९ महिनामा झन्डै ७ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौँ । पर्यटन सिजन सुरु भएसँगै सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
योसँगै सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या ६ लाख ९२ हजार ३७२ पुगेको छ । यो कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९०.९८ प्रतिशतको रिकभरी हो ।
सन् २०२३–२०३३ पर्यटन दशक घोषणा गरेको सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सिजन–अफ सिजन गरी ९ महिनामा करिब ७ लाख पर्यटक भित्रिएकोमा बाँकी ३ महिना राम्रो सिजन भएकाले सरकारी लक्ष्य पूरा हुने पर्यटन बोर्डको भनाइ छ ।
खासगरी अंग्रेजी वर्षको सुरुवातसँगै पर्यटन सिजन सुरु हुनेमा वैशाख, जेठ, असार र साउन चार महिना वर्षातका कारण अफ सिजन मानिन्छ । त्यसपछि भने शरद ऋतु लागेसँगै मौसमका कारण पर्यटक भित्रिन सुरु गर्छन् ।
बोर्डका अनुसार सेप्टेम्बर महिनामा भित्रिएका कूल पर्यटकहरूमध्ये सबैभन्दा बढी भारततर्फबाट २८ हजार ६९४ जना भित्रिएका छन् भने उत्तरतर्फ चीनबाट ८ हजार १७४ जना, अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६ जना, अस्ट्रेलियाबाट ३ हजार ६८५ जना, बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् ।
यसैगरी जर्मनीबाट २ हजार ८५२ जना भित्रिएकामा सोही समयमा यता साउथ कोरियाबाट २ हजार १८ जना र इजरायलबाट १ हजार ७३४ जना भित्रिएको बोर्डले जनाएको छ ।
यो तथ्याङ्क हवाई मार्ग हुँदै आउनेहरूको मात्र हो । स्थल मार्ग (सडक यातायात) मार्फत आउने पर्यटकहरूको सङ्ख्या यसको दोब्बर हुने बोर्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?