सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रङ्गमञ्च

भव्य घुम्ने मञ्चमा सानदार ढंगले प्रस्तुत ‘वेडिङ एल्बम’

सोमबार, १५ असोज २०८०, ०६ : ४६
सोमबार, १५ असोज २०८०

विवाहिता हेमालाई प्रेमपत्र लेखिरहने एउटा किशोरले अन्ततः खाली कागजको पाना पठाउँछ । भनिन्छ, जहाँ पुगेर शब्दहरू अर्थहीन हुन्छन् त्यहीँबाट प्रेम सुरु हुन्छ तर प्रेमलाई विवाहले बलात्कार गर्दै आइरहेको समाजमा प्रेमको परिभाषामै भ्रम छ । खैर, एकातिर अनेक विषयमा अनेक परम्परागत परिभाषा लाद्न समाज बोलिरहन्छ अर्कोतिर व्यक्तिका व्यक्तिगत संसार चलेकै हुन्छन् । प्रसंग, काठमाडौंको टेकुस्थित कौसी थियटर’मा मञ्चन भइरहेको नाटक ‘वेडिङ एल्मब’को हो, जसले व्यक्तिगत र सामाजिक संसारको कथालाई खुलस्त देखाउँछ । 

भारतीय नाटककार, अभिनेता, चलचित्र निर्देशक गिरीश कर्नाडले सन् २००६ मा लेखेको नाटक ‘वेडिङ एल्बम’लाई नेपाली रङ्गकर्मी आकांक्षा कार्कीले नेपालीमा अनुवाद र निर्देशन गरेकी हुन् । नाटकको कथानक अनुसार, एक अवकाशप्राप्त सरकारी डाक्टरको पाँच सदस्यीय परिवार छ — तीन सन्तान (हेमा, रोहित र विदुषी) अनि पत्नी । यस नाटकको कथानक कान्छी छोरी विदुषीको विवाह (वेडिङ)को एल्बम पल्टाउँदै अगाडि बढ्छ । विदुषीको दाइ रोहित, जो एक लेखक हो, उसले टेलिसिरियल निर्माता प्रतिभालाई आफ्नै परिवारसँग जोडिएको कथा सुनाउँदै छ । 

विदुषीको पछाडि तोडिएको पिँजडा, उडिरहेका चरा र राता फूलहरूको चित्र राखिएको छ । मानौँ, विदुषी समाज, संस्कृति र परिवारको पर्खाल तोडेर स्वतन्त्र रूपमा उड्न चाहन्छे, फुल्न र फक्रन चाहन्छे । हुन त ऊ साइबर क्याफेको बन्द कोठामा छे, त्यहाँ पनि समाज पुग्छ उसलाई संस्कृति र परम्परा सम्झाउन । 

यस नाटकको कथालाई निर्देशक आकांक्षाले भव्य घुम्ने मञ्चमा सानदार शैलीमा प्रस्तुत गरेकी छन् । हुन त, घुम्ने मञ्च (रिभल्भिङ स्टेज)को प्रयोग नयाँ होइन, यो १७औँ शताब्दीदेखि जापानबाट प्रयोगमा आएको हो । यद्यपि मेहनत र लगानीका साथ एउटा भव्य घुम्ने मञ्च निर्देशक कार्कीको टिमले तयार गरेको छ, जहाँ विवाहको एल्बमको कथा बान्कीका साथ घुम्छ अर्थात् प्रस्तुत हुन्छ । 

385427535_862068928778152_1855234757929824722_n382422215_1355993722017308_1514545734873145672_n

नाटकको कथानकमा कागजकै प्रसंग अर्को पनि छ, २२ वर्षीया विदुषीको जन्मदर्ताको प्रमाणपत्रमा जब बाबुको नाममा काकाको नाम लेखिएको देखिन्छ, झट्ट हेर्दा यो सानो प्राविधिक त्रुटि लाग्ने समस्याले ठूलो शङ्काको सुविधा दिन्छ । दर्शकलाई करिब करिब लाग्छ, कतै विदुषीको जैविक बाबु काका त होइनन् ? 

यो नाटकको कथानक मध्यमवर्गीय हिन्दु परिवारको हो तर कथानकको पिँधमा निम्न वर्गीय एक महिला (कुसुम)को दर्द छ । मध्यम वर्गीय छोरीहरू (हेमा र विदुषी) विवाह गरेर अस्ट्रेलिया र अमेरिकातिर लागिरहँदा उनीहरूकै घरमा काम गर्ने निम्न वर्गीय कुसुमकी छोरीको कथा सडकबाटै हराउँछ । कुसुमकी छोरीलाई सडकबाटै हराएको दृश्य सिरियलमा कसरी देखाउने भन्नेसम्मको कथा यस नाटकमा आएको छ, सायद नाटककार कर्नाडको भयानक व्यंग्य हो यो — भारतीय सिरियलहरू मध्यम वर्गकै कथामा हराइरहेका वा रमाइरहेका छन् । 

यो नाटकले मध्यम वर्गीय हिन्दु महिला र छोरीहरूको व्यथा बोल्छ । परम्पराका नाममा भएको मानसिक दबाबकै कारण उनीहरू भित्रभित्रै विद्रोह गर्छन्, जसकारण विवाह नामको संस्था धराशयी वा कमजोर हुँदैछ भन्ने नाटकले देखाएको छ । उसो त एकातिर विवाह संस्था भत्कनुपर्छ भन्ने बहस हाम्रो समाजको एउटा तप्कामा भएकै छ, अर्कोतिर विवाह संस्थालाई कसरी व्यवस्थित बनाउने भन्नेहरू पनि छन् । 

आज हाम्रो संविधानले नै छोरीलाई अंशको हक दिएको छ, अर्कोतिर वंशको हक पुरुषलाई मात्रै हुँदा बहस विभिन्न शिराबाट भइरहेका छन् । वंशको हकभन्दा अघि हाम्रो समाजमा छोरीलाई विवाहका लागि श्रीमान् रोज्ने पूर्ण हक तथा स्वतन्त्रता छैन — जात, धर्म र परम्पराका नाममा । त्यस कारण विवाह र प्रेम सम्बन्धलाई लिएर समाजमा अनेक कथा जन्मदै छन् । यो नाटकमा रोहितले क्रिस्चियन केटीसँग प्रेम गर्छ तर ऊ अन्ततः हिन्दु केटीसँग नै विवाह गर्न बाध्य हुन्छ । उसको पुरुषवादी सोच यस्तो छ कि एकपटककी प्रेमिकामाथि ऊ जीवनभर शरीरको हक खोज्छ । 

यस नाटकका बारे आकांक्षाले ब्रोसरमा भनेकी छन्, ‘के छ त देखाउन मिल्ने म हुर्केको मध्यम वर्गीय क्षेत्री–बाहुन समाजको संरचनामा ? ढोँग र भेदभाव मात्रै उर्लेर आएको पाउँछु । पितृसत्तात्मक सोचाइले ग्र्रस्त, महिलाद्वेषी, रीतिरिवाजको नाममा कुरीतिको घनघोर संरक्षण । मेरो निम्ति रङ्गमञ्च भनेको समाजमा भएका कुरा जस्ताको तस्तै देखाउनु होइन, ती संरचनालाई प्रश्न गर्नु हो, भत्काउनु हो ।’

384394620_808168347661862_8033118766855528206_n

आकांक्षाले भनेजस्तै समाजमा भत्काउनुपर्ने धेरै कुरा छन् । सबैभन्दा मूल कुरा त हिन्दु समाजमा वर्ण (जात) व्यवस्थालाई भत्काउनुपर्नेछ । हिन्दु समाजको जग चार वर्णभित्रबाट महिलाले विद्रोह गर्दै जाँदा वा उनीहरू बलात्कृत हुँदै जाँदा विभिन्न वर्णसङ्कर (जात) जन्मेका हुन् । कुन वर्णकी स्त्री र कुन वर्णको पुरुषबाट जन्मेको पुरुष कुन वर्णको हुने भन्ने शास्त्रमै लेखिएको थियो । आज पनि हाम्रो समाजमा ठकुरी केटी र बाहुन केटाबाट जन्मेको सन्तान हमाल थरको भइदिन्छ । 

यस नाटकमा नाटककार कर्नाडले भारतीय हिन्दु समाजमा प्रचलित विवाह परम्पराका माध्यमबाट महिलाका व्यथा र विद्रोह शालीन ढंगले पस्केका छन् । खासगरी हिन्दु समाजको मध्यम वर्गीय परिवार पूर्वीय र पाश्चात्य संस्कृतिको बीचमा छ भन्ने यस नाटकले देखाएको छ । हेमालाई पत्र लेख्ने किशोर डीएच लरेन्सको ‘लेडी च्याटर्लिज लभर’जस्ता उपन्यास पढेर भड्किएको छ । यद्यपि मन परेकी स्त्रीलाई सिधासिधा प्रस्ताव राख्न ऊ स्वतन्त्र छ, सायद पुरुष भएकै कारण उसमा यस्तो दुस्साहस (टक्सिक मास्कुलिनिटी) आएको छ । यता घरको चौघेरा तोडेर साइबर क्याफेसम्म त पुग्छे विदुषी, त्यहाँ ऊ ‘फोन सेक्स’को लतमा छे ।

384390265_731114965522839_6228006197825652915_nयहाँनेरको दृश्यलाई निर्देशकले प्रतीकात्मक रुपमा प्रस्तुत गरेकी छन् । विदुषीको पछाडि तोडिएको पिँजडा, उडिरहेका चरा र राता फूलहरूको चित्र राखिएको छ । मानौँ समाज, संस्कृति र परिवारको पर्खाल तोडेर विदुषी स्वतन्त्र रूपमा उड्न चाहन्छे, फुल्न र फक्रन चाहन्छे । हुन त ऊ साइबर क्याफेको बन्द कोठामा छे, त्यहाँ पनि समाज पुग्छ उसलाई संस्कृति र परम्परा सम्झाउन । यो दृश्यलाई निर्देशकले नाटकबाट जस्ताको तस्तै लिएको देखिन्छ । हामीकहाँ स्त्रीको व्यक्तिगत स्वतन्त्रतामाथि औँला ठड्याउने पुरुषवादी समाज त छँदै थियो, त्यसमाथि अचेल कतिपय युट्युबेहरू हात धोएर लागिपरेको देखिन्छ । अहो ! उनीहरूलाई अर्काको घर–घरको चिन्ता छ । नाटक हेरिरहँदा मलाई लागेको थियो — यो दृश्यमा युट्युबेहरूलाई पनि ल्याएको भए सान्दर्भिक हुँदो हो ! 

नृत्यबाट उत्पत्ति भएको भनिएको नाटकको समृद्धि नै यही हो कि यसमा हरेक कला जोडिएर आउनुपर्छ । मधुर ध्वनि र ‘टाढा टाढा जानु छ साथी’ जस्तो सदावहार गीत प्रयोग हुनुले यस नाटकको प्रस्तुतिमा सुनमा सुगन्ध छरेको आभास हुन्छ । 

यस नाटकको कथालाई निर्देशक आकांक्षाले भव्य घुम्ने मञ्चमा सानदार शैलीमा प्रस्तुत गरेकी छन् । हुन त, घुम्ने मञ्च (रिभल्भिङ स्टेज)को प्रयोग नयाँ होइन, यो १७औँ शताब्दीदेखि जापानबाट प्रयोगमा आएको हो । यद्यपि मेहनत र लगानीका साथ एउटा भव्य घुम्ने मञ्च निर्देशक कार्कीको टिमले तयार गरेको छ, जहाँ विवाहको एल्बमको कथा बान्कीका साथ घुम्छ अर्थात् प्रस्तुत हुन्छ ।

नाटक मञ्चन हुनुअघि र भइसकेपछि भनिएको थियो — यो नाटक १६ वर्षभन्दा मुनिका लागि होइन । हो, १६ वर्ष मुनिका बालबालिकाको मस्तिष्कमा उपर्युक्त दृश्यले नकारात्मक प्रभाव पार्ला । यद्यपि आजका अभिभावकले आफ्ना सन्तान (छोराछोरी)को चाहना, सपना, स्वतन्त्रता र समाजको ढोँगीपनलाई बुझ्न यो नाटक हेर्नुपर्छ । 

नाटकमा एउटा संवाद छ — विवाह जुवा हो । नाटककार कर्नाडले यस्तो द्विअर्थी संवाद किन राखे ? स्पष्ट छ कि उमेर पुगेका स्त्री र पुरुषको विवेकको निर्णय हुनुपर्छ विवाह । विवेकले निर्णय गर्दा कुनै पक्षको हार हुनुपर्छ भन्ने छैन तर जुवामा स्पष्ट छ कि खेल्दै जाँदा कसैले हार्नुपर्छ ।  

379898851_284734501076574_2817943358754264698_n

आकांक्षाले भनेजस्तो यो नाटक मध्यम वर्गीय क्षत्री–बाहुन भनिने जातसँग मात्रै सम्बन्धित छैन, हिन्दु समाजका सबै महिला वा परिवारको समस्या यो नाटकले उठाएको छ । कर्नाडले भारतीय हिन्दु मध्यम वर्गीय परिवारको कथा लेखे पनि धर्म र संस्कृति मिल्ने भएकाले यो कथा हाम्रो समाजको करिब–करिब वरिपरि छ, त्यसमाथि आकांक्षाले नेपाली परिवेश ल्याउने कोसिस गरेकी छन् । 

हामी व्यावहारिक प्रेमको जतिसुकै ठूलो सुरुङ वा जति धेरै आयाममा छिरौँ, पिँधमा आउने शारीरिक र मानसिक आवश्यकता नै हुन् । ती आवश्यकतालाई दबाउने होइन, विवेकपूर्ण र सामाजिक न्याय दिने किसिमले पूर्ति गर्नतर्फ समाज र राज्य नै लाग्नुपर्छ — नाटकको जम्माजम्मी सङ्केत यही देखिन्छ । 

निर्देशकले विदुषीको श्रीमान् अश्विनलाई मञ्चमा ल्याएकी छैनन् । उसको सोच र संस्कार कस्तो छ ? त्यसको झलक हेर्ने दर्शकको चाहना पूर्ति हुँदैन, यहाँनेर कथानकमा केही खड्किएको महसुस हुन्छ । 

यस नाटकमा सबै अभिनेता र अभिनेत्रीको अभिनय अब्बल छ । बेग्लाबेग्लै भन्नुपर्दा — काम गर्ने महिला (कुसुम)को भूमिका निभाउने सेबिता अधिकारीले अद्भुत अभिनय गरेकी छन् । छोरी गुमाएको विक्षिप्त मानसिक अवस्था उनको अभिनयमा झल्कन्छ । कुसुमको कोही छैन तर टिभीमा आउने सिरियलका पात्रसँग उनको कथा मिल्न जान्छ । उनीसँग स्मृतिहरू छन् तर सुनाउने कोही नहुँदा उनी टिभीका पात्रसँग संवाद गर्छिन् । यस्तै, केनिपा सिंह पहारी, सुदाम सिके र जीवन गौतमको चरित्रले दर्शकलाई छुन्छ । पछिल्लो समय केही नाटक हेर्दा, मलाई अचम्म लाग्छ — नयाँ रङ्गकर्मीहरू अभिनयमा कति उम्दा भएर आएका हुन् ! 

मञ्चमा 

लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, रञ्जना भट्टराई, विनिता लामा गुरुङ, सेबिता अधिकारी, नवीन चन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठी र आकांक्षा कार्की । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप