सुदूरपश्चिमको शिर अपि हिमाल पर्यटन विकासको आधार बन्दै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अपि हिमाललाई मुख्य प्राथमिकतामा राखेर पर्यटन भ्रमण वर्ष मनाइरहेको छ ।
सुदूरपश्चिम प्रदेशकै सर्वोच्च शिखरको रूपमा रहेको दार्चुला जिल्लास्थित अपि हिमाल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न भ्रमण वर्ष मनाइरहेको हो । यो हिमालको उचाइ ७ हजार १३२ मिटर छ ।
विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालगायतका जनप्रतिनिधि, मन्त्रालय र गाउँपालिकाका कर्मचारी, पर्यटन व्यवसायी र आन्तरिक पर्यटकहरू ३ दिनको यात्रापछि अपि हिमालको बेस क्याम्प पुगेका थिए । त्यहाँबाट भ्रमण वर्ष सुरु भएको उद्घोष गरे ।
सन् १८९९ मा पहिचान गरिएको अपि हिमालमा सन् १९६० मा पहिलो पटक आरोहण गरिएको थियो । अपिको फेदी भने प्राकृतिक मनोरम छटाले भरिएको छ । विभिन्न प्रजातिका फूल पाइने यहाँ स्थानीय समुदायको सांस्कृतिक सौन्दर्यले अवलोकनकर्ताहरुलाई आकर्षित गर्छ ।
कसरी पुग्ने अपि ?
अपि हिमालसम्म पुग्न दार्चुला सदरमुकाम खलंगाबाट ३ वटा रुट छन् । अपि हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपि बेस क्याम्पबाट आधा घण्टामा पुग्न सकिन्छ । त्यसैगरी ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणले उपयुक्त छ ।
पहिलो रुट : सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपि हिमालसम्म पुग्न सकिन्छ ।
तर त्यो बाटो नेपाल–भारत–चीनको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन ।
दोस्रो रुट : दोस्रो रुटका रूपमा दार्चुला सदरमुकाम खलंगादेखि खार, सिप्टी र सितोला हुँदै अपि बेस क्याम्पसम्म पुगिन्छ । पर्याप्त प्राकृतिक सुन्दर दृश्यावलोकनसँगै यस रुटबाट अपि बेस क्याम्पसम्म पुग्न सकिन्छ । तर बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा खासै पर्ने गरेको छैन ।
तेस्रो रुट : पर्यटक र पर्वतारोहीका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै मकरीगाड, गुल्जर, घुसाको रुट छ । मकरीगाडबाट २ दिन पैदल यात्रापछि अपि हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ । अपि हिमालसम्म पुग्न पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुट प्रयोग गर्छन् ।
पर्यटन विकासमा स्थानीय प्रयास
अपि हिमाल आरोहण खुलाएर प्रदेशकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आधारभूत पर्यटन संरचना निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष बोहराले हिमालको बेस क्याम्प भ्रमणका लागि आधारभूत संरचना निर्माण भएको बताए ।
२०७९ मा अपि हिमाल भ्रमण सप्ताह मनाएको गाउँपालिकाले सप्ताहले सफलता प्राप्त गरेपछि देश विदेशबाट पर्यटक ल्याउन भ्रमण वर्ष आयोजना गरेको अध्यक्ष बोहराको भनाइ छ । उनले घुसादेखि अपि हिमाल बेस क्याम्पसम्म ३० किलोमिटर पदमार्ग निर्माण गरिएको जानकारी दिए । उनले पदयात्रा सुरु गर्नुपर्ने मकरी गाड बजारमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याएको जनाए ।
त्यस्तै, पदमार्गका ठाउँठाउँमा चिह्नसहितको सूचना पार्टी समेत राखिएको छ भने पदमार्गमा पर्यटक रेष्ट सेन्टर र सेल्फी पोइन्ट पनि निर्माण गरिएको छ ।
गाउँपालिकाको पहलमा पदमार्गमा खाना र बासका लागि होमस्टे सञ्चालन गरिएका छन् । गाउँपालिका अध्यक्ष बोहराले स्थानीय युवालाई तालिम दिई पथ प्रदर्शक बनाइएको बताए । अपि बेस क्याम्पमा २ वटा आवास गृह निर्माण गरिएको बताउँदै अध्यक्ष बोहराले सो आवास गृहमा दैनिक ६० जनालाई आवास र खानाको व्यवस्था भएको जनाए ।
अपि हिमालको बेस क्याम्पबाट अपि हिमालका साथै नाप्पा हिमालसमेत अवलोकन गर्न सकिन्छ । अपिको बेस क्याम्पबाटै नाप्पा हिमालको बेस क्याम्प पनि भ्रमण गर्न सकिन्छ । यसका साथै पदमार्गमा पर्ने काली ढुंगा ताल, भभय ताल, भभय हिमाल, रिउदे पानी हिमताल, नाउर, झालर, हिम चितुवा, डाँफे, अपि हिमालका बासिन्दाको संस्कृति, भेषभुषा, मल्देसी संस्कृति, सौका समुदायको संस्कृति, होम स्टेमा स्थानीय परिकार, खण्डेश्वरी शृङ्खला अपि बेस क्याम्प भ्रमणको महत्त्वपूर्ण आकर्षण रहेको बताए ।
पर्यटन व्यवसायीको दृष्टिकोण
बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपि क्षेत्र पर्यटन व्यवसायीको नजरमा ‘भर्जिन टुरिज्म डेस्टिनेसन’को रूपमा छ ।
ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नाटा (नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) सुदूरपश्चिम अध्यक्ष पदम बहादुर सिंहले अपि क्षेत्र नेचर, कल्चर र एड्भेञ्चरको संगम रहेको बताउँछन् ।
पर्यटनको हिसाबले अपि क्षेत्र अवलोकन तथा आरोहणका लागि ७ रात ८ दिनको प्याकेज रहेको बताउँदै अध्यक्ष सिंहले पर्यापर्यटनको उत्कृष्ट गन्तव्य रहेको सुनाए । तर राज्यको बलियो उपस्थिति हुन नसक्दा यो क्षेत्र ओझेलमा पर्दै गएको उनको भनाइ छ । यद्यपि क्रमिक रूपमा विकास हुँदै गएको बताउँदै उनले भ्रमण वर्षमा करिब १० हजार पर्यटकलाई अपि क्षेत्रमा अवलोकन गराउने लक्ष्य रहेको सुनाए ।