शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
कला

आइडिया टक : आर्ट, इन्टेरियर डिजाइन अनि आर्किटेक्चर

शनिबार, १३ असोज २०८०, १६ : २६
शनिबार, १३ असोज २०८०

आन्तरिक सजावट (इन्टेरियर डिजाइन) मा कला समायोजनको विषयलाई लिएर भदौ २४ गते (२०८०) राजधानीस्थित ‘इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)ले गोष्ठी गर्‍यो । लाजिम्पाटस्थिट होटल र्‍याडिसनमा भएको गोष्ठीमा आइडिया नेपालका अध्यक्ष कलाकार श्याम श्रेष्ठले स्वागत भाषणका क्रममा भनेका थिए, ‘हाम्रो अस्तित्व, पहिचान, आवश्यकता अनि अग्रजलाई मान्ने परम्परा नै सम्भवतः यो कार्यक्रमको मूल उद्देश्य हो ।’

गोष्ठीमा म लगायत इन्जिनियर कुमार धमला (इकोकोड नेपाल प्राइभेट लिमिटेडका निर्देशक), आर्किटेक्ट अर्जुन बस्नेत (सोनाका महासचिव), इन्टेरियर डिजाइनर तेजिता वैद्य अमात्य (कन्सेप्सन इन्टेरियर प्राइभेट लिमिटेडकी निर्देशक) र इन्टेरियर डिजाइनर सपना सापकोटा (नेस्ट फर्निचर प्राइभेट लिमिटेडकी कार्यकारी निर्देशक) लगायत वक्ता थियौँ । यस्तै सम्पदाविद् रविन्द्र पुरीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनी वास्तुकलामा नमुनाघरको अवधारणा भित्र्याउने सफल प्रयोगकर्ता पनि हुन् ।

सबैजसो क्षेत्रबाट प्रतिनिधित्व हुँदा यो कार्यक्रम घर तथा भवनको आन्तरिक सजावटको प्रवद्र्धनमा मात्र केन्द्रित रहेन । आन्तरिक सजावटको बाहिरको आवरणमा वास्तुकलाको भूमिका रहन्छ भने भित्र र बाहिर समग्रमा ललितकलाको लालित्यले भरिएको हुन्छ । राष्ट्रको मेरुदण्डका रूपमा वास्तुकला रहनेमा दुई मत छैन । वास्तुकलाभित्र घर–महलदेखि सहर र मठ–मन्दिर लगायत राष्ट्रिय सम्पदा पर्छन् । सम्पदाको डिजाइनले राष्ट्रको पहिचान अर्थात् सभ्यता र संस्कृति झल्काएको हुन्छ । यसर्थ यो बहसलाई महŒवका साथ हेरिनुपर्छ । सहर तथा बजारमा बन्ने गरेका घर व्यवस्थित मात्र होइन, कलात्मक पनि बन्नुपर्छ भन्ने सन्दर्भ उठेको हुँदा यो बहसले थोरै कोल्टो फेरेको महसुस सहभागीले गरेका थिए । 

आन्तरिक सजावटको बाहिरको आवरणमा वास्तुकलाको भूमिका रहन्छ भने भित्र र बाहिर समग्रमा ललितकलाको लालित्यले भरिएको हुन्छ । राष्ट्रको मेरुदण्डका रूपमा वास्तुकला रहनेमा दुई मत छैन ।

इसापूर्व ३००० वर्ष पहिले बनेको सिन्धुघाँटीका वास्तुकला (सिन्धुघाँटी सभ्यताको सहर व्यवस्था) व्यवस्थित मात्र थिएन, कलात्मक पनि थियो । आज विकसित देशका कुनै पनि सहर व्यवस्थित मात्र हुँदैनन्, हरेक बिल्डिङ कलात्मक मूर्तिजस्ता लाग्छन् । टाढा जानैपर्दैन, हाम्रो छिमेकी मुलुक बंगलादेशको राजधानी ढाकामा बनेका अग्ला–अग्ला घरअगाडि अनि बिल्डिङभित्र कस्ता आधुनिक मूर्ति सजाइएको पाइन्छ । आर्टिटेक्ट र कलाकार सँगै बसेर यसको डिजाइन गर्दा रहेछन् । बिल्डिङ बन्ने प्रक्रिया भएदेखि नै नाम चलेका कलाकारले आर्टिटेक्चरसँग मिलेर अजङ्गका मूर्तिलाई अजङ्गको बिल्डिङमा समायोजन गराउँछन् । बंगलादेशका अति वरिष्ठ कलाकार हमिदुज्जामान खान, जो हाम्रा कलाकार मनुजबाबु मिश्रका क्लास फेलो हुन्, उनैले एकपटक हामीलाई बंगलादेशको सहर घुमाएका थिए, जहाँ ठूला बिल्डिङभित्र अजंगका स्टिलका मूर्ति समायोजन गरिएको थियो ।

‘इन्टेरियर डिजाइन’  

इन्टेरियर डिजाइनको अर्को नाम ‘म्यान मेड इन्भायरोमेन्ट हो । यहाँनेर अंग्रेजी ‘इन्भायरोमेन्ट’ शब्दले हाम्रो वरिपरि रहेको परिस्थिति (सर्कमस्टेन्स), वस्तु (अब्जेक्ट) र अवस्था (कन्डिसन)लाई मानिसले सुन्दरतामा बदल्नु भन्ने अर्थ दिन्छ । यसैको अर्को नाम हो,  आन्तरिक वातावरण (इन्टेरियर इन्भायरोमेन्ट) । यो सामाजिक र सांस्कृतिक एकत्रीकरण पनि हो, जसले एक व्यक्ति विशेषदेखि समग्रमा समुदायको जीवनमा प्रभाव पार्ने काम गर्छ । 

समग्रमा ‘इन्टेरियर डिजाइन’ भनेको कला र विज्ञानको समिश्रण हो । यो बिल्डिङभित्रको स्पेसको प्रयोगको सन्दर्भ हो, जहाँ सजावटको सौन्दर्यको उपस्थिति हुन्छ । 

कलात्मक आन्तरिक वातावरणले व्यक्ति विशेषको सोच (मानसिकता) र कामलाई पार्ने सम्भावना रहन्छ । सुन्दर, स्वच्छ र अनुकूल घर, अपार्टमेन्ट, अफिस, सभाहल वा मन्दिर लगायत सम्पदाले मान्छेको मन सकारात्मक दिशातर्फ मोड्न मद्दत गर्छ । यसैले आज कार्यालय क्षेत्र, व्यापारिक क्षेत्र, धार्मिक क्षेत्र वा खेलकुदको क्षेत्रमा निर्माण कार्य हुँदा इन्टेरियर डिजाइनलाई जोड दिइन्छ । 

हिजोआज चलनचल्तीमा आएको इन्टेरियर डिजाइनको अवधारणा र व्याख्या १८–१९औँ शताब्दीतिर आइसकेको थियो । सुरुमा ‘इन्टेरियर डेकोरेसन’ भनिए पनि पछि  ‘इन्टेरियर डिजाइन’ भन्न थालियो । मूलतः २०औँ शताब्दीको उत्तराद्र्धमा यसले विश्व बजारमै यसरी प्रभाव जमायो कि अहिले विश्वभरका अपार्टमेन्ट, होटल, बार, रेस्टुराँ तथा अफिस आदिमा यसको प्रयोग वस्तुगत रूपमा भएको देखिन्छ । अहिले हाम्रै सहर–बजारमा खुल्ने गरेका स–साना पसलमै पनि यसको यथेष्ट प्रयोग भएको देखिन्छ । 

समग्रमा ‘इन्टेरियर डिजाइन’ भनेको कला र विज्ञानको समिश्रण हो । यो बिल्डिङभित्रको स्पेसको प्रयोगको सन्दर्भ हो, जहाँ सजावटको सौन्दर्यको उपस्थिति हुन्छ । 

छलफल

भदौ २५ को छलफलमा वास्तुकलाभित्र सौन्दर्यको सन्दर्भ घुसाइएको थियो, जस कारण सहभागीका लागि यो छलफल रुचिकर रह्यो । उपभोग्य वस्तुको सजावट र उपभोक्तालाई केन्द्रमा राखेर रेँस्टुरा, मल, दोकान आदि व्यावसायिक क्षेत्रको निर्माण गरिन्छ । ‘इन्टेरियर डिजाइन’को काम गर्न कुनै एक व्यक्तिले मात्रै सम्भव हुँदैन, किनभने यसमा मौलिकताको पनि सवाल रहन्छ । आर्किटेक्चरल इन्जिनियरिङले समेत इन्टेरियर डिजाइनमा प्रधान भूमिका खेल्छ । त्यसो हुँदा इन्टेरियर डिजाइनका लागि सरकार लगायत धेरै पक्षको भूमिका वा सहयोगको अपेक्षा रहन्छ, छलफलमा यस्ता विषय पनि उठेको थियो ।

वास्तुकला स्वयं कलाको अभिन्न अंग हो । नेपालभित्र रहेका प्राचीन कला सम्पदा (जसभित्र वास्तुकला, मूर्तिकला, चित्रकला मूल रूपमा रहेको हुन्छ) लाई हाम्रो पहिचान बनाएर विश्वमा परिचय दिने परम्परा हामीकहाँ उहिलेदेखि आजसम्म छ । यसलाई बचाइराख्ने मूल पात्रहरू (आर्टिटेक्ट, इन्जिनियर, कलाकार, इन्टिरियर डिजाइनर) बीच सम्भवतः पहिलोपल्ट हामीकहाँ विचार–विमर्श भएको हो । 

रानीपोखरीमा अवस्थिति सानो मन्दिर गुम्बज शैली वा  शिखरशैली केमा बन्नुपर्ने भनी वर्षौं बहस चल्यो तर त्यस बहसमा उपर्युक्त पात्रहरु कहिल्यै देखिएनन् । नितान्त असम्बन्धित मान्छेहरूले अर्कैको विधाका बारेमा बहस गर्ने त हाम्रो परम्परा नै बनिसकेको छ । 

अझै पनि वास्तुकलाका शिखर, गुम्बज, प्यागोडा, चैत्य वा स्तुपा शैलीभित्र नेपालीपन वा नेपाली शैली के हो भन्ने स्पष्ट हुन सकेको देखिँदैन । यसलाई बहसमा ल्याएको आज पनि देखिँदैन । यसकारण यी सन्दर्भलाई लिएर आइडिया नेपालले पहिलोपटक सान्दर्भिक र सार्थक छलफल चलाएको मान्नुपर्छ । 

प्राचीन वास्तुकला, मूर्तिकला वा चित्रकलालाई आफ्नो पहिचान बनाएर पर्यटक भित्र्याउने नीति हाम्रो देशको पनि हो । आर्किटेक्टहरूको एसोसिएसन (जसमा हजारौँ आर्किटेक्ट संलग्न छन्, जसले देशमा लाखौँ घरको डिजाइन गर्छन्) र इन्टेरियर डिजाइनरहरूको एसोसिएसनले यस्ता बहस चलाउनैपर्छ । आर्किटेक्ट अनि इन्टेरियर डिजाइनकै बीचमा पनि यथेष्ट मात्रामा समन्वय भएको देखिँदैन । 

सहर–बजारभित्रका हजारौँ घर, महल, मठ–मन्दिर स्तुपा लगायत सम्पदा हाम्रो संस्कार, परम्परा र संस्कृतिसँग जोडिएका हुन्छन्, यद्यपि यसमा कला र सौन्दर्य नै प्रमुख रहन्छ । यसबारे बुझाउन पनि यो छलफल सफल देखिएको थियो । 

वक्ताहरू

रविन्द्र पुरीले आफ्नो प्रस्तुतिमा दुई–चारवटा घतलाग्दा सन्दर्भ उठाएका थिए । उनले झन्डै २५ वर्षअघि भक्तपुरमा एउटा पुरानो थोत्रो घरलाई ७ लाख रुपैयाँमा किनेर मौलिकता बचाउँदै त्यसलाई पुनर्निर्माण तथा आन्तरिक सजावट गर्न १५ लाख रुपैयाँ खर्चेका रहेछन् । त्यसलाई नमुना घरमा बदली होटल चलाएर एक वर्षमै २५ लाख रुपैयाँ कमाएका रहेछन् । त्यहाँ परम्परागत भाँडाकुँडादेखि सुकुल लगायत परम्परागत दैनिकी झल्कने सामग्री राखिएको थियो । यस्तै, पहिले झ्यालभित्रबाट बाहिर अवलोकन गर्ने प्रचलन थियो । यही परम्परालाई प्रतीकात्मक रूपमा उनले झ्यालकै एक भाग जस्तो गरी आधुनिक सोफालाई समायोजन गरेका थिए । गोलाकार इनारको आकृतिमा धातुको बाथटब बनाइएको थियो । यसरी उनले इन्टेरियर डिजाइनमा मौलिकता घुसाएका थिए । यही परम्परागत नेपालीपनलाई नियाल्न त्यस घरमा विदेशी पर्यटक आएका थिए । 

सरकार आफैँमा परिवर्तन हुन सकेन भने प्राइभेट सेक्टरले मात्रै केही गर्न सकिन्न भन्ने मूल अवधारणासहित छलफलमा सपना सापकोटा बोलेकी थिइन् । आर्किटेक्ट र इन्टेरियर डिजाइनर समेत मिलेर जान नसकेको उनको भनाइ थियो ।

यस्तै, अर्का वक्ता अर्जुन बस्नेतले पनि टिमवर्कमै जोड दिए । मल्लकालमा बिजुलीबत्ती नभएको अवस्थामा यसै अनुसार अलग्ग प्रकारले सुहाउँदो आन्तरिक डिजाइन गरिन्थ्यो भन्ने फ्युजन कोल्याबोरेसनको सन्दर्भ उनले उठाएका थिए । 

तेजिता वैद्य अमात्यले संस्कृति, कला, भाषा र पुराना सम्पदालाई संरक्षण गर्नुपर्ने सवाल उठाएकी थिइन् । पुर्खाले बनाइदिएका यस्ता सम्पदालाई लिएर आन्तरिक डिजाइनमा मौलिकताको पहिचान दिन सकिने उनको कथन  थियो । 

यस्तै कुमार धमलाले इन्टेरियर डिजाइनको विषयमा क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङको सन्दर्भलाई जोडेका थिए । पञ्चतत्त्वलाई उदाहरणका रूपमा ल्याउँदै विदेशीको नक्कल गर्न छाडी मौलिकतामा जोड दिनुपर्ने उनको भनाइ थियो ।  कालिगडलाई थप तालिम दिन आवश्यक रहेको उनले बताएका थिए । 

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप