युक्रेनलाई अमेरिकाको बाचा, बजेटमा व्यवस्था नभए पनि सैन्य सहयोग जारी रहने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । अमेरिकी संसद्मा शटडाउन रोक्नका लागि पारित गरिएको बिलमा युक्रेनको मद्दतका लागि सैनिक कोषको कुनै व्यवस्था छैन ।
तर जो बाइडेनले युक्रेनले अहिले पनि अमेरिकाको मद्दतको आशा राख्न सक्ने बताएका छन् । उनले भने, ‘हामी कुनै पनि हालतमा युक्रेनलाई अमेरिकी सहयोग रोक्न सक्दैनौँ ।’
अमेरिकाले फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको हमलापछि हालसम्म ४६ अर्ब डलरको सैन्य सहयोग प्रदान गरिसकेको छ । सङ्घीय शटडाउन रोक्न अमेरिकी संसद्मा अन्तिम समयमा पारित भएको विधेयकमा युक्रेनलाई प्रस्तावित ६ अर्ब डलरको सैन्य सहायता समावेश गरिएको थिएन ।
शटडाउन रोक्न बिल पारित नहुँदा सङ्घीय सरकारको कामकाज रोकिन्छ । बजेट अभावका कारण सङ्घीय सरकारको प्रशासनिक कामकाज र सेवा ठप्प हुन्थ्यो र हजारौँ कर्मचारी तलब नलिई घरमै बस्नुपर्दथ्यो ।