मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।
सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गरिएको थियो । तर स्थानीयको अवरोधका कारण औद्योगिक क्षेत्रको घोषणा र आयोजनाको शिलान्यास भएर पनि काम अघि बढ्न सकेको छैन । औद्योगिक क्षेत्र आयोजनाको कामलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे सोमबार बुटवलमा छलफल गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरूबाट भएको पहल सकारात्मक भए पनि सङ्घीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए । सरकारले सबै प्रदेशमा आर्थिक विकासको सन्तुलन मिलाउने उद्देश्यका साथ घोषणा गरेको औद्योगिक क्षेत्रमध्ये मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सम्पन्न गरी स्थापनाको सुरुआत भएको हो ।
सरकारले रुपन्देहीका साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गतका क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रका रूपमा घोषणा गरी काम अघि बढाएको थियो । तर पछिल्लो समय औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने, औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गामा बसोबास गरेका स्थानीयले बसोबास नछाडेपछि निर्माण रोकिएको छ । सरकारले २०७२ साल चैत १ गते यी क्षेत्रमा पर्ने आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गर्दै औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।
छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै लागि बुटवल उपमहानगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने जानकारी दिए । उनले २०२२ सालदेखि बसोबास गरिरहेकाहरूको समस्या समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोन प्रविविधद्वारा जग्गा नापजाँच गरिएको जनाउँदै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको जानकारीसहितको प्रस्तुति गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
विश्वका दृष्टान्तबाट ज्ञानेन्द्रले सिक्न नसकेको पाठ
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी
-
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी