अनागरिकसँग प्रेम
‘तिम्रो परिवार त शिक्षित हुनुहुन्छ जस्तो लाग्यो ।’
ब्याचलर पढ्दै गरेकी र जापान जानको लागि जापानी भाषा पढ्न नवलपरासीबाट बुटवल आएकी मधेसी समुदायकी उसलाई मैले भने ।
म पहाडी समुदाय त्यसमा पनि खस आर्यको भएर होला । जनजाति, मधेसीलगायत अरु भाषाभाषी र धर्मालम्बीको भए अझ तिनीहरुको समाज, रहनसहन र संस्कृति बुझ्न मन पर्छ । र, त्यस्ता साथीहरु पाउँदा घन्टौसम्म नि यही बिषयमा गफिन रुचाउँछु पनि ।
चौढ पन्द्र वर्षको उमेरमै विवाह गर्दिने उक्त समुदायबाट आएकी उसको परिवारले घर बाहिर पढ्न पठाउनु अझ त्यो पनि १५÷२० लाख तिरेर विदेश पठाउनु मलाई ठुलै कुरा जस्तो लाग्यो ।
‘त्यति पढेलेखेका त हुनुहुन्न तर बुझ्नुहुन्छ । उहाँलाई छोरीमाथि विश्वास छ ।’ नेपालीभाषी हैन भन्ने प्रष्ट छुट्टिने उसकै टोनमा नेपाली मै उसले जवाफ दिइ । हाम्रो संवाद अघि बढ्दै गयो । मैले सोधेंः
–समाजले त कुरा काट्छ होला है ।
–समाजले त जे पनि भन्छ नि, आफूले गलत गर्न भएन ।
–तिम्रो घरमा विवाहको कुरा चलेन ? (अघिदेखि गुम्साएर राखेको कुरा फ्याट्ट बोलिहाले ।)
–कुरा त चलाउँछन् नि । ती आफन्तहरुलाई नै चिन्ता हुन्छ । केटा हेर्न जाने भनेका थिए, म त सादीको कुरा चल्दा खानै नखाइ बस्दिन्थे । –उ अलिअलि रिस म माथि देखाउँदै भन्दै थिइ ।)
–केटा हेर्न जाने अरे, केटी पनि केटा हेर्न जान्छ र ? (हाम्रो सस्कृतिअनुसार केटा चाहिँ केटी हेर्न जान्छ तर मधेस तिरको फरक संस्कृित सुन्दा अचम्म लाग्यो ।)
–हो नि हाम्रोतिर केटी केटा हेर्न जान्छ ।
.....
यसरी बाटोमा हिँड्दै गफिदा केही आनन्द त लागेको थियो तर कति चाँडै छुट्टिने बेला भैसकेछ । मलाई उसँग अझै समय बिताउन मन थियो । त्यसैले एकैछिन चिया पिउने प्रस्ताव गरे । सुरुमा केही असहज जस्तो माने पनि उ चिया पिउन राजी भइ ।
‘दिदी दुई कप मिठ्ठो चिया बनाउनु है’ भन्दै हामी खाली टेबल तिर बस्यौं ।
मैले चिनी कमवाला चिया अर्डर गरे । तर मेरो कुरामा प्रतिकार जनाउँदै उसले आफूलाई चाहिँ चिनी बढीवाला चिया अर्डर गरी ।
‘मधेसतिर चिनी बढी खान्छन् है ?’ पहिला मधेसका केही ठाउँ जाँदा त्यो कुरा मैले अनुभव गरेको थिएँ ।
‘चियामा सख्खर बढी भएन भने त के चिया भन्ने त ?’ उसले जवाफ दिइ ।
चिनी कम बढी जे भए पनि कुरा चाहिँ दुबैको मुखबाट गुलियो नै निस्किएको थियो।
उ सँगको रमाइलो कुराकानीपछि हामी त्यहाँबाट छुट्टियौं र आआफ्नो कोठातिर लाग्यौँ ।
....
उ सँगको त्यो पहिलो भेटमा उसलाई भन्दा बढी म मधेसलाई बुझ्न खोजे । उ पनि एकदमै खुसी देखिन्थी ।
पछि पछिको भेटमा कतिबेला त मजाक पनि गर्न खोज्थी । तर म भने उसको त्यो मजाकलाई भन्दा केही गम्भीर कुरा नै गर्न रुचाउथे । म पनि खुसी थिएँ स किनकि मैले पहिलो पटक मधेसी साथी पाएको थिएँ ।
त्यसपछि कल मेसेजमा पनि उसँग निरन्तर कुरा भैरह्यो । उ मसँग अझ बढी खुल्न थालेकी थिई ।
उसको आमा तीन चार वर्ष अघि नै बित्नु भएको रहेछ । बुवा बसचालक । अनि बुवाले कान्छी श्रीमती विहे गर्नु भएको रहेछ ।
यसरी सुरुमा सवै कुरा खुलेर सेयर गर्थी । उसको परिवार बारेमा गहिरिएर प्रश्न गर्दा उसले के सोच्थी खै ?
अनि भन्थी, ‘मलाई फेम्लीको बारेमा सबै कुरा भन्न मन लाग्दैन ।’
....
‘पिङ्की आज भेटम है ।’
‘भाक’ ।
उसले रिसाएर जबाफ दिई । अक्सर मैले केही कुरा भन्दा चित्त बुझेन र रिस उठ्यो भने ‘भाक’ भनेर जबाफ दिन्थी । म उसको त्यो रिसरुपी ‘भाक’ शब्द मा छुट्टै रस भेट्थे । र, उसलाई उक्त शब्द भन्न अझ बढी उक्साउथे । अनि कति बेला कतिबेला धेरै जिस्काउदा रिसाएर फोन काटिदिन्थी ।
अनि म फकाउन फिटिक्कै नजान्ने केटोले फकाउँदा पनि उत्तिखेरै रिसलाई घरको पंखामै झुन्ड्याएर फक्की हाल्थी ।
‘कैसे हो विष्णु जी ?’ एकदिन उसले ठट्यौली पारामा हिन्दीमै सोधी ।
‘तिम्रै मायाले बाँचेको छु ।’ हिन्दी बोल्न नजान्ने मैले ठट्यौली पारामै नेपालीमा जवाफ दिएँ ।
यतिबेला हामी आम्ने साम्ने थियौं । साँझको बेला आकाशे पुल बाटो काट्न कम र सिंगल भएकाहरु साँझको बेला फ्रेस हावा खान र डेटिङ स्पटजस्तो बनेको लाग्थ्यो ।
बुटवलको आकासे पुल भरिभराउ थियो । तर हामी यसरी कुरा गरिरहेका थियौं कि मानौं त्यहाँ हामी मात्र छौं र कसैलाइ देखिरहेका छैनौ । हामी हाम्रै प्रेममय कुराकानीमा मस्त डुबिरहेका थियौं ।
–पिङ्की
–बोलो
–तिम्रो घरमा मलाई स्वीकार्छन् कि नाई ?
–‘भाक’
–म हैन के, पहाडीसंग विवाह गर्दिन्छन् कि नाइ भनेको ।
–कोही कोही लभ पारेर सादी त गर्छन् बट आफै गर्दिन्नन् । आफ्नै जात मा गर्नुपर्छ ।
–दाइजो कति माग्छन् नि केटाले ?
–लड्काको स्तर हेरिकन हुन्छ । थोरैमा पनि पाँच लाख र बाइक त चाहिन्छ नै ।
–मलाई कतिसम्म दिन्छन् नि ?
–भाक, म दहेज माग्ने केटासँग सादी गर्दैन ।
–तर पिङ्की, तिम्रो र मेरो विवाह हुने भयो भने तिमी मेरो घर माग्न आउने कि म तिम्रो घर माग्न जाने ?
–‘भाक’ ।
यस्तै, रमाइलो कुरा गर्दै थियौँ । छुट्टिने बेला केही गम्भीर कुराहरु पनि भयो । धर्तीमा सूर्यको उज्यालो हराएर सडक बत्तिले बाटो झलमल्ल थियो, आकाशमा तारा देखिन थालिसकेका थिए । हामी आउँदा भरिभराउ आकाशे पुल अब छिटपुट छिटपुट मान्छे मात्र बाँकी थिए । सडकमा गाडीको जाम पनि घटिसकेको थियो । हामी भने मज्जाले गफिएका थियौं ।
ऊ बोल्दा बोल्दै ट्वाक्क रोकिई र गोजीबाट मोबाइल हेर्दै झसंग हुँदै बोली, ‘अरे अठ् बजगइल । आब जाएके परि ।’
‘के भो त, तिम्रो रुम यही त हो । बरु म पो आधा घन्टा हिँडेर जानुपर्छ’ भन्दै म रोक्न कोसिस गर्दै थिएँ । तर, उसले मानिन । हामी आआफ्नो कोठातिर लाग्यौँ।
यसपालीको भेटमा उसले अझ केही रहस्यहरु खोलेकी थिइ । उसले जापानी भाषा पढेको एक बर्ष भएको रहेछ । तर, उसको नागरिकता नबनेको कारण एप्लाइ पनि गरेकी रहिनछे । उसको बुवाको जन्मसिद्ध नागरिकता र आमाको बंशज नागरिकता रहेछ । तर, आमाको भने निधन भैसकेको थियो ।
म उसलाई सहयोग गर्न नेपालको संविधान पल्टाउँछु । त्यसमा स्पष्ट रुपमा जन्मको आधारमा नागरिकता भएका सन्तानलाई बालिग भएपछि बंशजको नागरिकता दिने र आमाको नामबाट नागरिकता दिने कुरा उल्लेख थियो । त्यसैमा टेकेर उसलाई संविधानको धाराको बारेमा प्रवचन दिन्छु ।
उसले भनेकी थिई, ‘खै कति पटक प्रशासनमा गएँ, नागरिकता विधेयक पास भएपछि मात्र नागरिकता बन्छ रे । अहिलेको राष्ट्रपतिले साइन गरेनन् । नयाँ राष्ट्रपति आउँछ अनि मात्र विधेयकमा साइन गर्छ कि ?’
राजनीतिमा चासो राख्ने मलाई नागरिकता विधेयकमा के व्यवस्था छ भन्ने कुरै थाहा थिएन । म त्यही संविधानको आधारमा एकोहोरो रटान लगाइरहेको थिएँ कि उसले संविधानअनुसार नागरिकता पाउनुपर्छ । उसलाई प्रशासनमा गएर फेरि बुझ्न आग्रह गर्थे । तर, उ सायद आशा मारिसकेर होला मेरो कुरा अटेर गर्थी ।
.....
एकपटक ऊ एक्कासी गायब भई । तीन चार दिनसम्म उ सम्पर्कमा नै आइन । पिङ्की भनेर मेसेज गरे, रिप्लाइ आएन । कल गर्दा पनि रिसिभ भएन ।
पछि आफैले फोन गरि । अनायास सम्पर्कविहीन हुँदा मैले गाली गरे । उसले म टेन्सन हुँदा कसैको फोन उठाउँदिन भनेर जवाफ दिइ ।
‘के भएको छ र तिमीलाई, कुरा सेयर त गर ।’
उसले ‘कुछ नहि, फेम्ली प्रोबलम’ भनेर जवाफ दिइ ।
‘आज भेट हुनुपर्छ है ।’
यो भेटको प्रस्ताव उसले गरेकी थिइ ।
‘के हो पिङ्की, आज त तिमीले पो भेट्न बोलायो त । प्यार भयो कि क्या मसँग ?’ उसलाई जिस्काएँ ।
उसले सदाझँै ‘भाक’ भनेर जवाफ दिइ ।
उसले छठ पर्वको प्रसाद तिलको लडडु, भुजाको लड्डु, तेलरोटी लगायत ल्याएकी थिइ । हामी तेस्रो पटक भेट भएका थियौं । उही पुरानै ठाउँमा ।
उसले यो भेटमा अझ बिस्तृत तरिकाले मलाइ केही नयाँ कुरा सेयर गरि ।
...
आमाको मृत्युपछि दुई तीन वर्ष डिप्रेसनमा नै गएको र अहिले पनि बुवाले खासै चासो नराख्ने । आमाको अझै पनि याद आउँछ । उसले एक्लो फिल गर्ने गरेको र आफ्नो कोही छैन भन्ने फिल आउने गरेको भनेर त्यो पीडा मसँग पोखी ।
मैले उसलाई सकेसम्म मोटिभेट गर्न खोजे । तर, मेरो सल्लाह प्लास्टिकमा पोको पारेर फोहोरसंगै डस्टबिनमा मिल्काइ ।
पछि पछिको भेटमा पनि उ सबै पीडा लुकाएर मसँग बनावटी हाँसो देखाउन खोज्थी । बनावटी हैन, उसको असली चेहरा मलाई देखाओस् भन्ने चाहन्थे । तर उ खोतल्थी आधाउधी कुरा । सबै कुरा सेयर गर्न मन लाग्दैन भन्थी ।
मैले जति सम्झाउन खोजे पनि पार लागेन । पछि पछि त साता दिन जति हराउने उसको रोगै भयो भन्दा हुन्छ । कल, मेसेज रिसिभ गर्दिनथी । जब उ केही फ्रेस हुन्थी अनि उसको हँसिलो मेसेज आउँथ्यो, ‘किधर हो विष्णुजी ?’
म बुझ्छु उसको मानसिक समस्या कति जटिल समस्या हो भनेर । उसलाई आमाको अभाव खड्किएको थियो । बुवाबाट उसले स्नेह कम, घृणा बढी भोगेकी थिइ । उसलाई एक्लो फिल भएको थियो । उसलाई लाग्थ्यो, मेरो कोही छैन ।
अझ सबैभन्दा ठूलो कुरा उसको बाहिर जाने सपना नागरिकता नबनेको कारण तुहिएको थियो । उसलाई त्यस्तो अवस्थामा देख्दा मैले धेरै मोटिभेसन गरें । हौसला दिएँ । तर, त्यसले रत्तिभर पनि फरक परेको थिएन ।
म बुटवलको बसाइँबाट विश्राम लिएर केही समय गाउँ गएको थिए । उ सँग आकाशे पुलमा तारा गन्दै प्रेममय कुरा नगरेको पनि करिब तीन महिना भैसकेको थियो । मेसेजको रिप्लाइ र फोन त उसले रिसिभ नै गर्ने थिइन । उ केही गम्भीर समस्यामा छे भन्ने आकलन गरे पनि मैले गर्न सक्ने केही थिएन ।
‘विष्णुजी, का हालचाल बा ?’ उसले कल गरेर अवधीमै सोधी ।
‘ठिक बा’, उसले सिकाए झै मैले हाँस्दै जवाफ दिएँ ।
उसलाइ यसरी हराउने काम नगर भनेर पटक पटक गाली गरें । तर, उसले हाँसेरै जवाफ दिई, ‘मलाई केही हुन्न के विष्णुजी, म त यस्तै हो । अब बानी पार्नुहोस् ।’
उसले यसपटक केही आश्चर्यजनक प्रश्न सोधी, ‘इन्डिया कोही चिनेको हुनुहुन्छ ? त्यहाँबाट भारतीय आधार कार्ड लिएर भारतीय नागरिक बन्ने अनि नेपालको केटासँग विवाह गरेर केही समयपछि नेपालमा नागरिकता लिन मिल्छ भनेर भन्दै हुनुहुन्थ्यो एकजनाले । के त्यस्तो मिल्छ र ?’
उसको यो कुराले म निशब्द भएँ । अनागरिक हुनुको पीडा के हामी पहाडी खस आर्य समुदायका अनि नेपाली हुँ भन्नेलाई कुनै परिचयपत्र को आवश्यकता नै नपर्ने हामीले बुझ्न सक्छौ त ?
राष्ट्रपति रामचन्द्र पौडेलले धेरै समयदेखि अड्किएको नागरिकता विधेयक पास गरेसंगै अन्ततः उसको नागरिकता बन्ने बाटो खुलेको थियो ।
नागरिकता विधेयकको कसैले स्वागत त कसैले विरोध गरिरहेका थिए । धेरै विरोध भएर पछि अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दियो भने नागरिकता बन्ने बाटो बन्द हुने पनि डर थियो । त्यसैले, जानकारी गराउन उसलाई कल गरे । तर उसको फोन अफ थियो । मेसेन्जरमा मेसेज गरे तर उक्त मेसेज डेलिभर भएन । तीन चार दिनसम्म कल गरे तर फोन अफ नै थियो ।
राती खाना खाइसकेपछि ओछ्यानमा पल्टिएर फेसबुक चलाइरहेको थिएँ । उसको नाम सर्च गरेर प्रोफाइलमा गएर हेर्दा एउटा पोस्ट देखेपछि म झसंग भएँ ।
‘प्लिज फर्केर आउ’ भनेर कसैले एउटा पोस्ट गरेको थियो । न त त्यो पोस्ट मा कुनै फोटो थियो, न त पोस्ट खुलाएर नै लेखेको थियो । अनि पोस्टमा ट्याग पनि एउटालाई मात्र नगरेर छ सात जनालाई गरिएको थियो ।
अनायसा मनमा नकारात्मक कुरा आउन थाल्यो । नास्तिक मान्छे त्यो बेला मलाई लाग्यो कि म नास्तिक रहिनछु । उसको प्रोफाइलमा अरु कुनै पोस्ट थिएन । उक्त पोस्ट ओपन गर्दा कमेन्टमा कसैले पिङ्कीलाई नै ट्याग गरेर ‘रेस्ट इन पिस’ लेखेको देखेपछि करिब करिब उ यो संसारमा नरहेको आकलन गरे ।
त्यो रात उक्त खबर थाहा पाएपछि मेरो मुटुको धड्कन तीब्र गतिमा बढ्यो । आँखाबाट आँसु टिलपिल टिलपिल भयो । खाटमुनिको अम्खोराबाट घटघट पानी पिएँ । अनि सबै कुरा बिर्सिदै निदाउन कोसिस गरे । तर, उ सँगका ती रमाइला किस्सा आँखा वरपर नाचिरह्यो, उसको बोली कानमा गुन्जिरह्यो । निद्रादेवी मसंग टाढिइन् ।
उसको मृत्युको अपुष्ट खबर सुनेको चार पाँच दिन भएको थियो । आधिकारिक रुपमा उसको निधन भएको समाचार थाहा नभए पनि म मानसिक रुपमा उ बितिसकेको भन्ने लगभग ढुक्क नै थिएँ ।
अपुष्ट खबरको पाँचौ दिन । बाटोमा हिँड्दै मोबाइल हेर्दै थिए । कतिबेला कतिबेला ठेस पनि लाग्थ्यो तर मोबाइल हेर्न त कहाँ छोड्थे र ? त्यस्तै मेसेन्जरमा मेसेज स्क्रोल गर्दै थिएँ । केही तल स्क्रोल गरेपछि पिङ्कीको आइडीको फोटोको तल हरियो बत्ती बलेको थियो अर्थात् उ अनलाइन थिइ ।
अब उ जिउँदै छे भन्ने आशा बढेर गयो । त्यसबेला मेसेज गर्न डर लाग्यो । के भनेर मेसेज गर्ने भन्ने अक्कमक्क भएँ । अर्को दिन पनि ऊ धेरै लामो समयसम्म अनलाइन थिइ । मैले डराइ डराइ ‘हाइ’ भनेर मेसेज गरे । मेसेज डेलिभर भयो । मेसेज सिन पनि भयो । केही समय पछि ‘उम्म...’ भनेर मेसेज आयो ।
त्यो सन्देशले मेरो हात डरले काँपिरहेको थियो । म अब के भन्ने भन्ने दोधारमा थिएँ । यत्तिकैमा उताबाट सिधै कल आयो । एक जना केटा मान्छेको ‘हेलो’ भन्ने शब्द सुनेपछि मैले च्वाट्टै फोन काटे ।
‘प्लिज कल रिसिभ गर्नु न,’ उसले अनुरोधात्मक मेसेज आएपछि मैले आफै कल ब्याक गरे । उसको कुरा अनुसार उ पिङ्कीको बोइफ्रेन्ड रहेछ । पिङ्कीले सुसाइड गरेको कुरा उसले सुनायो ।
...
उसले आत्महत्या गरी तर मलाई लाग्छ, त्यो आत्महत्या नभएर हत्या थियो । उसको परिवारका सदस्यको घृणाले उसलाइ मार्यो । राज्यले अनागरिक बनाएरै उसको हत्या गर्यो । बिचरी बालिग भएर पनि नेपाली नागरिक भएर मर्ने सपना अधुरै रह्यो । नेपालले आफ्नो नागरिक गुमाएन । उसले एक अनागरिक भएरै देहत्याग गरि ।