ब्याडमिन्टनमा नेपाल दुई स्पर्धाको प्रिक्वाटरफाइनलमा

चीन । एसियाली खेलकुद अन्तरगत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो ।
बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरे । अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ को सहज जित दर्ता गरे ।
पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई सीधा सेटमा २१–१७ र २१–१८ ले हराए । सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई २१–८ र २१–५ ले पन्छाए ।
पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पाखा लगाए ।