मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

यस्ता छन् विश्वकप क्रिकेट खेलाइने १० रङ्गशाला

सोमबार, १५ असोज २०८०, ०९ : ३४
सोमबार, १५ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । प्रतियोगितामा १० वटा टोली सहभागी हुनेछन् । प्रतियोगिताको समूहगत चरणमा ४५ खेल हुनेछ । 

समूहगत चरणमा प्रत्येक टोलीले एकअर्कासँग एक—एक खेल खेल्नेछन् । त्यसपछि सेमिफाइनलमा दुई खेल र फाइनलमा एक खेल हुनेछ । समग्रमा विश्वकप अवधिभर कुल ४८ खेल खेलिने छ ।  भारतका विभिन्न सहरका १० वटा रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने छ । 

प्रतियोगिताको उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा खेलिने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मुम्बईस्थित वानखेड स्टेडियममा खेलिने छ । दोस्रो सेमिफाइनल खेल भने कोलकातास्थित इडेन गार्डेन रङ्गशालामा खेलाइने छ । फाइनल खेल भने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममै खेलाइने छ । आखिर कस्ता छन् त विश्वकपका खेल खेलाइने रङ्गशालाहरू ः

नरेन्द्र मोदी स्टेडियम (अहमादाबाद)

यो रङ्गशालाको नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राखिएको हो । यसअघि यो रङ्गशालाको नाम ‘सरदार पटेल स्टेडियम’ रहेको थियो । यो रङ्गशाला गुजरातको अहमादाबादमा रहेको छ । 

विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा पर्छ, नरेन्द्र मोदी स्टेडियम । पछिल्लो समय यो रङ्गशालाको दर्शक क्षमता बढाएर एक लाख ३४ हजार पुर्‍याइएको छ । यो क्रिकेट रङ्गशाला गुजरात क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । 

यो रङ्गशालामा निरन्तर घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुने गरेका छन् । अहिले नरेन्द्र मोदी स्टेडियम रहेको स्थानमा सन् १९८२ देखि सन् २०१५ सम्म सरदार पटेल स्टेडियम थियो । पुरानो रङ्गशालालाई भत्काएर अहिलेको नरेन्द्र मोदी स्टेडियम बनाइएको हो । 

Narendra Modi Stadium

पाँच वर्षमा निर्माण सम्पन्न भएको यो क्रिकेट रङ्गशाला बनाउन आठ अर्ब भारतीय रूपैयाँ खर्च गरिएको थियो । यो क्रिकेट रङ्गशालामा चारवटा ड्रेसिङ रुम रहेका छन् । रङ्गशालामा ११ वटा सेन्टर पिच र दुईवटा अभ्यास ग्राउन्ड रहेका छन् । 

दर्शक क्षमताको हिसाबले यो विश्वकै दोस्रो ठूलो रङ्गशाला हो । योभन्दा ठूलो रङ्गशाला उत्तर कोरियामा रहेको छ । उत्तर कोरियाको ‘रनग्राडो फस्र्ट अफ मे स्टेडियम’ को दर्शक क्षमता एक लाख ५० हजार रहेको छ । 

यसअघि पुरानो सरदार पटेल स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को एकदिवसीय विश्वकपका केही खेल पनि खेलाइएको थियो । सन् २०२१ को फेब्रुअरी २४ मा यो रङ्गशालाको नाम परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिएको हो । 

आफ्ना पूर्वअध्यक्ष नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गर्दै रङ्गशालाको नयाँ नामकरण गरिएको गुजरात क्रिकेट एसोसिएसनले जनाएको छ । सन् २००९ देखि सन् २०१४ सम्म नरेन्द्र मोदी गुजरात क्रिकेट एसोसिएसनका अध्यक्ष थिए । नयाँ रङ्गशालाको उद्घाटन सन् २०२१ मा तात्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए ।

सन् २०२० मा तात्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा यही रङ्गशालामा ‘नमस्ते ट्रम्प’ नाम दिएर विशेष कार्यक्रम आयोजना गरिएको थियो । सन् २०२२ को सेप्टेम्बर २९ मा यही रङ्गशालामा भारतको ३६औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पनि आयोजना गरिएको थियो । 

सन् २०२१ को फेब्रुअरीमा यो रङ्गशालामा भारत र इङ्ल्यान्डबीच पहिलो दिवा—रात्रि खेल खेलाइएको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको उद्घाटन र फाइनल खेल पनि यही रङ्गशालामा खेलाइने भएको छ । विश्वकपका क्रममा यो रङ्गशाला पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ ।

एम. चिन्नास्वामी स्टेडियम (बेङ्गलोर)

एम. चिन्नास्वामी स्टेडियम कर्णाटकाको बेङ्गलोरमा रहेको छ । यो क्रिकेट रङ्गशाला कर्णाटका क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । यो रङ्गशाला भारतको पुरानो क्रिकेट स्टेडियममध्येको एक हो । यो स्टेडियमको स्थापना सन् १९६९ मा भएको हो । 

यो क्रिकेट स्टेडियमको दर्शक क्षमता ४० हजार रहेको छ । यो क्रिकेट रङ्गशालामा नियमित रूपमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै आएको छ । यो रङ्गशालामा पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता पनि आयोजना हुने गरेको छ । 

M. Chinnaswamy Stadium

यसका अतिरिक्त यो रङ्गशालामा विभिन्न साङ्गितिक कार्यक्रम पनि आयोजना गर्ने गरिएको छ । कर्णाटका राज्य क्रिकेट टिमको घरेलु मैदान पनि यही रङ्गशाला हो । यसैगरी इन्डियन प्रिमियर लिग क्लब रोयल च्यालेन्जर्स बेङ्गलोरको घरेलु मैदान पनि एम. चिन्नास्वामी स्टेडियम नै हो । 

यो स्टेडियमको निर्माण कर्णाटका राज्य सरकारले गरेको हो । अहिले यो स्टेडिमय एक सय वर्षका लागि कर्णाटका क्रिकेट एसोसिएसनलाई लिजमा दिइएको छ । यो रङ्गशालाको नाम मङ्गलम चिन्नास्वामी मुदालियरको नाममा राखिएको हो । उनी आफ्नो समयका कुशल क्रिकेट प्रशासक र चर्चित कानुन व्यवसायी थिए । 

उनले चार दशकसम्म कर्णाटका स्टेट क्रिकेट एसोसिएसनमा पनि विभिन्न भूमिकामा रहेका काम गरेका थिए । उनी सन् १९७७ देखि सन् १९८० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष पनि रहेका थिए । उनकै सम्मानमा यो स्टेडियमको नाम राखिएको हो । 

सोलार प्यानलबाट बिजुली उत्पादन गरी प्रयोगमा ल्याउने यो विश्वकै पहिलो क्रिकेट स्टेडियम हो । यो रङ्गशालामा सन् १९७४ को नोभेम्बरमा भारत र वेस्ट इन्डिजबीच पहिलो टेस्ट खेलिएको थियो । यो रङ्गशालामा सन् १९८२ को सेप्टेम्बर २६ मा भारत र श्रीलङ्काबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल लिएको थियो ।

सन् २०२० को जनवरी १९ तारिखदेखि यो रङ्गशालामा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलिएको छैन । अन्तिम एकदिवसीय खेल भारत र अस्ट्रेलियाबीच खेलिएको थियो । यसै गरी यो रङ्गशालामा पहिलो टी—२० प्रतियोगिता सन् २०१२ को डिसेम्बर २५ मा खेलिएको थियो । 

यो स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को एकदिवसीय विश्वकपका केही खेल पनि खेलाइएको थियो । आगामी विश्वकपमा यो स्टेडियममा पाँचवटा खेल खेलाइने भएको छ । अस्ट्रेलिया र पाकिस्तानबीचको खेल यही रङ्गशालामा खेलिने छ । भविष्यमा यो क्रिकेट स्टेडियमको दर्शक क्षमता बढाएर ७० देखि ८० हजार पुर्‍याउने योजना बनाइएको छ ।

एम.ए. चिदम्बरम स्टेडियम (चेन्नई)

मुथैया एनामलाई चिदम्बरम स्टेडियमलाई चेपुक स्टेडियमको नामले पनि चिनिन्छ । यो क्रिकेट स्टेडियम तमिल नाडुको चेन्नईमा रहेको छ । यो एक सय वर्षभन्दा पुरानो क्रिकेट स्टेडियम हो । यो स्टेडियमको निर्माण सन् १९१६ मा गरिएको हो । 

यो भारतको तेस्रो सबैभन्दा पुरानो क्रिकेट रङ्गशाला हो । भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियम भने कोलकातास्थित इडेन गार्डेन्स हो । यो क्रिकेट रङ्गशालालाई पहिले मद्रास क्रिकेट स्टेडियमको नामले सम्बोधन गरिन्थ्यो । 

पछि स्टेडियमको नाम परिवर्तन गरेर एम.ए. चिदम्बरम स्टेडियम राखिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष एम.ए. चिदम्बरम चेट्टियरको सम्मानमा यो स्टेडियमको नाम राखिएको हो । 

M A Chidambaram Stadium

यो क्रिकेट स्टेडियम तमिल नाडु क्रिकेट टोलीको घरेलु मैदान पनि हो । इन्डियन प्रिमियर लिग क्लब चेन्नई सुपर किङ्सले पनि यो स्टेडियमलाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्छ । यो स्टेडियमको दर्शक क्षमता ५० हजार रहेको छ । 

यो रङ्गशालामा सन् १९३४ को फेब्रुअरी १० तारिखमा पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्ट भारत र इङ्ल्यान्डबीच खेलिएको थियो । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने सन् १९८७ को अक्टोबर ९ मा खेलिएको थियो । उक्त खेल भारत र अस्ट्रेलियाबीच खेलिएको थियो । यो स्टेडियममा अन्तिम एकदिवसीय खेल पनि यसै वर्षको मार्चमा भारत र अस्ट्रेलियाबीच नै खेलिएको थियो ।

यसै गरी यो रङ्गशालामा सन् २०१२ को सेप्टेम्बर ११ मा भारत र न्युजिल्यान्डबीच पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । सन् २०१८ को नोभेम्बर ११ पछि भने यो स्टेडियममा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छैन । 

यसै गरी यो स्टेडियममा सन् १९३६ मा पहिलो पटक रणजी ट्रफी पनि खेलिएको थियो । यो स्टेडियममा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ । सन् २०१० मा एक अर्ब ७५ करोड भारतीय रूपैयाँ खर्च गरेर यो स्टेडियमको पुनः निर्माण गरिएको थियो । 

त्यसपछि पनि यो स्टेडियममा विभिन्न सुविधा थपिँदै आएको छ । यो क्रिकेट स्टेडियम सात लाख ५२ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यो रङ्गशाला तमिलनाडु राज्य सरकारले तमिलनाडु क्रिकेट एसोसिएसनलाई सन् २०३६ सम्मका लागि लिजमा दिएको छ ।

यसअघि भारतले तीन पटक एकदिवसीय विश्वकप आयोजना गर्दा यो रङ्गशालामा सातवटा खेल खेलाइएको थियो । सन् १९९७ मा एकदिवसीय महिला विश्वकपको सेमिफाइनल खेल पनि यो स्टेडियममा खेलाइएको थियो । 

यो स्टेडियममा हालसम्म भारतले १३ वटा एकदिवसीय खेल खेल्दै सातवटामा जित हासिल गरेको छ ।  पाँचवटा एकदिवसीय खेल खेलेको अस्ट्रेलियाले चारवटामा जित हात पारेको छ । तीनवटा खेल खेलेको इङ्ल्यान्डले दुईवटामा सफलता हात पारेको छ । दुई खेल खेलेको पाकिस्तान भने दुवै खेलमा विजयी भएको छ । 

अरुण जेट्ली स्टेडियम (नयाँ दिल्ली)

अरुण जेट्ली क्रिकेट स्टेडियम भरतको राजधानी सहर नयाँ दिल्लीको बहादुर शाह जाफर मार्गमा रहेको छ । यो क्रिकेट स्टेडियमको सञ्चालन तथा व्यवस्थापन दिल्ली क्रिकेट सङ्घले गर्दै आएको छ । यो भारतको दोस्रो सबैभन्दा पुरानो क्रिकेट रङ्गशाला हो । 

यो क्रिकेट स्टेडियमको स्थापना सन् १८८३ मा भएको थियो । तर सुरुवाती समयमा यो रङ्गशालाई अन्य प्रयोजनका लागि बढी प्रयोग गरिन्थ्यो । यो रङ्गशालाको पहिलेको नाम भने ‘फिरोज शाह कोट्ला स्टेडियम’ हो । 

यो क्रिकेट स्टेडियममा हालसम्म टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिएको छ । दिल्ली जिल्ला क्रिकेट सङ्घले सन् २०१७ मा यो स्टेडियमका विभिन्न भागलाई आफ्ना चर्चित पूर्वखेलाडीहरूको नाममा समर्पित गरेको छ । 

Arun Jaitley Stadium

स्टेडियमको कुनै भागको नाम भारतीय टोलीका पूर्वकप्तान विसनसिंह बेदीको नामबाट, कुनै भागको नाम भारतीय टोलीका पूर्वअलराउन्डर मोहिन्द्र अमरनाथको नामबाट र कुनै भागको नाम भारतीय टोलीका पूर्वओपनर गौतम गम्भीरको नामबाट राखिएको छ । 

आफ्ना पूर्वखेलाडीहरूप्रति सम्मान व्यक्त गर्ने क्रममा यो स्टेडियममा घरेलु टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम रमन लाम्बाको नाममा राखिएको छ । भ्रमणकारी टोलीले प्रयोग गर्ने ड्रेसिङ रुमको नाम भने प्रकाश भण्डारीको नाममा राखिएको छ ।

सन् २०१९ को सेप्टेम्बर १२ मा यो स्टेडियमको नाम परिवर्तन गरी ‘फिरोज शाह कोट्ला स्टेडियम’ बाट ‘अरुण जेट्ली स्टेडियम’ राखिएको हो । पूर्ववित्तमन्त्री अरुण जेट्ली दिल्ली जिल्ला क्रिकेट सङ्घका पूर्वअध्यक्ष पनि हुन् । सन् २०१९ को अगस्ट २४ मा उनको निधन भएपछि यो रङ्गशालाको नाम उनको नाममा राखिएको हो । 

आफू दिल्ली जिल्ला क्रिकेट सङ्घको अध्यक्ष हुँदा यो रङ्गशालामा भौतिक पूर्वाधार विस्तार गर्न जेट्लीले निकै ठूलो भूमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त विराट कोहली, वीरेन्द्र सेहवाग, गौतम गम्भीर, आशिष नेहराजस्ता प्रभावशाली खेलाडीहरू तयार पार्न पनि जेट्लीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यो रङ्गशालाको दर्शक क्षमता ४१ हजार ८४२ रहेको छ । यो स्टेडियमको नाम परिवर्तन गर्दा निकै ठूलो विवाद पनि भएको थियो । थुप्रै पूर्वक्रिकेटरहरूले उक्त कार्यको विरोध गरेका थिए । यो स्टेडियममा सन् १९४८ को नोभम्बरमा पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो ।  

यसै गरी पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने सन् १९८२ को सेप्टेम्बर १५ मा खेलिएको थियो । उक्त खेल भारत र श्रीलङ्काबीच भएको थियो । सन् २०२२ को अक्टोबर ११ देखि भने यो स्टेडियममा एकदिवसीय खेल खेलिएको छैन । 

यो स्टेडियममा सन् २०१६ को मार्च २३ मा पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । उक्त खेलमा अफगानिस्तान र इङ्ल्यान्डबीच भएको थियो । आगामी विश्वकपमा यो स्टेडियममा पाँचवटा खेल खेलाइने भएको छ । 

इन्डियन प्रिमियर लिग क्लब देल्ही क्यापिटल्सले यो स्टेडियमलाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । सन् २०१७ मा भारत र श्रीलङ्काबीच टेस्ट क्रिकेट भइरहँदा अत्यधिक प्रदूषणका कारण केही समय खेल प्रभावित हुन पुगेको थियो । त्यतिबेला श्रीलङ्काली खेलाडीहरूले मास्क लगाएर बाँकी खेल खेलेपछि त्यो घटना विश्वभर चर्चित बन्न पुगेको थियो । 

भारतले सन् १९८७, सन् १९९६ र सन् २०११ मा एकदिवसीय विश्वकप आयोजना गर्दा केही खेलहरू यो स्टेडियममा पनि खेलाइएको थियो । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा हालसम्म दुई पटक मात्र तीन सयभन्दा बढी रन बनेको छ । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रङ्गशालामा बनेको उच्च स्कोर आठ विकेट गुमाएर ३३० रन हो । सन् २०११ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्घ वेस्ट इन्डिजले उक्त रन बनाएको थियो । यो स्टेडियममा हालसम्म आठ जना ब्याट्सम्यानले मात्र सतक बनाउन सकेका छन् । 

शतक बनाउने खेलाडी श्रीलङ्काका रोय डायस (नेपाली टोलीका पूर्वप्रशिक्षक), भारतका सचिन तेन्दुल्कर, अस्ट्रेलियाका रिकी पोन्टिङ, इङ्ल्यान्डका निक नाइट, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, भारतका विराट कोहली, न्युजिल्यान्डका केन विलियम्सन र अस्ट्रेलियाका उसमान ख्वाजा हुन् । यो स्टेडियममा वेस्ट इन्डिजका भिम रिचर्डसले सन् १९८९ मा ६ विकेट लिएका थिए । 

राजिव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियम (हैदराबाद)

राजिव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियम तेलङ्गनाको हैदराबादमा रहेको छ । त्यसैले यसलाई हैदराबाद क्रिकेट स्टेडियमको नामले पनि चिनिन्छ । यो क्रिकेट स्टेडियमको निर्माण सन् २००३ मा सम्पन्न भएको हो । 

यो स्टेडियममा टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिसकिएको छ । यो रङ्गशालाको दर्शक क्षमता ५५ हजार रहेको छ । यो क्रिकेट रङ्गशाला करिब ६१ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । 

यो रङ्गशाला हैदरबाद क्रिकेट एसोसिएसनको घरेलु मैदान हो । यो स्टेडियमलाई इन्डियन प्रिमियर लिग क्लब सुनराइजर्स हैदराबादले पनि घरेलु मैदानका रूपमा प्रयोग गर्छ । यही रङ्गशालामा सन् २०१७ को इन्डियन प्रिमियर लिगको उद्घाटन र फाइनल खेल खेलाइएको थियो । 

सन् २०१९ को इन्डियन प्रिमियर लिगको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । यो रङ्गशालाको नाम भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीको नामबाट राखिएको हो । यो रङ्गशाला तयार हुनुअघि हैदराबाद क्रिकेट एसोसिएसनले बसिरबाघमा रहेको लालबहादुर शास्त्री रङ्गशालालाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्थ्यो । 

Rajiv Gandhi Stadium

यो क्रिकेट स्टेडियम ६५ करोड भारतीय रूपैयाँमा निर्माण गरिएको हो । यो रङ्गशालामा सन् २०१० को नोभेम्बर १२ देखि पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र न्युजिल्यान्डबीच खेलिएको थियो । तर सन् २०१८ को अक्टोबर १२ देखि यो स्टेडियममा टेस्ट क्रिकेट आयोजना भएको छैन । अन्तिम टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । 

यसैगरी यो स्टेडियममा सन् २००५ को नोभेम्बर १६ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइएको थियो । उक्त खेल भारत र दक्षिण अफ्रिकाबीच खेलाइएको थियो । पहिलो टी—२० खेल भने सन् २०१७ को अक्टोबर ३ मा भारत र अस्ट्रेलियाबीच खेलिएको थियो । अन्तिम टी—२० पनि सन् २०२२ को सेप्टेम्बर २५ मा भारत र अस्ट्रेलियाबीच नै खेलाइएको थियो । 

यो स्टेडियमका पिचलाई ब्याट्सम्यानहरूका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियमको पिचमा तुलनात्मक रूपमा बढी रन बन्ने गरेको छ । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले चार विकेट गुमाएर सर्वाधिक ३५० रन बनाएको छ । 

यो स्टेडियममा बनेको सबैभन्दा कम योगफल भने इङ्ल्यान्डको नाममा छ । इङ्ल्यान्ड यो स्टेडियममा १७४ रन बनाउँदै अलआउट भएको छ । यही स्टेडियममा भारतले सन् २०१९ मा पाँच सयौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको थियो । 

यो स्टेडियममा सर्वाधिक रन बनाउने खेलाडी भारतका युवराज सिंह हुन् । उनले सन् २००५ देखि सन् २००९ को बीचमा यो स्टेडियममा तीन पाली खेल्दै २३३ रन बनाएका छन् । सचिन तेन्दुल्करले तीन पालीमा दुई सय २० रन बनाएका छन् । 

यो रङ्गशालामा भारतका ओपनर ब्याट्सम्यान सुभमन गिलले २०८ रन बनाएका छन् । उनले सन् २०२३ को जनवरी २८ मा न्युजिल्यान्डविरुद्घ उक्त रन बनाएका हुन् । यस क्रममा उनले १४९ बलको सामना गरी नौ छक्का र १९ वटा चौका प्रहार गरेका थिए । 

यो स्टेडियममा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडी भने भारतका मोहम्मद सिराज हुन् । उनले यो स्टेडियममा एक पालीमा १० ओभर बलिङ गर्दै ४६ रन खर्चिएर चार विकेट लिएका छन् । उनले सन् २०२३ को जनवरी १८ मा न्युजिल्यान्डविरुद्घ यो सफलता हात पारेका थिए । 

हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम (धर्मशाला)

‘हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम’ हिमाञ्चल प्रदेशको धर्मशालामा रहेको छ । यो स्टेडियमलाई छोटकरीमा एचपीसीए भनिन्छ । प्राकृतिक रूपमा मनोरम दृश्यका कारण यो विश्वकै सुन्दर क्रिकेट स्टेडियमका सूचीमा पर्छ । 

दलाई लामा धर्मशालामै निर्वासित जीवन बिताइरहेकाले पनि यो ठाउँ विश्वभर चर्चित छ । रणजी ट्रफीमा यो हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको घरेलु मैदान पनि हो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब किङ्स—११ पञ्जाबले यो रङ्गशालालाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्छ ।

त्यसैले आईपीएलका थुप्रै खेल यो स्टेडियममा खेलिएको छ । यो क्रिकेट स्टेडियम समुद्र सतहभन्दा एक हजार ४५७ मिटर उचाइमा रहेको छ । यो स्टेडियमको चारैतिर अग्ला हिमाल रहेका छन् । त्यसैले पनि यो स्टेडियमलाई विश्वकै मनोरम स्थलमा रहेको क्रिकेट मैदान भनिएको हो । 

Dharamshala Cricket Stadium Landscape 1

यो क्रिकेट स्टेडियमबाट काङ्ग्रा विमानस्थल केवल आठ किलोमिटरको दूरीमा रहेको छ । डेभ ह्वाटमोर भारतको नेसलन क्रिकेट एकेडेमीको निर्देशक हुँदा उनले नै यो मनोरम स्टेडियममा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने सुझाव दिएका थिए ।

यो स्टेडियममा सबैभन्दा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने राष्ट्र पाकिस्तान हो । सन् २००५ मा पाकिस्तानले भारतको ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो । यो स्टेडियमको निर्माण कार्य सन् २००३ मा सम्पन्न भएको हो । यो रङ्गशालामा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने भएको छ । 

एचपीसीए स्टेडियमको दर्शक क्षमता केवल २३ हजार रहेको छ । यो स्टेडियममा सन् २०१३ को जनवरी २७ तारिखमा भारत र इङ्ल्यान्डबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । उक्त खेलमा इङ्ल्यान्ड सात विकेटले विजयी भएको थियो । 

सन् २०२० को मार्च १२ पछि भने यो रङ्गशालामा एकदिवसीय प्रतियोगिता खेलिएको छैन । अन्तिम एकदिवसीय भारत र दक्षिण अफ्रिकाबीच खेलिएको थियो । यो स्टेडियममा सन् २०१७ को मार्च २५ देखि २९ सम्म भारत र अस्ट्रेलियाबीच पहिलो टेस्ट खेलिएको थियो । 

त्यसपछि यो स्टेडियममा टेस्ट क्रिकेट खेलिएको छैन । सन् २०१५ को नोभेम्बरमा यो स्टेडियमलाई भारतको ‘टेस्ट भेन्यु’ का रूपमा समावेश गरिएको थियो । त्यतिबेला एचपीसीएका अतिरिक्त अन्य पाँचवटा रङ्गशालालाई पनि भारतको ‘टेस्ट भेन्यु’ मा समावेश गरिएको थियो । 

यसैगरी एचपीसीए स्टेडियममा सन् २०१५ को अक्टोबर २ मा पहिलो पटक टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेल भारत र दक्षिण अफ्रिकाबीच भएको थियो । त्यसपछि सन् २०२२ को फेब्रुअरी २७ मा भारत र श्रीलङ्काबीच अन्तिम टी—२० खेल खेलिएको थियो । 

यो स्टेडियमका एकदिवसीय क्रिकेटको एकै पालीमा सबैभन्दा बढी रन बनाउने खेलाडी भारतका विराट कोहली हुन् । कोहलीले सन् २०१४ को अक्टोबर १७ मा वेस्ट इन्डिजविरुद्घ १२७ रन बनाएका थिए । भारतविरुद्घको सोही खेलमा वेस्ट इन्डिजका मार्लोन सामुएल्सले पनि ११२ रन बनाएका थिए । इङ्ल्यान्डका इयान बेललले पनि सन् २०१३ को जनवरी २७ मा भारतविरुद्घ अविजित ११३ रन बनाएका थिए ।  

इडेन गार्डेन्स (कोलकाता)

पश्चिम बङ्गालको कोलकातामा रहेको छ, इडेन गार्डेन्स अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम । यो भारतको सबैभन्दा चर्चित क्रिकेट रङ्गशाला हो । यो रङ्गशालामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् । 

यो भारतको सबैभन्दा पुरानो क्रिकेट स्टेडियम पनि हो । यो क्रिकेट स्टेडियमको निर्माण सन् १८६४ मा भएको हो । यसका अतिरिक्त यो भारतको दोस्रो ठूलो क्रिकेट स्टेडियम पनि हो । यो क्रिकेट स्टेडियमको दर्शक क्षमता हाल ६८ हजार रहेको छ । 

यसैगरी इडेन गार्डेन्स विश्वकै तेस्रो ठूलो क्रिकेट स्टेडियम (दर्शक क्षमताका आधारमा) पनि हो । भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य घरेलु मैदान पनि इडेन गार्डेन्सलाई नै मानिन्छ । यो क्रिकेट मैदानले ‘भारतीय क्रिकेटको मक्का’ को उपनाम पनि पाएको छ । 

क्रिकेट मात्र होइन, भारतीय खेलकुदकै इतिहासमा यो सबैभन्दा पहिलो व्यवस्थित रङ्गशाला पनि हो । इडेन गार्डेन्समा यसअघि पनि एकदिवसीय विश्वकप, टी—२० विश्वकप, एसिया कप जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् । 

Eden Gardens Kolkata

सन् १९८७ मा भारतले एकदिवसीय विश्वकप आयोजना गर्दा फाइनल खेल यही रङ्गशालामा खेलाइएको थियो । त्यतिबेला यो रङ्गशाला एकदिवसीय विश्वकपको फाइनल खेलाउने विश्वकै दोस्रो क्रिकेट रङ्गशाला पनि बनेको थियो । किनभने त्यसअघि पुरुष एकदिवसीय विश्वकपको पहिलो, दोस्रो र तेस्रो संस्करण लगातार इङ्ल्यान्डले आयोजना गरेको थियो । 

यसैगरी सन् २०१६ मा यही स्टेडियममा आईसीसी टी—२० विश्वकपको फाइनल खेल पनि खेलाइएको थियो । त्यतिबेला टी—२० विश्वकपको फाइनलमा क्यारेबियन टोली वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएर उपाधिमाथि कब्जा जमाएको थियो । 

इडेन गार्डेन्स स्टेडियममा सर्वाधिक दर्शकको कीर्तिमान सन् १९९६ मा बनेको थियो । सन् १९९६ मा भएको एकदिवसीय विश्वकपको भारत र श्रीलङ्काबीच खेलिएको सेमिफाइनल खेल हेर्न एक लाख १० हजार ५८४ दर्शक रङ्गशालामा उपस्थित भएका थिए ।

सन् १८६४ मा यो स्टेडियमको निर्माण सम्पन्न हुँदासम्म पनि नामको बारेमा भने टुङ्गो लागेको थिएन । पछि इडेन गार्डेन पार्कको नामबाट यो स्टेडियमको पनि नामकरण गरिएको बताइन्छ । यो स्टेडियममा पहिलो फुटबल खेल पनि खेलाइन्थ्यो । 

सन् १९८२ मा यही स्टेडियममा नेहरू कपको पहिलो संस्करण आयोजना गरिएका थियो । त्यसपछि सन् १९८४ को जनवरी १४ मा नेहरू कप फुटबल प्रतियोगिताअन्तर्गत नै भारत र उरुग्वेबीचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो । 

सन् १९८० मा यो स्टेडियममा एक अप्रिय घटना पनि भएको थियो । सन् १९८० को अगस्ट १६ तारिखमा यो स्टेडियममा कलकत्ता फुटबल लिगअन्तर्गत मोहन बगान र पश्चिम बङ्गालबीच खेल भएको थियो । सोही खेलका क्रममा दुवै टोलीका समर्थबीच भिडन्त हुँदा १६ जना समर्थकको मृत्यु भएको थियो ।

बङ्गाल क्रिकेट एसोसिएसनको मुख्यालय यही स्टेडियम परिसरमा रहेको छ । यो स्टेडियम बङ्गाल क्रिकेट टोलीको घरेलु मैदान हो । यसका अतिरिक्त इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सको घरेलु मैदान पनि यही हो । 

यो क्रिकेट स्टेडियममा आईसीसी महिला विश्वकपका खेलहरू पनि आयोजना भएका छन् । यो स्टेडियममा सन् २०१९ को नोभेम्बर २२ देखि २६ सम्म पहिलो पटक दिवा—रात्रि टेस्ट प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यो दिवा—रात्रि टेस्टमा भारतले बङ्गलादेशलाई एक पाली र ४६ रनको फराकिलो अन्तरले हराएको थियो । 

यो स्टेडियममा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले बनाएको सर्वाधिक योगफल पाँच विकेट गुमाएर ४०४ रन हो । सन् २०१४ मा खेलिएको श्रीलङ्काविरुद्घको खेलमा भारतले उक्त रन बनाएको थियो । एकदिवसीय क्रिकेटमा बनेको सबैभन्दा सानो योगफल भने आठ विकेट गुमाएर १२८ रन हो । सन् १९९६ मा सम्पन्न भारत र श्रीलङ्काबीचको खेलमा उक्त रन बनेको थियो । 

इडेन गार्डेन स्टेडियममा एकदिवसीय क्रिकेटको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी रोहित शर्मा हुन् । उनले सन् २०१४ मा श्रीलङ्काविरुद्घको खेलमा २६४ रन बनाएका थिए । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भने भारतका सचिन तेन्दुल्कर हुन् । उनले यो स्टेडियममा खेलिएको एकदिवसीय खेलमा कुल ४९६ रन बनाएका छन् । यो रङ्गशालामा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने छ । 

बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम (लखनउ)

भारत रत्न श्री अटल विहारी बाजपेयी एकना क्रिकेट स्टेडियम (बीआरएसएबीभी) लाई सामान्य रूपमा एकना क्रिकेट स्टेडियमका नामले चिनिन्छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लखनउमा रहेको छ । यो क्रिकेट स्टेडियम ५० हजार दर्शक क्षमताको छ । 

यो भारतको पाँचौँ ठूलो (दर्शक क्षमताका आधारमा) अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हो । सुरुमा यसको नाम ‘एकना क्रिकेट स्टेडियम’ राखिएको थियो । ‘एकना’ संस्कृत शब्द हो । यसको अर्थ ‘एक’ वा ‘एकता’ भन्ने बुझिन्छ । 

त्यसपछि यसको नाम परिवर्तन गरेर भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको नाममा राखिएको हो । भारतमा भएका क्रिकेट रङ्गशालामध्ये यो स्टेडियमको बाउन्ड्री केही लामो छ । यो उत्तर प्रदेश क्रिकेट टिमको घरेलु मैदान पनि हो । 

Ekana Cricket Stadium

यसका अतिरिक्त बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम इन्डियन प्रिमियर लिग क्लब लखनउ सुपर जाइन्ट्सको घरेलु मैदान पनि हो । सन् २०१९ मा अफगानिस्तानको राष्ट्रिय टोलीले पनि यसलाई घरेलु मैदानको रूपमा प्रयोग गरेको थियो । 

भारतका अन्य क्रिकेट स्टेडियमको तुलनामा यसको इतिहास खासै लामो छैन । सन् २०१४ मा यो रङ्गशाला बनाउन सुरु गरिएको थियो । त्यसपछि यो स्टेडियमको निर्माण कार्य सन् २०१७ मा आएर सम्पन्न भएको थियो ।  

यो क्रिकेट स्टेडियम निजी—सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत एकना स्पोर्ट्स र लखनउ विकास प्राधिकरणले निर्माण गरेको हो । यो स्टेडियम निर्माण गर्न उत्तर प्रदेश राज्य सरकारले सन् २०५२ सम्मका लागि लिजमा जग्गा उपलब्ध गराएको थियो । 

बीआरएसएबीभी एकना स्टेडियम बनाउन तीन अर्ब ६० करोड भारतीय रूपैयाँ खर्च भएको थियो । यो स्टेडियममा सबैभन्दा पहिले सन् २०१७÷१८ मा दुलिप ट्रफीको फाइनल खेल खेलाइएको थियो । सन् २०१९ को नोभेम्बरमा यो रङ्गशालामा वेस्ट इन्डिज र अफगानिस्तानबीच पहिलो टेस्ट खेलिएको थियो ।

त्यसयता यो स्टेडियममा टेस्ट क्रिकेट खेलिएको छैन । सन् २०१९ को नोभेम्बर ६ मा अफगानिस्तान र वेस्ट इन्डिजबीच पहिलो एकदिवसीय खेल खेलिएको थियो । यो स्टेडियममा सन् २०२२ को अक्टोबर ६ मा भारत र दक्षिण अफ्रिकाबीच अन्तिम एकदिवसीय खेल खेलिएको थियो । 

यसैगरी यो स्टेडियममा सन् २०१८ को नोभेम्बर ६ मा भारत र वेस्ट इन्डिजबीच पहिलो अन्तर्राष्ट्रिय टी—२० प्रतियोगिता खेलिएको थियो । त्यतिबेला यो स्टेडियम अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भारतको ५२औँ रङ्गशाला बनेको थियो । 

त्यो स्टेडियममा टी—२० क्रिकेट प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने पहिलो खेलाडी भारतका रोहित शर्मा हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने त्यो रङ्गशालामा शतक प्रहार गर्ने पहिलो खेलाडी वेस्ट इन्डिजका होप साई हुन् । सन् २०१९ को नोभेम्बर ११ मा उनले अफगानिस्तानविरुद्घ अविजित एक सय नौ रन बनाएका थिए । यो रङ्गशालामा आगामी विश्वकपको पाँचवटा खेल खेलाइने छ । 

वानखेड स्टेडियम (मुम्बई)

वानखेड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुम्बईमा रहेको छ । यो क्रिकेट रङ्गशालाको व्यवस्थापन र सञ्चालन मुम्बई क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । वानखेड स्टेडियममै मुम्बई क्रिकेट एसोसिएसनको मुख्यालय पनि रहेको छ । 

यसका अतिरिक्त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालय पनि वानखेड स्टेडियम परिसरमै रहेको छ । यो इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब मुम्बई इन्डियन्सको घरेलु मैदान पनि हो । आईपीएलको मुख्यालय पनि यही स्टेडियम परिसरमा रहेको छ । 

यो क्रिकेट स्टेडियमको छेउछाउ थुप्रै पुराना क्रिकेट क्लबहरूको कार्यालय पनि छन् । भारतकै पुराना क्लबहरू हिन्दु जिमखाना, पारसी जिमखाना र क्रिकेट क्लब अफ इन्डियाको कार्यालयम पनि यही रङ्गशालाको वरपर रहेका छन् । 

यो क्रिकेट रङ्गशाला सन् १९७४ मा तयार पारिएको थियो । त्यतिबेला यसको दर्शक क्षमता ३९ हजार रहेको थियो । त्यसपछि सन् २०११ मा यो रङ्गशालाको पुनर्निर्माण गरिएको थियो । अहिले यो रङ्गशालाको दर्शक क्षमता ३२ हजार छ । 

सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, बङ्गलादेश र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला विश्वकपको फाइनल खेल पनि यही रङ्गशालामा खेलाइएको थियो । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । स्टार ब्याट्सम्यान सचिन तेन्दुल्करले आफ्नो खेलजीवनमा खेलेको अन्तिम एकदिवसीय प्रतियोगिता पनि त्यही थियो । 

Wankhede Stadium

वानखेड स्टेडियममा सन् १९७५ को जनवरी २३ देखि २९ सम्म पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । अन्तिम टेस्ट भने सन् २०२१ को डिसेम्बर ३ देखि ७ सम्म भारत र न्युजिल्यान्डबीच खेलिएको थियो । 

यसै गरी यो स्टेडियममा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९८७ को जनवरी १७ मा भारत र श्रीलङ्काबीच खेलिएको थियो । अन्तिम एकदिवसीय भने सन् २०२३ को मार्च १७ मा भारत र अस्ट्रेलियाबीच खेलिएको थियो । पहिलो टी—२० अन्तर्राष्ट्रिय सन् २०१२ को डिसेम्बर २२ मा भारत र इङ्ल्यान्डबीच खेलिएको थियो । 

यो स्टेडियमको माटो रातो रहेको छ । यो स्टेडियमको पिचमा बल निकै बाउन्स हुने गर्छ । त्यसैले यहाँको पिच बलरका लागि भन्दा पनि ब्याट्सम्यानका लागि बढी उपयोगी मानिन्छ । यो स्टेडियममा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ । 

यसअघि यो स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को विश्वकपका खेलहरू पनि खेलाइएको थियो । यो रङ्गशालामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सर्वाधिक योगफल चार विकेट गुमाएर चार सय ३८ रन हो । सन् २०१५ मा खेलिएको एकदिवसीय क्रिकेटमा भारतविरुद्घ दक्षिण अफ्रिकाले उक्त रन बनाएको थियो । 

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रङ्गशालामा न्युजिल्यान्डले ६ विकेट गुमाएर ३५८ रन, भारतले चार विकेट गुमाएर २९९ रन र श्रीलङ्काले सात विकेट गुमाएर २८९ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रङ्गशालामा बनेको सबैभन्दा कम योगफल भने ११५ रन हो । सन् १९९८ मा भारतले बङ्गलादेशलाई ११५ मा अलआउट गरेको थियो । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुल्करले विभिन्न पालीमा सर्वाधिक कुल ४५५ रन बनाएका छन् । 

यसैगरी मोहम्मद अजहरूद्दिनले तीन सय दुई र विराट कोहलीले दुई सय ४९ रन बनाएका छन् । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा भारतका वेंकटेस प्रसादले सर्वाधिक १५, अनिल कुम्बलेले १२ र हरभजन सिंहले नौ विकेट लिएका छन् । 

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (पुणे)

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम महाराष्ट्रको पुणेमा रहेको छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमले छोटो समयमै विभिन्न प्रतियोगिता आयोजना गरिसकेको छ । यो क्रिकेट स्टेडियमको सञ्चालन तथा व्यवस्थापन महाराष्ट्र क्रिकेट एसोसिएसनले गर्छ ।

यो महाराष्ट्र क्रिकेट टोलीको घरेलु मैदान हो । महाराष्ट्र क्रिकेट एसोसिएसनको मुख्यालय पनि यही स्टेडियम परिसरमा रहेको छ । यो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको इतिहास धेरै लामो छैन । यो रङ्गशाला सन् २०१२ देखि प्रयोगमा आएको हो । 

यो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला ३७ हजार चार सय ६ दर्शक क्षमताको छ । यो रङ्गशालाको निर्माण कार्य अझै पूरा भइसकेको छैन । अहिले पनि उक्त स्टेडियमको ७५ प्रतिशत सिटमा छानो हाल्ने काम बाँकी रहेको छ ।

तर रङ्गशालामा फ्लड लाइट जडानको काम भने पूरा भइसकेको छ । सन् २०१२ मा सरद पवारले यो रङ्गशालाको उद्घाटन गरेका थिए । त्यतिबेला उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष थिए । 

Maharastra Pune Cricket Stadium

सन् २०१२ को अप्रिलमा यो रङ्गशालामा इन्डियन प्रिमियर लिगअन्तर्गत किङ—११ पञ्जाब र पुणे वारियर्सबीचको खेल खेलाइएको थियो । सन् २०१२ को डिसेम्बरमा यो रङ्गशालामा भारत र इङ्ल्यान्डबीच पहिलो टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइएको थियो । 

यसैगरी सन् २०१७ को फेब्रुअरीमा यो स्टेडियममा भारत र अस्ट्रेलियाबीच पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । यो रङ्गशालामा आगामी आईसीसी एकदिवसीय विश्वकपको पाँचवटा खेल खेलाउने कार्यक्रम रहेको छ । भारत र बङ्गलादेशबीचको खेल पनि यही रङ्गशालामा खेलाइने छ । 

सन् २०१५ मा भारतका थप ६ वटा रङ्गशालालाई एकैपटक ‘टेस्ट भेन्यु’ का रूपमा मान्यता प्रदान गरिएको थियो । त्यसमा यो रङ्गशाला पनि परेको थियो । यो रङ्गशाला एक अर्ब ५० करोड भारतीय रूपैयाँको लागतमा निर्माण गरिएको हो । 

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम एक लाख ४० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यो रङ्गशालामा सन् २०१९ को अक्टोबरदेखि टेस्ट क्रिकेट खेलाइएको छैन । अन्तिम टेस्ट भारत र दक्षिण अफ्रिकाबीच खेलिएको थियो ।

यसैगरी यो स्टेडियममा सन् २०१३ को अक्टोबर १३ मा भारत र अस्ट्रेलियाबीच पहिलो एकदिवसीय खेल खेलिएको थियो । त्यसपछि सन् २०२१ को मार्च २८ मा भारत र इङ्ल्यान्डबीच अन्तिम पटक एकदिवसीय खेल खेलिएको थियो । 

यो स्टेडियममा एकदिवसीय खेलको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी इङ्ल्यान्डका जोनी बेयरस्ट हुन् । उनले सन् २०२१ को मार्च २६ तारिखमा खेलिएको भारतविरुद्घको खेलमा १२४ रन बनाएका थिए । सोही खेलमा भारतका केएल राहुलले पनि १०८ रन बनाएका थिए ।

यसैगरी विराट कोहलीले सन् २०१७ को जनवरी १५ मा इङ्ल्यान्डविरुद्घ १२२ रन बनाएका थिए । सोही खेलमा भारतका केदार जादबले १२० रन बनाएका थिए । सन् २०१८ को अक्टोबर २७ मा वेस्ट इन्डिजविरुद्घ खेलिएको एकदिवसीय खेलमा भारतका विराट कोहलीले १०७ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप