आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश समाचार

मानिस र पशु चौपायाको ज्यान लिएका १३ वटा पाटे बाघ खोरमा

शुक्रबार, १२ असोज २०८०, १० : ४५
शुक्रबार, १२ असोज २०८०

बारा । ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरमा भदौ १३ गते दिउँसो ४ बजे पाटे बाघ गाउँमा छिरेर कान्छालाल दोङको ज्यान लियो । दोङको ज्यान लिने बाघलाई भदौ १६ गते पर्सा राष्ट्रिय निकुञ्जले ‘डार्ट’ विधिबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखेको छ ।

६ महिनाअघि ठोरी गाउँपालिका–४ मा स्थानीयको खोरमा पसेर १२ वटा बाख्रा र २ वटा पाडो खाने बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहयोगमा निकुञ्जले चैत २२ मा नियन्त्रणमा लिएर खोरमा राखेको छ ।

त्यसैगरी असार २३ मा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौलीमा पशु चौपाया खाने बाघ पनि अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोरमा छ । चितवन राष्ट्रिय निकुञ्जको खोरमा ठाउँ अभाव भएपछि सो बाघलाई पनि पर्सा निकुञ्जमा ल्याइएको हो  ।

p4

२ वटा बाघ राख्ने क्षमता भएको पर्सा निकुञ्जको खोरमा अहिले ३ वटा पाटे बाघ छन् । क्षमताभन्दा धेरै बाघ राख्दा बाघको खोर असाध्यै दुर्गन्धित भएर नजिकै जान नसक्ने अवस्था छ ।  

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक वन संरक्षण अधिकृत सूर्य खड्का बाघले अब कहीँ कतै मानवीय नोक्सान पु¥याएको सूचना पाए त्यस्तो बाघलाई ल्याएर राख्ने ठाउँ नभएको बताउँछन् ।

पर्सा निकुञ्जमा ३, चितवन राष्ट्रिय निकुञ्जमा ५, बर्दियामा ४ र बाँके राष्ट्रिय निकुञ्जमा १ गरी देशभरका खोरमा १३ वटा पाटे बाघ छन् । निकुञ्जसँग जोडिएका बस्तीमा छिरेर मानिस तथा पशु चौपायको ज्यान लिएको कसुरमा यी बाघलाई खोरमा राखिएको हो ।

p5

सहायक वन संरक्षण अधिकृत खड्का एकपटक मानिसको ज्यान लिएको बाघलाई आजीवन खोरमै राख्नुपर्ने भएकाले ठाउँको अभाव भएको बताउँछन् । ‘पशु चौपाया खाएको बाघलाई अवस्था हेरेर जंगल छोडन मिल्छ तर एक पटक मानिस खाएको बाघलाई आजीवन खोरमा राख्नुपर्छ, छोड्न मिल्दैन,’ खड्काले भने, ‘यस्तो बाघलाई जंगलमा छोड्दा फेरि मानिसलाई आक्रमण गर्छ ।’

सन् २०२२ को गणनामा देशभर ३५५ वटा पाटे बाघ छन् जसमा पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै ४१ वटा बाघ छन् । ठोरी गाउँपालिका वडा नं ५ का स्थानीय तथा सुवर्णपुर मध्यवर्ती क्षेत्रका अध्यक्ष भिमबहादुर पाख्रिनले मान्छेको ज्यान लिने बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु २ वटा पाटे बाघ गाउँमा छिरेर प्रत्येक दिन पाडा, बाख्रा, भैंसी खाएर आजित बनाएको बताउँछन् ।

‘हामी एकदमै त्रासमा छौँ, गाउँमा दिउँसै बाघ छिरेर कहिले भैंसी खाइदिन्छ, कहिले बाख्रा,’ पाख्रिनले भने ।

p9

पर्सा निकुञ्जमा सन् २०१८ को राष्ट्रिय बाघ गणनामा १८ वटा बाघ रहेकोमा ५ वर्षको अन्तरालमा बढेर दोब्बरभन्दा धेरै ४१ वटा पुगेको छ । बाघको संख्या वृद्धि भएको तुलनामा बाघको आहारा प्रजातिका वन्यजन्तु, घाँसे मैदान, कृत्रिम पानी पोखरीहरुको व्यवस्था भए पनि  मध्यवर्ती क्षेत्र अतिक्रमणका कारण बाघको बासस्थान क्षेत्र भने साँघुरिदै गएको छ ।

पर्सा निकुञ्जले खोरमा रहेका बाघलाई अहिले एउटा बाघलाई दैनिक ५ किलोको दरले भैंसीको मासु दिने गरेको छ । ३ वटा बाघको आहारामा दैनिक ६ हजार रुपैयाँ खर्च हुन्छ भने बाघको स्याहारमा ३ कर्मचारी खटिएका छन् ।

नयाँ बासस्थान र आहाराको खोजीमा पनि बाघ जंगल नजिकका बस्तीमा पुग्ने सम्भावना प्रबल हुने गरेको सहायक संरक्षण अधिकृत खड्का बताउँछन् । सामान्यतया जंगलमा एउटा भाले बाघले ५२ र बघिनीले ३५ वर्गकिमि क्षेत्रफललाई आफ्नो बासस्थानको रुपमा प्रयोग गर्छन् ।

p2

आफ्नो पुरानो बासस्थानको यति क्षेत्रफलमा अरु बाघ/बघिनी आएर स्थायी रूपले बस्ने र सो क्षेत्रमा नयाँ बाघ प्रवेश गर्न खोज्दा लडाइँ हुने गर्दछ । अहिले पर्सा निकुञ्जको खोरमा रहेका ३ मध्ये ठोरी गाउँपालिकाबाट उद्धार गरिएको २ वटा बाघ अर्को बाघसँगको जुधाईको कारण घाइते अवस्थामा आहाराको लागि बस्ती छिरेका थिए ।

सामान्यतया एउटा बाघले आफ्नो क्षेत्रमा ३ वटासम्म बघिनीलाई बस्न दिने तर बघिनीले आफ्नो क्षेत्रमा नयाँ बघिनीलाई प्रवेश गर्न नदिने प्रवृत्ति पनि बाघमा हुने गर्दछ । सामान्यतया एउटा बघिनीले २ देखि ४ वटासम्म बच्चा जन्माउने र उनीहरुको गर्भ अवधि ९३ देखि १ सय २ दिनको हुने निकुञ्जले जनाएको छ ।

बघिनीले बच्चा (डमरु) लाई १८ महिना आफूसँगै राखेर हुर्काउँछन् र वयस्क भएपछि छाडिदिने गर्छन् । डमरुलाई बघिनीले बाघबाट जोगाएर अत्यन्त सावधानीका साथ हुर्काउने काम गर्छन् ।

p8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप