म मनको कि मन मेरो ?
कहिलेकाहीँ मन नमज्जाले भट्किन्छ । आत्तिन्छ त्यसै त्यसै । संसारै अँध्यारो भएजस्तो लाग्छ । कहिलेकाहीँ खुसी पनि हुन्छ । फुरुङ्ग पर्छ । संसारका हरेक चीज सुन्दर लाग्छन् ।
दुवै अवस्थामा गहिरिने प्रयास गर्छु । परिस्थिति एकै हुन्छन् । तर, एकै परिस्थितिमा पनि मानसिक अवस्थाचाहिँ आफैँ फेरिइरहेको हुन्छ ।
घर, साथीभाइ, नोकरी, परिवार या जति जति मैले जीवनमा चीजहरू जोडेँ, सबै खुसीकै निम्ति त हो । जे जे काम गरेँ, खुसी हुनकै लागि त हो । आखिर खुसीकै पछि दौडेको त हुँ म ।
खुसी हुँदा यी सबै चीज राम्रा पनि लाग्छन् । तर, खिन्न हुँदा यिनै चीज देखेर दिक्क लाग्छ । खिन्न हुन्छु । बेकार लाग्छ जीवन ।
मान्छे चाहन त चाहन्छ सधैँ खुसी रहन । तर, कहाँ खुसी मात्रै रहँदो रहेछ र ? दुःख पनि आउँदो रहेछ । चक्रजस्तो । सुख र दुःखको धार भएको चक्र । यस्तो चक्र, जुन एकै तरिकाले घुम्दैन । वशमा हुँदैन मेरो । जथाभाबी घुम्छ र घुम्दै जाँदा कहिले सुखको धारले लाग्छ त कहिले दुःखको ।
भन्नेहरूले त भनिदेलान्, “कहिलेकाहीँ दुःखको अनुभूति नहुने हो भने जीवन के जीवन ! कहिलेकाहीँ आउने दुःखले नै सुखलाई चिन्न सहयोग गर्छन् । दुःख नै नहुने हो भने सुखको के महत्त्व ?”
तर, आफूलाई चित्त बुझाउनका निम्ति या आफू सही छु भन्नका निम्ति प्रयोग गरिने यस दर्शनलाई अलिकति पन्छाएर हेर्ने हो भने मान्छेले अथवा भनूँ सबै प्राणीले सुख नै चाहन्छन् ।
अथवा मानिलिऊँ कहिले दुःख र कहिले सुख नै चाहन्छन् रे !
तर, प्रश्न उठ्छ– आफ्नो चाहनाअनुसार नै हुन्छ त ?
मैले खुसी चाहेको बेलामा म खुसी हुने र दुःख चाहेको बेलामा दुःखी हुने हुन्छ त ? सामान्यतया यस्तो हुनै सक्दैन ।
दैनिक जीवनमा एकै परिस्थितिमा रहँदा र एउटै दैनिकी निर्वाह गरिरहँदा पनि यसो ध्यान दिन्छु आफ्नै जीवनमा, कहिलेकाहीँ म खिन्न भइरहेको हुन्छु भने कहिले खुसी । यो आफैँ भइरहेको हुन्छ । मैले खुसी र खिन्नताका बारेमा सोचिरहेकै हुँदिन तर भइरहेको हुन्छु । परिवर्तन भइरहेको हुन्छ, मभित्र आफ्सेआफ ।
कहिले मलाई हरेक बोली मीठा लाग्छन् । न भोक, न शोक र न रोगको अवस्थामा हुन्छु । जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई सहजै पार गर्न सक्छु भन्ने हिम्मत जागिरहेको हुन्छ । कहिले भने सामान्य काम गर्न पनि सक्दिनँ कि जस्तो लाग्छ । कोही मन पर्दैनन् । केही मन पर्दैन । वाक्क लाग्छ त्यसै त्यसै ।
....
आज पनि बिहानैदेखि मलाई वाक्क लागिरहेको थियो । खिन्न थियो मन । परिवर्तन भएको थिएन परिस्थिति, उही नै थियो । परिवर्तन भएको थियो त अलिकति समय, बस् । सबै चीज जस्ताको तस्तै छन्, तर मन खिन्न छ– मेरो अवस्था यस्तो थियो ।
मलाई थाहा छ, मन खिन्न हुँदा या दुःखी हुँदा त्यसको कारण खोज्नुपर्छ । त्यसको मूल कारणसम्म पुगेपछि समस्या समाधान हुन्छ । दुःखको मूलमा पुगेर सकारात्मक सन्देश दिनुपर्छ । दुःखको मूलमा पुग्न सकिएन भने पनि आफूलाई मन पर्ने कुरा गर्नुपर्छ । मन पर्ने गीत सुन्नुपर्छ, मन पर्ने मान्छेसँग कुरा गर्नुपर्छ, मन परेको कुनै चीज गर्नुपर्छ । केही नलागे आफूलाई खुसीको अनुभूति भएको समय याद गर्नुपर्छ । सुखद् भविष्यको कल्पना गर्नुपर्छ । मनलाई सकारात्मक सूचना दिनुपर्छ ।
तर, आज खिन्नताको मूल खोज्दै गर्दा मैले आफूलाई अलिक फरक प्रश्न गरेँ । ती प्रश्न आफैँलाई अलिक अनौठा लागे ।
प्रायः मैले ‘म के कुरामा असन्तुष्ट छु’, ‘कसैले मलाई केही भनेको कारण खिन्न भएको हुँ कि’ या ‘म के चाहन्छु र के पाइनँ’ जस्ता कुरा खोतल्ने कोसिस गर्थेँ ।
आज मलाई ‘मलाई खिन्न बनाउने यो मनचाहिँ हो के आखिर’ भनेर खोज्न मन लाग्यो । जान्न मन लाग्यो ।
“आखिर कहाँ छ मन ?” तपाईंले देख्नुभएको छ र ! मैले पनि छैन ।
“कहाँ छ ? कस्तो छ ? के हो ?” हँ, आखिर के हो मन !
“त्यो मान्छेको मन त यस्तो कालो छ कि, कति निर्दयी छ कुरै नगरौँ !” अस्ति मेरो साथीले एकजना मान्छेका बारेमा यो कुरा कसरी भनी ? त्यो मान्छेको मन कालो र निर्दयी छ भनेर उसलाई कसरी थाहा भयो ? के उसले देखी ?
ढुक्कै भन्न सकिन्छ, पक्कै देखेकी छैन । किनभने मनको रङ नै छैन । मनलाई मापन गर्ने मापदण्ड नै छैन । निर्दयीभन्दा ‘कति निर्दयी’ भन्ने प्रश्न उठ्छ । पूर्व दिशा भनिरहँदा ‘कहाँबाट पूर्व’ भनेजस्तै । जहाँबाट पूर्व भनिन्छ, त्यो पनि कतैबाट पूर्व नै हो ।
त्यसैले पूर्व–पश्चिम या उत्तर–दक्षिण आफूलाई चाहिने स्थानलाई केन्द्र बनाएर मापन गरिन्छ, त्यति हो । तर, ‘निर्दयी’ को कुनै केन्द्र छैन । को भन्दा निर्दयी ? उसले आफूलाई केन्द्र बनाएर भनेकी हो भने पहिलो कुरा त ऊ आफैँ ‘निर्दयी’ छे । नभए निर्दयी भनेर कसरी जानी ?
“उसको मन त कति राम्रो छ, कति दयालु छ ।” मैले पनि धेरैपटक भनेँ । तर, कसरी भनेँ ? के मैले मन देखेँ ?
‘कति राम्रो, कति दयालु, कति ह्याण्डसम, कति गोरो, कति घमण्डी’ आदि भनिरहँदा राम्रो या गोरोको मापदण्ड आखिर के ! आफैँ भित्रको एउटा केन्द्र ।
के त्यो केन्द्र आफ्नै मन हो ? तर, मन...! अचम्म, के हो मन देखेको छु मैले ? देख्नु भएको छ तपाईंले ?
“अहँ, आफ्नै मन त देखेको छैन भने अरूको मन...!” तपाईंले पनि पक्कै यस्तै भन्नुहुन्छ, मैले जस्तै ।
“एउटा रहस्यमय चीज पो हो रहेछ मन त !” मलाई लाग्यो ।
हुन पनि शरीर काटेर खोज्ने हो भने देखिँदैन मन । तर, छ न त छ ! नभए म कसरी कहिले खिन्न र कहिले खुसी हुन सक्छु !
मैले आफ्नै जीवनको विगत टटोलेँ ।
मलाई लाग्यो, म मैले चाहेको अलि अलि त हुँ तर सबै होइन ।
अलि अलि यस कारण कि मैले जे जे गरिरहेको छु, धेरैजस्तो मेरै चाहना हो । मैले गर्छु भन्ने सोचेँ र गरेँ ।
सबै होइन, यस कारण कि मैले चाहेजस्तो म होइन । चाहेजस्तो म त अहिलेको मभन्दा धेरै माथि छ । धेरै धेरै माथि...। परिवार, समाज र देश नै मैले चाहेजस्तो पूरै होइन । र, मैले चाहेजस्तो बनाउन मैले सक्दिनँ । सकेको भए अलिक फरक हुन्थे सबै ।
मैले आफ्ना नातेदारलाई हेरेँ, समाजका अन्य मानिसलाई हेरेँ र हेरेँ अन्तिममा देशका अहिलेका प्रधानमन्त्रीलाई । प्रधानमन्त्रीलाई किनभने उनी देशको सर्वोच्च पदमा छन् र हजारौँ मानिसका सपना हुन् ।
प्रधानमन्त्री आफैँले आफूलाई चलाउँछन् त भन्ने प्रश्नको उत्तरमा उनी पहिलो पटक प्रधानमन्त्री भएको समयमा पुगेँ ।
आन्दोलन सकेर भर्खरै चुनाव जितेर प्रधानमन्त्री हुँदा उनमा जुन जोस थियो, देशलाई जुन परिवर्तन गर्छु भनेका थिए, ती पूरा भए त ? उनले सोचेजस्तै भयो त ?
सबैलाई थाहा छ, अहँ भएन । केही केही भएजस्ता भए तर भएनन् । कति उनको विपरीत पनि भए ।
यसरी सोच्दै जाँदा मलाई लाग्यो, आखिर मान्छे आफैँ चलिरहेको छ कि मनले चलाइरहेको छ ?
अनि यो प्रश्न आफैँलाई सोधेँ, “मनले मलाई चलाइरहेको छ या मैले मनलाई ?”
अथवा भनूँ, “म मनको कि मन मेरो ?”
मेरो मन भनूँ भनेँ मेरो इच्छाविपरीत पनि भइरहेको हुन्छ । खुसी हो भन्दा खिन्न भइरहेको हुन्छ । म मनको भनूँ भनेँ मनलाई केही हदसम्म चलाउन पनि सकिन्छ ।
‘राम्रोसँग सुत्नू, गलत सङ्गतबाट बच्नू, सकारात्मक सोच्नू...’ यस्तो भन्नुको अर्थ मनलाई म अनुसार चलाउनु भनिएको न हो ।
फेरि मैले मनलाई पूरै चलाउन पनि सक्दिनँ । सक्ने भएको भए त म कहिल्यै दुःखी नहुनुपर्ने । जीवन मैले भनेजस्तै हुनुपर्ने ।
त्यो पनि हुँदैन ।
यी कुरा सोचिरहँदा मलाई एकजना गुरुको दर्शन फ्याट्ट याद आयो, “मेरो विचारमा विचारविहीन अवस्थामा रहने कोसिस गर्नुपर्छ ।”
आज मैले थाहा पाएँ, यो विवादास्पद कुरा थियो आफैँमा । ‘मेरो विचारमा..’ र ‘विचारविहीन..’ दुई विपरीत कुरा थिए । विचारविहीन रहने विचार पनि आफैँमा एउटा विचार नै थियो ।
आफैँसँग जोडेँ, “मैले जसलाई ‘म’ भनिरहेको छु, मन भएन भने के त्यो ‘म’ रहन्छ ? या ‘म’ भइनँ भने मन रहन्छ ?”
झन् रहस्यमयी बनेको अनुभव भयो आफैँलाई । गुत्थी झनै उल्झेको अनुभव गरेँ ।
“हैट्, यसरी सोच्दै गयो भने त ‘कन्फ्युज’ झनै बढ्दै जान्छ !” सोचेँ ।
“कतै मलाई मानसिक समस्या त हुन लागेन ? यसरी कसले सोच्छ ?” डर लाग्यो आफैँसँग ।
यसभन्दा अगाडि सोच्ने आँट नै आएन । थाहा छैन, अझै सोच्दै गएको भएँ म कुन निचोडमा पुग्थेँ । के थाहा...?
एउटा प्रश्न भने अब सधैँ गुन्जिरहने भयो– “म मनको कि म मेरो ?”
तपाईंलाई चाहिँ के लाग्छ ?
कोहलपुर, बाँके