पत्रकार बनाएर मानव तस्करी
काठमाडौँ । झापाकी छिरिङ डोमा शेर्पा कोरिया जाने भनेर भिसा कुरेर बसेको करिब ३ वर्ष पूरा भयो । तर भिसाका लागि कुर्दाकुर्दै अध्ययन पनि बिर्सिएकी छिरिङ यतिबेला आफू ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभाग, काठमाडौँ प्रहरी परिसर र सरकारी वकिल कार्यालयमा धाइरहेकी छन् ।
आफूलाई शिक्षा मन्त्रालयको कर्मचारी (स्वकीय सचिव) बताउने एक व्यक्तिले कोरिया पठाइदिने भन्दै डोमासँग १५ लाखको डिल गरे । १५ लाखको डिलमा डोमाले आधा रकम अर्थात् साढे ७ लाख रुपैयाँ दिइन् । तर कोरिया जाने भन्दै प्रोसेसिङ गरेको ३ वर्ष पूरा हुँदा पनि उनले कोरियाको भिसा पाइनन् । बरु कोरिया पठाइदिने भनेका उनै स्वकीय सचिवले आफूलाई ठगी गरेको भन्दै उनी रकम फिर्ता र कारबाहीका लागि विभिन्न निकाय धाइरहेकी छन् ।
इपीएसबाट कोरिया जाने सपना पूरा नभएपछि दलालको बाटो
खासमा छिरिङ डोमा शेर्पाले इपीएस परीक्षामार्फत् नै कोरिया जाने प्रयास गरेकी थिइन् । सन् २०१९ मा उनको नाम पनि निस्किएको थियो । तर पहिलो चरणको छनोटमा नपरेकी डोमा त्यसपछि कोभिड–१९ लगायतका कारणले कोरिया जानबाट बञ्चित भइन् ।
तर कोरियन भाषा पढेर कोरिया जाने सपना सँगालेकी डोमाले आफ्नो सपना त्याग्न सकिनन् । जसरी भए पनि कोरिया जाने सोचमा पुगेकी डोमालाई एक जना साथीले भनिन्, ‘काठमाडौँमै एक जना छन्, जसले तिमीलाई कोरिया पठाइदिन सक्छ ।’
डोमा जुन घरमा बस्थिन्, त्यही घरमा बस्ने पेमा शेर्पालाई पनि तिनै ‘स्वकीय सचिव’ले मोटो रकम लिएर कोरिया पठाइदिएका थिए । ती व्यक्तिले के कागजात तयार पारेर कसरी कोरिया पठाइदिए, डोमालाई केही थाहा थिएन । तर सँगै बसेकी साथीलाई कसरी गयौ भनेपछि त्यही साथी पेमाले ती ‘स्वकीय सचिव’को फेसबुक प्रोफाइल पठाइदिएकी थिइन् ।
पेमाकै सल्लाह अनुसार डोमाले कुमार गुप्ता भन्ने फेसबुक आइडी भएको व्यक्तिलाई सम्पर्क गरिन् र आफू पनि कोरिया जान इच्छुक रहेको बताइन् । अनिल कुमार गुप्ता असली नाम भएका ती व्यक्तिले सुरुमा १३ लाख ५० हजार रुपैयाँ लाग्ने र ढिलोमा ४ महिनामा सबै काम सकिने बताए । त्यसपछि सुरु भयो डोमाको कोरिया जाने अर्को विकल्पको सुरुवात ।
छलफलपछि पहिलो चरणमा ३ लाख रुपैयाँ दिने र त्यसपछि भिसा आएपछि बाँकी रकम दिने कुरा भयो । पहिलो चरणमा डोमाले सिद्धार्थ बैंकमा रहेको आफ्नो खाताबाट अनिल कुमार गुप्ताको नाममा २ लाख ५० हजार रुपैयाँको चेक काटिदिइन् । सन् २०२० नोभेम्बर ४ को मितिमा उक्त चेक साटियो ।
तर कोभिड भाइरसको संक्रमण कम भएको भएकाले अब प्रोसेस गर्न मिल्ने भनेर रकम दिए पनि फेरि कोभिड बढेको भन्दै अवधि लम्बिएको लम्बियै भयो । डलरको भाउ बढेको भन्दै १३ लाख ५० हजारमा सहमति भएको खर्च १५ लाख रुपैयाँसम्म पुग्यो । तर पनि डोमा १५ लाख तिरेरै कोरिया जान तयार भइन् र अन्तिमपटक २०२३ को जनवरी १२ मा १ लाख ५० हजार गरी जम्मा ७ लाख ५० हजार रुपैयाँ बुझाइन् । टिकट बुकिङ भइसक्यो, भिसा आउन लागिसक्यो भनेर पैसा बुझाएको धेरै हुँदा पनि कहिल्यै काम नभएपछि डोमा थाकिन् र पैसा फिर्ता माग्न थालिन् ।
तर आफूलाई ‘स्वकीय सचिव’ भनेर चिनाउने र मन्त्रालयकै कार्ड भिरेर आउने अनिल कुमार यादवले प्रोसेसिङका लागि धेरै रकम खर्च भएको, कर लागेको आदि भन्दै पैसा दिन आनाकानी गरे । बरु रकम माग्दा फोन नै उठाउन छाडे र पछिल्लो समय मोबाइलको स्वीच नै अफ गरेर राखिदिए ।
त्यसपछि वैदेशिक रोजगार विभागमा पुगेकी डोमालाई त्यहाँबाट ठगीको केस भन्दै प्रहरी कार्यालयमा पठाइयो । प्रहरी कार्यालयमा पुग्दा यो त वैदेशिक रोजगारीको केस हो भन्दै विभागमै जान भनियो । त्यसपछि डोमा आइपुगिन् रातोपाटीको कार्यालयमा ।
आफू ठगिएकोबारे यसरी सुनाइन् डोमाले
– मैले काँकडभिट्टाबाट प्लस टु पास गरेको हुँ । त्यसपछि कोरिया जाने भनेर कोरियन भाषा पढेँ र इपीएस परीक्षा पनि दिएँ । त्यो २०१९ मा हो । सुरुमा नाम निस्कियो, तर पछि कोभिडको कारणले खासै मान्छे लिएर गएन र म पनि जान पाइन ।
– सुरु देखि नै मेहनत गरेर भाषा पढेको र कोरिया जाने सपना सजाएको कारण मलाई जसरी पनि कोरिया जाने इच्छा जागेको थियो । म जुन घरमा बस्थेँ, त्यही घरमा बस्ने पेमा शेर्पा भन्ने साथी पनि कोरिया गएकी थिइन् । तर उनी इपीएस परीक्षा पास गरेर नगएको कारण कसरी गएको हो भन्ने थाहा थिएन । मैले तिमी कसरी गयौ भन्दा कसैले पठाइदिएको बताइन् । त्यतिबेला उनले १० लाखजति तिरेको भन्ने सुनेको छु । मैले पेमालाई म पनि आउन चाहन्छु, सम्पर्क गराइदेउ न भनेपछि पेमाले नै कुमार गुप्ता भन्ने व्यक्तिको फोसबुक आइडी पठाइदिइन् ।
– मैले त्यही फेसबुक आइडीमा सम्पर्क गरेर कुमार भन्ने व्यक्तिसँग कुरा गरेँ । उनले आफ्नो नम्बर दिएर भेट्न बोलाए । भेटपछि उनले आफ्नो नाम अनिल गुप्ता भएको र शिक्षा मन्त्रालयको स्वकीय सचिव रहेको बताए । मलाई भेट्न बोलाउँदा पनि सिंहदरवार भित्रै बोलाउँथे तर शिक्षा मन्त्रालयमा कहाँ काम गर्थे, त्यहाँ बोलाएनन् । मलाई क्यान्टिनतिर बोलाउँथे ।
– त्यहीँ नै उनीसँग कुराकानी हुन्थ्यो र सुरुमा उनले १३ लाख ५० हजार रुपैयाँ लाग्ने र ४ महिनाभित्र उड्न पाइने बताएका थिए । कोभिडकै चरणमा रहेकाले कोभिड मत्थर भएपछि कोरिया जान पाइने भनेपछि मैले सुरुमा उनलाई २ लाख ५० हजार रुपैयाँ बुझाएँ । सुरुमा उनले पहिले ३ लाख रुपैयाँ दिनुपर्ने र भिसा आएपछि बाँकी रकम तिर्नुपर्ने कुरा बताएका थिए । कसरी जाने, के भनेर जाने भन्दा उनले सुरुमा मलाई केही बताएनन् । कागजात म तयार गर्छु, कानुनी प्रक्रिया पूरा गरेरै पठाउँछु भन्थे ।
त्यसपछि बन्यो पत्रकारको कार्ड र छापियो बाइलाइनमा समाचार
– शिक्षा मन्त्रालयको स्वकीय सचिव बताउने उनै अनिलकुमार गुप्ताले कोरिया पठाउने भन्दै मलाई गोलमेच साप्ताहिक नामक पत्रिकाको पत्रकार बनाइदिने र त्यही पत्रिकाको कार्यालयबाट कर्मचारी विवरणमा मेरो नाम राखेर सूचना विभागमा पत्रकार परिचयपत्र बनाउनका लागि सिफारिस गराइयो । त्यही सिफारिसका आधारमा २०७९ असोज ४ गते मैले सूचना विभागबाट प्रमाण पत्र नम्बर ३०७०३ बाट पत्रकार परिचय पत्र पनि लिएँ । मलाई कानुनी बाटोबाटै कोरिया पठाउने हो भनियो ।
– त्यही बिचमा २०८० जेठ ५ गते गोलमेच साप्ताहिकमा मेरो नामबाटै समाचार पनि छापियो । जबकि मलाई समाचार लेख्न पनि आउँदैन र त्यो समाचार मैले लेखेको पनि होइन । अनिल गुप्ताले नै के के गरे, थाहा भएन । कोरिया जाने प्रक्रियाका लागि भन्दै मलाई नेपाल पत्रकार महासंघको काठमाडौँ कार्यालयमा पनि पठाइयो र त्यहाँबाट भिसा आवेदनका लागि सिफारिस भयो ।
– कामै नगरे पनि कर्मचारी भन्दै मलाई गोलमेच साप्ताहिकको कार्यालयबाट रिकमेण्डेसन लेटर पनि दिइयो र फोर्थ ग्लोबल सोयल सेक्युरिटी कन्फ्रेन्समा सहभागिताका लागि भन्दै इन्भिटेसन लेटर पनि मगाइयो । त्यो कहाँबाट कसरी आयो, मलाई केही थाहा छैन, यो सबै गरेको अनिल कुमार गुप्ताले नै हो । हालसम्म मैले अनिल कुमार गुप्तालाई ७ लाख ५० हजार रुपैयाँ बुझाइसकेको छु । सबै रकम मैले चेक वा ट्रान्सफर गरेर बैंकिङ कारोबार नै गरेको छु, ती सबैको प्रमाण मसँग सुरक्षित छ ।
– तर पैसा लिन सुरु गरेको ३ वर्ष हुँदा पनि मलाई कोरिया पठाउन सकेन र सधैँ झुलाइरहन थाल्यो । पछि शिक्षा मन्त्रालयमै गएर बुझ्दा अनिल त्यहाँको कर्मचारी होइन रहेछ । त्यसपछि तपाईंले पठाउन सक्नुहुन्न, मलाई मेरो पैसा फिर्ता दिनुहोस् भन्दा आफ्नो धेरै पैसा खर्च भएको भन्दै खर्च र कर कटाएर फिर्ता दिने बताए । तर मैले ताकेता गर्न थालेपछि उनी मोबाइलको स्वीच अफ गरेर भागे ।
– त्यसपछि म वैदेशिक रोजगार विभागमा उजुरी लिएर पुगेँ । तर त्यहाँबाट मलाई यो ठगीको केस भन्दै प्रहरीमा पठाइयो र प्रहरीबाट फेरि विभागमै पठाइयो । अनि कहीँबाट केही नभएपछि म तपाईंको कार्यालयमा आइपुगेको हुँ ।
गोलमेचका सम्पादक भन्छन्– अनिलले भनेअनुसार गरिदिएको हुँ
पत्रकार नभई पत्रकारको नाममा सिफारिस, रिकमेण्डेसन लेटर र समाचार कसरी छापियो भन्ने रातोपाटीको प्रश्नमा गोलमेच साप्ताहिकका सम्पादक एकराज दाहालले आफूले अनिलले भने अनुसारको गरिदिएको तर पैसा लिएर कोरिया पठाउन लागेकोबारे थाहा नभएको बताए ।
छिरिङ डोमा शेर्पा त्यहाँको कर्मचारी हो भन्ने सुरुको प्रश्नमा दाहालले पहिले कर्मचारी रहेको तर हाल नरहेको बताए ।
डोमाले त आफू पत्रकार होइन भन्छिन्, तर गोलमेच साप्ताहिकमा उनकै नाममा बाइलाइन समाचार छापिएको रहेछ नि भन्ने रातोपाटीको प्रश्नमा दाहालले समाचार अरुले लेखेको तर अनिलले नाम हालिदिन भनेकाले आफूले छिरिङ डोमाको नाम हालिदिएको बताए ।
कोरिया जानका लागि सिफारिस, कर्मचारीको नियुक्ति, प्रेस पासका लागि सिफारिस सबै गर्नुभएको रहेछ त कसरी गर्नुभयो भन्ने प्रश्नमा अनिल कुमार गुप्ता पनि पत्रकार रहेको र आफ्नो साथी भएकाले उनले भने अनुसारको गरिदिएको तर कोरिया पठाउँछु भन्दै पैसा लिएकोबारे केही थाहा नभएको दाहालले बताए ।
फरार भए गुप्ता
पत्रकार बनाएर मानव तस्करी गर्न लागेको र पहिले पनि उनैले मानव तस्करी गरी कोरिया पठाएको सम्बन्धमा अनिल कुमार गुप्तासँग कुराकानी गर्न खोज्दा उनको दुवै मोबाइलको स्वीच अफ गरिएको छ । अनिलले सञ्चालन गरिरहेको ९८४३xxxxxx र ९८५२xxxxxx मा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
पेसाले अनिल कुमार गुप्ता आफैँ पनि पत्रकार हुन् । उनी हाल नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्यसमेत हुन् ।