बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
विद्यालय शिक्षा विधेयक

सम्झौतापछि राजनीतिक दलसँग लबिङ गर्दै शिक्षकहरू

आइतबार, १४ असोज २०८०, ११ : ०९
आइतबार, १४ असोज २०८०

काठमाडौँ । सरकारसँग सम्झौता गरेका शिक्षकहरू अब लबिङतर्फ लागेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्झौता गरेका थिए ।

सम्झौता गरेसँगै उनीहरूले अब दोस्रो चरणमा लबिङको पाटो अगाडि बढाएका हुन् ।  नेपाल राहत शिक्षक केन्द्रीय समितिले लबिङको पाटो अगाडि बढाएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई भेटेर सरकारसँग गरेको सम्झौता र विधेयकमा समेटिनुपर्ने मागका विषयमा छलफल थालेका हुन् । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकलाई भेटेर उनीहरुले माग र मुद्दा सम्बोधनका सवालमा पहलकदमी गर्नका लागि अनुरोध गरेका छन् । 

समितिका अध्यक्ष खेम अधिकारी, महासचिव कुमार बजगाईँ लगायतका पदाधिकारीहरूले भेटेर विधेयकमा संशोधनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन अनुरोध गरेका हुन् । 

भेटका क्रममा प्रमुख सचेतक लेखकले विधेयकमा आवश्यक संशोधनको लागि समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । 

त्यस्तै समितिले आज सांसदहरूलाई मोबाइल सन्देश पठाउने कार्यक्रम रहेको छ । एसएमएसमार्फत सांसदहरूलाई सरकारसँग गरेको सम्झौताबारे जानकारी गराउने र विधेयक संशोधनमा महत्त्वपूर्ण भूमिका ‍‍‍‍निर्वाह गर्न अनुरोध गर्ने कार्यक्रम रहेको छ । 

आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै शिक्षकहरूले १० दिन काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए । त्यही क्रममा सरकारले दुई चरणमा सम्झौता गरेको थियो ।

सम्झौता गरेसँगै शिक्षक कर्मचारीहरूले आन्दोलनको पाटो रोकेर अब सरोकारवाला निकायलाई लबिङको पाटो अगाडि बढाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप