए । त्यहाँ आयडासानले प्रहरी पर्वतारोहीलाई दुईदिने पर्वतारोहण तालिम दिए ।

तेस्रो–क्याम्प नपुग्दै हिमपहिरो

२०३३ भाद्र ३१ मा ५,५५० मिटरको उचाइमा पहिलो–क्याम्प स्थापना गरियो । पर्वतारोहीबाट वाकिटकीमार्फत आफ्ना अवस्थाबारे पुलिस हेडक्वार्टरलाई जानकारी गराइँदै थियो ।

 २०३३ असोज ४ मा ५,९४३.६ मिटरको उचाइमा दोस्रो–क्याम्प स्थापना गरियो । बेस–क्याम्पबाट पहिलो र दोस्रो क्याम्पसम्म पुग्न कुनै विशेष समस्या भएन तर तेस्रो–क्याम्प नपुग्दै एउटा त्रासदीपूर्ण अविस्मरणीय घटना घट्यो ।

तेस्रो क्याम्पतर्फ जाने पथ बनाउने काम हुँदै थियो । यही बीचमा कमल भण्डारी (पंक्तिकार)ले चिया पिउनका लागि ब्रेक लिने प्रस्ताव गरे । चिया पिउँदै गर्दा एउटा चर्को ‘च्याँ !’ आवाज सुनियो । एक्कासि चिलले वेग हानेजस्तो आवाज सुनेपछि सबैजना आ–आफ्ना ठाउँमा टक्क अडिए । अलिक अघिको बाटो चर्किएको रहेछ । चर्किएको भागभित्र हेर्दा ८० डिग्रीको गहिरो नीलो खाडल (क्रिभास) देखियो । दोस्रो र तेस्रो क्याम्पबीचको बाटो (चिया पिउनु जानुअघि आरोहीहरू रहेको स्थान) हिमपहिरोले यसरी ध्वस्त पारिदियो । कतिका लागि त त्यो हिमपहिरोसँगको पहिलो अनुभव थियो होला । यसरी कमल भण्डारीको चिया पिउन जाने प्रस्तावबाट आरोहीको ज्यान बच्यो । 

तत्कालै आपत्कालीन बैठक बसियो । अन्ततः शेर्पाहरूको सल्लाह बमोजिम बेस क्याम्पमै फर्कने निर्णय लिइयो । केही समयका लागि ‘वेट एन्ड सी’ (पर्ख र हेर) का रणनीति अवलम्बन गरियो ।

सबैजना डराएर बेस क्याम्पतिर झरेको जानकारी पुलिस हेडक्वार्टरलाई गराइयो । आईजीपी बरालबाट ‘अवस्था हेरेर तुरुन्तै माथि पठाउनू’ भन्ने आदेश आएपछि फेरि उकालो लागियो ।

दोस्रो र तेस्रो क्याम्पबीचको खाडलको अवस्था यथावत रहेकाले यात्रा जारी राखियो । खाडल हेर्दा फड्किएर कटाउन सकिन्थ्यो । सोहीअनुसार ‘लङ–जम्प’ गर्दै खाडल नाघियो । केही गरी खाडलभित्र खसिहाले ‘पिटन’ ठोकेर ‘फिक्स–रोप’ लगाउने व्यवस्था पनि मिलाइएको थियो । यात्रा अत्यन्त जटिल रहेको अनुभूत भयो ।

यसरी खाडल नाघ्दै २०३३ असोज १५ मा ६,४००.८ मिटरका उचाइमा तेस्रो तथा अन्तिम क्याम्प स्थापना गरियो । अन्तिम क्याम्पसम्म रुट (पथ) बनाउन ‘हिउँचितुवा’ उपनामले सुप्रसिद्ध पर्वतारोही स्वर्गीय आङरिता शेर्पाको अत्यन्तै सहयोगीपूर्ण भूमिका रहेको थियो । उनी शिखर नपुग्दै तेस्रो–क्याम्पबाटै बेस–क्याम्पतिर फर्किए । 

शेर्पाहरूकै सल्लाहअनुसार तात्तातो पानीमा चम्पा (सातु) घोलेर लगिएको थियो । कैयौँ उकालो–ओरालो हुँदै शिखर पुग्न लागिएको थियो ।

pic 7

टुकुचे शिखर

२०३३ असोज १६ गते नवमीका दिन पंक्तिकार कमल भण्डारीसहितको नेपाल प्रहरीको टोलीका नौजनाले ६,९२० मिटर उचाइको टुकुचे हिमालका शिखरमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरीको झन्डा फहराउन सफल भए । 

टुकुचे आरोहण–दलका सदस्य : 

१) डीएसपी गोविन्द कृष्ण श्रेष्ठ (टोली लिडर) ।

२) डीएसपी डा. प्रेमलाल श्रेष्ठ (टोली डाक्टर) ।

३) इन्स्पेक्टर नारायण चन्द (फोटोग्राफर) ।

४) कामु इन्स्पेक्टर अम्बिका क्षेत्री (टोली सह–लिडर) ।

५) सई योगेन्द्र बहादुर थापा । 

६) सई गुप्त बहादुर राना ।

७) सई बाबुराम पुन ।

८) सई कमल भण्डारी ।

९) सई मणिराज गुरुङ ।

१०) सई शिव कुमार थापा (सहायक फोटोग्राफर) । 

११) सई अशोक महर्जन (सञ्चार) । 

१२) कामु सई श्री बहादुर थापा (सहायकः स्वास्थ्य उपचार) ।

१३) प्रहरी हवल्दार बम बहादुर श्रेष्ठ (सहायक सञ्चार) ।

१४) प्रहरी जवान आङ छोतार शेर्पा ।

१५) प्रहरी जवान मिङ्मा तेन्जिङ शेर्पा । 

१६) प्रहरी जवान सोनाम गिर्मी ।

१७) प्रहरी जवान सोनाम ओलुङ ।

१८) प्रहरी जवान ओलाङ शेर्पा ।

१९) प्रहरी जवान ‘हिउँचितुवा’ आङरिता शेर्पा (हाई अल्टिट्युड शेर्पा) ।

२०) प्रहरी जवान उपासाङ शेर्पा (हाई अल्टिट्युड शेर्पा) ।

२१) प्रहरी जवान पेम्बा छिरिङ शेर्पा (हाई अल्टिट्युड शेर्पा) ।

२२) प्रहरी जवान पेम्बा छिरिङ शेर्पा (खाना पकाउने) ।

२३) प्रहरी जवान लाक्पा नोर्बु शेर्पा (खाना पकाउने) ।

२४) प्रहरी जवान टेन्डी शेर्पा (खाना पकाउने) ।

२५) प्रहरी जवान दिल बहादुर गुरुङ ।

बेस–क्याम्पबाट फर्किने क्रममा हामी फेरि मार्फा गयौँ । मार्फाबाट जोमसोम जाने क्रममा मार्फावासीबाट आ–आफ्ना घरका ढोकामा उभिएर त्यहाँको चलनअनुसार थालमा चामल, बत्ती, धुप, अबिर राखेर हार्दिकताका साथ हाम्रो बिदाइ गरियो ।

असोज २२ मा जोमसोम पुगेपछि त्यहाँको एउटा विद्यालयले हाम्रो सम्मानार्थ रात्रि भोज र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

काठमाडौंमा भव्य स्वागत

पछि काठमाडौं फर्किनका लागि आईजीपी बरालले हाम्रो टोलीका लागि विमान नै चार्टर गरेछन् । जोमसोम विमानस्थलबाट काठमाडौँ फर्कियौँ । हामीलाई स्वागत गर्नका लागि बरालले अधिकांश प्रहरी अधिकृत तथा जवानलाई काठमाडौंस्थित एयरपोर्ट जान निर्देशन दिएका रहेछन् ।

pic 8

तत्कालीन आईजीपी बराल, डीएसपीद्वय गोविन्दकर्म थापा (पछिल्लो सेवाकालमा नेपाल प्रहरीका डीआईजी तथा विशेष प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख) र मोतीलाल बोहरा (पछिल्लो सेवाकालमा नेपाल प्रहरीका प्रमुख) आदि प्रहरी तथा सर्वसाधारण हामीलाई स्वागत गर्न एयरपोर्टमै पुगेको पाउँदा हामी हर्षविभोर र गौरवान्वित भयौँ ।

स्वागत गर्ने क्रममा पुलिस ब्यान्डले साङ्गीतिक प्रदर्शन गर्‍यो । हवाईजहाजको ढोकादेखि विमानस्थलको मूल गेट बाहिरसम्म स्वागत गर्ने मान्छेको विशाल लाम देखियो । विमानबाट ओर्लनेबित्तिकै हामीलाई आईजीपी बराल लगायतका प्रहरी तथा सर्वसाधारणबाट हार्दिक बधाई दिँदै अनुहार छोपिने गरी माल्यार्पण गरियो ।

pic 9

त्यसपछि हामीलाई जिपमा बसालियो । हामीअघि पुलिस ब्यान्ड र हाम्रा पछाडि तथा दायाँ–बायाँ प्रहरीका पैदल–लस्कर हुँदै हामीलाई काठमाडौं नगरपरिक्रमा गराइयो । नगर परिक्रमा गर्ने क्रममा हामीलाई नगरवासीले अबिर र थप फूलमालाका साथ हर्षोल्लासपूर्वक अभिनन्दन गरे ।

pic 10

परिक्रमा गराएपछि हामी सहभागी विजय–जुलुसलाई नेपाल पुलिस क्लब ल्याइयो । त्यहाँ हाम्रा लागि भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ तत्कालीन गृहमन्त्री भोजराज घिमिरे, गृहसचिव, राखेपका सदस्य–सचिव कुमार खड्गविक्रम शाह, बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, आईजीपी खड्गजित बराल र बागमती सह अञ्चलाधीश विष्णुप्रताप शाह लगायत उच्चपदस्थ पदाधिकारी तथा प्रहरीको उपस्थिति थियो ।

विश्व पर्वतारोहणको इतिहासमा नेपाल तथा नेपाल प्रहरीलाई अग्रपंक्तिमा स्थापित गर्ने परिकल्पनाकार एवम् योजनाकार तत्कालीन आईजीपी खड्गजित बराल थिए । टुकुचे आरोहणको सम्पूर्ण खर्च नेपाल प्रहरीले आफ्नै स्रोत–साधनबाट परिचालन गरेको थियो ।

नेपाली मात्र सहभागी रहेको आरोहण दलबाट हिमालका शिरमा सर्वप्रथम नेपाली ध्वजा फहराउने राष्ट्रिय गौरवको इतिहास नेपाल प्रहरीले २०३३ सालमा आईजीपी बरालको कार्यकालमा लेख्यो । विश्वकै इतिहासमा ‘प्रथम नेपाली पर्वतारोही टोली’ भनेर चिनिने सौभाग्य नेपाल प्रहरीले पायो । 

यसले नेपाली वीरताको इतिहासलाई नयाँ संस्करणमा प्रस्तुत हुने सौभाग्य समेत प्रदान गर्‍यो । केही अपवादबाहेक अधिकांश नेपाली विदेशी पर्वतारोहीका भरिया मात्र हुन् भन्ने मान्यतालाई नेपाल प्रहरीका साहसी पर्वतारोहीले मेटाएर राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्न सफल भए । यो राष्ट्रकै लागि गौरवको विषय थियो ।

त्यसबखत यस सुखद र गौरवशाली समाचारले अनेक् समाचार तथा सञ्चार–माध्यमबाट विशेष प्राथमिकता पायो । गोरखापत्र र राइजिङ नेपालजस्ता राष्ट्रिय दैनिक पत्रिका तथा रेडियो नेपाल लगायत अन्य सबै राष्ट्रिय तथा कैयौँ अन्तर्राष्ट्रिय समाचार माध्यमले समाचार प्रकाशन र प्रसारण गरेका थिए ।

पहिलो प्रयासमै हिमाल आरोहणको सफलताले प्रहरी पर्वतारोहीको आत्मबल धेरै बढ्न गयो । यस साहसिक कार्यको सबैतिरबाट मुक्तकण्ठले प्रशंसा गरियो । यसपछि आईजीपी बरालमा एउटा नयाँ उच्चआकांक्षा जाग्यो, ‘नेपालीको एकल सहभागितामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गराउने ।’ यो सानो इच्छा थिएन, त्यो पनि नेपाल प्रहरीको पर्वतारोहण संस्था (नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन)बाट मात्र गराउने । अन्तस्करणबाटै निस्किएको यो सदिच्छा आफैँमा विशिष्ट, महत्त्वाकांक्षी एवं चुनौतीपूर्ण थियो । 

जापानीबाट प्रहरी पर्वतारोहीलाई प्रशिक्षण

प्रहरी पर्वतारोहीबाट सगरमाथा आरोहण गराउने आईजीपी बरालको सपना साकार पार्न थप प्रशिक्षणको आवश्यकता थियो । यही मेसोमा बरालले २०३४ सालमा नेपाल प्रहरीलाई जापानको ‘ह्योगो वर्कर्स अल्पाइन फेडरेसन’ का तत्कालीन महानिर्देशक ‘शिरो कुराउची’ नामक जापानीसँग परिचय गराए ।

पर्वतारोहण–कोर्स आयोजना गर्नका लागि नेपाल प्रहरीले कुराउचीलाई पत्राचार गरेपछि २०३४ सालको कात्तिक–मङ्सिरतिर उनीसहित जापानका ‘जापान वर्कर्स अल्पाइन फेडरेसन’, ‘नागानो वर्कर्स अल्पाइन फेडरेसन’ र ‘ह्योगो वर्कर्स अल्पाइन फेडरेसन’को टोली नेपाल आयो ।

pic 11

कुराउची सानसँगै नेपाल आउने अन्य तत्कालीन विशिष्ट पदाधिकारीमा ह्योगो वर्कर्स अल्पाइन फेडरेसनका प्रेसिडेन्ट तथा जापान वर्कर्स अल्पाइन फेडरेसनका भाइस प्रेसिडेन्ट सुतोमु ताकेहारा, जापान वर्कर्स अल्पाइन फेडरेसनका महानिर्देशक सिगेहीको टोयोडा र नागानो वर्कर्स अल्पाइन फेडरेसनका प्रेसिडेन्ट तामोन यामासिता थिए । त्यतिबेला हालै भारतको नन्ददेवी हिमालको उचाइ नाप्ने क्रममा प्रयोग भएका सम्पूर्ण पर्वतारोहण सामग्री उनीहरूले नेपाल प्रहरीलाई हस्तान्तरण गरे ।

२०३४ सालमै आईजीपी बरालको अनुरोधमा ह्योगो, नागानो र जापान वर्कर्स अल्पाइन फेडरेसनका संयुक्त जापानी टोलीबाट नेपाल प्रहरीका पर्वतारोहीलाई ‘ट्रेकिङ एन्ड ट्रेनिङ’का लागि ६,९८३ मिटर उचाइको लमजुङ हिमालमा प्रशिक्षण गराइयो । त्यहाँ पंक्तिकार कमल भण्डारी लगायत प्रहरी पर्वतारोहीले आइस क्लाइम्बिङ, स्नो क्लाइम्बिङ, रोप–वाक (डोरीमा हिँड्ने) र उद्धारसम्बन्धी प्रशिक्षण प्राप्त गरे । कालान्तरमा २०५० वैशाख ८ गते शिरो कुराउची औपचारिक रूपमै नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनको सल्लाहकार पदमा मनोनित भए । 

फाउन्डेसनका अन्य क्रियाकलाप 

pic 12

टुकुचे आरोहण गरेको एक वर्ष पूरा भएको सुअवसरमा २०३४ असोज १६ गते नेपाल प्रहरीले पुलिस क्लबमै ‘टुकुचे हिमालको सफल आरोहणको प्रथम वार्षिकोत्सव’ मनायो ।

सो अवसरमा नेपाल प्रहरीको अनुरोधमा नेपालको तत्कालीन सरकारले एउटा विशेष हुलाक टिकट पनि जारी गर्‍यो । गृहसहायक मन्त्री डिल्लीशेर राई, आईजीपी बराल लगायत पदाधिकारीको समुपस्थितिमा सञ्चारमन्त्री हरिबहादुर बस्नेतबाट सो कार्यक्रममा हुलाक टिकटमा टाँचा लगाइयो । 

pic 13

त्यस दिन आईजीपी बरालले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भनेको प्रेरणादायी कुरा झलझली सम्झना हुन्छ, ‘टुकुचे अन्तिम आरोहण होइन । धैर्य गर्नू । अरू हिमाल आरोहण गर्ने योजना बन्दै छन् ।’

शिरो कुराउचीसँगको परिचयबाट नेपाल प्रहरीले पर्वतारोहणमा नयाँ फड्को मार्न सफल भयो । बरालको कार्यकालको अन्तिमतिर नेपाल प्रहरी र ‘जापान वर्कर्स अल्पाइन फेडरेसन क्लब’का संयुक्त टोलीबाट धादिङस्थित ७,१०२ मिटर उचाइको पाबिल हिमाल (गणेश चौथो) आरोहण गर्ने योजनाको विकास पूरा भयो । नेपाल प्रहरी र जापानका संयुक्त टोलीले पाबिल हिमाल आरोहण गर्नुअघि सो हिमाल आरोहण नभएकाले त्यो र त्यस्तै अन्य आरोहण नगरिएका हिमाल ‘भर्जिन पिक’ भनेर चिनिन्थे ।

pic 14

पाबिल हिमाल नेपाल प्रहरीले आरोहण गरेको दोस्रो हिमाल तथा पहिलो भर्जिन पिक थियो । पंक्तिकार कमल भण्डारी पनि सो आरोहण दलबाट शिखर पुगेको थियो । यसरी नेपाल प्रहरीले विदेशी आरोहण दलसँग सहकार्य गरेर भर्जिन पिकहरूको पनि सफल आरोहण गर्न सुरु गर्‍यो ।

नेपाल प्रहरीको पर्वतारोही टोलीले टुकुचे आरोहण गरेको करिब ६ वर्षपछि मात्र २०३९ सालमा नेपाली सेनाको टोलीबाट पहिलोपटक हिमाल आरोहण कार्य सुरु भयो । संयोगवश त्यही वर्ष नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन र जापानका संयुक्त टोलीले सोलुखुम्बुस्थित ६,५३० मिटर उचाइको ‘भर्जिन पिक’ केर्‍योलुङ हिमाल पनि आरोहण गर्‍यो ।

नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनबाट नेपालका विभिन्न हिमशिखरका सफल आरोहण गरी कैयौँ नेपाली ध्वजा गाडी राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने ऐतिहासिक अभियान श्रीगणेश गर्ने क्रममा सो फाउन्डेसनका परिकल्पनाकार, योजनाकार एवम् संस्थापक सदस्यहरू र पर्वतारोहीको अहम् भूमिका प्रहरीवृत्त तथा नागरिक समाजमा सदा स्मरणीय छ ।

pic 15

पर्वतारोहणका अतिरिक्त सो फाउन्डेसनबाट नेपाल प्रहरीका ७५औँ र ७७औँ इन्सपेक्टर आधारभूत–तालिमका प्रशिक्षार्थीलाई ककनीमा रक क्लाइम्बिङ प्रशिक्षण गराइयो । यसैगरी सो फाउन्डेसनबाट कमान्ड तालिमका जुनियर प्रहरी अधिकृतलाई डाँडापाखामा रक क्लाइम्बिङ प्रशिक्षण गराइयो । साथै, सो फाउन्डेसनबाट अन्य कैयौँ ब्याचका इन्सपेक्टर आधारभूत तालिम र डीएसपी पदका उन्नत तालिमका प्रशिक्षार्थीलाई पनि रक क्लाइम्बिङ प्रशिक्षण गराइयो ।

pic 16 (1)

यस फाउन्डेसनले वृक्षरोपण र वातावरण–संरक्षणमा समेत उल्लेख्य योगदान दियो । सो फाउन्डेसनको पहलमा सर्वप्रथम २०४१ सालमा ‘प्रथम प्रहरी सगरमाथा सफाइ आरोहण दल’ गठन भई प्रदूषित सगरमाथा–क्षेत्रमा सफाइ कार्यक्रम सञ्चालन भए । यसमा पंक्तिकार कमल भण्डारीको पनि सहभागिता थियो । 

pic 17

पर्वतारोहणका सफलतापछि नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनले नेपालका हिमाली क्षेत्रमा हिमपहिरो लगायत अनेकौँ दैवी विपत्तिसँग जुद्धै सार्थक जनसेवा प्रदान गर्दै आएको पाइन्छ ।

pic 18

साथै, नेपालका अति दुर्गम तथा उच्च उचाइमा पर्ने हिमाली क्षेत्रस्थित उत्तरी सीमामा देशको सार्वभौमिकता तथा स्थानीय नागरिकका सुरक्षामाथि आँच आइलागेको खण्डमा उचित सुरक्षा–कारबाही गर्न पनि नेपाल प्रहरीका शारीरिक तथा मानसिक बल बढाउने उपलब्धि पर्वतारोहणबाट भएका दृष्टान्त कालान्तरमा त्यस कठिन उत्तरी दोसाँध क्षेत्रमा सम्पन्न भएका सफल कारबाहीले पनि प्रस्ट्याउँछन् । यी प्रसंग पूर्वआईजीपी बरालबाट पनि अभिव्यक्त भएका थिए ।

pic 19

पर्वतारोहणको पूर्ण महत्त्व बुझेको हुनाले नै हुनुपर्छ, प्रहरी सेवाबाट निवृत्त भएको वर्षौंपछि पनि बरालले पर्वतारोहणप्रति विशेष अभिरुचि देखाइरहे । उनले नेपाल, नेपाली जनता, नेपाल प्रहरी र नेपाली पर्वतारोहणप्रति अभिव्यक्त गरेका व्यावहारिक निष्ठा एवं दायित्वबोधले उनलाई सदैव सक्रिय बनाइरह्यो । बरालप्रति विदेशका प्रतिष्ठित संस्थाहरूले गरेको विश्वासपूर्ण भरोसाले नै यस कुरालाई पुष्टि गरेको छ ।

जापानी पर्वतारोहण संस्थाहरूले पूर्वआईजीपी बरालसँग समय समयमा विचार–विमर्श गरिरहन्थे । यही मेसोमा नेपालका ‘ग्याजिकाङ’ र ‘रत्नचुली’ हिमाल (त्यतिबेला दुवै भर्जिन पिक) आरोहण गर्नका लागि जापानको ‘सिन्सु विश्वविद्यालय’ अन्तर्गतका हिमालयन समिति र ‘एकेडेमिक अल्पाइन क्लब अफ सिन्सु’ ले २०५१ सालमा समन्वयात्मक सहयोगार्थ बराललाई औपचारिक रूपमा पत्राचार गरिरहे ।

pic 20

बरालकै अग्रसरतावश नेपाल प्रहरी र जापानको सिन्सु विश्वविद्यालयको संयुक्त सहभागितामा दुईवटा ‘भर्जिन पिक’का सफल आरोहण भयो — २०५१ असोज २१ मा मनाङस्थित ७,०३८ मिटर उचाइको ग्याजिकाङ हिमालको आरोहण र २०५३ असोज २८ मा मनाङस्थित ७,०३५ मिटर उचाइको रत्नचुली हिमालको आरोहण । रत्नचुलीको आरोहण नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनबाट गरिएको अन्तिम हिमाल आरोहण अभियान थियो ।

नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनका टोलीबाट हालसम्म भएका हिमाल आरोहण अभियान : 

pdf 1pdf2pdf3pdf4

तालिका स्रोत : ‘पर्वतारोहणको क्षेत्रमा नेपाल प्रहरी’ र ‘नेपाल प्रहरीको इतिहास’, प्रकाशक : प्रहरी प्रधान कार्यालय, २०५२ ।

सर्वोच्च शिखर सगरमाथाको आरोहण

त्यसको करिब २७ वर्षपछि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम नेपालीबाट २०८० जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भयो । 

pic 21

सो अवसरमा नेपालीबाट सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) का झन्डा फहराइयो । यो इन्टरपोलको १००औँ स्थापना दिवसको अवसरमा नेपालले इन्टरपोलको शताब्दी वर्ष मनाउने कार्यक्रम अन्तर्गत भएको थियो ।

यसबाट बरालको नेपाल प्रहरीका सदस्य मात्र रहेको आरोहण दलबाट सगरमाथा आरोहण गराउने सपना आंशिक मात्र भए पनि पूरा भएको अनुभूत भएको छ ।

यसरी तत्कालीन आईजीपी खड्गजित बरालको परिकल्पना, योजना र मार्गदर्शनबाट स्थापित ‘नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसन’ले करिब दुई दशकसम्म सक्रिय निरन्तरता पायो ।

वर्षौंदेखि ‘हिमाली शाखा’ भनेर चिनिँदै आएको यो फाउन्डेसन विगत केही वर्षदेखि नेपाल प्रहरीको सामाखुसीस्थित (काठमाडौं) विपद् व्यवस्थापन महाशाखामा गाभिएको छ । लामो समयसम्म निष्क्रिय रहेको यो फाउन्डेसनको पुनर्जीवित हुनेछ भनेर सकल दर्जाका बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकृत तथा जवानबाट अपेक्षा गरिएको छ ।

पंंक्तिकारबारे : १) नेपाल प्रहरीमा करिब तीस वर्षसम्म सेवारत डा. प्रेमलाल श्रेष्ठ अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् । उनी २०३३ सालमा नेपाल प्रहरीको मुस्ताङस्थित टुकुचे हिमालको आरोहण दलमा चिकित्सकको रूपमा आबद्ध थिए । उनी नेपाल प्रहरी अस्पताल, महाराजगन्जका पहिलो प्रमुख पनि थिए ।

२) नेपाल प्रहरीमा २०२७ देखि २०५९ सालसम्म सेवारत कमल भण्डारी अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । उनी नेपाल प्रहरीका टुकुचे (२०३३), पाबिल (२०३५) र अन्नपूर्ण–चौथो (२०४३) हिमाल आरोहण दलबाट शिखर पुगेका थिए । उनले २०३३ सालमा दार्जिलिङस्थित एचएमआई, काठमाडौंस्थित टोखा र प्रहरी प्रधान कार्यालयमा पर्वतारोहणसम्बन्धी प्रशिक्षण प्राप्त गरे । साथै, उनले २०३४ सालमा लमजुङ हिमालमा संयुक्त जापानी टोलीबाट पर्वतारोहणसम्बन्धी प्रशिक्षण प्राप्त गरे । यसका अतिरिक्त उनले २०३७ सालमा जापानमा जापान वर्कर्स अल्पाइन फेडरेसन र कोबे अल्पाइन क्लबबाट पर्वतारोहण सम्बन्धी दुई महिने प्रशिक्षण प्राप्त गरे ।)

लेखबारे : प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित नेपाल प्रहरीको इतिहास (२०५२), पुलिस मिरर १९८४, प्रहरी बुलेटिन (२०४२), पर्वतारोहणको क्षेत्रमा नेपाल प्रहरी (२०५२), नेपाल पुलिस माउन्टेनियरिङ एन्ड एडभेन्चर फाउन्डेसनद्वारा टुकुचे आरोहण लगायत पर्वतारोहणसम्बन्धी विषयबारे तयार गरिएका प्रतिवेदन र अन्य विभिन्न प्रकाशित सामग्रीका आधारमा पंंक्तिकारद्वयले यो लेख तयार गरेका हुन् ।)

तस्बिर सौजन्य : प्रहरी प्रधान कार्यालय, नक्साल, हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट, दार्जिलिङ, अवकाशप्राप्त आईजीपी स्वर्गीय खड्गजित बराल, ह्योगो वर्कर्स अल्पाइन फेडरेसनका अवकाशप्राप्त महानिर्देशक सिरो कुराउची, अवकाशप्राप्त एसएसपी बाबुराम पुन, अवकाशप्राप्त डीएसपी कमल भण्डारी, प्रहरी दर्पण र www.caingram.info  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल भण्डारी
कमल भण्डारी
लेखकबाट थप
डा. प्रेमलाल श्रेष्ठ
डा. प्रेमलाल श्रेष्ठ
लेखकबाट थप