समावेशीको कुरा उठाउने महन्थकै पार्टी असमावेशी, पदाधिकारीमा मात्र ४४ प्रतिशत बाहुन

काठमाडौँ । राज्यको हरेक निकायमा समावेशी समानुपातिकको लागि सङ्घर्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी आफै कति समावेशी छ भने कुरा हालै सार्वजनिक गरेको केन्द्रीय कार्यसमितिबाट प्रस्ट हुन्छ ।
सार्वजनिक गरिएको ३११ सदस्यीय कार्यसमितिमा ६३ जना पदाधिकारी छन् त्यसमा २८ जना अर्थात ४४.०४ प्रतिशत मधेसी बाहुन रहेका छन् । महन्थ ठाकुर नेतृत्वको पार्टी मधेसी बाहुनहरूको पार्टी भएको भन्ने आरोप अहिलेको कार्य समितिले पनि पुष्टि गरिदिएको छ ।
३११ जनाको केन्द्रीय कार्य समितिमा ७९ जना अर्थात २५ प्रतिशत मधेसी बाहुन रहेका छन् । नेपालको जनसङ्ख्या २०७८ अनुसार मधेसी बाहुनको जनसङ्ख्या दुई लाख १७ हजार ७७४ अर्थात ०.७५ प्रतिशत रहेका छन् तर लोसपाको केन्द्रीय समितिमा उनीहरुले २५ प्रतिशत ठाउँ पाएका छन् ।
तराई मधेसमा सबभन्दा बढी जनसंख्या थारुको रहेको छ । १८ लाख सात हजार १२४ अर्थात जम्मा जनसङ्ख्याको ६.०२ प्रतिशत थारु रहे पनि लोसपाले आफ्नो ३११ जनाको केन्द्रीय समितिमा नौ जना अर्थात २.८९ प्रतिशत मात्र थारु समावेश गरेको छ ।
मुसलमानको जनसङ्ख्या १४ लाख १८ हजार ६७७ अर्थात सम्पूर्ण जनसङ्ख्याको ४.८६ प्रतिशत रहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले १२ जना मुसलमानलाई केन्द्रीय समितिमा स्थान दिएका छन् । ३११ जनाको केन्द्रीय समितिमा ३.८५ प्रतिशत मुसलमान रहेका छन् ।
त्यस्तै, नेपालमा यादव जातीको जनसङ्ख्या १२ लाख २८ हजार ५८१ अर्थात सम्पूर्ण जनसङ्ख्याको ४.२१ प्रतिशत रहेका छन् । तर लोसपाले ३११ जनाको केन्द्रीय समितिमा ३० जना यादवलाई राखेका छन् । ३११ जनाको केन्द्रीय समितिमा ९.६४ प्रतिशत यादव जातीका छन् ।
मधेस केन्द्रित पार्टी भएका कारणले मधेसीको सङ्ख्या हुनु स्वाभाविक हो तर मदेसमा पनि विभिन्न जातजातिहरू छन् । त्यो जातजातिको सङ्ख्याको आधारमा पार्टीमा समावेश गर्नुपर्ने लोसपाका एक जना महासचिवले बताए ।
उनले भने, ‘नेपाली राजनीतिमा सबभन्दा बढी समावेशी र समानुपातिकको कुरा उठाउने पार्टी लोसपा र त्यसका अध्यक्ष महत्थ ठाकुर हुनुहुन्छ तर उहाँकै पार्टी स्पष्ट रूपमा असमावेशी देखिन्छ ।’
३११ जनाको केन्द्रीय समितिमा मधेसी २०६ जना, जनजाति २२, खस आर्य २६ जना, मुसलमान १२ जना, दलित १४ जना, महिला १०८ जना र अरू अन्य समुदायका छन् । लोसपा यो कस्तो समावेशी पार्टी हो ? भनी सबैतिरबाट प्रश्न उठ्न थालेका छन् ।
देशमै ०.७५ मधेसी बाहुनको जनसङ्ख्या रहेको छ, तर अध्यक्ष ठाकुरले आफ्नो पार्टीको पदाधिकारीमा ४४ प्रतिशत बाहुन राखेका छन् । तराई मदेसमा सबभन्दा बढी जनसङ्ख्या थारुको छ, तर केवल नौ जनालाई उनले केन्द्रीय कमिटीमा राखेका छन् , जसले गर्दा पार्टीको समावेशितामाथि चौतर्फी प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस भगवान् राम र लक्ष्मण ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक
-
आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग