रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०८० असोज १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा एमालेको प्रदेश अधिवेशन : कर्णालीको अध्यक्षमा शाह निर्वाचित; कोशीमा मतगणना जारी, अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी; ७६६ जनाविरुद्ध मुद्दा, नेशनल पेमेन्ट गेटवे खरिद अनियमितता : सचिव मरासिनी लगायत विरुद्ध मुद्दा दायर, यौन दुर्व्यवहारको आरोप झेलेका एसएसपीले दिए राजीनामा, एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारत भिड्ने, नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशम चौधरीसँग, स्वास्थ्य बीमा नवीकरणमा देखिएन उत्साह, दसैँका लागि खाद्यले काठमाडौँमा तीन हजार खसी–बोका तथा च्याङ्ग्रा ल्याउने, बागमती प्रदेशसभा बैठकमा घम्साघम्सी लगायत छन् ।
१. एमालेको प्रदेश अधिवेशन : कर्णालीको अध्यक्षमा शाह निर्वाचित; कोशीमा मतगणना जारी
नेकपा एमाले यतिबेला प्रदेश अधिवेशनको चटारोमा छ । सोमबार कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन भएको छ । एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजङ्ग शाह निर्वाचित भएका छन् । कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सोमबार नै एमाले गण्डकी प्रदेश अधिवेशन उद्घाटन गरिएको छ ।
२. अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी; ७६६ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कुल २० हजार ९०५ उजुरी प्राप्त भएको जनाएको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा १६२ वटा मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार राष्ट्रपतिलाई पेस गरेको वार्षिक प्रतिवेदनमा ६५६ वटा उजुरी भने तामेलीमा राखिएको उल्लेख छ । आयोगले कुल ७६६ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको जनाएको हो ।
३. नेशनल पेमेन्ट गेटवे खरिद अनियमितता : सचिव मरासिनी लगायत विरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे खरिदमा अनियमितता भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई पनि प्रतिवादी कायम गरिएको छ ।
४. यौन दुर्व्यवहारको आरोप झेलेका एसएसपीले दिए राजीनामा
सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । पालले राजीनामा पेस गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
५. एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारत भिड्ने
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
६. नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशम चौधरीसँग
नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय भएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।
७. स्वास्थ्य बीमा नवीकरणमा देखिएन उत्साह
नेपालमा स्वास्थ्य बीमा गरेकामध्ये ७० प्रतिशत नागरिकले मात्रै नवीकरण गरेको पाइएको छ । यही असोज ४ गते सम्मको तथ्याङ्कमा ३० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् ।
८. दसैँका लागि खाद्यले काठमाडौँमा तीन हजार खसी–बोका तथा च्याङ्ग्रा ल्याउने
यस वर्षको दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा सर्वसाधारण उपभोक्तालाई खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले रातोपाटीलाई जानकारी दिइन् ।
९. बागमती प्रदेशसभा बैठकमा घम्साघम्सी
बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु र मर्यादापालकबिच सोमबार घम्साघम्सी परेको छ । प्रदेशसभाको दिउँसो साढे ३ बजे बसेको बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने तयारीसँगै घम्साघम्सी भएको थियो ।
१०. महन्थ ठाकुर सदाबहार अध्यक्ष
महन्थ ठाकुर तमलोपा, राजपा, जसपा हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष छन् । पार्टी गठन, विभाजन र एकताका विभिन्न शृङ्खलामा उनी अध्यक्षकै भूमिकामा रहे । लोसपाको महाधिवेशन कहिले होला भन्नेबारे चासो बढिरहेको समयमा फेरि पनि उनी नै नेतृत्वमा रहने संकेत देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’